एकलव्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

एकलब्य हिन्दू धर्मग्रन्थका एक पौराणिक पात्र हुन्। यिनको चर्चा महान हिन्दू ग्रन्थ महाभारतमा गरिएको छ।

उनी गुरुभक्ति अनुपम पात्र मानिन्छन् र विशेष किसिमको गुरुभक्तिको उदाहरण दिन पर्‍यो भने उनको नाम लिने गरिन्छ। तत्कालीन परिवेशअनुसार उनी जन्मको आधारमा त्यति सम्पन्न र समुन्नत मानिंदैनन्। तर कर्मले सारा विश्वलाई झुकाइदिएका छन्। कुरो त्यतिबेलाको हो जति बेला धनुर्विद्याका धुरन्धर विद्वान् गुरु द्रोणाचार्य कौरवकुमारहरूलाई धनुर्विद्या सिकाउन नियुक्त भएका थिए। भिल्लकुमार एकलव्यलाई पनि उनीसित धनुर्विद्या सिक्न मन लाग्यो र आएर निवेदन गरे तर गुरु द्रोणाचार्यले आफू राजकुमारहरूलाई मात्र विद्या सिकाउन नियुक्त भएकाले उनलाई सिकाउन असमर्थता प्रकट गरे। त्यसपछि एकलव्यलाई के गरौँ के गरौँ जस्तो भयो, निकै छटपटिए। निकैदिनको छटपटिपछि गुरु द्रोणाचार्यको मूर्ति बनाएर अगाडि साक्षी राखी धनुर्विद्या सिक्ने अठोटमा पुगे र त्यसै गर्न लागे। रातदिन नभनी उनी यति बढी अभ्यासमा लागे कि चाडै नै अद्वितीय धनुर्धर भएर निस्के।

यो कुरो द्रोणाचार्यले थाहा पाए। गोप्यरूपले परीक्षण गर्दा कुरो सही ठहर्‍यो। अब के गर्ने गुरु द्रोणाचार्यलाई फसाद पर्‍यो। उनले अर्जुनलाई अद्वितीय धनुर्धर बनाउने वचन दिइसकेका थिए। एकलव्य जीवित छँदै यो सम्भव नहुने भयो। हुनत उनले विनागुरु विद्या अध्ययन गर्नु चोरी गर्नुसरह हो भनी कूटनैतिक अस्त्र प्रयोग गरी उनलाई बाटोबाट पन्छाउने प्रयास पनि नगरेका होइनन् तर एकलव्यले गुरु द्रोण नै आफ्नो गुरु भएको प्रमाण दिएपछि उनको बेचैनी अरू बढ्यो। त्यसपछि गुरु द्रोणले म नै तिम्रो गुरु भए गुरु दक्षिणा खोई त ? भने अर्को कूटनैतिक अस्त्र प्रहार गरे तर उनले हिम्मत हारेनन् र दक्षिणाका निम्ति के टक्र्याउँ भने। धनुर्वाण चलाउन दाहिने हातको बूढी औँलो बढी महत्त्वपूर्ण मानिन्छ। बूढी औँलोविना चलाइएको वाणले निशाना चुक्ने सम्भावना धेरै रहन्छ। त्यसैले गुरुले त्यही औँलो मागे तर यसमा पनि उनी कत्ति पनि विचलित भएनन् र आफैँले आफ्नो औलो काटेर गुरुलाई दक्षिणास्वरूप चढाए। यही अद्भूत कामले गर्दा नै उनी गुरुभक्तिको अनुपम उदाहरण बनेर अहिलेसम्म इतिहासमा अमर छन्।