सलह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सलह फट्याङ्ग्राको एक प्रजाती हो। यो एक किसिमको फौजी किरा हो। यस किराले बालीनाली मा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ।

Locusts are grasshoppers, such as this migratory locust (Locusta migratoria), that have entered into a migratory phase of their life.
Garden locust, Acanthacris ruficornis, in घाना
दसौं लाख सलहको झुण्ड व्यवहार

वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट्बिरुवा लाई सखाप बनाउछ।[१] संयुक्त राष्ट्रसङ्घको कृषि तथा खाद्य सङ्गठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्‍याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।[२]

प्रकोपको इतिहास[सम्पादन गर्नुहोस्]

प्राचीन समयमा ईजिप्टियनहरूले आफ्ना पुस्तकहरूमा यस किरासम्बन्धि कुराहरु उल्लेख गरेका छन् । मुख्यत: कृषि पद्धतिमा र बालीनालीको राम्रो निगरानी हुन नसक्दा यी किराहरु उत्पन्न भए कि भन्ने कुराहरु भेटिन्छन् । पहिलेपहिले माटो तथा हावाको माध्यमबाट बिषादी प्रयोग गरेर किराहरु मार्ने गरेको पाइन्थ्यो र २० औँ शताब्दी तिर सलह किराको झुण्ड रुप घट्दै गएको समेत थियो ।

सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रूपमा उत्पत्ती भएको मानिन्छ । यो निकै नै पुरानो प्रवासी (Migratory) शत्रुजीव हो । अन्टार्कटिका बाहेक सबै जसो महादेशमा यो बिपत्ती फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीहरुका छन् । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई Australian Plague Locust भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई American Locust भनिन्छ, तर यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउदैन् । सबैभन्दा हानिकारक सलह भनेर मरुभुमिको सलह ( Schistocera gregaria ) लाई चिनिन्छ । जुन अहिले पनि धेरै ठाउँहरूमा फैलिएर बिनाश फैलाइरहेको छ ।

अहिले पाकिस्तान हुदै भारत सम्म आइपुगेको सलह किरा २०१८ सालमा साउदि अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुला(Arabian peninsula) मा दुई ठूला आँधी साइक्लोन‍ले भारि वर्षा गराए पछि प्रजनन गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरूले आफ्नो सङख्या ८०० गुणाले बढाएका थिए। नजिकैको यमनओमानले त्यतिबेला खाद्य सङ्कटमा जुधिरहेकाले उनिहरूले यस किरालाइ प्रोटिनको रूपमा प्रयोग गरे र यो किरा लाल सागर र गल्फ अफ इडेनलाइ पार गरी अफ्रिका पुगेको मानिन्छ। २०१९ मा अफ्रिकाको सोमालियामा साईकलोनाका कारण भारि वर्षा भएको थियो जसका कारण त्यहाको माटो ओसिलो र वातावरण हरियाली भयो जसले गर्दा यो किराको प्रजनन क्षमता र दर बढायो र यो केन्या सम्म सन् २०२० को पहिलो महिनामा पुग्यो जहाँको वर्षा र चिसो माटोले यसको जनसङख्या बढाउन अझै मद्दत गरेको पाइन्छ।

२०२० को फेब्रुअरीमा सलह प्रकोपको कारणको पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकालको घोषणा गरियो।[३]

२०२० को मे महिनामा नै भारतको मध्य प्रदेश, राजस्थान, गुजरात लगायत राज्यहरूमा सलहले ५०,००० हेक्टरमा लगाएको बालीनाली सोत्तर बनाएको थियो।[४]

प्रजनन र विकास[सम्पादन गर्नुहोस्]

सलह किराको सङ्ख्या सुरुमा कम हुने गर्दछ । तर लगातार वर्षाको कारण उक्त ठाउँ चिस्सिएर (अण्डाबाट निस्किन उपक्युत वातावरण) सलह किराको प्रजनन् दर (Breeding Rate ) बढेको पाइन्छ । हरेक पटकको प्रजननमा यो किरा २० फोल्ड सम्म सङ्गसङ्गै नयाँ पुस्ता २० गुना ठूलो हुने र यस किराको बाँच्ने दर समेत ३-५ महिना जति हुने गर्दछ जुन वातावरणमा धेरै भर पर्छ। उमेर सँगै पछाडीको खुट्टामा स्पर्श उत्तेजनाको कारणले गर्दा सेरोटोनिन हर्मोनको मात्रा बढेर सलह किराको रङ्ग, आहारा र प्रजनन् मा फरकपना आउँदछ । २०-४० दिन सम्मका किरालाइ होपर भनिन्छ र यसका पेखेटा पनि आइसकेका हुदैनन्। यो किरालाइ नियन्त्रण गर्ने उपयुक्त समय मानिन्छ र यसको रङ हरियो हुन्छ। त्यस पछि हरियो देखि खैरो र गुलाबि हुदै पहेलो रङको हुन्छन जुन अवस्थामा यसको नियन्त्रण लगभग असम्भव छ। यी किराहरु समुह बनाएर झुण्ड रुप लिई बसाइँसराइ गर्न थाल्दछन् । किराहरु धेरै जसो सुस्त गतिमा हावा चलेको दिशा र कम चाप हुने ठाउँमा उड्ने गर्दछन् । झुण्डमा स-साना पखेटाबिहिन निम्फहरु र बलिया वयस्कहरु पनि हुने गर्दछन् । यी सबै मिलेर बालीनालीलाई नष्ट पार्दछन् । सामान्यतया एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ । एक बर्ग किलोमीटर क्षेत्रफलमा ८० लाखसम्म किराहरु हुन सक्ने समेत प्रमाण पुष्टि भएको छ भने यी किराहरु दैनिक ९० माईल (१५० किमि) सम्मको दुरि पार गर्न सक्दछन् । एक दिनमा यो किराले करिब ३५००० मान्छेले बराबरको खाना खान सक्ने[५] र जुनको महिनामा यो बढेर १,७५००,००० सम्म पुग्ने अनुमान छ।

हरेक १० वर्षमा सोलार Activity कम हुने र यसबाट आउने कस्मिक किरणले किरा तथा भाइरसको जिबन चक्रमा केहि फरकपना ल्याउने कुरा पनि कहि कतै भेटिेएको छ। १०० वर्षमा २०२० कि solar activity सब भन्दा कम रेकड गरिएको छ। जलवायु परिवर्तन जस्ता विभिन्न मानविय क्रियाकलापहरूले गर्दा पनि यो समस्या आएको हो र यसको जैविक तवरबाट चाडै यस किराको ब्यवस्थापन गरिनु पर्दछ भन्ने आधुनिक मान्यता आएको छ । अफ्रिका हुँदै इजिप्ट, जोर्डनइजरायल जस्ता देशहरूमा लामो समयसम्म यस किराको प्रकोप देखिएको थियो भने यसले झण्डै २.५ लाख अमेरिकी डलर बराबरको क्षति समेत पुर्‍याएको थियो । विश्व खाद्य सङ्गठन (FAO) ले अफ्रिकामा सलहि किरा ब्यबस्थापनलाइ सुरु गरेको कार्यक्रममा अरबौको लगानि गर्दा पनि यो वर्ष अफ्रिकामा ५ करोड मान्छे खाद्य सङ्कटमा पर्ने कुरा जनाएको छ।

यो किरा अहिले इरान हुदै पाकिस्तान र भारतमा आइसकेको छ र नेपालमा प्रवेश गर्न सक्ने सम्भावना प्रवल देखिन्छ। यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरि छ।

नियन्त्रणको उपाय[सम्पादन गर्नुहोस्]

सलह किराको प्रकोपलाई कम गर्नको लागि विभिन्न पहलहरू भईरहेका छन् । तिमध्ये केही उपायहरु यसप्रकार छन् ।

  1. विभिन्न उपकरणहरूको माध्यमबाट थोरै मात्रामा ( ULV form ) अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।
  2. कम दुरि उड्न सक्ने उपकरणबाट वायुमण्डलिय डिस्टर्ब सिर्जना गर्न सकिन्छ ।
  3. किराले प्रजनन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
  4. टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलापबाट पनि केही हदसम्म यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।
  5. अलि बढी फैलिएको ठाउँमा भने जैविक किट्नाशक औषधि ( Biopesticides ; Fungai based Green Muscle ) प्रयोग गर्न सकिन्छ ।
  6. भारतले यो बेला मालाथिएनको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाइजिनन र फिप्रोनिल साथै अफ्रिकामा Green Muscle भन्ने बिषाधिको प्रयोग सब भन्दा सफल देखिन्छ।

प्राकृतिक सिकारी[सम्पादन गर्नुहोस्]

सलहको प्राकृतिक सिकारीको रूपमा हाँसलाई परीक्षण गरिदैछ।

कला साहित्यमा[सम्पादन गर्नुहोस्]

  • राजेन्द्र थापाको शब्द अरुणा लामाको स्वर रहेको गीत "पोहोर साल खुसी फाट्दा" मा ‘सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन’ पंक्ति
  • नेपाल प्रज्ञा प्रतिष्ठानबाट ४५ वर्षअघि प्रकाशित तुलसी दिवसद्वारा सङ्कलित र सम्पादित "नेपाली लोककथा"मा पनि सलहको प्रसङ्ग आएका दुईवटा कथाहरू छन्। उक्त पुस्तकमा समावेश बझाङ जिल्लाको एउटा कथा 'हौसिया गुन्ट्र्या'मा त्यसको पात्र गुन्ट्र्याले बझाङमा विसं १९८५ सालमा सलह आएपछि गीत नै बनाएको उल्लेख छ। कथामा उल्लेख भएअनुसार सलह धपाउँदा-धपाउँदा उसले दिक्क भएर यस्तो गीत भनेको थियो-[६]
यी सल (सलह) रन्ना, यी सल खान्ना

यी बाली तिरन्ना

पूर्व होइ आएका सल पश्चिम छिरन्ना ...

  • सोही "नेपाली लोककथा" पुस्तकमा समाविष्ट 'वीरबाहुका छोरा शूरबाहु' कथामा पनि वीरबाहु राजाका मन्त्रीले 'सलहझैँ आक्रमण गर्न आउँछौँ' भन्ने सन्देश दिन पद्‍मसेन राजाकहाँ एउटा बाकसमा सलह भरेर पठाएको उल्लेख छ। त्यसको उत्तरमा पद्‍मसेनकी छोरीले सोही बाकसमा मूलाका चाना राखेर पठाई 'सलहझैँ आएका सैनिकलाई मूला काटे झैँ काट्छौँ' भन्ने सन्देश दिएको प्रसङ्ग छ।[६]
  • म्याग्दीमा प्रचलित एउटा सवाईमा पनि सलहको प्रकोपको वर्णन पाइएको 'बानियाँ वंशको नालीबेली' नामक पुस्तकमा पनि उल्लेख छ। बानियाँ कान्छाले लेखेको उक्त पुस्तकमा म्याग्दीमा विसं १९८६ मा जन्मिएका जितबहादुर बानियाँले आफ्नो परिस्थिति अनुसार सवाई बनाउने गरेको उल्लेख छ। त्यसमा दिइएको एउटा सवाई यस्तो छ-
सुन सुन जन हो म केही भन्छु

२००८ सालको सवाई कहन्छु

२९ गते असारमा लाखौँ सलह आयो

सारा अनाज उब्जिएको सबै थोक खायो।

[६]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. एन्ट्सी, माइकल; रोजर्स, स्टेफन; Swidbert, R.O.; Burrows, Malcolm; Simpson, S.J. (३० जनवरी २००९), "Serotonin mediates behavioral gregarization underlying swarm formation in desert locusts", Science 323 (5914): 627–630, डिओआई:10.1126/science.1165939, पिएमआइडी 19179529, बिबकोड:2009Sci...323..627A 
  2. सलह किराले नेपाल गर्न सक्‍ने प्रभाव अध्ययन गर्न प्राविधिक समिति गठन
  3. Pakistan declares national emergency over locust swarms[dead link]
  4. India combats locust attack amid Covid-19 pandemic
  5. FAO Desert Locust Information Service
  6. ६.० ६.१ ६.२ सलह: झन्डै छ दशकअघि ब्रिटेन पुर्‍याएर यसरी गरिएको थियो नेपालमा भेटिएको सलहको पहिचान
"https://ne.wikipedia.org/w/index.php?title=सलह&oldid=1168845" बाट अनुप्रेषित