जङ्गबहादुर राणाको घोडचढी सालिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जङ्गबहादुर राणाको घोडचढी सालिक
जङ्गबहादुर राणाको घोडचढी सालिक is located in नेपाल
जङ्गबहादुर राणाको घोडचढी सालिक
जङ्गबहादुर राणाको घोडचढी सालिक
कलाकारथोमस ब्रक [१]
वर्षवि.सं. १९४२
प्रकारअश्वारोही
स्थानकाठमाडौँ
निर्देशाङ्क२७°४२′७″उ॰ ८५°१८′५४″पू॰ / २७.७०१९४°N ८५.३१५००°E / 27.70194; 85.31500निर्देशाङ्कहरू: २७°४२′७″उ॰ ८५°१८′५४″पू॰ / २७.७०१९४°N ८५.३१५००°E / 27.70194; 85.31500

जङ्गबहादुर राणाको घोडचढी सालिक काठमाडौँको टुँडिखेल, सुन्धाराबाट त्रिपुरेश्वर जाने मोडमा रहेको श्री ३ जङ्गबहादुरको शालिक हो। जङ्गबहादुरले युरोप भ्रमणका बेला वि.सं. १९०७ भदौ १० गते फ्रान्सको सर्टरी मैदानमा सैनिक परेड हेर्न घोडा चढी अघि बढ्दा घोडालाई नियन्त्रणमा ल्याई प्रोसेसन कति पछि पर्‍यो जङ्गबहादुरले पछाडी फर्की क्षण स्मरण गराउन यो सालिकको निर्माण गरिएको थियो। यो सालिक पहिले शहिदगेटबाट सुन्धारा जाने चोकमा रहेको थियो। सडक विस्तार गर्ने क्रममा यो सालिकलाई हालको टुँडिखेलको दक्षिण पश्चिम कुना, भद्रकालीमा स्थानान्तरण गरिएको थियो।

महाराजा जङ्गबहादुर कुँवर राणाजी, जिसिबी, जिसिएसआई (जन्म बीर नरसिंह कुँवर, वि.सं. १८७४ असार ४) नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। नेपालले अङ्ग्रेजसँगको युद्धमा गुमाएको भूभागमध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको भूभाग जसमा वर्तमानको तराईमा पर्ने बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर पुनः नेपालमा गाभ्न सफल भएका थिए।[२] वर्तमान समयमा यस भूभागलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ।[३] नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने व्यक्ति यिनै हुन्।

जङ्गबहादुरले आफ्नो शासनकालको समयमा दरबारिया कट्टर विरोधीहरूलाई तह लगाएर एकतन्त्री शासन चलाएका थिए। श्री ३ जङ्गबहादुर हत्यारा, धुर्त, चलाख, स्वार्थी भएपनि एक राजावादी र राष्ट्रवादी देशभक्त थिए। उनले नेपाललाई बलियो, स्वाभिमानी र स्वतन्त्र राष्ट्र बनाइराख्न ठूलो योगदान गर्न सफल भए।

Sir Thomas Brock.jpg
मूर्तिकार सर थोमस ब्रक

इतिहास[सम्पादन गर्नुहोस्]

वि.सं. १९०६ मा (सन् १८५० मा) जङ्गबहादुर भाइ बमबहादुर राणालाई कार्यवाहक प्रधानमन्त्री र बद्रीनरसिंहलाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिएर जङ्गबहादुर शाही राजदूतको रुपमा युरोप भ्रमणमा गए। जङ्गबहादुरले बेलायतबाट फर्कने क्रममा फ्रान्सको पनि भ्रमण गरेका थिए। त्यसबेला फ्रान्सका राष्ट्रपति (जो पछि सन् १८५२ मा फ्रान्सका सम्राट पनि बने) लुई नेपोलियन तृतीय (महान नेपोलियन बोनापार्टका भतिजा) थिए। कुराकानीको क्रममा राष्ट्रपति लुई नेपोलियनले प्रधानमन्त्री जङ्गसमक्ष “तपाईँलाई यहाँ मनोरञ्जनका निमित्त केही रमाइला कुराको इच्छा छ कि?”[४]भनी सोध्दा प्रधानमन्त्री जङ्गले एक लाख सेनाले एकैपटक प्रस्तुत गरेको सामूहिक परेड (मार्चपास्ट) हेर्ने आफ्नो इच्छा रहेको कुरा बताए। विशिष्ट अतिथिको इच्छा पूरा गर्नका लागि फ्रान्समा वि.सं. १९०७ भदौ १० (तदनुसार १८५० सेप्टेम्बर १४) मा सैनिक परेड प्रदर्शनीको आयोजना गरियो। जङ्गबहादुरलाई घोडा चढेर एक लाख फ्रेन्च सैनिकद्वारा सर्टरीको मैदानमा गरिने परेड अवलोकन गर्न विशेष व्यवस्थाका साथ परेडस्थलमा निमन्त्रणा गरिएको थियो। मार्च पास सुरु भयो। जङ्गबहादुर सवार घोडा अरू सबैलाई उछिनेर निकै अगाडि बढ्यो। जङ्गले आफू सवार घोडालाई नियन्त्रणमा लिई अन्य सैनिकको मार्च “कहाँ आई पुगेछ ?” भनी पछाडि फर्केर हेरे। घोडचढी सैनिकको जुलुस निकै पछि थियो। अनेक खेल-तमासा देखाई एक लाख फ्रेन्च सैनिकको परेड सकियो। यसरी फ्रेन्च सिपाहीको जुलुसलाई पछि फर्केर हेर्दाको संस्मरणस्वरूप त्यसकै झल्को आउने गरि जंगबहादुरले सैनिक मुद्रामा आफ्नो सालिक निर्माण गर्न आदेश दिए।

यो सालिकको लागि जङ्गबहादुरको तस्विर वि.सं.१९३१ माघमा बम्बइमा खिचिएको थियो। जसले गर्दा यो स्पष्ट हुन्छ कि जङ्गबहादुरले आफ्नो घोडचढी सालिक बनाउन आफैले लगाएका थिए। यस पटक जङ्गबहादुर दोश्रो पटक बेलायतको भ्रमणमा जान लागेका थिए। विसं १९३२ वैशाख ९ मङ्गलबार जङबहादुरले बागमती नदी किनरमा नयाँ मन्दिर (कालमोचन मन्दिर) बनाएर देवता तिर फर्केर हात जोडिरहेको आफ्नो सालिक स्थापना गरेका थिए। १९३२ फागुनमा दोस्रो पटक बेलायत जान लागेका जंगबहादुर बम्बइ पुगेका बेला एकाबिहानै घोडाबाट लडेर रोडा हालेको ढुङ्गामा छातिका भर परी लडेकाले उनको बेलायत यात्रा रद्द गर्नुपर्यो। जहाजमा सामान राखिसकेको भए तापनि अन्तिम दिन बजार डुल्न जाँदा घोडाबाट लडेर चोट लागेपछि भ्रमण रद्ध गरिएको थियो।[५] जङ्गबहादुर त जान चाहेका थिए तर वैद्य तथा रानीहरूले जान दिएनन्।

जङ्गको आदेशमा वि.सं. १९३२ मा उनका छोरा जीतजंगले सालिक बनाउन दिएका थिए। यसैबीच वि.सं. १९३३ फागुनमा जङ्गको निधन भयो।[५] वि.सं. १९३८ मा लन्डनका प्रख्यात मुर्तिकार थोमस ब्रकले तयार गरे। सालिकको निर्माण सकिएर काठमाडौँ ल्याइ पुर्याउन ६ महिना समय लाग्यो। सालिक १९३८ साल असोजमा ल्याइपुर्याइयो। काठमाडौमा सो मुर्ति आइपुगेपछि पनि २ वर्ष भन्दा बढी स्थान निश्चित नहुदा स्थापना गर्न सकिएको थिएन। जङ्गबहादुरको सालिक तत्काल सार्वजनिक गरिएन। पछि रणोद्वीप सिंह राणाले दाजु जंगको इच्छा अनुरुप टुँडिखेल पश्चिमको सडक चौडा बनाए। जङ्गबहादुर पछि प्रधानमन्त्री बनेका उनका भाइ रणोद्दीप सिंहले धरहरा पूर्वकै चौबाटो नेर १९४१ साल असारमा उद्घाटन गरे।

जङ्गबहादुरको सालिक अनावरण समारोह सन् १८८२[६]

यस सालिकको अनावरण बि.सं १९३८ मा; उद्घाटन वि.सं. १९४२ आषाढमा श्री ३ रणोद्दिप सिंहले राजा पृथ्वी वीर बिक्रम शाह, जो जङ्गबहादुरका नाति (छोरीको छोरा) समेत थिए,को उपस्थितिमा गरेका थिए। [७]

उद्घाटन समारोह[सम्पादन गर्नुहोस्]

जङ्गबहादुरको सालिक अनावरण समारोह त्यस समयको निकै ठूलो समारोहमा पर्छ। सन् १९२७ मा लेखिएको 'नेपाल एन्ड द नेपालिज' पुस्तकमा लेखक लेफ्टिनेन्ट कर्नेल गिमलेटले यस समारोहको सविस्तार वर्णन गरेका छन्। यस भव्य समारोहका उनि प्रत्यक्षदर्शी थिए। तसर्थ पनि उनको वर्णन पढ्दा रोमाञ्चित हुनु स्वभाविकै हो। वि.सं. १९४१ चैत्र १४ गते ब्रिटिस सरकारको निमन्त्रणामा तीन जनरलहरू खड्ग शम्शेर (धीर शमशेरको पुत्र), केदार नरसिंह (बद्री नरसिंह पुत्र) र ध्वज नरसिंह (रणोद्वीपका धर्मपुत्र) रावलपिण्डीको लागी निस्केका थिए। भने यता सुन्धारा र भद्रकालीको बिचमा टुँडिखेलको पश्चिम पट्टि ठूलो फराकिलो सडक बनाएर बिचको चोकमा जङ्गबहादुरको सालिक स्थापना गरिएको थियो। जङ्गबहादुरले आफू जीवित हुँदै यो सडकको परिकल्पना गरेका थिए र उनका छोरा कमाण्डर इन चिफ जीतजंग (जो वि.सं. १९३८ मा जगतजंगलाई चुनारको जेलमा कैद गरिए पछि पश्चिम कमान्डर जनरल र १९४१ मा धीर शमशेरको मृत्यु पश्चात प्रधानसेनापति भएका थिए।) ले सोही चोकको बिचमा जंगकै सालिक राखिदिए।

वि.सं. १९३८ मा लण्डनका प्रख्यात मुर्तिकार थोमस ब्रकले तयार गरेको यो मुर्ति नेपालसम्म ल्याउनु निकै कठिन कार्य थियो। पानीजहाजबाट कलकत्ता र त्यहाँबाट रेलमा बेतिया त्यसपछि लरि तथा मानिसहरूलाई बोकाएर झण्डै ६ महिना लगाएर काठमाडौं ल्याइएको थियो। रणोद्दिप सिंहको सालिक आइपुगेपछि छिटो छिटो दुवै सालिक स्थापना गर्न थालियो। निर्माता कम्पनीले करिव नेपाली ७०,००० रूपैयामा मुर्ति तयार गरेर काठमाडाै सम्म पुर्याउने जिम्मा लिएको थियो। काठमाडाैमा मात्र ६०,००० जनसंख्या भएको भए पनि पाटन, भक्तपुर समेतको जनताको भिडले टुँडिखेल वरपर सेना र जनता गरि करिव १२,००० जम्मा भएका थिए।

जङ्गबहादुरको सालिक भद्रकाली मन्दिरबाट पश्चिम तथा धरहराको नजिकै रहेको चाैबाटोमा राखिएको थियो। ऐतिहासिक खरीको बोटको चौतारोमा बसेर प्रधानमन्त्री रणोद्वीप सिंह कुँवरले वि.सं. १९४१ चैत १४ मा उद्घाटन गरेका थिए। ९ वर्षका राजा, जो जङ्गबहादुरका छोरी ललित राजेश्वरी राज्य लक्ष्मी तर्फका नाती थिए; राजा पृथ्वी वीर विक्रमले आफ्नो सन्देश प्रधानमन्त्री रणोद्दिप सिंहलाई दिए, प्रधानमन्त्रीले त्यो सन्देश कमाण्डर इन चिफलाई पढ्न दिएका थिए। जङ्गबहादुरको बहादुरीको प्रशंसाले भरिएको सो भाषण आधा घण्टा लामो थियो। त्यसपछि प्रधानमन्त्री तथा श्री ३ को भाषण पछि कपडाले ढाकिएको सो सालिकलाई बालक राजा पृथ्वी वीर बिक्रमले बाधिएको डोरि तानेर सबैको लागी खोलि दिए। दुइ वर्ष देखि सालिक हेर्न आतुर जनताको प्रतिक्षा पुरा भयो।[८]

स्थानान्तरण[सम्पादन गर्नुहोस्]

वि.सं. २०१७ मा बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणमा आउने कार्यक्रम तय भयो। राणा शासक देखि सधै उग्र रहेका राजा महेन्द्रलाई रानी एलिजाबेथको नेपाल भ्रमणको तालिका प्राप्त हुनु राणाहरुको बिच सडकमा भएको सबै सालिकहरु हटाउने मौका भयो। राजा महेन्द्र, आफ्ना पुर्खालाई दराबारमा राजबन्दी जस्तो बनाई, शक्ति खोसी खोपामा थुन्ने राणा महाराजहरूलाई मन पराउँदैनथे। [९] [१०] मौका कुरिरहेका राजा महेन्द्रले सबै सालिकहरु हटाउन लगाए। यसरी हटाउने क्रममा जंगको सालिकमा रहेको तरवारको टुप्पो भाच्चियो। सडक विस्तार गर्ने क्रममा यो सालिक स्थानान्तरण गरिँदा जङ्गबहादुरको सालिकको हातमा रहेको तरबार भाँचिएको थियो। तर यो बनाउने चासो दिईएन। अहिले त संरक्षणको अभावले अझ टुटफुट भएको छ।

वर्णण[सम्पादन गर्नुहोस्]

मैदानमा रहेको सर जेम्स अटरमको सालिक, अहिलेको भिक्टोरिया मेमोरियल उद्यान कलकत्ता , भारतमा अवस्थित
सुवास चन्द्र बोसको घोडचढी सालिक, कोलकाता

जङ्गबहादुर सैनिक पोशाकमा घोडा चढीरहेका छन्। घोडाको अगाडीको दायाँ घुट्टा उचालिएको छ। र जंगबहादुर दायाँ पट्टिबाट पछाडी फर्केका छन्। जंगबहादुरको हातमा तरबार पनि रहेको छ जुन सालिक स्थानान्तरण गरिँदा भाँचिएको थियो।

जङ्गबहादुरको यो सालिक कलकत्तास्थित भिक्टोरिया पार्कमा रहेको लेफ्टिनेन्ट जनरल जेम्स अटरमको सालिकको बनावटमा प्रायः समानता रहेको छ। अटरमको सालिक थोमस ब्रुकका गुरु जोन हेनरी फोलीले निर्माण गरेका थिए।[६] कोलकातामा रहेको सुवास चन्द्र बोसको घोडचढी सालिक पनि यहि सालिक संग मिल्दो जुल्दो छ।

जङ्गबहादुरले युरोप भ्रमणका बेला वि.सं. १९०७ भदौ १० गते फ्रान्सको सर्टरी मैदानमा सैनिक परेड हेर्न घोडा चढेर अघि बढ्दा घोडालाई नियन्त्रणमा ल्याई पछाडि फर्केको क्षणलाई स्मरण गराउन यो सालिकको निर्माण गरिएको थियो। यो सालिकको अनावरण वि.सं. १९३८ मा गरिएको थियो भने सालिकको उद्घाटन वि.सं. १९४२ आषाढमा श्री ३ रणोद्दिप सिंहले तत्कालीन राजा पृथ्वी वीर बिक्रम शाहको उपस्थितिमा गरेका थिए। वि.सं. २०१७ मा सडक विस्तार गर्ने क्रममा यो सालिक स्थानान्तरण गरिँदा जङ्गबहादुरको सालिकको हातमा रहेको तरबार भाँचिएको थियो।

अभिलेख[सम्पादन गर्नुहोस्]

यो सालिकको मुन्तिर निम्न उल्लेखित अभिलेख रहेको छ।

स्वस्ति श्री मदति प्रचण्ड भुजदण्डेत्यादि श्री श्री श्री महाराज सर जङ्ग बहादुर राणा जी.सी.बी.
ञैण्ड जी सी एस आई थोङ लिन् पिम्मा कोकाङ वाङ स्यान प्राइममिनिस्टर याण्ड कम्याण्डर इन
चिफ नेपाल १८७४ साल आषाढ सुदी ४ रोज ४ को जन्म
१९३३ साल फागुन सुदी १२ रोज १ मा मुक्त

HIS EXCELLENCY MAHARAJA SUR JUNG BAHADOOR
RANA G.C.B.& G.C.S.I THONG LING PIMMA MA
KO KANG WANG SIAN PRIME MINISTER
COMMANDER IN CHIEF NEPAL
T.BROCKS
LONDON 1881

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "EQUESTRIAN STATUES Kees van Tilburg JUNG BAHADUR" 
  2. "एकीकरणका अर्का नायक जङ्गबहादुर राणा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-१४ 
  3. "जङ्गबहादुरः जस्ले नेपालको नक्शा बदले", रिपोर्टर्स नेपाल (नेपालीमा), २०१९-०८-१०, अन्तिम पहुँच २०२०-११-१३ 
  4. पुरुषोत्तम शमशेर जबरा (२०४७वैशाख), श्री ३ हरूको तथ्य वृत्तान्त, परमवीरशमशेर राणा; श्रीशंकर मुद्रणालय। 
  5. ५.० ५.१ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४२, आइएसबिएन 99933-2-406-X 
  6. ६.० ६.१ BRONZE WARRIORS FOR EVER
  7. टुँडिखेल वरपरका अश्वारोही सालिकहरू: श्यामसुन्दर राजवंशी; जयन्ती श्रेष्ठ
  8. उलक, सुनिल (२०७४, २६ पुष बुधबार), "थरिथरिका घोडचढी सालिकहरू", सदृश्य 
  9. "मजलिसको आँखा–१२", हिमाल खबर। 
  10. मजलिसको आँखा–१२