बन्दीपुर गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बन्दीपुर
—  गाउँपालिका  —
Bandipur.jpgबन्दीपुरबाट देखिने पहाडी दृष्य
बन्दीपुर Nepal-এ অবস্থিত
बन्दीपुर
बन्दीपुर
नेपालको नक्शामा बन्दीपुर गाउँपालिका
निर्देशाङ्क: २७°५६′२०″उत्तर ८४°२४′१८″पूर्व / २७.९३९° उत्तर ८४.४०५° पूर्व / 27.939; 84.405निर्देशाङ्क: २७°५६′२०″उत्तर ८४°२४′१८″पूर्व / २७.९३९° उत्तर ८४.४०५° पूर्व / 27.939; 84.405
देश  नेपाल
प्रदेश प्रदेश नं. ४
जिल्ला तनहुँ जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - अध्यक्ष पूर्ण सिं थापा (ने.क.पा.)
 - उपाध्यक्ष करुणा गुरुङ (ने.क.पा.)
क्षेत्रफल
 - जम्मा १०२ किमी (३९.४ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा २०,०१३
 जनघनत्व १९६.२/किमी (५०८.२/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६५
केन्द्र साविकको बन्दीपुर नगरपालिकाको कार्यालय
वेबसाइट bandipurmun.gov.np

बन्दीपुर गाउँपालिका नेपालको प्रदेश नं. ४ मा पर्ने तनहुँ जिल्लामा अवस्थित एक गाउँपालिका हो । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बन्दीपुरलाई नगरपालिका घोषणा गरिएको थियो ।[१] यसलाई नगरपालिका घोषणा गर्दा धरमपानीबन्दीपुर गाउँ विकास समितिहरू समावेश गरिएका थिए ।[२] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको बन्दीपुर नगरपालिकामा घाँसीकुवाका (१,९) वडाहरू, र केशवटारका (१,९) वडाहरूलाई समेटेर बन्दीपुर गाउँपालिका घोषणा गरिएको हो ।[३][४] बन्दीपुर गाउँपालिकाको केन्द्र साविक बन्दीपुर नगरपालिकाको कार्यालय रहको छ ।[५] बन्दीपुर गाउँपालिकामा ६ वडाहरू रहेका छन । बन्दीपुरको कुल क्षेत्रफल १०२ वर्ग कि.मी. छ ।[६] बन्दीपुर नेवारी कला र संस्कृतिकोलागी पनि प्रसिद् छ।

जनसङ्ख्या[सम्पादन गर्ने]

प्रदेश नं. ४ स्थित तनहुँ जिल्ला साविकको बन्दीपुर नगरपालिकामा घाँसीकुवाका (१,९) वडाहरू, र केशवटारका (१,९) वडाहरूलाई मिलाएर बन्दीपुर गाउँपालिका बनाइएको हो । राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बन्दीपुर गाउँपालिकाको जनसङ्ख्या २०,०१३ रहेको छ ।[७][८]

इतिहास[सम्पादन गर्ने]

बन्दीपुर तनहुँको पुरानो सदरमुकाम सहर हो । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारीक नाकाको रूपमा रहेको थियो । तनहुँ, कास्की, लमजुङगोरखाको लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलको रूपमा यो नाकाको विकास भएको हो । तनहुँ जिल्लाको सदरमुकामको रूपमा रहेको यस ठाउँबाट विसं २०२५ सालमा उक्त सदरमुकामलाई दमौली सारिएको थियो ।

नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो । बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको हिउँमात्र देखिँदैन, ३०० कि.मी. फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाड पनि देखिन्छन् ।

बन्दीपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ । पश्चिमतिर चाहिँ लाङटाङ, गणेश, गोरखा (मनास्लु, हिमचुली तथा बौद्धसहित), अन्नपूर्ण, धौलागिरिकाञ्जिरोवा हिमाल फेददेखि टुप्पोसम्मै देखिन्छन् । तलतिर मर्स्याङ्दी नदीले बनाएका उपत्यका हेर्दा लाग्छ, बन्दीपुर उपत्यका माथि झुण्डिइरहेको छ ! बन्दीपुरले प्राकृतिक भ्यु टावरको उपमा यसै पाएको होइन ।

बन्दीपुरबाट दुई घण्टा हिँडेर पातालीद्वार वा स्वर्गद्वारी गुफा पुग्न सकिन्छ । यहाँको सिद्ध गुफा नेपालकै सबैभन्दा ठूलो गुफा मानिन्छ । बन्दीपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ । ११५० मिटर उचाइमा रहेको भञ्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडरहरू तल फाल हाल्ने गर्छन् । पोखराका कम्पनीहरूले यहाँको प्याराग्लाइडिङको व्यवस्थापन गरेका छन् । सेती नदीमा राफ्टिंग गर्न दमौली आउनेहरूले पनि बन्दीपुरमा एक दिन बास बस्ने गरेका छन् । मुग्लिनबाट आधा घण्टा जतिमा गाडीमा पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ । त्यहाँबाट दुई किमि पश्चिममा पिप्ले, जहाँबाट आधा घण्टा मोटर यात्राबाट पुरानो पहाडी सहर बन्दीपुर पुग्न सकिन्छ ।

पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दीपुरे सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । मध्यजेठदेखि मध्यअसारसम्म आउने आगन्तुकको बजारमा मानिसले मात्र होइन, बाटैभरि चौबीस जातिका सुनगाभाले पनि स्वागत गर्छन् । बन्दीपुरमा घुम्नको लागि बसोबासको समस्या छैन । टुँडिखेलमा सुविधासम्पन्न रिसोर्ट मात्र छैन, पुराना नेवारी घरहरूलाई पनि मध्यमस्तरको बसोबासका निम्ति उपयुक्त होटलका रूपमा विकसित गरिएको छ । यहाँका कतिपय घरहरूमा खाना र बिहानको खाजा खाने गरी सशुल्क पाहुना भएर बस्न सकिने व्यवस्था पनि छ । बन्दीपुरका प्रमुख आकर्षणहरुमा खड्गदेवी माई मन्दिर पनि एक हो ।[९]

चित्रवाली[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०७१ वैशाख २५, अन्तिम पहुँच वैशाख २५ 
  2. "बन्दीपुर नगरपालिका", बन्दीपुर नगरपालिका 
  3. "तनहुँका दुई नगरपालिका गाउँपालिका निर्धारण", काराेबार, २४ पौष, २०७३, अन्तिम पहुँच २४ पौष, २०७३ 
  4. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  5. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  6. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  7. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  8. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  9. संवाददाता, नागरिक (४ असोज, २०७१), "नेपालको घुम्नैपर्ने १३ गन्तब्य", नागरिक दैनिक, अन्तिम पहुँच ४ असोज, २०७१ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]