दुलालथोक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दुलालथोक
भमरकोट
दुलालथोक is located in Nepal
दुलालथोक
नेपालको नक्शामा दुलालथोक
निर्देशांक: 27°38′7″N 85°36′13″E / 27.63528, 85.60361}
देश  नेपाल
अञ्चल बागमती
जिल्ला काभ्रेपलाञ्चोक
नगरपालिका पाँचखाल
अवनति[१] १,१०० मी (३,६०९ फिट)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
पोस्टल कोड
टेलिफोन कोड ०११

दुलालथोक नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा अवस्थित गाउँ हो । मुख्यतया बाहुन, क्षेत्री, दमाई, कामीसार्की जातिको बसोबास रहेको यो गाउँ दुईतिरबाट सामुदायिक वनले घेरिएको छ । दुलालको वासस्थानको रूपमा दुलालथोक नामाकरण गरिएको भएपनि अहिले सापकोटा, हुमागाईँ, चौलागाईं, गुरागाईं, गौतम, मिजार, तिमल्सेना, बानियाँ, आचार्य, घिमिरे आदि थरका मानिसहरू पनि यो गाउँमा बसेको पाइन्छ ।

नामाकरण[सम्पादन गर्ने]

पृथ्वीनारायण शाहको एकीकरण पूर्व नेपालमा बाइसे चौबिसे राज्य रहेको समयमा यस स्थानलाई भमरकोट भनेर चिनिन्थ्यो । बिसौं सताब्दिको अन्त्यसम्म पनि यस क्षेत्रलाई भमरकोट नै भनिन्थ्यो । पछि यो स्थानमा दुलालहरू आएर बसेको पाइन्छ । दुलालहरू बस्ने भएकोले नै यस ठाउँलाई दुलालथोक भनिएको हो ।

इतिहास[सम्पादन गर्ने]

दुलालहरूको कुलाइन थान

किम्बदन्ती अनुसार दुलालका एक पुर्खा हिरामुनि, यस स्थानमा आइपुग्दा उनको दाम्ला बाट्ने सीपबाट प्रभावित भएर यहाँका लुईंटेल थरका एक जैसी बाहुनले झुक्याएर आफ्नी छोरी विवाह गरिदिएका थिए । त्यस समयमा उपाध्याय बाहुनलाई झुक्याएर जैसी विवाह गरिदिएको अपराध मानिने भएकोले उनले आफू राजा कहाँ गएर न्याय माग्ने धम्कि दिएछन् । उनलाई खुशी पार्न त्यस गाउँका मानिसहरूले दिनभरि हिँडेर जति ठाउँमा पुग्छ त्यति जग्गा दिने सल्लाह गरेछन् । त्यही शर्त अनुसार जग्गा बिर्ता स्वरुप पाइ त्यहीँ बसोबास सुरु गरेछन् । अहिलेको दुलालथोक उनैका सन्तानबाट सृजना भएको विश्वास गरिन्छ । पहिले पहिले बेसीमा औलो लाग्ने भएकोले बेसीमा अहिलेको जस्तो वस्तीहरू थिएनन् । अहिलेको दुलालथोक औलो उन्मुलनपश्चात मात्र विस्तार भएको हो ।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

जिल्ला सदरमुकाम धुलिखेलबाट ४.८ किलोमिटर हवाइ दुरी तथा ६ किलोमिटर (माथिल्लो क्षेत्र) सडक दुरीमा रहेको दुलालथोक उत्तर-पूर्व फर्किएको उर्वर जमिन भएको गाउँ हो । दुलालथोक २७ डिग्री ३८ मिनेट उत्तरी अक्षांस र ८५ डिग्री ३६ मिनेट पूर्वी देशान्तरमा अवस्थित छ । दुलालथोकको बेसी समुन्द्र सतहबाट करिब ८७० मिटर र माथिल्लो भेग ११०० मिटर उचाइमा रहेको छ ।[१] पलाञ्चोक भगवती मन्दिर यस गाउँको पूर्वी डाँडामा अवस्थित छ । दुलालथोकको पूर्वतिर झिगु खोलाको उर्वर फाँट तथा बख्रेलडिही रहेका छन् भने पश्चिममा केराघारी, दक्षिणमा नयाँ गाउँ तथा भष्मेपाखा सामुदायिक वन र उत्तरमा काफ्लेडिही तथा ठूली सामुदायिक वन रहेको छ ।

धेरै वनजङ्गल भएको हुनाले पाँचखाल उपत्यकाको यो भाग अत्यन्तै रसिलो भएकोले यो क्षेत्रमा धेरैवटा पानीका मूलहरू छन् । यो क्षेत्रबाट पाँचखाल उपत्यकाको एक चौथाइ जति वसोवास क्षेत्रलाई पानी उपलब्ध भएको छ । खानेपानी तथा सिंचाईका लागि पाइप लगाएर पानी लगेकै कारण यस गाउँमा रहेको साउँकामुख खोलामा पानी बग्न छोडिसकेको छ । दुलालथोकमा कुल चार वटा खहरे खोला छन् । यी खोलाहरूमा बर्षाको समयमा सिंचाईमा उपयोग गर्न मिल्नेगरी पानी बग्दछ ।

हावापानी[सम्पादन गर्ने]

दुलालथोकको माथिल्लो भेग ११०० मिटर उचाइमा रहेको हुनाले यो क्षेत्रमा त्यति गर्मी हुँदैन तर तल्लो क्षेत्र ८७० मिटर उचाइ तथा उपत्यकाको बेसीमा पर्ने हुनाले गर्मी मौसममा यहाँको तापक्रम अलि धेरै हुने गर्दछ ।

समाज[सम्पादन गर्ने]

दुलालथोकमा दलानडिही, बेलथुम्की, जोगीडाँडा, आँपेटार, दुर्गेटार, अमलटार, तिनघरे जस्ता टोलहरू रहेकाछन् । दुलालथोकलाई अन्तर्राष्ट्रिय वातावरण दिवस २००८ का दिन खुला दिशा मुक्त गाउँको रुपमा घोषणा गरिएको थियो ।[२] अन्तरजातीय विवाहबाट सुरु भएको यो वस्तिको विस्तारसँगै यहाँका मानिसको चेतनास्तर पनि विस्तार हुँदै गएको पाइन्छ । यो गाउँमा अहिले धेरै अन्तरजातीय विवाह भैसकेका छन् । तर अहिले पनि केही मानिसहरूमा जातपातको भेदभाव विद्यमान छ । अधिकांश मानिस हिन्दू धर्म मान्ने भएपनि यहाँका दलित वस्तिहरूमा क्रिस्चियन धर्मको प्रभाव देखिएको छ । यस गाउँमा एउटा चर्च, एउटा देवीथान र एउटा महादेव मन्दिर रहेको छ । यहाँका मानिसहरूले सिमखेतलाई नाग देवताको वासस्थान मानेर नागपञ्चमीमा पूजा गर्ने गरेको पाइन्छ ।

यहाँका अधिकांश घरहरू जस्ता पाताले छाएका छन् भने केही घरहरू टायल तथा झिँगटीले छाएका छन् । घरहरूमा पहेँलो माटोले लिउन लगाउने अथवा माथि कमेरो र तल रातो माटोले पोत्ने गरेको पाइन्छ । अहिले केही सिमेन्ट प्रयोग गरेर पक्की घरहरू पनि बनाइएको पाइन्छ । यहाँका मानिसहरू घरअगाडि तुलसीको मठ बनाउने गर्दछन् ।

पर्वहरू[सम्पादन गर्ने]

नयाँवर्ष, अक्षय त्रितीया, मातृ औँशी, असार पन्ध्र, साउने सक्रान्ति, साउन पन्ध्र, जनै पूर्णीमा, कुशे औँशी, तीज, कृष्णअष्टमी, दशैं, तिहार, ठूलो एकादशी, माघे सक्रान्ति, सरस्वती पूजा, फागुपूर्णीमा, शिवरात्रि, चैतेदशैं आदि यस गाउँका मुख्य पर्वहरू हुन् । नयाँ पुस्ताहरूले ग्रेगोरियन नयाँवर्ष, भ्यालेन्टाइन डे तथा क्रिसमस पनि मनाउने गरेको पाइन्छ । नयाँवर्षको दिन खुशी भए वर्षैभरि खुशी रहन सकिने विश्वासका साथ शुभकामना साटेर दुलालथोकमा नयाँवर्ष मनाइन्छ भने अक्षय त्रितीयाका दिन जौको सर्वत र पानी खाने तथा खुवाउने चलन छ । असार पन्ध्र र साउन पन्ध्रमा क्रमश दही चिउरा र खिर खाने चलन छ भने यी दुवै दिनमा हाँगाबाट सर्ने बोटबिरुवा तथा अन्य बोटबिरुवा सार्ने चलन छ । साउने सक्रान्तिमा विभिन्न सामग्री जम्मा गरेर लुतो फाल्ने चलन छ । लुतो फाल्दा यहाँका मानिसहरू शिखरपुरे मण्डने लुतो लैजा है. . . भन्दै सल्किएको दाउराको मुठा फाल्ने गर्दछन् । यसको भोलि पल्टलाई राँके भन्छन् । यसदिन सबै जम्मा भएर आँप खाने चलन छ । पहिला-पहिला यो दिन खेतबारीमा काम गर्न हुँदैन यसो गरेमा लुतो सर्छ भन्ने विश्वास गर्ने गरेको भएपनि अहिले त्यो विश्वास हराउँदै गएको पाइन्छ ।

प्रमुख परिकारहरू[सम्पादन गर्ने]

साधारणतया यहाँका मानिसहरुको प्रमुख खाना दाल, भात, तरकारी, अचार, दही, मोही, दूध नै हो । बारीमा मकै प्रशस्त उत्पादन हुने भएकोले ढिँडो र मकैको पोलेको रोटी पनि यहाँको भान्सामा पाक्ने गर्दछ ।

इन्धन[सम्पादन गर्ने]

प्रशस्त वनपैदावार भएको स्थान भएकोले प्राय सबैको घरमा अगेनामा दाउरा बालेर खाना पकाउने गरेको पाइन्छ । आजभोलि केही घरमा गोबर ग्यास तथा एलपी ग्यास पनि प्रयोग गरेको पाइन्छ । त्यस्तै विद्युतीय हिटर तथा राइसकुकरको पनि प्रयोग बढ्दै गएको पाइन्छ । खेतबारीमा कम रूख बिरुवा लगाउनेहरूले गाई तथा भैंसीको गोबरबाटा गुइठा बनाएर प्रयोग गरेको पनि पाइन्छ । यसका लागि गोबरलाई घरका भित्तामा बाटुलो रोटी जस्तो पारेर टाँसेर सुकाउने गर्दछन् ।

शिक्षा तथा स्वास्थ्य[सम्पादन गर्ने]

यस गाउँमा एउटा निम्न माध्यमिक विद्यालय छ । साथै यहाँ एक सामुदायिक अस्पताल पनि रहेको छ ।

पेशा तथा व्यावसाय[सम्पादन गर्ने]

दुलालथोकमा गरिएको गहुँ खेति

यहाँका अधिकांश मानिसहरू कृषि पेशामा लागेका छन् । दुलालथोक मौसमी तथा बेमौसमी तरकारी खेतिका लागि उपयुक्त गाउँ हो । यहाँ दुईवटा पेट्रोल पम्प पनि सन्चालनमा रहेको छ । यहाँको जमिन कफि खेतिको लागि पनि उपयुक्त मानिन्छ । यहाँका किसानहरूको अर्को मुख्य व्यवसाय दूध व्यवसाय पनि हो । यहाँ दुईवटा दुग्ध संकलन केन्द्र सञ्चालनमा रहेका छन् । पहिला-पहिला यहाँका मानिसहरू दुधको लागि भैंसी पाल्ने गर्दथे तर आज भोलि सानो परिवार हुने हुनाले गाई पालन तर्फ उन्मुख भएको पाइएको छ । दुलालथोकका धेरै युवाहरू वैदेशिक रोजगारीमा गएका छन् । यहाँबाट सुरुमा रोजगारीको लागि कलकत्ता जानेगरेको पाइन्छ । तर अहिले भने दुबई, साउदी अरब, कतार, अमेरिका, अस्ट्रेलिया, जर्मनी, बहराइन, कुवेत, दक्षिण कोरिया जाने गरेका छन् ।

कृषि[सम्पादन गर्ने]

यहाँका मानिसले काठका बिँड भएका चाँदे, कोदालो, कोदाली, हलो, कुटो, हँसिया, खुर्पा, बन्चरो जस्ता परम्परागत कृषि औजारहरू प्रयोग गर्ने गरेको पाइन्छ । आधुनिक कृषिमा निकैअगाडि बढिसकेका यहाँका किसानहरू अहिले खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोग गर्न थालिसकेका छन् ।

यहाँका खेतियोग्य जमिनलाई बारी तथा खेतको रूपमा छुट्याइएको छ । भिरालो जमिन भएको हुनाले अधिकांश खेतहरू टार खेतहरू छन् । यहाँका किसानहरूले खेतमा असारमा धान, हिउँदमा गहुँ अथवा आलु र फागुन चैत्रमा मकै लगाउने गरेको पाइन्छ । त्यस्तै बारीमा बैशाख/जेठमा मकै र हिउँदमा गहुँ तथा तोरी लगाउने गर्दछन् ।

वनस्पति तथा जीवजन्तुहरू[सम्पादन गर्ने]

यहाँको बेसी क्षेत्रमा आँप, लिची, मेवा, रूखकटहर जस्ता गर्मीमा पाइने फलफुलहरू पाइन्छ भने माथिल्लो भेगमा केही मात्रामा सुन्तलाका बोटहरू पनि लगाउने गरेको पाइन्छ । त्यस्तै अम्बा, आरु, आरुबखडा, नास्पाती, हलुवाबेद, केरा यस गाउँका मुख्य फलफूलहरू हुन् । त्यस्तै जङ्गली रूपमा पाइने ऐँसेलु, खनायो, अमला, डुम्री, चिउरी, अर्चल, पिठौली, क्यामुना, जामुन, फडिम, तिमिलो, भक्मिलो आदि प्रशस्तै पाइन्छ ।

इपिल, बकाइनो, कुटमिरो, खनायो, काभ्रो, गायो, नारायणपाती, खस्रु यहाँका किसानहरूका लागि पहिलो छनौटका डालेघाँसहरू हुन् । फलाँट, मौवा, साल, सल्ला, साझ, पैयुँ, सिमतारा यहाँका मुख्य काठजन्य वनस्पतिहरू हुन् । दुलालथोकको माथिल्लो भेगमा प्रशस्त मात्रामा सिमलका रूखहरू पनि पाइन्छ । तल्लो भेगमा प्रशस्तै उतिसका रूखहरू पाइन्छन् । बर, पिपलका रूखहरू केही मात्रामा पाइन्छ ।

सारौं, ढुकुर, भँगेरा, काग, जुरेली, कालिज, लाम्पुच्छ्रे, कुथुर्के यहाँका मुख्य चराहरू हुन् भने ढाडे बिरालो, मलसाँप्रो, स्याल, चितुवा, न्याउरीमुसा, लोखर्के यहाँका प्रमुख वन्यजन्तुहरू हुन् ।

यातायात[सम्पादन गर्ने]

नेपालकै प्रमुख राजमार्ग अरनिको राजमार्गले दुलालथोकलाई दुईतिरबाट घेरेको छ । राजमार्गले दुलालथोककोमाथि करिब ३०० मिटर र तल करिब ९५० मिटर पक्कि सडकले छोएको छ । यसले गर्दा यहाँ यातायातको राम्रो सुविधा पुगेको छ । बाह्रबिसे, जिरी, बोहोरेदोभान, मेलम्ची, देउपुर, पलाञ्चोक भगवती मन्दिर यही बाटो हुँदै जानुपर्ने भएकोले कुनैपनि समयमा यातायातका साधनहरू उपल्ब्ध हुन्छन् । त्यस्तै स्थानीय जनताको पहलमा निर्माण भएका दुईवटा ग्रामिण सडकहरूले थप मद्दत पुगेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]