सिंहदरवार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिंहदरबारको मुख्य प्रवेशमार्ग

सिंहदरबार नेपालका प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो। यो काठमाडौंको मध्य भागमा अवस्थित छ। यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्।

इतिहास[सम्पादन गर्ने]

सिंहदरवार प्रमुख भवन

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसिया भरिको सबैभन्दा ठूलो दरवार थियो। यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो।

त्यस निर्माणका लागि उनले प्रति रोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे। निर्माण कार्य सुरू भयो। सुरूमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए। तर, बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। जेजत्रो दरबार बने पनि खर्च चाहिँ तत्काल ५० लाख रुपैयाँभन्दा बढी चन्द्र शमशेरको त्यस दरबारको निर्माणमा खर्च भएन किनकि त्यसमा प्रयोग भएका सम्पूर्ण काठ माठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरियो र ढुवानीको काम पनि बेगारीद्वारा गराउँदथे, जसलाई पेटभरि ढिडो र नुन खर्चमात्र दिनु पर्दथ्यो। सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा, तथा कैदीहरुद्वारा गराउँथे।

ज्यालामा जसलाई काम लगाइयो। तिनलाई पनि दैनिक चार पैसादेखि छ पैसा भन्दा बढी दिइएको थिएन। बीचबीचमा राँगो खानेलाई राँगो, खसी खानेलाई खसी काटेर भोज भने अवश्य खुवाउने गरिन्थ्यो। चन्द्र शमशमशेरको लागेको खर्च भनेकै किला, काँटा रेलिङ, पाइप, फलाम आदिमा भयो जुन सोझै भारतबाट किन्नुपर्थ्यो।

ती सम्पूर्ण सामानको भन्सार पनि उनलाई तिर्नु पर्दैनथ्यो। ‘झलारी’ द्वारा ढुवानी गराउँदथे जसलाई बेगारीलाई झैं पेटभरि ढिडो र नुन खर्चमा दिनुपर्दथ्यो। त्यसकारण सिंहदरबारको निमार्णमा चन्द्रशमशेरको जम्मा ५० लाख रूपियाँभन्दा बढी पैसा खर्च भएको छैन, भनेर त्यतिबेलाका बुढापाका भन्ने गर्दथे।

सिंहदरबार निमार्ण भइसकेपछि एक दिन चन्द्र शमशेरले आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगे। त्यहाँबाट बाघदरबार देखियो। चन्द्र शमशेरले भने, ‘ऊ बाघदरबार’ भन्दै हातले औल्याएर बालकुमारी देवीलाई देखाए। बालकुमारी देवीले, ‘महाराज, त्यो बाघदरबार हो भने यो दरबारको नाम सिंहदरबार राखे कसो होला?’ भनिन्। उनको प्रस्ताव चन्द्र शमशेरलाई उचित लाग्यो र नवनिर्मित दरबारको नाम ‘सिंहदरबार’ राखियो।

सिंहदरबार निमार्ण कार्य सम्पन्न भएपछि चन्द्र शमशेरले एकदिन ‘भारदारी सभा’ गठन गरी सबै समक्ष प्रस्ताव राख्दै भने कि-आज उप्रान्त श्री ३ महाराज, प्रधानमन्त्री जो हुन्छ, उनी यसै दरबारमा बस्नेछन्। तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजै बेचिदिएँ।

चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट २ करोड रूपैयाँ झिके। यसरी चन्द्र शमशेरलाई सिंहदरबार निर्माण गरी बिक्री गर्दा डेढ करोड नाफा भयो। जंगबहादुरले वि.स. १९२५ मा भाइ, छोरा, भतिजा, भारदार जंगी, निजामती, गुरु, पुरोहित, सन्त, महन्त, साहस–महाजन, शिक्षक, भलाद्मी, रैती, दुनियाँ सकललाई जम्मा गराउनका लागि ठाउँ ठाउँमा सूचना टाँस गरे, इस्तिहार जारी गरे, ढ्याङ्ग्रो पिटाए र टुँडिखेलको त्यो ऐतिहासिक खरीको रुखको चौतारामुनि ठूलो भेला गराए। उक्त जनभेलालाई सम्बोधन गर्दै जंगबहादुरले भनेका थिए, ‘देशमा संकटकालीन अवस्था आई परेमा, दैवी प्रकोप परेमा मात्र राष्ट्रको ढुकुटीको प्रयोग गर्नु अन्यथा नगर्नू, बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानू। मैले आजका मितिमा यो ढुकुटीमा जम्मा ११ करोड रूपैयाँ राखिदिएको छु भन्दै सार्वजनिक घोषणा गरे।

त्यतिबेला त्यो ढुकुटीलाई (कौसी तोखाखाना) भनिन्थ्यो। त्यसै कौसी तोखाखानाबाट चन्द्र शमशेरले २ करोड रुपैयाँ झिकेका थिए।

चन्द्र शमशेरको २९ वर्षे शासनकालमा २८ वर्ष सिंहदरबारमै बित्यो र वि.स. १९८६ मंसिर ३० गते सोमबार उनको मृत्यु सिंहदरबारमै भयो। त्यसपछि भीम शमशेर प्रधानमन्त्री भएर उनी टंगालदरबारबाट सिंहदरबारमा सरे। वि.स. १९८९ भाद्र ११ गते भीम शमशेरको पनि सिंहदरबारमै मृत्यु भएपछि जुद्ध शमशेर प्रधानमन्त्री भएर पाटन, जाउलाखेल दरबारबाट सिंहदरबार सरे।

यसै दरबारबाट जुद्ध शमशेरले दशरथचन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीगंगालालको मुद्दाको सुनुवाइका लागि विशेष अदालत गठन गरी उनीहरुको मृत्युदण्डको फैसला गरेको थियो। पछि उनीहरुलाई मृत्युदण्ड दिइएको थियो।

वि.स. २००२ मंसिर १४ गते जुद्ध शमशेर आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर नियमानुसार सिंहदरबार सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागे। उनी भारततर्फ हुँदा याने वि.स. २००५ वैशाख १ गतेका दिन मोहन शमशेर प्रधानमन्त्री हुनु अगावै याने ‘मुख्तियारी’ कै पदमा उनी सिंहदरबार सरे।

वि.स. १९६० मा मोहन शमशेरकै बुवा चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गर्दा जो श्री ३  महाराज तथा प्रधानमन्त्री हुन्छ ऊ सिंहदरबारमा बस्न पाउनेछ भन्ने नियम बनाएका थिए तर त्यो नियम चन्द्र शमशेरकै पुत्र मोहन शमशेरले तोडे। उनी महाराज तथा प्रधानमन्त्री नबन्दै मुख्तियारी पदमा हुँदै पद्म शमशेर भारततर्फ औषधि उपचारमा गएको मौका छोपी उनी जबरजस्ती महाराजगञ्जस्थित आफ्नो निवासबाट सिंहदरबार सरे।

वि.स. २००५ वैशाख १६ गते पद्म शमशेरले भारतको राँचीबाट राजीनामा गरी पठाए। पछिमात्र मोहन शमशेर सिंहदरबारका वैद्य उत्तराधिकारी भए।

वि.स. २००९ फागुन ७ गतेपछि सिंहदरबार तत्कालीन ‘श्री ५ को सरकार’को स्वामित्वमा आयो र मोहन शमशेरलाई शीघ्राति शीघ्र सिंहदरबार छाड्नुपर्ने आदेश दिइयो। त्यसपछि मोहन शमशेर आफ्नै महाराजगञ्जस्थित लक्ष्मी निवासमा फिर्ता गए। त्यतिबेलादेखि सिंहदरबार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो।[१]

२००७ सालमा राणा शासनको अन्त्य भए पछि सिंहदरवारमा नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरवारमा प्रधानमन्त्रीको कार्यालय देखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिए।

सिंहदरबार विद्रोह[सम्पादन गर्ने]

दिल्ली सम्झौताको विरोध गर्दै भैरहवामा विद्रोह गरेका डा. केआइ सिंहलाई सरकारले डाका घोषणा गरेर गिरफ्तार गरेको थियो । उनलाई पाल्पाको जेलबाट रातारात काठमाडौंमा ल्याएर थुनिएको थियो । रक्षा दलका रामप्रसाद राई र अग्निप्रसाद खरेलहरु पनि सदर जेलमा थुनामा थिए । यसैवीच २००८ माघ ८ गते थुनामा रहेका रक्षा दलका सिपाहीले विद्रोह गरे ।

रक्षादलका विद्रोही सिपाहीले राति नै बारुदखाना, तोपखाना, बन्दूकखाना, मुलुकीखाना, सिंहदरबार सेक्रेटरियट र अरु प्रमुख स्थानहरु कब्जा गरेर टेलिफोनको तार काटिदिए ।

माघ ९ गते बिहान केआइसिंह नेतृत्वको रक्षा दलका विद्रोही, राष्ट्रिय महासभाका केही सदस्य र कम्युनिष्ट पार्टीका कार्यकर्ताले जीपमा चढेर क्रान्ति र शान्तिको माइकिङ गर्न थाले । मन्त्रीहरु भागेर नारायणहिटीमा शरण लिन पुगे । त्यसबेला मात्रिका कोइरालालाई हटाएर त्रिभुवनले आफैं सरकार चलाइरहेका थिए ।

विद्रोहीले सिंहदरबार कब्जा गरेपछि माघ ९ गते बिहान टुँडिखेलमा सेना तैनाथ भए । नारायणहिटीबाट पनि सेना थपियो र सिंहदरबारमाथि धावा बोलियो । दिउँसो १२ बजेसम्म शहरका विभिन्न भागमा कब्जा गरी बसेका विद्रोहीहरु पक्राऊ परे ।

करिब तीन घण्टासम्म टुँडीखेल र सिंहदरबारबाट दोहोरो फायरिङ भयो । सिंहदरबारभित्रबाट विद्रोहीले र टुँडीखेलबाट सेनाले फायरिङ गरे । केही सैनिक घाइते भए । एकजना नागरिकको मृत्यु भयो । रक्षादलका ड्राइभरको मृत्यु भयो । अन्ततः विद्रोहीहरु सिंहदरबारको पर्खाल नाघेर भाग्न थाले ।

विद्रोह सुरु हनासाथ आ-आफ्नो घरबाट लुक्दै राजदरबारमा शरण लिन पुगेका थिए ।

माघ ९ गते बिहानै केआइ सिंहलाई भेट्न गणेशमान सिंहटंकप्रसाद आचार्य सिंहदरबार गए । केआइसिंहले राजालाई हामी रक्तपात चाहँदैनौं, केवल आत्मरक्षा चाहन्छौं र सर्वदलीय सरकार गठन होस् भन्ने माग राख्न चाहन्छौं भन्ने खबर पठाए ।

तर, दरबारबाट यसको उत्तर लिएर आउँदासम्म केआइ सिंहले सिंहदरबार छाडिसकेका थिए । अन्ततः माघ १० गतेसम्म काठमाडौंको स्थिति समान्य बन्यो ।

सिंहदरबार विद्रोहमा सामेल योद्धामध्ये रामप्रसाद राई मारिए । भागेर चीनमा शरण लिइरहेका डा. केआइ सिंहलाई ६ वर्षपछि २०१४ साल साउनमा नेपाल झिकाएर तत्काली राजा महेन्द्रले १० महिना प्रधानमन्त्री बनाए ।

बहादुर योद्धा केआइसिंह नेपाली कांग्रेसले दिल्ली सम्झौता गरी राणाहरुसँग सम्झौता गरेकोमा रुष्ट थिए । राणा शासन ढाल्न भैरहवा मोर्चाको नेतृत्व गरेका सिंहले क्रान्तिका बेला गठन भएको सैन्य शक्ति र क्रान्ति जारी राखेपछि राज्यले उनलाई दमन र गिरफ्तार गरेको थियो । त्यसैले उनले बहादुरीपूर्वक सिंहदरबार कब्जा गरेर जनपक्षीय सर्वदलीय सरकार गठनको माग गरेका थिए । यद्यपि उनी यसमा सफल हुन सकेनन् । पछि प्रधानमन्त्री बनेपछि सिंह संविधानसभा विरोधी बने ।

नेपाल सरकारले डा. केअाइ सिंहलार्इ पोलिटिकल लिडर भन्दै २ रूपैयाँको हुलाक टिकट जारी गरेको छ । त्यस्तै प्रजातान्त्रिक योद्धा रामप्रसाद रार्इको नाममा ७५ पैसाको हुलाक टिकट जारी भएको छ ।[२]

आगलागी[सम्पादन गर्ने]

चन्द्रशमशेरका पालामा बनेको नेपालको ऐतिहासिक सिंहदरबार २५ असार २०३० मा आगलागीमा पर्‍यो र सबै ध्वस्त भयो। नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवन नेपाली सान र चिनारी दुवै थियो। त्यसरी आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए।

राती त्यस्तै १० बजेको हुँदो हो। एकाएक 'विद्युत् सर्ट' भएर आगलागी भएको बताइयो।बिहान हुँदा नहुँदै राजा वीरेन्द्र रानी ऐश्वर्यका साथ त्यहाँ पुगेका थिए। नेपाली सेनाको बहादुरी र साहसकै कारण सिंहदरबारको अग्रभाग ध्वस्त हुनबाट जोगाउन सम्भव भएको थियो।[३]

त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो। त्यस आगलागी पछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो। हाल सिंहदरबार परिसरमा थुप्रै नयाँ भवनहरू बनेका छन्।

वास्तुकला तथा श्रृङ्गार[सम्पादन गर्ने]

यो भवन युरोपेली शैलीमा बनेको छ। चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए। बत्ती तथा अन्य श्रृंगारका वस्तुहरू युरोपबाट मगाईएको थियो।

सरकारी कार्यालयहरू[सम्पादन गर्ने]

सिंहदरबारमा रहेका महत्वपूर्ण कार्यालयहरू यस प्रकार छन्।

मन्त्रालयहरू[सम्पादन गर्ने]

विभागहरू[सम्पादन गर्ने]

अन्य सरकारी कार्यालयहरू[सम्पादन गर्ने]

सुरक्षा व्यवस्था[सम्पादन गर्ने]

सिँहदरवारको मुख्य प्रवेशद्वार

यो नेपालको सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालय भएकाले यसको सुक्षामा नेपाली सेनाको एक गण खटाईएको छ।

सम्बन्धित लेखहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]

http://www.nepalitimes.com/issue/216/Arts/2051 नेपाली टाईम्समा सिंहदरबारको एक चित्रकारको जीवन कथा


  1. http://archive.setopati.com/sahityapati/28179/
  2. https://www.onlinekhabar.com/2015/01/229645
  3. http://nepal.ekantipur.com/news/2014-02-16/6529.html