चामुण्डा
| चामुण्डा | |
|---|---|
नेपालमा चामुण्डाको १४औँ शताब्दीको मूर्ति | |
| देवनागरी | चामुण्डा |
| आबद्ध | आदि पराशक्ति, महाकाली, पार्वती |
| वासस्थान | मसानघाट वा पिपलको रुख |
| मन्त्र | ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे |
| अस्त्र | त्रिशूल र तरबार |
| Complexion | रातो |
| वाहन | भैँसी[१] वा वन कुकुर[२] शव (प्रेत) |
| लिङ्ग | महिला |
| रानी | शिव |
चामुण्डा (जसलाई चामुण्डेश्वरी, चामुण्डी वा चर्चिका भनेर पनि चिनिन्छ) हिन्दु मातृदेवी महादेवीको एक क्रोधित स्वरूप सप्त मातृका देवीहरू मध्ये एक हुन्।[३][४] उनी चौसठ्ठी वा एकासी तान्त्रिक देवीहरूको समूह, योगिनीहरू मध्ये एक प्रमुख देवी हुन् जसलाई योद्धा देवी पार्वतीका सहायक मानिन्छन्।[५] "चामुण्डा" नाम दुई असुरहरू चण्ड र मुण्डको नामबाट बनेको हो जसलाई उनले संहार गरेकी थिइन्। उनी महाकाली वा दुर्गासँग निकट सम्बन्ध राख्छिन्।
देवी चामुण्डालाई प्रायः मसानघाट वा पवित्र पिपलको रुख नजिक बसोबास गर्ने देवीको रूपमा चित्रण गरिन्छ। यी देवीको पूजामा मद्य (रक्सी) र बलि दिने परम्परा रहेको छ। यद्यपि, वैष्णव प्रभावका कारण हालका समयमा पशु बलिको अभ्यास कम हुँदै गएको छ।[६][७]
उत्पत्ति
[सम्पादन गर्नुहोस्]रामकृष्ण गोपाल भण्डारकरका अनुसार, चामुण्डा मूलतः मध्य भारतको विन्ध्य पर्वत शृङ्खलामा बसोबास गर्ने आदिवासीहरूद्वारा पुजिने एक जनजाति देवी थिइन्। ती जनजातिहरूले देवीलाई मद्य (रक्सी) का साथै पशु र मानव बलि चढाउने गर्दथे। हिन्दु धर्मको मूलधारमा समाहित भएपछि पनि चामुण्डाको तान्त्रिक उपासना पद्धतिमा यी विधिहरू कायम रहेका थिए। भण्डारकरको थप तर्कअनुसार यी देवीको उग्र स्वभाव रुद्र (वा शिव) सँगको सामिप्यताका कारण भएको हो जसलाई कतिपय समयमा अग्नी देवसँग पनि तुलना गरिन्छ।[८] वाङ्गुले पनि देवीको उत्पत्ति जनजातीय पृष्ठभूमिबाट भएको सिद्धान्तलाई समर्थन गरेका छन्।[९]
प्रतिमा लक्षण
[सम्पादन गर्नुहोस्]चामुण्डाका प्रारम्भिक चित्रणहरूमा उनलाई भयानक अनुहार भएतापनि सुन्दर शरीर भएकी स्त्री स्वरूपमा प्रस्तुत गरिएको पाइन्छ। यद्यपि, पछिल्ला समयका चित्रणहरूमा उनलाई सामान्यतया हात्ती वा बाघको छाला पहिरिएकी कङ्काल जस्तै देखिने वृद्ध महिलाको रूपमा देखाइएको छ। उनको आँखा गहिरिएका र कपाल अस्तव्यस्त भएको चित्रण गरिन्छ। चण्डी वा चामुण्डालाई कालो वा रातो रङ्गमा देखाइन्छ र उनले काटिएका टाउका वा खप्परहरूको माला (मुण्डमाला) लगाएकी हुन्छिन्। उनका बाह्रवटा सम्म हातहरू हुन्छन्। उनले आफ्ना हातहरूमा डमरु, त्रिशूल, तरबार, सर्प, खप्पर जडित गदा (खट्वाङ्ग), वज्र, काटिएको टाउको र पानपात्र (पिउने भाँडो) वा खप्परको कचौरा (कपाल) बोकेकी हुन्छिन्। उनी 'शव' वा मुर्दामाथि उभिएको वा बसेको, अथवा 'प्रेत' वा पराजित असुरमाथि बसेको देखाइन्छ।
उनलाई प्रायः डरलाग्दो रूपमा प्रस्तुत गरिन्छ। उनको खप्परको कचौरा रगतले भरिएको हुन्छ। उनको शरीर कङ्काल जस्तो छ भने उनको तीनवटा आँखाहरू छन्। बाहिर निस्किएका दाँत र लामा नङ्ग्राहरूले उनको अनुहार भयानक देखिन्छ। उनका स्तनहरू झुण्डिएका र पेट भित्र पसेको देखाइन्छ। उनी हड्डी, खप्पर, सर्प र बिच्छीका गहनाहरूले सजिएकी हुन्छिन्। उनले खप्परकै यज्ञोपवीत (जनै) पनि पहिरिएकी हुन्छिन्। उनको शिरमा सर्पले बाँधिएको जटा (जटा मुकुट) हुन्छ र कहिलेकाहीँ उनको टाउकोमा आधा चन्द्रमा (चन्द्रकला) पनि देख्न सकिन्छ। [१०] [११] उनका आँखाका खाडलहरूले ज्वालाद्वारा संसारलाई जलाउन सक्ने वर्णन गरिएको छ। उनीसँगै विभिन्न आत्मा वा प्रेतहरू रहने गर्दछन्।[१२][१३][१२]
उनी दानव र पिशाचहरूद्वारा घेरिएकी हुन्छिन्। उनलाई कङ्काल, भूत-प्रेत र स्याल जस्ता जनावरहरूले घेरिएको देखाइन्छ, जसले देवी उभिएको वा बसेको शवको मासु खाइरहेका हुन्छन्। स्याल र उनका भयानक साथीहरूलाई कहिलेकाहीँ देवीको खप्परको कचौरा वा उनले समातेको काटिएको टाउकोबाट रगत पिइरहेको रूपमा चित्रण गरिन्छ जसले चामुण्डाले पराजित शत्रुहरूको रगत पिउँछिन् भन्ने सङ्केत गर्दछ।[१४] रगत पिउने यो गुण सबै मातृकाहरूको विशेषता हो र विशेषगरी चामुण्डामा यो प्रष्ट देखिन्छ। कहिलेकाहीँ, उनलाई लाटोकोसेरो, भैँसी[१] वा वन कुकुर माथि चढेको देखाइन्छ।[१५] उनको झण्डामा चीलको आकृति हुन्छ।[१२]
यी विशेषताहरूले गर्दा सामान्यतया सुन्दर अनुहार भएका हिन्दु देवीहरूको तुलनामा उनको चित्रण विपरीत हुन्छ जसले यसले बुढ्यौली, मृत्यु, क्षय र विनाशको अपरिहार्यतालाई प्रतिबिम्बित गर्दछ।[१६] चामुण्डालाई प्रायः कालीको एक स्वरूपको रूपमा हेरिन्छ। उनी एक भयानक वृद्ध महिलाको रूपमा देखा पर्छिन् जसले डर र त्रासको प्रतिनिधित्व गर्दछ।[१७][१८]
पौराणिक कथाहरू
[सम्पादन गर्नुहोस्]



देवी माहात्म्य का अनुसार, चामुण्डा देवी कौशिकी को भ्रुकुटी (निधार) बाट प्रकट भएकी हुन्। कौशिकी देवी दुर्गाको "कोष" (शरीरको बाहिरी तह) बाट उत्पन्न भएकी थिइन् र उनलाई असुर राज शुम्भ र निशुम्भका सेवकहरू चण्ड र मुण्डको विनाश गर्ने कार्य सुम्पिएको थियो। उनले ती असुरहरू विरुद्ध भयानक युद्ध गरी अन्ततः उनीहरूको संहार गर्छिन्।[१९]
देवी माहात्म्य कै पछिल्लो प्रसङ्ग अनुसार, दुर्गाले आफूबाट मातृकाहरू सिर्जना गरी उनीहरूको सहयोगमा शुम्भ र निशुम्भको विशाल सेनालाई परास्त गर्छिन्। यस संस्करणमा, कालीलाई एक मातृकाको रूपमा वर्णन गरिएको छ जसले असुर रक्तबीजको सबै रगत पिएकी थिइन्, किनकि उसको रगतको थोपा जमिनमा खस्दा अर्को असुर जन्मिने गर्थ्यो। यस ग्रन्थमा कालीलाई नै 'चामुण्डा' उपनाम दिइएको छ।[२०] यसरी, देवी माहात्म्यले चामुण्डा र कालीलाई एउटै स्वरूपको रूपमा चिनाउँछ।[२१]
वराह पुराण मा रक्तबीजको कथा पुनः दोहोर्याइएको र यहाँ प्रत्येक मातृका अर्को मातृकाको शरीरबाट प्रकट भएको देखाइएको छ। चामुण्डा सिंह-रूप भएकी देवी नारसिंहीको खुट्टाबाट प्रकट हुन्छिन्। यहाँ, चामुण्डालाई 'पैशुन्य' (कुरा काट्ने वा अर्काको कुभलो चिताउने दोष) को प्रतीक मानिएको छ। वराह पुराणले देवी माहात्म्यको विपरीत चामुण्डा र कालीलाई दुई अलग-अलग देवीहरूको रूपमा उल्लेख गरेको छ।[१२]
अर्को एक किम्वदन्ती अनुसार, चामुण्डा सौम्य देवी पार्वतीको क्रोधित मुद्रा (भ्रुकुटी) बाट असुर चण्ड र मुण्डलाई मार्नका लागि प्रकट भएकी हुन्। यहाँ चामुण्डालाई पार्वतीकै एक उग्र स्वरूपको रूपमा हेरिन्छ।[२२]
मत्स्य पुराणले चामुण्डाको उत्पत्तिको फरक कथा भन्छ। शिवले अन्धकासुरलाई मार्नका लागि चामुण्डा र अन्य मातृकाहरूको सिर्जना गरेका थिए। अन्धकासुरमा पनि रक्तबीज जस्तै आफ्नो रगतबाट नयाँ असुर जन्माउने क्षमता थियो। चामुण्डाले अन्य मातृकाहरूसँग मिलेर असुरको रगत पिइन् र अन्ततः शिवलाई उसको वध गर्न मद्दत गर्छिन्।[१२] रत्नाकरले आफ्नो ग्रन्थ हरविजयमा पनि चामुण्डाको यस वीरताको वर्णन गरेका छन् तर उनले अन्धकासुरको रगत पिएको श्रेय अन्य मातृकाहरूलाई नदिई केवल चामुण्डालाई मात्र दिएका छन्। रगत पिएपछि चामुण्डाको रङ्ग रगत जस्तै रातो भएको उल्लेख छ।[२३] उक्त ग्रन्थले चामुण्डाले विनाशको नृत्य गर्छिन् र एउटा यस्तो वाद्ययन्त्र बजाउँछिन् जसमा सुमेरु पर्वत दण्ड, शेषनाग तार र अर्धचन्द्र लौकाको रूपमा हुन्छन् भनि वर्णन गर्दछ। प्रलयको समयमा संसार डुबिरहँदा उनले यो बाजा बजाउँछिन्।[१३]
मातृकाहरूसँगको सम्बन्ध
[सम्पादन गर्नुहोस्]
चामुण्डा सप्तमातृका वा सात माताहरू मध्ये एक हुन्। मातृकाहरूलाई भयानक मातृदेवीहरू, बालकहरूको अपहरण गर्ने र भक्षण गर्ने देवीका रूपमा मानिन्थ्यो; अर्थात्, उनीहरू बाल्यकालमा लाग्ने महामारी, ज्वरो, भोकमरी र रोगका प्रतीक थिए। वयस्क हुनुअघि नै धेरै बालबालिकाहरूको ज्यान लिने यस्ता रोगव्याधिबाट बच्नका लागि यी देवीहरूको उपासना गरिन्थ्यो।[१७]
महाभारत ('वन-पर्व' अध्याय), देवी पुराण र विष्णुधर्मोत्तर पुराण जस्ता हिन्दु ग्रन्थहरूमा चामुण्डालाई सप्तमातृका (सात मातृका वा माताहरू) को सूचीमा समावेश गरिएको छ। मूर्तिकलाहरूमा उनलाई प्रायः सप्तमातृका समूहमा चित्रण गरिएको पाइन्छ, जसका उदाहरणहरू एलोरा र एलिफेन्टाका गुफाहरूमा देख्न सकिन्छ। समूहमा उनलाई सधैँ अन्तिममा (सबैभन्दा दायाँ) देखाइने भएतापनि, कहिलेकाहीँ उनलाई यस समूहको नेतृको रूपमा पनि उल्लेख गरिन्छ।[२४] अन्य मातृकाहरूलाई पुरुष देवताहरूको शक्ति मानिन्छ र उनीहरूको रूप पनि ती देवताहरूसँग मिल्दोजुल्दो हुन्छ। तर, चामुण्डा मात्र यस्ती मातृका हुन् जो कुनै पुरुष देवताको नभई साक्षात् महादेवीकी शक्ति हुन्। उनी एकमात्र यस्ती मातृका हुन् जसको स्वतन्त्र रूपमा पूजा गरिन्छ; अन्य सबै मातृकाहरूको सधैँ सामूहिक रूपमा पूजा गरिन्छ।[२५]
देवी पुराणले पाँच मातृकाहरूको समूह (पञ्चमातृका) को वर्णन गरेको छ जसले गणेशलाई असुरहरूको संहार गर्न मद्दत गर्छन्।[२६] यसबाहेक, ऋषि माण्डव्यले मातृपञ्चक (पाँच माताहरू) को पूजा गरेको वर्णन गरेका छन् जसमा चामुण्डा पनि एक हुन्। राजा हरिश्चन्द्रलाई विपत्तिबाट बचाउन सृष्टिकर्ता ब्रह्माले यी माताहरूको सृष्टि गरेको उल्लेख छ।[२७] 'चण्ड' र 'मुण्ड' असुरहरूको वध गर्ने देवी भन्ने चामुण्डाको सामान्य अर्थ बाहेक देवी पुराणले अर्को फरक व्याख्या पनि दिएको छ: चण्डको अर्थ भयानक र मुण्डको अर्थ ब्रह्माको टाउको वा स्वामी वा पति भन्ने हुन्छ।[२८]
विष्णुधर्मोत्तर पुराणजहाँ मातृकाहरूलाई मानवीय अवगुण वा दोषहरूसँग तुलना गरिएको छ त्यहाँ चामुण्डालाई भ्रष्टता वा नीचताको अभिव्यक्तिका रूपमा लिइएको छ।[२९] प्रत्येक मातृकालाई एक दिशाको रक्षक मानिन्छ। चामुण्डालाई दक्षिण-पश्चिम (नैऋत्य) दिशाको जिम्मेवारी दिइएको छ।[२२]एक मातृका भएको नाताले चामुण्डालाई मुख्य योगिनीहरू मध्ये एक मानिन्छ। योगिनीहरूलाई मातृकाका छोरीहरू वा स्वरूपका रूपमा मानिन्छ। ६४ योगिनीहरूको सन्दर्भमा, चामुण्डाले अन्य सात योगिनीहरू सिर्जना गरेको विश्वास गरिन्छ जसले मिलेर आठको समूह बनाउँछन्। ८१ योगिनीहरूको सन्दर्भमा भने चामुण्डाले नौ योगिनीहरूको समूहको नेतृत्व गर्छिन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "Goddess Chamundi"।
- ↑ "Sapta Matrika | 7 Matara – Seven Forms of Goddess Shakti"।
- ↑ "Sapta Matrikas (12th C AD)", Department of Archaeology and Museums, Government of Andhra Pradesh, मूलबाट जुलाई १, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-०८। अभिलेखिकरण २००७-०७-०१ वेब्याक मेसिन
- ↑ Wangu p.72
- 1 2 Wangu p.114
- ↑ "About Goddess Chamunda Maa: Story, History & Significance – Rudra Centre", rudraksha-ratna.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०५-०२।
- ↑ OmniMaster (२०२०-०५-२५), "Hinduism: Shaivism", omnilogos.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०५-०२। अभिलेखिकरण २०२०-१०-२७ वेब्याक मेसिन
- ↑ Vaisnavism Saivism and Minor Religious Systems By Ramkrishna G. Bhandarkar, p.205, Published 1995, Asian Educational Services, आइएसबिएन ८१-२०६-०१२२-X
- ↑ Wangu p.174
- ↑ Kinsley p. 147, 156. Descriptions as per Devi Mahatmya, verses 8.11-20
- ↑ Donaldson, T., "Chamunda, The fierce, protective eight-armed mother.", British Museum।
- 1 2 3 4 5 Goswami, Meghali; Gupta, Ila; Jha, P. (मार्च २००५), "Sapta Matrikas In Indian Art and their significance in Indian Sculpture and Ethos: A Critical Study", Anistoriton Journal, Anistoriton, मूलबाट २०१०-०५-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-०८।
- 1 2 Kinsley p.147
- ↑ "Durga: Avenging Goddess, Nurturing Mother ch.3, Chamunda", Norton Simon Museum, मूलबाट २००६-१०-०३-मा सङ्ग्रहित। अभिलेखिकरण २००६-१०-०३ वेब्याक मेसिन
- ↑ "Sapta Matrika | 7 Matara - Seven Forms of Goddess Shakti"।
- ↑ Wangu p.94
- 1 2 "Ancient India"।
- ↑ "Glossary of Asian Art"।
- ↑ Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ८१।
- ↑ Kinsley p. 158, Devi Mahatmya verses 10.2-5
- ↑ "Devi: The Great Goddess", www.asia.si.edu, मूलबाट २०१७-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०५-२९। अभिलेखिकरण २०१७-०६-०९ वेब्याक मेसिन
- 1 2 Moor p.118
- ↑ Handelman pp.132–33
- ↑ Handelman p.118
- ↑ Kinsley p.241 Footnotes
- ↑ Pal in Singh p.1840, Chapters 111-116
- ↑ Pal in Singh p.1840, Chapter 116(82-86)
- ↑ Pal p.1844
- ↑ Kinsley p. 159