फिजी हिन्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिजी हिन्दी
फ़ीजी हिंदी (देवनागरी)
𑂣𑂺𑂱𑂔𑂲⸱𑂯𑂱𑂁𑂠𑂲 (कैथी)
मूलभाषीफिजी
रैथाने(हरू)फिजी हिन्दुस्तानी लोक
मातृभाषी वक्ता४,६०,०००
हस्ताक्षरित रूप
साङ्केतिक हिन्दी
सरकारी दर्जा
आधिकारिक भाषा
 फिजी
भाषा सङ्केतहरू
आइएसओ ६३९-३hif
ग्लोटोलगfiji1242[१]

फिजी हिन्दी (हिन्दी लेखनभेद: फ़ीजी हिंदी) अथवा स्थानीय तहमा हिन्दुस्तानी बहुसंख्यक फिजी हिन्दुस्तानी लोकद्वारा बोलिने हिन्द-आर्य भाषा हो ।[२] मध्य क्षेत्रीय हिन्दीमा वर्गीकृत गरिएको फिजी हिन्दीलाई अवधी तथा अन्य बिहारी भाषाद्वारा प्रभावित उत्तरपूर्वी भारतमा बोलिने भोजपुरीको पुरानो भाषिका मानिन्छ । यस भाषाको शब्दावलीमा अङ्ग्रेजीफिजियनको पनि निकै प्रभाव परेको छ । यसमा प्रयोग गरिने धेरैजसो नयाँ शब्दहरू फिजीको हिन्दुस्तानी जनसमूहको वर्तमान स्थितिमा आधारित छन् ।[३] फिजीमा बसाइ सरेका फिजी हिन्दीलाई सम्पर्क भाषाका रूपमा प्रयोग गर्ने भारतीय जनसमूहका प्रथम पुस्ताले उक्त भाषालाई फिजी बात भन्थे । यस भाषाको मौरिससदक्षिण अफ्रिकामा बोलिने क्यारिबियन हिन्दुस्तानीभोजपुरी-हिन्दुस्तानीसँग नजिकको सम्बन्ध छ । यो बिहारका भोजपुरीमगही तथा उत्तर प्रदेशको हिन्दी भाषिकासँग सम्बन्धित छ तर ध्वनि तथा शब्दावलीका आधारमा मानक हिन्दीभन्दा भिन्न छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

निम्न तालिकामा भाषा तथा भाषिकाका आधारमा भारतबाट करारनामाले गर्दा फिजीमा बसाइ सरेका श्रमिकको तथ्याङ्क प्रस्तुत गरिएको छ ।

भाषा तथा भाषिका सङ्ख्या प्रतिशत
बिहारी भाषिका (मुख्यतः भोजपुरी, मगहीमैथिली) १७,८६८ ३९.३%
पूर्वी हिन्दी भाषिका (मुख्यतः अवधी, छत्तीसगढीबघेली) १६,८७१ ३७.१%
पश्चिमी हिन्दी भाषिका (मुख्यतः हिन्दुस्तानी, हरियाणवी, ब्रज भाषाबुन्देली) ६,९०३ १५.२%
राजस्थानी भाषिका (मुख्यतः मारवाडी) १,१११ २.४%
द्रविड भाषासमूह (मुख्यतः तमिलतेलुगु) २,१८६ ४.८%

भारतीय करारनामामा आबद्ध श्रमिकहरू मुख्यतः हिन्दी क्षेत्रका भाषिका बोल्थे । सुरुवातमा अधिकतम श्रमिकहरू मध्यपूर्वी उत्तर प्रदेशबिहारबाट फिजी आएका थिए । इस्वी संवत्‌को उन्नाइसौँ शतकको अन्त्य तथा बिसौँ शतकको आरम्भमा उत्तर-पश्चिम सीमान्त प्रदेश, आन्ध्र प्रदेशतमिलनाडुबाट पनि केही श्रमिकहरूलाई करारनामा गराई फिजी लगिएको थियो ।

समय बित्दै जाँदा फिजीमा पूर्वी हिन्दीमा आधारित विशिष्ट हिन्द-आर्य भाषाको निर्माण भयो, जसमा अङ्ग्रेजीफिजियनका तत्त्व तथा शब्दावली पनि समावेश गरियो । विभिन्न भाषा बोल्ने श्रमिकहरूलाई पनि एकअर्कालाई बुझ्न एक कडीको आवश्यकता परेको हुनाले फिजी हिन्दीको विकास र विस्तारको गति बढ्यो । करारनामाको समयमा फिजीमा बसोबास गरेका पर्सी राइटले लेखेका थिए,

फिजीमा जन्मेका भारतीय बालबालिकाको मिश्रित भाषा हुनेछ; भारतीय जनसमूहको बिचमा पनि धेरै भाषा तथा भाषिका छन् र फिजियन समूहसँग पनि भारतीय जनसमूहको दिनानुदिन अन्तरक्रिया भइरहेको हुन्छ । नयाँ पुस्ताका बालबालिकाले प्रत्येक भाषाबाट थोरै अंश लिनेछन् र आफ्ना मातापिताले बोल्ने भाषालाई छुट्ट्याउन सक्ने छैनन् ।

— पर्सी राइट[४]

सन् १९१४ मा बर्टन र सन् १९१७ मा लेनवुडलगायत अन्य लेखकहरूले पनि समान प्रकारका कुरा अघि सारेका थिए ।[५][६] सन् १९२० देखि सन् १९३० सम्ममा समग्र फिजीका हिन्दुस्तानी जनसमूहले फिजी हिन्दी सिके, जुन फिजीमा रहेका उत्तर तथा दक्षिण भारतीय लोक दुवैको आम भाषा बन्यो ।[७]

स्थिति[सम्पादन गर्नुहोस्]

पिजिन हिन्दुस्तानी
मातृभाषी वक्ता
फिजी हिन्दीमा आधारित पिजिन
भाषा सङ्केतहरू
आइएसओ ६३९-३कुनै पनि होईन (mis)
ग्लोटोलगpidg1251[८]

इस्वी संवत्‌को बिसौँ शतकको आरम्भमा मुख्यतः द्रविड भाषासमूह बोल्ने लगभग १५,००० श्रमिकहरूलाई दक्षिण भारतबाट फिजीमा ल्याउँदा फिजी हिन्दी फिजी हिन्दुस्तानी लोकको सम्पर्क भाषाको रूपमा स्थापित भइसकेको थियो र ती दक्षिण भारतीय श्रमिकहरूले पनि सो भाषा सिक्नुपरेको थियो । करारनामा प्रणालीको अन्त्यपश्चात् गुजरातीपन्जाबी भाषा बोल्ने जनसमूह स्वतन्त्र आप्रवासीका रूपमा फिजीमा बसाइ सर्न थाले । फलस्वरूप, केही फिजी हिन्दुस्तानी लोक घरमा गुजराती, तमिल र तेलुगु बोल्छन्, तर सबैलाई फिजी हिन्दीको मूल ज्ञान छ । सन् १९५६ र सन् १९६६ का जनगणनाले फिजी हिन्दुस्तानी जनसमूहका घरमा फिजी हिन्दीको प्रभावलाई स्पष्ट रूपमा झल्काइएको छ:

भाषा सन् १९५६ मा परिवारको सङ्ख्या सन् १९६६ मा परिवारको सङ्ख्या
फिजी हिन्दी १७,१६४ ३०,७२६
हिन्दी ३,६४४ ७८३
तमिल १,४९८ ९९९
उर्दू १,२३३ ५३४
गुजराती ८३० ९३०
तेलुगु ७९७ ३०१
पन्जाबी ४६८ १७५
मलयालम १३४ ४७
अन्य ९० ३५९

फिजी हिन्दुस्तानी जनसङ्ख्या उच्चतम भएको क्षेत्रमा फिजी जनताले पनि फिजी हिन्दी बुझ्छन् र बोल्न सक्छन् । आदिवासी फिजी जनजाति तथा चिनियाँ लोकले फिजी हिन्दीको पिजिन बोल्छन् भने फिजी हिन्दुस्तानी लोकले पिजिन फिजियन बोल्छन् ।

फिजीको राजनीतिक अस्थिरताका कारण धेरै फिजी हिन्दुस्तानी जनता अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्डसंयुक्त राज्य अमेरिकामा प्रश्रयका लागि गएपनि फिजी हिन्दी संस्कृति, भाषा तथा धर्म अझै कायम छ ।

निकट भूतकालमा केवल बोल्नका लागि प्रयोग गरिने फिजी हिन्दीलाई वर्तमानमा साहित्यिक भाषाको रूपमा पनि प्रयोग गर्न थालिएको छ । हाल बाइबललाई फिजी हिन्दीमा अनुवाद गरिएको छ र दक्षिण प्रशान्त विश्वविद्यालयमा पनि फिजी हिन्दी पाठ्यक्रम जारी गरिएको छ । फिजी हिन्दी लेख्नका लागि रोमन लिपिका साथै देवनागरी लिपिको पनि प्रयोग गरिन थालिएको छ ।

स्थानीय नाटककार रेमन्ड पिल्लईको नाटकमा आधारित फिजी हिन्दुस्तानी जीवनलाई चित्रित गर्ने एउटा फिजी हिन्दी चलचित्र पनि हालै सार्वजनिक गरिएको छ ।[९]

स्वरविज्ञान[सम्पादन गर्नुहोस्]

फिजी हिन्दीको स्वरविज्ञान तथा स्वनिम मानक हिन्दीको स्वनिम जस्तै भएपनि यी दुईबिच केही महत्त्वपूर्ण भिन्नता छन् । बिहार र उत्तर प्रदेशलगायत भारतका ग्रामीण क्षेत्रमा बोलिने भोजपुरी तथा अवधी भाषिकाहरूमा झैँ फिजी हिन्दीमा पनि /ʃ/ लाई /s/ (उ. शादीलाई सादी) र /ʋ/ लाई /b/ (उ. विदेशलाई बिदेस) उच्चारण गरिन्छ । फिजी हिन्दीमा /pʰ//f/ तथा /d͡ʒ//z/ बिचका भिन्नतालाई पनि खासै ध्यान दिइँदैन । उदाहरणका लागि फिजी हिन्दी उच्चारण अनुसार फ़लफलमा तथा ज़मीनजमीनमा कुनै भिन्नता हुँदैन । फिजी हिन्दीलाई रोमन लिपिमा लेख्दा /ŋ/, /ɲ//ɳ/ व्यञ्जनका लागि पनि /n/ व्यञ्जनको नै प्रयोग गरिन्छ । यी सबै पूर्वी हिन्दी भाषिकाहरूमा प्रयुक्त विशेषता हुन् ।[१०] फिजी हिन्दीका अवधी र भोजपुरीसँग मेल खाने अन्य विशेषताहरू निम्नलिखित छन्:

  • aiau लाई मानक हिन्दीमा झैँ /ɛː//ɔː/ जस्तो उच्चारण नगरी अवधी, भोजपुरी र नेपाली सन्ध्यक्षर झैँ /ɐɪ//ɐʊ/ उच्चारण गरिन्छ ।
  • व्यञ्जनवर्णका समूहलाई श्वाको प्रयोग गरी हटाइन्छ । उदाहरणका लागि, धर्मलाई फिजी हिन्दीमा धरम भनिन्छ ।
  • स्वराघात हुने स्वरको अगाडि रहेका दीर्घ स्वरवर्णलाई सामान्यतः ह्रस्व बनाइन्छ । उदाहरणका लागि, राजनलाई कहिलेकाहीँ रजन पनि भनिन्छ ।

सर्वनाम[सम्पादन गर्नुहोस्]

सर्वनाम फिजी हिन्दी मानक हिन्दी
हम hum मैं
तँ / तिमी तुम tum तू / तुम
तपाईँ आप aap आप
हामी हम लोग hum log हम / हम लोग

क्रियापद[सम्पादन गर्नुहोस्]

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

फिजी हिन्दीका क्रियापद विभिन्न हिन्दी भाषिकाहरूबाट प्रभावित भएको छ । फिजी हिन्दीमा प्रथम पुरुष र द्वितीय पुरुषका क्रियापदमा अन्तर छैन । तृतीय पुरुषको भूतकालीन क्रियापदमा मात्रै लिङ्ग र वचनको भेद गरिन्छ । तृतीय पुरुषको भूतकालीन क्रियापदमा पनि पुलिङ्गका लागि "रहा / raha" र स्त्रीलिङ्गका लागि "रही / rahi" को प्रयोग गरिन्छ ।

प्रथम र द्वितीय पुरुषमा कामको अपूर्णता जनाउन अवधी मूलका "-ता / -ta" र "-आत / -at" प्रत्ययहरूको प्रयोग गरिन्छ । उदाहरणका लागि, "तिमी मन्दिर जाँदै छौ" लाई फिजी हिन्दीमा "तुम मन्दिर जाता हैं / tum mandir jaata hai" अथवा "तुम मन्दिर जात हैं / tum mandir jaat hai" भनिन्छ ।

तृतीय पुरुषमा कामको अपूर्णता जनाउन भने भोजपुरी मूलको "-ए / -e" प्रत्ययको प्रयोग गरिन्छ । उदाहरणका लागि, "यो बिरालो माछा खाँदै छ" लाई फिजी हिन्दीमा "ई बिल्ली मच्छरी खावे हैं / ii billi machhrii khawe hai" भनिन्छ ।

तृतीय पुरुषमा सामान्यार्थ क्रियाका लागि अवधी मूलका "-ईस / -is" र "-ईन / -in" प्रत्ययहरूलाई सापेक्ष क्रियाका अन्त्यमा जोडिन्छ । उदाहरणका लागि, "किसानले उखु काटे" लाई फिजी हिन्दीमा "किसान गन्ना काटीस रहा / kisaan ganna katees raha" भनिन्छ । थप उदाहरणका लागि, "पण्डितहरूले रामायण पढे" लाई फिजी हिन्दीमा "पण्डित लोगन रामायण पढ़ीन रहा / pandit logan ramayan parrheen raha" अथवा "पण्डित लोगन रामायण पढ़े रहीन / pandit logan ramayan parrhe raheen" भनिन्छ ।

तृतीय पुरुषमा सामान्य भविष्यत्‌काल​ जनाउन प्रयोग गरिने "-ई / -ii" प्रत्यय दुवै अवधी र भोजपुरीमा प्रयोग गरिन्छ । उदाहरणका लागि, "प्रधानमन्त्रीले हामीलाई पैसा दिनेछन्" लाई फिजी हिन्दीमा "प्रधानमन्त्री हम लोग के पैसा दई / pradhanamantri hum log ke paisa daii" भनिन्छ ।

प्रथम र द्वितीय पुरुषमा समन्यार्थ क्रियाका लागि हिन्दुस्तानी मूलको "-आ / -aa" र सामान्य भविष्यत्‌काल​ जनाउन "-एगा / -ega" प्रत्ययको प्रयोग गरिन्छ । उदाहरणका लागि, "मैले गरेँ, तिमीले गर्नेछौ" लाई फिजी हिन्दीमा "हम करा, तुम करेगा / hum karaa, tum karega" भनिन्छ ।

क्रियापदलाई आज्ञार्थ बनाउन प्रयोग गरिने "-ओ / -o" प्रत्यय मगही मूलको हो । उदाहरणका लागि, "तिमी आफ्नो मुख खोल" लाई फिजी हिन्दीमा "तुम आपन मुह खोलो / tum aapan muh kholo" भनिन्छ । भारतका पटनागया जिल्लाबाट करारनामा प्रणालीबाट फिजी पुगेका श्रमिकहरूले गर्दा फिजी हिन्दीमा मगही शब्दावलीको प्रभाव परेको हो ।

उच्च आदरार्थी आज्ञार्थ वाक्यका लागि फिजी हिन्दीमा स्वयम् रचना भएको "-ना / -naa" प्रत्ययको प्रयोग गरिन्छ । उदाहरणका लागि, "तपाईँ घर सफा गर्नुहोस्" लाई फिजी हिन्दीमा "आप घर के सफा कर लेना / aap ghar ke sapha kar lena" भनिन्छ ।

वाक्यमा खास-खास भावलाई व्यक्त गर्न भोजपुरी मूलको "-बे / -be" प्रत्ययको प्रयोग गरिन्छ ।

फिजी हिन्दीमा प्रयोग गरिने अवधी मूलको अर्को प्रत्यय "-ईत / -it" हो जसको प्रयोग बिस्तारै घट्दै छ । उदहारणका लागि, "यी मानिसहरू किन पानी पिउँदै छैनन्" लाई फिजी हिन्दीमा "ई लोगन पानी काहे नहीं पीत हैं / ii logan paani kahey nahi peet hai" भनिन्छ ।

काल[सम्पादन गर्नुहोस्]

फिजी हिन्दीमा क्रियापदको काल मानक हिन्दीसँग समान छ । यद्यपि, यसमा अवधी र भोजपुरीको पनि प्रभाव देखिन्छ:

नेपाली फिजी हिन्दी मानक हिन्दी
आउनु आना aana आना
आऊ आओ aao आओ
म आउँदै छु हम आत / आवत हैं ham aat / aawat hai मैं आ रहा हूँ
म आएँ हम आया रहा ham aaya raha मैं आया
म आउनेछु हम आयेगा ham aayega मैं आऊँगा
म आउँदै थिएँ हम आत / आवत रहा ham aat / aawat raha मैं आ रहा था
म खेल्थेँ हम खेलत रहा ham aat / aawat raha मैं खेलता था
उनी आउँदै छन् / ऊ आउँदै छिन् / उनीहरू आउँदै छन् ऊ आवे हैं / ऊ लोगन आत हैं oo aawe hai / oo logan aat hai वह आ रहा है / वह आ रही है / वे आ रहे हैं
उनी आए / उनी आइन् ऊ आईस oo aais वह आया / वह आई
उनीहरू आए ऊ लोगन आईन oo logan aain वे आये

व्याकरणात्मक विशेषता[सम्पादन गर्नुहोस्]

  • फिजी हिन्दीमा बहुवचन हुँदैन । उदहारणका लागि, "एक घर" लाई फिजी हिन्दीमा "एक घर / ek ghar" भनिन्छ भने "दुई घरहरू" लाई "दुई घर / dui ghar" । यस उदाहरणमा बहुवचन जनाउन अङ्कको प्रयोग गरिएको छ । यसबाहेक बहुवचन जनाउन "लोग / log" को प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि, "ई / ii" को अर्थ "यी व्यक्ति" हो भने "ई लोग / ii log" को अर्थ "यी व्यक्तिहरू" हो । "सब / sab" अर्थात् "सबै" र "डेढ़ / dherr" अर्थात् "धेरै" ले पनि बहुवचन जनाउँछन् । यद्यपि, यस नियमका पनि केही अपवादहरू छन् । उदहारणका लागि, "केटो" लाई "लड़का / larrkaa" भनिन्छ भने "केटाहरू" लाई "लड़कान / larrkaan" । पुराना पुस्ताहरूले बहुवचनका लागि उस्तै प्रक्रियाको प्रयोग गर्छन् । उदाहरणका लागि, "पुरुष" लाई "आदमी / admii" भनिन्छ भने त्यसको बहुवचनलाई "आदमियाँ / admian" ।
  • भारतीय उपमहाद्वीपमा बोलिने अधिकतम भाषाहरूमा झैँ फिजी हिन्दीमा पनि निश्चयवाचक प्रविशेषण (उदाहरणका लागि, अङ्ग्रेजीमा प्रयोग गरिने "the") को प्रयोग गरिँदैन । यद्यपि, नामको अन्त्यमा "-वा / -wa" प्रत्यय जोडी नामलाई तोक्न सकिन्छ । उदाहरणका लागि "केटो" लाई "लड़का / larrkaa" भनिन्छ भने "त्यो केटा" लाई "लड़कवा / larrkwaa" भनिन्छ । विशेषणलाई नाम बनाउनका लागि सो विशेषणको अन्त्यमा "-काना / -kana" प्रत्यय जोड्न सकिन्छ । उदाहरणका लागि, "छोटो" भनेको "छोटा / chhota" हो भने "छोटो मान्छे" भनेको "छोटकाना / chhotkana" । नामलाई तोक्नका लागि प्रविशेषणका रूपमा "ई / ii" (यो), "ऊ / uu" (त्यो) र "वही / wahii" (त्यही) जस्ता सर्वनामका प्रयोग गर्न सकिन्छ ।

फिजियन आगन्तुक शब्दावली[सम्पादन गर्नुहोस्]

फिजी हिन्दुस्तानी जनसमूहले भारतमा नपाइने तर फिजीमा पाइने माछा तथा बालीनालीका लागि फिजियन भाषाबाट आएका शब्दहरूको प्रयोग गर्छन् । उदाहरणका लागि, फिजी हिन्दीमा मलेटलाई "कनादे / kanade" र सखरखण्डलाई "कुमाला / kumaala" भनिन्छ । अन्य उदाहरण निम्न तालिकामा प्रस्तुत गरिएको छ:

फिजी हिन्दी फिजियन मूल अर्थ
नंगोना nangona yaqona कावा
तबाले tabale tavale सालो
बिलो bilo bilo कावा पिउन बनाइएको नरिवलको सानो प्याला

अङ्ग्रेजी आगन्तुक शब्दावली[सम्पादन गर्नुहोस्]

फिजी हिन्दीमा अङ्ग्रेजी मूलका शब्दहरूलाई फिजी हिन्दुस्तानी उच्चारण शैलीको आधारमा मिलाइएको छ । उदहारणका लागि अङ्ग्रेजी "hotel" (होटेल) लाई फिजी हिन्दीमा "हुटेल / hutel" भनिन्छ । केही अङ्ग्रेजी शब्दहरूको अर्थमा पनि विशेष परिवर्तन आएका छन् । उदाहरणका लागि, फिजी हिन्दीमा "गराउंड​ / garaaund" को अर्थ विशेषतः "खेल मैदान", "गेंग / geng" को अर्थ विशेषतः "उखु खेतमा काम गर्ने व्यक्तिहरूको समूह" र "टिचा / tichaa" को अर्थ विशेषतः "शिक्षा" हो । अङ्ग्रेजी व्याकरण तथा शब्दरचना पद्धतिको प्रयोग गरी फिजी हिन्दीमा पनि विभिन्न मौलिक शब्दरचना हुन्छ । उदाहरणका लागि, उखुको माथिल्लो भागलाई "कनटाप / kantaap" भनिन्छ, जुन अङ्ग्रेजी शब्द "केन" (अङ्ग्रेजी: "cane", अनुवाद: "उखु") र "टप" (अङ्ग्रेजी: "top", अनुवाद: "शिखर") को संयोजनबाट बनेको हो ।

शब्दार्थमा परिवर्तन[सम्पादन गर्नुहोस्]

हिन्दुस्तानी भाषा[सम्पादन गर्नुहोस्]

फिजी हिन्दीमा हिन्दुस्तानी मूलका धेरै शब्दार्थमा परिवर्तन आइसकेका छन् । यस्ता परिवर्तनका कारण फिजी हिन्दीको विकास वा मानक हिन्दीको विकास वा दुवैको विकास हुन सक्छ ।[१०] निम्न तालिकामा यसका उदाहरण छन्:

फिजी हिन्दी शब्द फिजी हिन्दी अर्थ हिन्दुस्तानी अर्थ
baade बाढी बाढी
bekaar बेकार बेरोजगार, बेकार
bhagao भगाउनु अपहरण गर्नु
bigha एकर ०.३३०६ एकर
bihaan भोलि भोलि बिहान
Bombaiyaa मराठी / गुजराती मुम्बईसँग सम्बन्धित
fokatiyaa बेकार कङ्गाल
gap झुट बातचित
jaati वर्ण जाति
jhaap छाप्रो छाप्रो
jor छिटो बल
juluum सुन्दर जुलुम, अद्भुत
kal हिजो हिजो अथवा भोलि
kamaanii भाला कमानी
khassi बोका खसी
konchij के कुन चिज
maalik भगवान् मालिक
Mandaraaji दक्षिण भारतीय मद्राससँग सम्बन्धित
palla ढोका पल्ला
Punjabi सिख पन्जाबसँग सम्बन्धित

अङ्ग्रेजी भाषा[सम्पादन गर्नुहोस्]

फिजी हिन्दीमा अङ्ग्रेजी मूलका धेरै शब्दार्थमा परिवर्तन आइसकेका छन् । निम्न तालिकामा यसका उदाहरण छन्:

अङ्ग्रेजी शब्द फिजी हिन्दी अर्थ
purse बटुवा
theatre चलचित्र घर
teacher शिक्षिका
engine गाडी
pipe धारा
cabbage चिनियाँ बन्दा
set सब ठिक छ
right ठिक

गणना[सम्पादन गर्नुहोस्]

मूलतः मानक हिन्दीको गणनाक्रममा आधारित भए तापनि फिजी हिन्दीमा गणनाले विगत १२५ वर्षमा अधिग्रहण गरिएका विभिन्न भाषा तथा भाषिकाका प्रभावलाई झल्काउँछ ।

एकदेखि दससम्मका अङ्कका उच्चारणमा भोजपुरीलगायत अन्य बिहारी भाषिकाको प्रभाव देखिन्छ । फलस्वरूप, "दुई" (२) लाई मानक हिन्दीमा "दो" भनिन्छ भने फिजी हिन्दीमा भोजपुरीमा झैँ "दुइ" भनिन्छ ।

१० देखि ९९ सम्मका अङ्कका नाममा भने मानक हिन्दी र फिजी हिन्दीबिच निकै अन्तर भएको पाइन्छ । मानक हिन्दीमा अन्य उत्तर भारतीय भाषाहरूमा झैँ साङ्ख्यिक एकाइको उल्लेख गरी दसका गुणकको उल्लेख गरिन्छ भने फिजी हिन्दीमा चाहिँ युरोपेली तथा दक्षिण भारतीय भाषाहरूमा झैँ उक्त क्रमलाई उल्टाई पहिले दसको गुणक उल्लेख गरी पछि साङ्ख्यिक एकाइको उल्लेख गरिन्छ । उदाहरणका लागि, मानक हिन्दीमा "एक्काइस" लाई "एक और बिस" को समासद्वारा बनेको "इक्कीस" भनिन्छ भने फिजी हिन्दीमा सरलतापूर्वक "बिस और एक / biis aur ek" भनिन्छ । त्यसैगरी, मानक हिन्दीमा "सैँतिस​" लाई "सात और तीस" को समासबाट बनेको "सैंतीस" भनिन्छ भने फिजी हिन्दीमा सरलतापूर्वक "तिस और सात / tiis aur saat" भनिन्छ ।

यसका अतिरिक्त फिजी हिन्दीमा दस हजारपछि आउने "लाख" (१,००,०००) र "करोड" (१,००,००,०००) जस्ता सङ्ख्याहरूको प्रयोग गरिँदैन ।

अङ्क नेपाली हिन्दी फिजी हिन्दी
२१ एक्काइस इक्कीस बिस और एक biis aur ek
२२ बाइस बाईस बिस और दुइ biis aur dui
२३ तेइस तेईस बिस और तीन biis aur teen
३१ एकतिस इकत्तीस तिस और एक tiis aur ek
३२ बत्तिस बत्तीस तिस और दुइ tiis aur dui
३३ तेत्तिस तैंतीस तिस और तीन tiis aur teen
४१ एकचालिस इकतालीस चालिस और एक chaalis aur ek
४२ बयालिस बयालीस चालिस और दुइ chaalis aur dui
४३ त्रिचालिस तैंतालीस चालिस और तीन chaalis aur teen

समुद्रपार फैलावट[सम्पादन गर्नुहोस्]

फिजीको सन् १९८७ को राज्यविप्लवको सुरुवातमा अधिकतम फिजी हिन्दुस्तानी लोक फिजी छाडी अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्डसंयुक्त राज्य अमेरिकामा बसाइ सरेका थिए । अन्य फिजी हिन्दुस्तानी जनसमूह प्रशान्त द्वीपसमूहसंयुक्त अधिराज्यमा सरेका थिए । फिजी हिन्दी बोलिने देशहरूमा अन्तिम पटक लिइएको जनगणनाअनुसार फिजी हिन्दुस्तानी जनसमूहका निम्न तथ्याङ्क सार्वजनिक भएका छन्:

देश फिजीमा जन्मेका फिजी हिन्दुस्तानीहरूको सङ्ख्या सन्दर्भ
फिजी ३१३,७९८ [११]
न्युजिल्यान्ड २७,८८२ [१२]
अस्ट्रेलिया २७,५४२ [१३]
संयुक्त राज्य अमेरिका २४,३४५ [१४]
क्यानडा २२,७७० [१५]
टोङा ३१० [१६]

फिजी हिन्दी साहित्य तथा साहित्यकार[सम्पादन गर्नुहोस्]

  • रोडनी एफ. मोग (रोमन लिपि: Rodney F. Moag) उपप्राध्यापकका रूपमा दक्षिण प्रशान्त विश्वविद्यालयमा जानुभन्दा अगाडि भारतमा बस्थे । उनले फिजी हिन्दीको अध्ययन गरी सो भाषा सामान्य रूपमा चिनिने स्फुटित हिन्दी नभई विशिष्ट व्याकरण भएको छुट्टै भाषा हो भन्ने निधो गरेका थिए । मोगले आफ्ना खोजहरूलाई समावेश गरी सन् १९७७ मा फिजी हिन्दी: अ बेसिक कोर्स एन्ड रेफरेन्स ग्रामर (अङ्ग्रेजी: Fiji Hindi: a basic course and reference grammar) नामक किताबको प्रकाशन गरेका थिए ।
  • जेफ सिगल (रोमन लिपि: Jeff Siegel) ले सन् १९८५ मा आफ्नो प्लान्टेसन ल्याङ्ग्वेजेस इन फिजी (अङ्ग्रेजी: Plantation languages in Fiji) नामक सोध प्रबन्धमा फिजी हिन्दीको विकास र फिजी हिन्दुस्तानी तथा आदिवासी फिजी जनजातिले प्रयोग गर्ने फिजी हिन्दीका विभिन्न प्रकारबारे विस्तृत वर्णन गरेका थिए । सोध प्रबन्धभन्दा अगाडि उनले सन् १९७६ मा से इट इन फिजी हिन्दी (अङ्ग्रेजी: Say it in Fiji Hindi) नामक फिजी हिन्दी सामग्री ग्रन्थ लेखेका थिए ।
  • सुब्रह्मणि (रोमन लिपि: Subramani) दक्षिण प्रशान्त विश्वविद्यालयका प्रोफेसर थिए । उनले सन् २००१ मा दुआका पुराण / Duaka Puraan नामक उपन्यास लेखेका थिए, जसलाई फिजी हिन्दीमा लेखिएको प्रथम उपन्यास मानिन्छ । उक्त उपन्यासमा प्रथम पुरुषवाचक सर्वनामको प्रयोग गरी फिजी लाल नामक बुढा गाउँलेको लडकपनको कथा प्रस्तुत गरिएको छ । यो पुस्तक पुराणको शैलीमा लेखिएको छ तर यसमा हास्यव्यङ्ग्यको पनि प्रयोग गरिएको छ । उनका कृतिका लागि सुब्रह्मणिलाई भारत सरकारले पुरस्कार दिएको थियो । सन् २००३ मा सुरिनाममा आयोजित सातौँ विश्वव्यापी हिन्दी सम्मेलनमा उनलाई विशेष पुरस्कारले सम्मानित गरिएको थियो ।
  • रेमन्ड सी. पिल्लई (रोमन लिपि: Raymond C. Pillai) सन् २००७ मा निर्मित अधूरा सपना / Adhura Sapna नामको प्रथम फिजी हिन्दी चलचित्रका पटकथा लेखक हुन् ।
  • उर्मिला प्रसाद (रोमन लिपि: Urmila Prasad) ले बाइबलका मार्क, ल्युक, म्याथ्यु र जोनका गाथाहरूलाई रोमन लिपिमा फिजी हिन्दीमा अनुवाद गर्न सहयोग गरेकी थिइन् । सुष्माचार और रोमियो / Susamaachaar Aur Romiyo नामको उक्त अनुवाद सन् २००२ मा प्रकाशन गरिएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Fiji Hindi", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named e18
  3. "Hindi Diwas 2018: Hindi travelled to these five countries from India" 
  4. राइट, पर्सी (सन् १९१०), Seventy-two years in Australia and the South Pacific, सिड्नी: मिचेल लाइब्रेरी। 
  5. बर्टन, जोन डब्लु. (सन् १९१०), The Fiji of Today, लन्डन: चार्ल्स एच. केली। 
  6. लेनवुड, एफ. (सन् १९१७), Pastels from the Pacific, लन्डन: अक्सफोर्ड विश्वविद्यालय छापाखाना। 
  7. ह्यान्ड्स, डब्लु. जे. (सन् १९२९), Polynesia, वेस्टमिन्स्टर: सोसाइटी फर द प्रोपागेसन अफ द गस्पेल इन फरेन पार्ट्स। 
  8. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Pidgin Hindustani", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  9. "Fiji Hindi film set to be released soon", फिजी लाइभ, ९ फेब्रुअरी २००७, अन्तिम पहुँच १० जुलाई २००७ 
  10. १०.० १०.१ बार्ज, रिचर्ड के.; जेफ सिगल (सन् १९८८), Language transplanted: the development of overseas Hindi, विसबाडेन: अटोहारासोविट्स, पृ: १२७, आइएसबिएन 3-447-02872-6 
  11. "Fiji - 2007 census", मूलबाट |archiveurl= |archivedate= आवश्यक (सहायता)-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०११  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-०९ मिति
  12. "New Zealand - 2006 census", मूलबाट १७ मई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रिल २०११  वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-१७ मिति
  13. "Australian Government - 2006 census", मूलबाट १२ सेप्टेम्बर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अप्रिल २०११ 
  14. "United States - 2000 census" 
  15. "Migration Facts Stats and Maps" 
  16. "Tonga census 2006" 

बाह्य कडी[सम्पादन गर्नुहोस्]