बागलुङ नगरपालिका
बागलुङ Baglung | |
---|---|
देश | ![]() |
राज्य | प्रदेश नं. ४ |
जिल्ला | बागलुङ जिल्ला |
स्थापना | १८ माघ २०५३ र २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | नगर कार्यपालिका |
• प्रमुख | जनक पौडेल (एमाले) |
• उपप्रमुख | सुरेन्द्र खड्का (राप्रपा) |
• प्रमुख प्रशासकिय अधिकृत | शिव प्रसाद रिजाल |
क्षेत्रफल | |
• जम्मा | ९८.०१ किमी२ (३७.८४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५७,८२३ |
• घनत्व | ५९०/किमी२ (१,५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-६८ |
केन्द्र | साविकको बागलुङ नगरपालिकाको कार्यालय |
वेबसाइट | baglungmun |
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको बागलुङ जिल्लामा अवस्थित एक नगरपालिका हो । वि.सं. २०५३ साल माघ १८ मा जिल्लाको पुर्वी क्षेत्रमा कालीगण्डकी नदीको तटवर्ति इलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गाविसलाई समायोजन गरी घोषणा गरिए पनि २०५४ सालको स्थानीय निर्वाचनबाट यसको गठन भएको थियो । बागलुङ नगर ११ वटा वडामा विभाजित थियो । यो नगरपालिका काठमाडौंदेखि पश्चिम २७२ किलोमिटर दूरीमा रहेको धौलागिरी अञ्चलको एकमात्र नगरपालिका थियो । स्थापनाको समयमा १९.२३ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसङ्ख्या २९,३६० मध्ये महिला संख्या १५,८०४ र पुरुष संख्या १३,५५६ थियो । उक्त तथ्यांक अनुसार नगरको जनसङ्ख्या वृद्धिदर २.८ प्रतिशत थियो । नगरपालिकाको स्थापना कालदेखि लगातार भाडाको घरवाट दैनिक सेवा प्रवाह हुंदै आएकोमा २०७० साल वैशाख १२ गते देखि नगरपालिकाले आफ्नै कार्यालय भवनवाट सेवा प्रवाह गरिएको छ । नगरपालिकाको पहिलो नेतृतव दिने व्यक्तित्वमा ऋषिराम सापकोटा हुनुहुन्छ । उहाँले २०५४ देखि २०५८ सम्म नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँपछि नगरप्रमुखका रूपमा विदुर खड्का र उपप्रमुखका रूपमा चित्रबहादुर सुवेदीले नेतृत्व प्रदान गर्नुभएको थियो ।
वि.सं. २०७३ मा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकको बागलुङ नगरपालिका र साविकका मालिका, पाला गाविसको वडा नं. ६ देखि ९ सम्म, सिँगाना गाविसका वडा नं. १ देखि ५ र ७ देखि ९ सम्म, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैयुँपाटा र नारायणस्थान गाउँ विकास समितिहरूलाई समेटेर बागलुङ नगरपालिका बनाइएको हो ।[१] यस नगरपालिकाको कूल जनसङ्ख्या ५७,८२३ रहेको छ । यसको क्षेत्रफल ९८.०१ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको बागलुङ नगरपालिकाको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा काठेखोला गाउँपालिका, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा जैमिनी नगरपालिकासम्म फैलिएको छ ।[२][३]
पर्वत र म्याग्दी जिल्लासँग जोडिएको बागलुङ नगरपालिकामा बागलुङ कालिका मन्दिर, जङ्गेश्वर महादेव मन्दिर, निरायघाट, आदि यहाँका प्रमुख धार्मिक स्थल हुन् । कारीकोट मुख्य पर्यर्टकीय स्थल हो । बागलुङ बजारको अवलोकन गर्न हालै बागलुङ भ्यु टावर निर्माण गरिएको छ । भौगोलिक दृष्टिकोणले झण्डै मध्य नेपालमा पर्ने र प्रशासनिक दृष्टिकोणले पश्चिामाञ्चलमा पर्ने पहाडी जिल्ला बागलुङको पुर्वी इलाकामा प्रसिद्ध कालीगण्डकी र काँठेखोलाको संगम इलाकामा अवस्थित छ बागलुङ नगरपालिका । यो नगरपालिका समुन्द्री सतहबाट ८०५ मिटरदेखि करिव २,१५० मिटर सम्मको उचाईमा अवस्थित छ । बागलुङ नगरमा ऐतिहासिक महत्त्वका ताराजलकोट, कारिकोट, माझकोट, राँयकोट, संसारकोट, आदि कोटहरू रहेका छन् । त्यस्तैगरी धार्मिक तथा पर्यटकीय महत्त्वका कालिका भगवती मन्दिर क्षेत्र, मालिका भगवती मन्दिर क्षेत्र, निराघाट क्षेत्र र कैलाम पोखरी क्षेत्र रहेका छन् । यस क्षेत्रको प्रसिद्ध कालिका भवगती मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पक्ष र चैत्र शुक्लपक्षको नवदुर्गा अवधिमा भक्तजनहरूको ठुलो घुँइचो लाग्दछ भने चैत्र शुक्लपक्षमा कालिका मन्दिर परिसरमा चैते दशैं मेला लाग्दछ । नगरपालिकामा ब्राह्मण, क्षेत्री, नेवार, मगर, सुनार, कामी, सार्की, दमाई, माझी लगायतका जातजातिका मानिसहरूको बसोबास छ । बागलुङ नगरपालिका कालीगण्डकी नदी र किनारमा पाइने शालीग्रामले पनि प्रसिद्ध छ । धौलागिरी हिमालको काखमा रहेको बागलुङ बजार धौलागिरी अञ्चलको अञ्चल सदरमुकाम हो । विभिन्न ठाउँबाट यहाँ व्यापार व्यवसाय सञ्चालन गर्न आउने मानिसको संख्या धेरै छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।