सदाशिव मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सदाशिव मल्ल
कान्तिपुर राज्यको राजा
शासनकालवि सं १६३१-१६३५
पूर्वाधिकारीमहेन्द्र मल्ल
उत्तराधिकारीशिवसिंह मल्ल
मृत्युभक्तपुर
वंशमल्ल वंश
बाबुमहिन्द्र मल्ल
धर्महिन्दु

प्रजापालक राजा महेन्द्र मल्लका जेठा छोरा सदाशिव मल्ल उत्तराधिकारी भए । उनी व्यभिचारी र कामुक हुनाले जनतामा अत्यन्तै अप्रिय भएकाले मनहरामा घुमिरहेका बेला जनताले धपाए पछि भक्तपुरमा थुनामा परे । [१]

घोडचढीका सौखिन राजा सदाशिव मल्लको तबेला -(घोडा राख्ने ठाउँ) मा दर्जनौं घोडा रहेको अनुमान गरिन्छ । ती घोडालाई कतिसम्म राजकीय सुविधा दिइएको थियो भने ती घोडाले आमजनताको खेतबारीमा पसेर फसल बर्बाद गरिदिँदा पनि कुनै कानुन लाग्दैनथ्यो । किसानहरूले मुआब्जासमेत पाउँदैनथे । त्यतिबेला काठमाडौँका जनता राजा सदाशिव मल्लसँग आजित भैसकेका थिए । उनीहरू मौका कुरेर बसेका थिए भने राजा सदाशिव मल्ल कहिले मर्ला र शान्तिको सास फेर्न पाइएला भन्ने कामना पनि गर्थे ।


एक दिन अचानक राजा सदाशिव मल्ल आफ्ना आठपहरियाहरूलाई छलेर घोडा कुदाउँदै काठमाडौँ र भक्तपुर राज्यको सिमाना मनहरा फाँटमा पुगे । त्यहाँ काम गरिरहेका किसानहरूले उनलाई चिनेपछि तत्कालै घेराउ गरेर कुट्न थाले । आफ्नै जनताले त्यसरी कुट्न थालेपछि राजा सदाशिव मल्ल काठमाडौँतिर भाग्नुपर्नेमा भक्तपुरतिर भाग्न पुगे र आफ्नो गल्ती थाहा पाएपछि उनले भक्तपुरका राजा त्रैलोक्य मल्लसँग शरण मागेर आफ्नो ज्यान जोगाए ।

यता काठमाडौँमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ शिवसिंह मल्लले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए । गद्दीच्युत राजा सदाशिव मल्लले भक्तपुरमा शरणमा रहँदा पनि आफ्नो व्यभिचार कायमै राखेपछि राजा त्रैलोक्य मल्लले आजित भएर उनलाई आफ्नै दरबार परिसरमा थुनिदिए । थुनामै रहँदा राजा सदाशिव मल्लको मृत्यु भएको इतिहासकारहरूको अनुमान छ । पछि, उनी भक्तपुरबाट अत्तोपत्तो नहुने गरी भागे इतिहासकारहरूको अनुमान छ । भक्तपुरमा यिनलाई थुनेर राखेको त्यो जेल / ठाउँलाई अहिले पनि "सदाशिव चोक" भनेर चिनिन्छ । राजा सदाशिव मल्ल थुनिएको भक्तपुर दरबारको त्यो ठाउँलाई अहिले पनि सदाशिव चोकका नामले चिनिन्छ ।[२][३]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. नेपालको तथ्य इतिहास पृष्ठ १५९, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१
  2. जनताको पिटाइ खाने राजा वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२० मिति चैत्र २१, २०७१ वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२० मिति
  3. भक्तपुर : सदाशिव चोक