जीवा लामिछाने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जीवा लामिछाने
जीवा
जन्मसन् १९६७ फेब्रुअरी १३
पदमपुर, चितवन नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षास्नातकोत्तर (सिभिल इन्जिनियरिङ)
पेशालेखन, व्यापार
चिनारीको कारणयात्रा संस्मरण, अनुवाद
उल्लेखनीय कार्य
सरसर्ती संसार
गृहनगरचितवन
जीवनसाथीडा. विन्दिता पोखरेल
सन्तानअनुराग लामिछाने र अनुकृत लामिछाने
मातापितास्व. खेमलाल लामिछाने र हरिकला लामिछाने

जीवा लामिछाने नेपाली उद्यमी एवम् गैर आवासीय नेपाली सङ्गठन को अन्तर्राष्ट्रिय समन्वय परिषदका भूतपूर्व अध्यक्ष हुन्।[१] उनी गैर आवासीय नेपाली सङ्गठनका संस्थापक सदस्य हुन्।[२]

आजभन्दा करीब आधा शताब्दी अघि सन् १९६७ फेब्रुअरी १३ मा चितवन जिल्लाको पदमपुर गाविसमा जन्मिएका जीवा लामिछाने अध्ययनले इन्जिनियर, पेशाले व्यवसायी र रूचीले साहित्यकार तथा समाजसेवी हुन्। पिता स्व. खेमलाल लामिछाने र आमा हरिकला लामिछानेको चौथो सन्तानका रूपमा जन्मिएका उनी सानैदेखि पढाइमा तेज थिए। विश्वका विभिन्न स्थानहरूमा घुम्न रूची राख्ने उनको 'सरसर्ती संसार' [३] नामक यात्रा संस्मरण प्रकाशित भएको छ। यसका अतिरिक्त उनका फुटकर साहित्य सिर्जनाहरू गोरखापत्र, मधुपर्क (पत्रिका), कान्तिपुर दैनिक[४], नागरिक दैनिक, नयाँ पत्रिका दैनिक लगायत अन्य पत्रपत्रिका तथा अनलाइनहरूमा प्रकाशित भएका छन्। रूस-नेपाल उद्योग वाणिज्य संघको संस्थापक सदस्य रहेका उनी गैरआवासीय नेपाली सङ्घको पनि संस्थापक सदस्य हुन्। उनले सन् २०११ देखि २०१३ सम्म गैरआवासीय नेपाली संघको अध्यक्षको कार्यभार सम्हालेका थिए। हाल उनी एनआरएनको संरक्षक हुन्। [५] खेमलाल-हरिकला प्रतिष्ठान, चितवनका अध्यक्ष [६] रहेका उनलाई नेपाली समुदायप्रति गरेको योगदानको कदरस्वरूप नेपाल सरकारबाट सन् २०१३ मा प्रवल जन-सेवाश्री पदकबाट [७] विभूषित गरिएको थियो।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

जीवा लामिछानेको जन्म सन् १९६७ फेब्रुअरी १३ मा चितवन जिल्लाको पदमपुरमा मध्यमवर्गीय किसान परिवारमा भएको हो। उनको पुर्ख्यौली घर कास्की जिल्लाको हर्पाक, अर्मला हो। उनका दुई दाजुहरू, एक भाइ र एक दिदी छन्। उनको जेठो दाजुको मृत्यु भइसकेको छ। आम नेपालीको जस्तै उनको बाल्यकाल पनि सामान्यरूपमा बितेको पाइन्छ।

शिक्षा[सम्पादन गर्नुहोस्]

बीस-तीसको दशकमा नेपालमा अहिलेजस्तो छ्यापछ्याप्ती बोर्डिङ् स्कुलहरू खुलेका थिएनन्। सीमित बोर्डिङ् स्कुलमा पढाउने उनको परिवारको क्षमता पनि थिएन। यसैले उनी गाउँकै विद्यालयमा भर्ना भए। कक्षा एकदेखि तीनसम्म राष्ट्रिय प्राथमिक बिद्यालय, पिपरिया र कक्षा चारदेखि सातसम्म भीमोदय निम्न माध्यामिक विद्यालयमा अध्ययन गरे। सानैदेखि पढ्नमा तेज उनी कक्षामा प्रथम हुन्थे। सात कक्षासम्म यसै स्कुलमा अध्ययन गरेपछि उनी रत्ननगर, टाँडी चितवनस्थित नेपाल माध्यमिक विद्यालयमा भर्ना भए। नेपाल मा.वि. बाटै वि.सं. २०३९ सालमा उनले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे। त्यसपछि उनी उच्च शिक्षाको प्रारम्भिक अध्ययनका लागि काठमाडौँ आए। त्रिभुवन विश्वविद्यालय अन्तर्गत् इन्जियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा वि.स. २०३९ मा भर्ना भए। पुल्चोक क्याम्पसबाट वि.सं. २०४३ मा सिभिल संकायतर्फ प्रविणता प्रमाणपत्र तहमा उनी प्रथम श्रेणीमा प्रथम भए। त्यसपछि त्यसै साल अर्थात् सन् १९८६ मा नेपाल सरकारको तर्फबाट छात्रवृति प्राप्त गरी उच्च शिक्षा अध्ययनकालागि तत्कालीन सोभियत सङ्घ (युएसएसआर) गए। रुसको रसायन सहरका रूपमा प्रख्यात् नोभोमस्कोभ्स्क[८] स्थित मेन्डेलिभ केमिकल टेक्नोलोजी इन्ष्टिच्युट[९]मा रसियन भाषा अध्ययनका लागि भर्ना भए। एकवर्ष त्यसै अध्ययन संस्थानमा रसियन भाषा र आधारभूत विज्ञानका बिषयहरूको अध्ययनपछि मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियारिङ[१०] (मिसी)मा सिभिल इन्जिनियरिङ संकायमा उनी भर्ना भए। सन् १९९२ मा सोही युनिभर्सिटीबाट उनले सिभिल इन्जिनियरिङ विषयमा स्नातकोत्तर डिग्री प्राप्त गरे।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

जीवा लामिछानेको विवाह सन् १९९६ मा डा. विन्दिता पोखरेलसँग मस्कोमा भयो। विन्दिताले मस्कोस्थित पेपुल्स फ्रेन्डशिप युनिभर्सिटी[११]बाट मेडिकल डाक्टर अध्ययन गरेकी छन्। उनीहरूको पहिलो सन्तानको रूपमा सन् १९९८ मा अनुराग लामिछाने र दोस्रो सन्तान अनुकृत लामिछानेको जन्म सन् २००० मा भयो। हाल उनी सपरिवार जर्मनीको फ्र्यान्क्फार्ट[१२] सहरमा बसोबास गर्छन् भने संगमचोक नयाँ बानेश्वर, काठमाडौँमा उनको परिवारका अन्य सदस्य बसोबास गर्छन्।

कार्यजीवन[सम्पादन गर्नुहोस्]

सोभियत संघका तत्कालीन राष्ट्रपति मिखाइ गोर्बाचोभको 'ग्लासनोस्त र पेरेस्त्रोइका' (खुल्लापन र पुनर्निर्माण) नीतिपश्चात्‌ खुल्ला बजार अर्थतन्त्रको सुरुवात भयो। त्यसैको फाइदा उठाएर सन् १९९२ मा लामिछानेले ग्रोसरी खालको किराना पसल, मम क्याफे हुँदै मस्कोमा इलेक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गरे। उनी आवद्ध कम्पनीले रुसमा सोनी, पानासोनिक, क्यानन, निकोन, जेभीसीलगायत् अन्य विद्युतीय सामग्रीको आधिकारिक बिक्रेता भई काम गर्न थाल्यो। नेपालमा पनि विविध क्षेत्रमा उनको लगानी रहेको छ। सन् २००३ मा उनले कान्तिपुर टेलिभिजनमा लगानी सुरु गरेका उनी कान्तिपुर टेलिभिजन नेटवर्कको कार्यकारी निर्देशक [१३] थिए। हाल उनी कान्तिपुर टेलिभिजन नेटवर्क लगायत सानिमा ग्रुपका अन्य कपम्नीहरूमा संलग्न रहेका छन्। उनी एनआरएन इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, नेपालका अध्यक्ष हुन्। सन् २०१२ देखि उनी फ्याङ्कफर्ट, जर्मनीमा होटल व्यवसायमा संलग्न छन्। उनी आवद्ध समुहले ट्रीप इन्न होटेल [१४] चेन मार्फत जर्मनीयुरोपका अन्य केही सहरहरूमा होटेल सञ्चालन गर्दै आएको छ। सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को संस्थापक उनी सन् २०११ मा त्यस संस्थाको अध्यक्ष भए। हाल उनी संरक्षक रहेको त्यस सङ्घ विश्वका विभिन्न ८० देशमा शाखा बिस्तार सहित विदेशमा बसोबास गर्ने पचास लाखभन्दा बढी नेपालीहरूको साझा संगठनको रूपमा प्रसिद्ध छ। जीवा लामिछाने व्यापार व्यवसायमा मात्र सीमित छैनन्। उनको योगदान समाजसेवा र साहित्यलेखनमा पनि उत्तिकै छ। उनले आफ्नो बाबु-आमाको सम्मानमा खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानको स्थापना गरेका छन्। उनी संरक्षक रहेको उक्त प्रतिष्ठानले साहित्यका क्षेत्रमा प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान प्रदान गर्ने गर्छ। यस्तै उनी रसिया चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको आजीवन सदस्य तथा रत्ननगर चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको सल्लाहकार समेत हुन्।

साहित्यिक जीवन[सम्पादन गर्नुहोस्]

व्यवसाय र समाजसेवाको अतिरिक्त साहित्य अध्ययन र सिर्जना उनको रूचीको विषय हो। वि.सं. २०३७ सालमा नेपाल माध्यामिक विद्यालय, रत्ननगर नगरपालिका, चितवनको वार्षिक मुखपत्र 'नेपाल ज्योति'मा निबन्ध प्रकाशित गरेर साहित्यको गोरेटोमा पाइला राखेका उनका रचनाहरू कान्तिपुर दैनिक, हिमाल पत्रिका, नागरिक दैनिक, नेपाल साप्ताहिक, अन्नपूर्ण पोष्ट आदि पत्रपत्रिकामा प्रकाशित भइसकेका छन्। विश्वका विभिन्न देश तथा स्थानहरू घुम्न मन पराउने लामिछाने उक्त स्थानको फोटो खिच्ने तथा भ्रमणलाई यात्रा संस्मरणका रूपमा लेख्ने गर्दछन्। उनको चर्चित यात्रा संस्मरण 'सरसर्ती संसार' नेपा-लय प्रकाशन गृहद्वारा वि.सं. २०७३ (डिसेम्बर २०१६)मा प्रकाशित भइसकेको छ। नेपालका ५० जिल्लाभन्दा बढी तथा विश्वका पाँचै महादेशका १०० भन्दा बढी मुलुक घुमिसकेका उनको यो कृतिले पाठकलाई विश्वको धेरै भूभागको भ्रमण गराउँछ। नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउनका लागि नेपाली साहित्यकृति अङ्ग्रेजी र रूसी भाषामा अनुवाद गरी प्रकाशन गराउन महत्त्वपूर्ण योगदान रहेको छ। उनले 'सेलेक्टेड नेपाली पोयम्स',[१५] 'सेलेक्टेड नेपाली लिरिकल पोयम',[१६], 'सेलेक्टेड नेपाली एस्सेज्',[१७], 'कारागार' [१८] लगायतका कृतिहरू अनुवाद गरी प्रकाशन गर्न महत्त्वपूर्ण योगदान गरेका छन्।

पुरस्कार तथा नियुक्ति[सम्पादन गर्नुहोस्]

उनको अनुभव तथा योगदानको कदर गर्दै सन् २०११ नोभेम्बरदेखि २०१३ मार्चसम्म तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले आर्थिक सल्लाहकार परिषद्को सदस्यमा उनलाई नियुक्ति गरेका थिए। नेपाल र प्रवासी नेपालीहरूलाई पुर्‍याएको योगदानको कदरस्वरूप सन् २०१३ मा उनले तत्कालीन नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको हातबाट प्रवल जनसेवाश्री पदक प्राप्त गरे। सन् २०१८ देखि प्रधानमन्त्री खड्गप्रसाद ओलीको आर्थिक सल्लाहकार परिषद सदस्यका रूपमा रहेका छन्।

 

विभूषण तथा नियुक्ति[सम्पादन गर्नुहोस्]

  • प्रवल जनसेवाश्री पदक​ (सन् २०१३)
  • प्रधामन्त्रीको डा बाबुराम भट्टराईको आर्थिक सल्लाहकार परिषद्को सदस्य (सन् २०११ देखि २०१३)
  •  प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित आर्थिक सल्लाहकार परिषदको सदस्यमा मनोनित सन् २०१८ देखि  

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ICC 2011-2013", Non Resident Nepali Association, Non Resident Nepali Association, अन्तिम पहुँच १७ डिसेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण १४ डिसेम्बर २०१६ मिति
  2. "Jiba Nath Lamichhane", NRN Investment Limited, NRN Investment Limited, अन्तिम पहुँच १७ डिसेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २०१६ मिति
  3. हिमालखबर डटकम-व्यवसायी लामिछानेको 'सरसर्ती संसार' सार्वजनिक
  4. कान्तिपुरडेली डटकम-कंकाल सम्याएर उभिएको विकास
  5. नेपालकानून डटकम-जीवा लामिछाने एनआरएन प्रमुख संरक्षक मनोनित वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१५ मिति
  6. हिमालखबर डटकम
  7. विजमाण्डू डटकम- गणतन्त्र दिवशमा राष्ट्रपतिले १८९ जनालाई दिए मानपदवी, सुरज र जिवालाई पनि
  8. Novomoskovsk, Russia
  9. Mendeleev University of Chemical Technology of Russia
  10. Moscow State University of Civil Engineering
  11. Peoples Friendship University of Russia
  12. Frankfurt
  13. कान्तिपुरडेली डटकम
  14. ट्रिपइन-होटल डटकम-ट्रपइन होटल
  15. एमेजन डटकम-सेलेक्टेड नेपाली पोयम्स
  16. बुक्स डट गुगल डटकम डटएनपि-सेलेक्टेड नेपाली लिरिकल पोयम्स
  17. बुक्स डट गुगल डटकम डटएनपि-सेलेक्टेड नेपाली एस्सेज
  18. फ्याङ्कलिन डटलाइब्रेरी डटयुपिइएनउन डटइडियु-पेनन लाइब्रेरी

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]