मेल्लेख गाउँपालिका
मेल्लेख गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°Eनिर्देशाङ्कहरू: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | अछाम |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | ज्वालासिंह साउद (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | नृपबहादुर खडका (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १३४.७८ किमी२ (५२.०४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,७८५ |
• घनत्व | १७०/किमी२ (४४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९७ |
केन्द्र | साविकको विन्ध्यवासिनी गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
मेल्लेख गाउँपालिका अछाम जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ऋषिदह, ठाँटी, कुस्कोट विन्धवासिनी, शोडषा, नन्देगडा र हात्तिकोट गाविसहरू यसमा गाभिएका थिए।[४] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल १३४.७८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको विन्ध्यवासिनी गाविसको कार्यालयमा राखिएको छ ।[५]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेल्लेख गाउँपालिकाको कुल जनसङ्ख्या २२,७८५ रहेको छ भने यहाँ ४,७२२ घरधुरी रहेका छन्।[२]
परिचय
[सम्पादन गर्नुहोस्]नेपाल २०७३ साल फागुन २२ गतेको मन्त्री परिषदको निर्णय अनुसार अछाम जिल्लामा पर्ने साविकका ऋिषिदह, ठाँटी, कुस्कोट, विन्ध्यवासिनी, शोडषा, नन्देगडा र हात्तिकोट गाविस हरूलाई समेटेर बनाइएको मेल्लेख गाउँपालिका बनेको यस क्षेत्रलाई पहिले पन्ध्रबिस भनेर पनि चिनिन्थ्यो । राणा शासन कालमा हालको डोटी जिल्लामा गौंडा अड्डा स्थापना गरी अछामबाट कुत र सिरतो (वालि वा कर) उठाउन विभिन्न क्षेत्रबाट सजिलो होस् भनेर कोटा तोकिएको थियो । यस क्षेत्रबाट पन्ध्रबिस (१५×२०= ३००) रुपैयाँ तिरो तिर्नु पर्ने भएकोले यस क्षेत्रको नाम पन्ध्रबिस रहेको हो । यहाँका पुरै जङ्गलमा मेलका रुखहरू धेरै भएका कारण यस क्षेत्रलाई मेलरुख भनिन्थ्यो । पछि गएर मेलरुख शब्दको अपभ्रंश भएर मेल्लेख नाम पर्न गएको हो । नेपालको एकिकरण पहिले बाइसे राज्य मध्यको बिमकोट राज्यका राजाको शासन व्यवस्था यस क्षेत्रमा रहेको थियो [६] ।
जनसङ्ख्या र भूगोल
[सम्पादन गर्नुहोस्]यस मेल्लेख गाउँपालिकालाई ८ वटा वडाहरूमा विभाजन गरिएको छ । अछाम जिल्लाको सदरमुकाम मंगलसेनबाट यस गाउँपालिकाको केन्द्र बिन्ध्यबासिनी ९ कोष उत्तरमा अवस्थित छ । यस गाउँपालिकाको सिमाना पूर्वमा रामारोशन गाउँपालिका, पश्चिममा साँफेबगर नगरपालिका, दक्षिणमा बान्नीगढी जयगढ गाउँपालिका र उत्तरमा बाजुरा जिल्ला सँग जोडिएको छ । मेल्लेख गाउँपालिकाको केन्द्र रहेको स्थान समुद्री सतहदेखि १६९८ मिटर उचाइमा रहेको छ [६]। मेल्लेख गाउँपालिका २९°१५१९.५ उत्तरी अक्षांस देखि ८१°१७११.११ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १३४.७८ वर्गकिलोमिटर रहेको छ । २०६८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसङ्ख्या २४,६७० रहेको छ भने यहाँ ४,३६० वटा घरधुरी रहेका छन् । यस गाउँपालिकाको औसत जनघनत्व ५.४ रहेको छ [६]।
- मेल्लेख गाउँपालिकाको विस्तृत विवरण
क्रम सङ्ख्या | हालको वडा | समावेश गाविस | जनसङ्ख्या | क्षेत्रफल (वर्गकिलोमिटर) |
---|---|---|---|---|
१ | १ | ऋषिदह (१, ३, ४, ८ र ९) | २४७८ | १५.२३ |
२ | २ | ऋषिदह (२, ५, ६ र ७) | २०८२ | १६.६१ |
३ | ३ | ठाँटी (१-९) | २६७३ | १०.२५ |
४ | ४ | कुस्कोट (१-९) | ४७५४ | १९.७ |
५ | ५ | विन्ध्यवासिनी (१-९) | ३२२२ | १४२५ |
६ | ६ | शोडषादेवी (१-९) | ३९३४ | ३०.०८ |
७ | ७ | नन्देगडा (१-९) | ३७८० | २०.६३ |
८ | ८ | हात्तिकोट (१-९) | १८४७ | ८.०२ |
जम्मा | ८ वटा वडा | ७ वटा गाविसहरू समावेश | २४,६७० | १३४.७७ |
विकासका गतिविधिहरू
[सम्पादन गर्नुहोस्]यो गाउँपालिका स्थापना गरिएको मितिसम्म ८ वटा वडाका वडा कार्यालयहरूमा सडक ट्रयाक खोलिएका थिए भने १ नंवर वडाको वडा कार्यालयमा सडकले छोएको छैन । यस गाउँपालिकामा गाउँपालिका स्थापना गरिएको मितिसम्म भएका अन्य विकासका गतिविधिहरू यहाँ बुँदागत रूपमा राखिएको छ[६] :-
- शिक्षा
- यस गाउँपालिकामा स्नातक तह सम्मको १ क्याम्पस रहेको छ भने १ प्राविधिक शिक्षालय रहेको छ । यसैगरी यस गाउँपालिकामा ९ वटा माध्यमिक विद्यालय समेत गरेर ४३ वटा विद्यालय रहेका छन् । यस गाउँपालिकामा ३४ वटा बालविकास केन्द्र र ३ वटा सामुदायिक सिकाइ केन्द्र रहेका छन् ।
- स्वास्थ्य
- मेल्लेख गाउँपालिकामा ७ वटा स्वास्थ्य चौकी र २ नंवर वडामा सामुदायिक स्वास्थ्य चौकी रहेको छ । यस गाउँपालिकामा २१ वटा गाउँघर क्लिनिक र २२ वटा खोप क्लिनिक रहेका छन् ।
- कृषि
- मेल्लेख गाउँपालिकाका जनताहरूको मुख्य आयस्रोत नै कृषि हो । यहाँको मुख्य बाली मकै, गहुँ, जौ, कोदो, धान, भटमास, आलु आदि भएता पनि यस गाउँपालिकामा खाद्यान्नको अभाव धेरै रहन्छ । मेल्लेख गाउँपालिका पशुपालनको अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो । यहाँका कृषकहरूको आयआर्जनको मुख्य स्रोत पशुपालन रहेको छ । यस गाउँपालिकामा पशु शाखाको तथ्याङ्क अनुसार यस गाउँपालिकामा १६ हजार बाख्रा, ३०० भेडा, १०,३८४ गाईगोरु ८,५५० राँगाभैंसी रहेका छन् । जसमध्ये दूध दिने गाई र भैंसीको सङ्ख्या २,०२५ सम्म रहेको छ ।
- सञ्चार
- मेल्लेख गाउँपालिकाको केन्द्रमा १ हुलाक र ६ वटा वडामा अतिरिक्त हुलाकको व्यवस्था गरिएको छ ।
पर्यावरण, पर्यटन तथा संस्कृति
[सम्पादन गर्नुहोस्]यस गाउँपालिकाका केही वडाहरूमा घना तथा बाक्ला जङ्गल यस क्षेत्रको विशेषता हो । बाक्लो जङ्गल भएता पनि कुकाठको बाहुल्यता विद्यमान रहेको छ । खासगरी १२०० मिटर भन्दा माथिल्लो भागमा न्यानो समशितोष्ण हावापानी रहेको छ । १२०० मिटर देखि ३३०० मिटर सम्मको उचाईमा हावापानीको विविधता पाइन्छ । मेल्लेख गाउँपालिकाका मुख्य पर्यटकीय स्थलहरूमा ऋिषिदह र शोडषाको सङ्गमस्थलमा रहेको ऋषिदह ताल, छोटी मालिका, शोडषाको गङ्गा जमुना र डाँफे ताल, विन्ध्यवासिनीको सिजापति मराजले चिनेको देवल, नन्गडाको चुलिकोट, आदि हुन् । पुतला नाच, न्याउले खेल, देउडा, भुवा नाच, हुड्के नाच, धमारी, होली आदि यहाँका मुख्य संस्कृतिहरू हुन्[६]।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
- ↑ ६.० ६.१ ६.२ ६.३ ६.४ "संक्षिप्त परिचय" (नेपालीमा), http://mellekhmun.gov.np। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२६ मिति