बोगटान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(डोटी बोगटान बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

बोगटान सुदूर पश्चिमको डोटी जिल्ला र कैलाली जिल्लाको ठूलो भौगोलिक क्षेत्रमा फैलिएको छ ।

डोटी अधिनस्त रहेको मध्यकालीन बोगटान राज्य क्षेत्रको भौगोलिक नक्सा

यसको क्षेत्र वर्तमान कैलालीको पूर्बीभूमि र डोटी जिल्लाको दक्षिण पूर्वको सम्पूर्ण भूभाग हो । बोगटान कत्युरी नरेश (कत्युरी राजवंश )को बाइसे र चौबीसे राज्यकालमा डोटी रैका अधिनस्त बि.स.१४५२ मा रतन पालको समयमा स्थापित राजा कल्याण पालको समयमा रैका राजाको अधीनता स्वीकार गरेको राज्य थियो । यो क्षेत्र भौगोलिक हिसाबले डोटी जिल्लाको दक्षिण पूर्वको उपल्लो बोगटान र तल्लो बोगटान गरेर महाभारत पर्वतश्रृङ्खला,चुरे क्षेत्र सहित तराईको अधिकाँश मैदानी भू–भाग सम्म २२ सय वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको मानिन्छ । बर्तमानमा बोगटान अन्तर्गत डोटीकैलाली जिल्लाका पहाडी भुमिमा फैलिएका १९ गाउँ विकास समितिहरु डोटी जिल्लाका १) बर्छैन, २) निरोली , ३) गड्सेरा, ४) मन्नाकापडी, ५) घांगल, ६) सिमचौर, ७) केदारअखडा, ८) कानाचौर, ९) लानाकेदारेश्वर, १०) चमाराचौतारा, ११) सातफरी, १२) गगुडा , १३) धिर्कमान्डू, १४) तिखातर र कैलालीका पहाडी भूमिमा पर्ने गाउँ विकास समितिहरु १) निगाली, २) खैराला, ३) मोहन्याल ,४) पनडौंन, ५) सुगुरखाल र कैलालीका तराई भूमि पश्चिम मोहनानदी देखि पुर्व कर्णालीनदी र दक्षिण मोहना, भारतको सिंगाहीसम्मको क्षेत्र कुनै समय बोगटान अन्तर्गत पर्दथ्यो तर हाल नयाँ मुलुक भनिने गरेको कैलाली शिवगंगा नदी पूर्व, दक्षिण मोहना नदी, पूर्व कर्णाली नदी सम्मानको मोहन्याल देवताको क्षेत्रलाई मात्र बोगटानको रुपमा लिने गरिन्छ । अहिले आएर कैलालीको तराई क्षेत्रलाई बोगटान भन्न छुटेको छ भने पूर्व दक्षिण क्षेत्रमा रहेका डोटी जिल्लाका १४ गाउँ विकास समिति र कैलाली जिल्लाको पहाडी ५ गाउँ विकास समिति गरेर १९ गाउँ विकास समितिको क्षेत्रलाई मात्र बोगटान भन्ने गरिन्छ । बोगटानको भौगोलिक क्षेत्र सम्बन्धमा जानकार हुनेहरूका अनुसार मध्यकालमा यो क्षेत्र डोटी देखि भारतको सिगाही, लखनउ सम्म १० हजार वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको थियो । समुद्री सतहबाट १२४ देखि २८९१ मिटर सम्मको उचाईमा रहेको वोगटानमा लेकालीदेखि उष्ण, अर्धउष्ण हावापानी पाईन्छ । न्युनतम ०.२ डिग्रीदेखि अधिकतम ५५ डिग्री सेल्सीयसको तापक्रम रहेको वोगटान प्राकृतिकरुपमा निकै मनमोहक छ । वैदिक देवी– देवताहरूका तमामौ स्थापनाहरू यहाँ छन् । हिउँ पर्ने तेले र ठूला केदार (बड्डाकेदारेश्वर)को लेकदेखि तराईका फाँटसम्ममा फैलिएको वोगटान खोला नाला, खेतका सेराहरू नेटा परेका डाँडापाखा घना वनजंगल यस भेगमा प्राकृतिक रुपमा रहेका विषेशता हुन् ।

  • मान्नाकापडीबर्छैन गाउँ विकास समिति क्षेत्र हुँदै बग्ने कापडीगाड |
  • गडसेरा र निरोली हुँदै बग्ने गडसेरीगाड |
  • मालिकाको लेक मूलश्रोत भएको वगडीगाड |
  • सहजपुरको मस्सै हुँदै बग्ने मस्सेईगाड |
  • यी सबै गाडहरू र साना–साना खोलानाला मिलेर बनेको ठूलीगाड |
  • उप्पलो वोगटान अन्तरगतको सातफेरी र चमाराचौतारा गाउँ विकास समितिको बीचवाट बग्ने टुँडागाड र
  • सातफेरी गाउँ विकास समितिको सिमाना हुँदै वग्ने पतलगाड |
  • यी दुवै मिलेर केही अगाडी पुगेपछि बनेको आमतोडागाड |
  • चमाराचौतारा र कानाचौर गाउँ विकास समितिको सिमाना हुँदै बग्ने पालातोडागाड |
  • माल क्षेत्रमा राजघाट(कान्द्रानदी), शिवगंगा, खुटिया र मोहनानदी वोगटान क्षेत्रका ठूला पानीका स्रोत मानिन्छन् । यस भेगको जँगलमा पाईने फलहरूमा काफल, किनभडा, ऐँसेलु सिउता, जँगलीआँप, टाँटा, अमला, वर्रो, हर्रो, टिमुर, कटुँज प्रयाप्त रुपमा पाईन्छन् भने जनावर र पन्क्षीहरूमा बाघ, भालु, काकड (मृग), घोरल, जरायो, थार, बनेल, चित्तल, दुम्सी, कालीज, मयूर, डाँफे, मुनाल र मधेसमा हात्ती पाईन्छन् । वोगटान क्षेत्रको पहाडी भूभागमा प्राय पक्की ढुङ्गाले चिनेका पत्थरले छाएका तीन तले घर बनाईएका हुन्छन् । यहाँका घरहरूको एक वा दुई तलासम्म रातो माटो र माथिको भाग सेतो कमेरोले लिपपोत गरेका र झ्यालहरू कालोरंगले पोतेको हुन्छ । यहाँ गाउँका गाउँ यस्तै आकार प्रकारका घर बनेको देख्न् सकिन्छ । गरिब र दलितहरूका घरहरू खरले छाएका एक र दुई तले पनि पाईन्छन् । [१] डोटी क्षेत्रमा उत्तरको ससुराली मालो(तल्लो बोगटान क्षेत्र)को चिनजान एकै हुन्छ भन्ने आख्यान छ । चिनजान छ भने मालो भनिने तल्लो बोगटानमा ससुरालीमा जस्तो खाने बस्ने सुबिधा र सम्मान हुने गर्दछ । यसै कारण उत्तरको ससुराली मालोको चिनजान भन्ने आख्यान बसेको हो । कुनै समय दूध, दही तथा गोरस पातको लागि बोगटान चर्चित क्षेत्र थियो । अहिले आएर धेरै कुरामा परिबर्तन भएको छ ।

वोगटान नामाकरण[सम्पादन गर्ने]

प्राचीन वाकटक राज्य रहेको स्थान कालो घेरामा

दक्षिण भारतमा छैठौं शताब्दीको मध्यसम्म चालुक्य वंशको उदय हुँदा वकाटक राज्यका राजाहरू सबैभन्दा महत्वपूर्ण शक्तिको रुपमा चिनिएका थिए । वकाटक शासन तेस्रो शताब्दीको अन्तमा सुरुवात भएर पाँचौ शताब्दीको अन्तसम्म चल्दै रह्यो । वकाटक राज्यमा हरितपुत्र प्रवरसेनले महाराजको उपाधि धारण गरेका थिए । यिनको पारिवारिक लेख प्रमाणको आधारमा उनी एउटामात्र सम्राटको उपाधि धारण गर्ने “वकाटक” राजा थिए । यिनको पालामा वकाटक राज्य बुंदेल खण्डदेखि दक्षिणमा हैदराबादसम्म फैलिएको थियो । पौराणिक लेखहरूको आधारमा प्रवरसेनका चार पुत्रहरू राजा भएका थिए । चारै जना राजा भएका कारण राज्यको शक्ति विभाजित हुन् गयो । जसका कारण राज्य कम्जोर हुन पुग्यो र कम्जोर भएका राजाहरूले महाराज र सम्राटको उपाधि लेख्न सकेनन् । अभिलेख अनुसार प्रवरसेनको राज्य दुई भागमा विभाजन भयो । प्रवर सेनका दुई छोराहरूमध्ये एक छोरा सर्वसेन थिए भने अर्का रुद्रसेन थिए । रुद्रसेन द्वितीयले गुप्त सम्राट चन्द्रगुप्त द्वितीयकी पुत्री प्रभावती गुप्तसँग विवाह गरेका थिए । चन्द्रगुप्त द्वितीयले वकाटक राजाहरूसँग मित्रतापूर्ण सम्बन्ध स्थापना गरेका थिए । वैवाहिक सम्बन्ध गुप्तराजाहरू र वकाटक राजाहरूकोलागि हितकर मानिएको थियो । वकाटक शासक रुद्रसेन द्वितीयको ३९० ई. मा मृत्यु भयो । तत्पश्चात उनकी पत्नी प्रभावती गुप्तले नावालक छोराको संरक्षक भएर वकाटक राज्यको वागडोर समालीन् । यस पश्चात उनी आफ्ना बाबुको सल्लाह अनुसार चल्न थालिन् । उनका बाबु चन्द्रगुप्त द्वितीयको प्रभाव वकाटक राज्यमा धेरै पर्न गयो, भने अर्कोतर्फ वकाटक राजाहरूको शक्ति कम्जोर हुदै गयो । छैटौ शताब्दीको उत्तराद्र्धमा चालुक्यहरूको मध्यप्रदेशमा नल, कोकर्णमा मौर्य र उत्तरी महाराष्ट्रमा कलचुरी वंशसँग सघर्ष गर्नु पर्यो । यसै कारण वकाटक साम्राज्यको अधिकांश भू–भाग नलवंशको नियन्त्रणमा पर्न गयो । यस क्षेत्रको भूभाग नल वंशको नियन्त्रणमा पर्न गए पश्चात भारतको मध्यप्रदेशमहाराष्ट्र प्रदेशका अधिकाँस भू–भागमा फैलिएको वकाटक राज्य सातौ शताब्दीतिर समाप्त भयो । वकाटक राज्यको समाप्ति भएपछि वकाटक राजवंश उत्तर पर्वतीय क्षेत्रमा प्रवेश गर्न पुग्यो । कुमाऊँ, जागेश्वरको एक ढुङ्गामा ”माधव सेन” नाम लेखिएको छ । सेन उल्लेख भएका आधारहरु आछाम भेगमा पनि भेटिएका छन् । डोटीको अधिकाँस भू–भागमा फैलिएको वोगटान क्षेत्रमा वकाटकी सेनहरु आई बसेका कारण वकाटकको वकटी र वकटीहरुको वाहुल्यता भएका कारण वकटान भनिन् थालियो । पछिका दिनहरुमा वोकटानको अपभ्रंश भई वोगटान रहन गएको हो । कत्यूरी राज्यकालमा यी वकाटकका सेन कत्यूरी राजा (कत्युरी नरेश)का अधिनस्त थिए । कत्यूरी पाल राजाको डोटी वोगटान प्रवेश हुनु पूर्वनै यी वोगटानमा बसोबास गर्ने भएकोले यिनलाई वोगटानका रैथाने भनिन्छ । शाके १२३५ (बि.स १३७०) को दशकमा राजा जगाती पाल(कत्युरी नरेश)का राजगुरु ज्योतिष गणपतिलाई गोठमा आउदा "गास,बास" नदिने भैशी गोठमा बस्ने मष्टो देवतासंग सम्बन्धित / मष्टो देवता अन्तर्गत पर्ने स्त्री तत्व देवी मालिकाकालिका पुज्ने रज्माली भनिने बोगटी /बम, चौकी वाला,पतले/पतले, लफडाको वकोटी/बोगटी/बम/रजवार भनिनेहरु मष्टो देवतासंग सम्बन्धित उनका शाखा सन्तान अन्तरगतका यसै कुलका हुन् भन्ने मान्यता छ |मालिका कुलदेवता भएका बोगटानबाट बैतडी गएका कारण बोगटी थर बनेका भारद्वाज गोत्रीय बोकटी ब्राह्मण यिनको कुलको ब्राह्मण हो | रैकासंगको युद्दपछि यी क्षत्रिय/राजपूत/ठाकुर/ठकुरीपनि कत्युरी नरेशका दाजु - भाई बन्न पुगे |[२]

बसोबास[सम्पादन गर्ने]

वैदिक मानिएका देवताको प्रभाव रहेको यो भूमिमा शौनक गोत्रीय, सूर्यवंश रघुवंशअवतारका रघुवंशी पाल राजखान्दानका वोगटी रजवार बम रजवार, जोरायलवाट गएका समैजी कुलदेवता मान्ने शौनक गोत्रीय, सूर्यवंशकाडोटी बोगटानका मल्ल कश्यप गोत्रीय, चन्द्रवंशी देउवा ठकुरी रजवार, गौतम गोत्रीय चन्द्रवंशी प्रतिहार चन्द ठकुरी सहित तीन खान्दानका राजपरिवार र यिनैका गणका ब्राह्मण, क्षेत्री ,वैश्य, दलित सहित गुरुङ ,लामा,मगरहरूको बोगटानमा बसोबास छ ।

उत्पादन[सम्पादन गर्ने]

यहाँका अन्नवालीहरूमा धान, गहुँ, मकै, जौ, कोदो, तोरी, मास, गहत, भटमास, गुराँउस, सोट्टा सहितका अन्न बाली उत्पादन हुन्छन् भने फलफूलमा सुन्तला, अमिला, बिही (अम्वा) ,जारिम, अनार, आलवखरा, आँप, आरु, केरा र नगदे बालीमा अदुवा, हल्दी, उःँखु, उत्पादन हुने गर्दछन् । यस भेगका मानिसहरू गाई, भैंसी, बाख्रा पनि प्रसस्त रुपमा पाल्दछन् ।

धार्मिक[सम्पादन गर्ने]

धार्मिकरुपमा हेर्ने हो भने प्राचीन इतिहास वोकेका शिव भगवानका फुटलिङ्ग मानिने वेहडावावा, शिवगंगानदी, श्रीवड्डाकेदारेश्वर, श्रीचाकाकेदार, शिवका पुत्र गणेश जसलाई धिरगाँडी र कार्तिकेय जसलाई मोहन्याल भन्ने गरिन्छ, यिनको ठूलो महिमा र स्थापना यहाँ पाईन्छन् । श्री कार्तिकेय (मोहन्याल)को सिंहासन (राजगद्दी), दुर्गाभगवतीकारुप मानिने कालिका, औखोरे भगवती यहाँ स्थापितछन् ।

  • सिंहासन मोहन्याल जाँत,
  • अलाडी मोहन्याल जाँत,
  • मानिकोट मोहन्याल जाँत,
  • डुगरी मोहन्याल जाँत,
  • लोली मोहन्याल जाँत,
  • कठीउर मोहन्याल जाँत,
  • वड्डाकेदारेश्वर (ठूला केदार)की जाँत,
  • चाकाकेदारकी जाँत,
  • धिरगाँडी (गणेश)को दिउसडिजाँत,
  • उपल्लोवोगटान अन्तरगत रहेका चमाराचौताराको सुकाटी गाउँमा हुने सौटी देवताकोजाँत,
  • दाज्कामा हुने सानाकेदार की जाँत,
  • बन्नाकेदारकी जाँत, कैलालीको घोडाघोडी ताल, सहित तमामौ पवित्र तीर्थस्थलका रुपमा यस क्षेत्रमा प्रख्यात रहेकाछन् यहाँको किवदन्ती अनुसार ऐतिहासिक कालखण्डमा एक समय मष्टोको उग्ररुप खापरे (तारकासुर) लाई कुलदेवता मान्नेहरू र शिवको रुप मानिने केदार, स्वामी कार्तिकेय (मोहन्याल)सहित शिवगणका सहयोगी देवताहरूलाई मूख्य रुपमा मान्ने कत्यूरी वंशजका पाल बीच युद्धसंग्राम मच्चीन गई यस क्षेत्रबाट मष्टाको उग्ररुप मानिने खापरेगणकाहरुलाई खेदिएको र कत्युरी नरेश (राजा) का वंशजको बिजय भएको भनाई बोगटानमा प्रख्यात रहेको छ । यस प्रकारका धार्मिक र राजनैतिक रुपमा रहेका विभिन्न घटनाक्रम ऐतिहासिक कालमा यस डोटी क्षेत्रमा घटेका थिए भन्ने लोक कथन यहाँ छन् ।[२]

सांस्कृतिक[सम्पादन गर्ने]

सांस्कृतिक रुपमा भन्ने हो भने, यस भेगमा मनाईने गौरापर्व, दशैं र ती दशैंमा हुने रमिता बाजाको तालमा खेलिने युद्धकौशल झल्कने गरी तरवारको खेल जसलाई “पट्टाबाजी” र कवाजी भनिन्छ । यी यस क्षेत्रका निकै रमाईला पक्ष्यहरू हुन् । डोट्याली गीत फाग,वीरगाथा, चाँचरी, चैत, भारत, सगुन, देउडा, हुड्केली, धमारी, वातै जस्ता डोटेली परम्परागत लोक साहित्यसंस्कृतिहरु पनि यस क्षेत्रमा लोकप्रिय रहेकाछन्

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. स्थलगत अध्ययन अनुसन्धान
  2. २.० २.१ , कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०), विभिन्न व्यक्ति हरुसंगको भेटघाट, सोधपुछ, जानकारी संकलन |