सम्भोट लिपि
सम्भोट लिपि | |
---|---|
![]() | |
प्रकार | |
समयावधि | c. ६५०–वर्तमान |
लेखन दिशा | बायाँ देखि दायाँ ![]() |
क्षेत्र | तिब्बत, भुटान, नेपाल , भारत र मङ्गोलिया, |
भाषाहरू | |
सम्बन्धित लिपिहरू | |
अभिभावक लिपिहरू | आद्य सिनैटिक वर्णमाला
|
बालबालिका लिपिहरू | लिम्बू, लेप्चा, फग्पा |
सम्भोट लिपि मुख्यतः भोट भाषामा लेख्न प्रयोग गरिने लिपि हो, जुन सातौँ शताब्दीमा तिब्बतका धर्मराजा स्रोङ्चन गम्पोका मन्त्री थोन्मि सम्भोटले विकास गरेका थिए। सम्भोटले राजाको आज्ञाअनुसार भारत गई त्यहाँका विद्वान लिपिकारहरूबाट शब्दविद्याको ज्ञान प्राप्त गरेपछि तिब्बत फर्केर यो लिपिको आविष्कार गरेका थिए। सम्भोट लिपिमा चारवटा स्वरवर्णको चिह्न र तीसवटा व्यञ्जनवर्ण रहेका छन्। यो लिपिबाट मनाङ, मुस्ताङजस्ता ठाउँहरूमा नेपाली पनि लेख्ने गरिन्थ्यो।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]


सम्भोट लिपिको आविष्कार सातौँ शताब्दीको मध्यतिर तिब्बतका धर्मराजा स्रोङ्चन गम्पोको शासनकालमा मन्त्री थोन्मि सम्भोटद्वारा गरिएको थियो। राजा स्रोङ्चन गम्पोले आफ्नो देशमा पनि छिमेकी मुलुकहरू—चीन, नेपाल र भारत—झैँ लिपिको प्रयोगद्वारा देशको इतिहास, संविधान तथा विशेष रूपमा भारतबाट ल्याइएका बौद्ध ग्रन्थहरूलाई तिब्बती भाषामा अनुवाद गर्न सकियोस् भनेर थोन्मि सम्भोटलाई भारत पठाएका थिए। भारतमा उनले त्यहाँका विद्वानहरूसँग शब्दविद्याको शिक्षा प्राप्त गरे। त्यसपछि तिब्बत फर्केर उनले रञ्जना लिपिलाई आधार मानी उचन, र वार्तु लिपिलाई आधार मानी उमेद लिपिको रचना गरे। साथै उनले तिब्बती भाषाका लागि व्याकरण ग्रन्थहरू—जस्तै व्याकरण मूल त्रिंशत् र लिङ्गावतर सहित आठवटा व्याकरण—पनि लेखेका थिए भन्ने कुरा इतिहासहरूमा उल्लिखित भएपनि आज तीमध्ये मूल त्रिंशत् र लिङ्गावतर मात्र उपलब्ध छन्। लिपि तथा व्याकरणको सृजनसहित, भारतबाट ल्याइएका अवलोकितेश्वरको एक्काइस सुत्र-तन्त्रहरूको अनुवाद पनि सम्भोट स्वयंले तिब्बती भाषामा गरेका थिए। त्यसकारण उहाँलाई तिब्बतको पहिलो अनुवादक (लोचावा) पनि मानिन्छ।
अनुवाद र लिप्यन्तरण
[सम्पादन गर्नुहोस्]सम्भोट लिपिको आविष्कारपछि, धर्मराजा स्रोङ्चन गम्पोदेखि ठ्रीस्रोङ देउचन र ठ्री रल्पचनको शासनकालसम्म भारत, नेपाल र चीन जस्ता छिमेकी देशहरूबाट आएका विद्वान पण्डित र अनुवादकहरूले संस्कृत, प्राकृत, पैशाची र अपभ्रंश भाषामा रहेका त्रिपिटक र अन्य बौद्ध ग्रन्थहरूको सम्भोट लिपिमा अनुवाद र लिप्यन्तरण गरे। बौद्ध आचार्य नागार्जुन, आर्यदेव आदिका टीका ग्रन्थहरूको अनुवाद पनि यही समयमा भयो। राजा वुदुम चन्पोको मृत्युपछि राजनीतिक अस्थिरता आएको भएतापनि सक्यपाको शासनकालसम्म अनुवाद कार्यमा छिमेकी देशका विद्वानहरूले उल्लेखनीय योगदान दिएका थिए। तिब्बतको राजनीतिक तथा धार्मिक इतिहासमा यसको उल्लेख विस्तृतरूपमा गरिएको पाइन्छ।[२] यसै अनुवाद कार्यलाई थप व्यवस्थित बनाउन महाव्युत्पत्ति नामक विश्वकै पहिलो दोभाषे पारिभाषिक शब्दकोश पनि आठौँ शताब्दीको अन्त्यतिर र नवौँ शताब्दीको सुरुवाततिर तयार गरिएको थियो। यो शब्दकोश संस्कृत–तिब्बती बौद्ध पारिभाषिक कोश हो, जसलाई तिब्बती विद्वान र अनुवादकहरूले निर्माण गरेका थिए।
लिपि संशोधन
[सम्पादन गर्नुहोस्]- पहिलो संशोधन – राजा स्रोङ्चन गम्पोदेखि ठ्रीस्रोङ देउचनको शासनकालसम्म
- दोस्रो संशोधन – राजा ठ्री रल्पचनको शासनकालमा
- तेस्रो संशोधन – गुगे राज्यका राजा ल्हालामा ज्याङ्छुब्वोदको शासनकालमा
मूल वर्णमाला
[सम्पादन गर्नुहोस्]सम्भोट लिपिको चार स्वरवर्णहरू | ||||
---|---|---|---|---|
ཨི་ | ཨུ་ | ཨེ་ | ཨོ་ | |
सम्भोट लिपिको तीस व्यञ्जन वर्णहरू | ||||
ཀ་ | ཁ་ | ག་ | ང་ | क वर्ग |
ཅ་ | ཆ་ | ཇ་ | ཉ་ | च वर्ग |
ཏ་ | ཐ་ | ད་ | ན་ | त वर्ग |
པ་ | ཕ་ | བ་ | མ་ | प वर्ग |
ཙ་ | ཚ་ | ཛ་ | ཝ་ | च़ वर्ग |
ཞ་ | ཟ་ | འ་ | ཡ་ | श़ वर्ग |
ར་ | ལ་ | ཤ་ | ས་ | र वर्ग |
ཧ་ | ཨ་ | ह वर्ग |
सङ्ख्या
[सम्पादन गर्नुहोस्]सम्भोट | ༠ | ༡ | ༢ | ༣ | ༤ | ༥ | ༦ | ༧ | ༨ | ༩ |
---|---|---|---|---|---|---|---|---|---|---|
नेपाली | ० | १ | २ | ३ | ४ | ५ | ६ | ७ | ८ | ९ |
चिह्न र विराम
[सम्पादन गर्नुहोस्]चिह्न र विराम | नाम | कार्य |
---|---|---|
༄ | ཡིག་མགོ་ yig-mgo |
पाठको शुरुवात निशान |
༈ | སྦྲུལ་ཤད། sbrul-shad |
विषय र उप विषयहरूको वर्ग छुट्याउछ |
་ | ཚེག tseg |
सीमाङ्कक |
། | ཆིག་ཤད། chig-shad |
पूर्णविराम (पाठको एक खण्डको अन्त जनाउछ) |
༎ | ཉིས་ཤད། nyis-shad |
पूर्णविराम (पूर्ण विषयको अन्त जनाउछ) |
༴ | བསྡུས་རྟགས། bsdus-rtags |
पुनरावृत्ति |
༼ | ཨང་ཁང་གཡོན་པ། ang-khang gyon |
बायाँ कोष्ठ |
༽ | ཨང་ཁང་གཡས་པ། ang-khang gyas |
दायाँ कोष्ठ |
आधुनिक समयमा सम्भोट लिपिको आवश्यकता र उपयोग
[सम्पादन गर्नुहोस्]१. भाषिक संरक्षण र पहिचान
[सम्पादन गर्नुहोस्]सम्भोट लिपि तिब्बती भाषाको मूल लेखन प्रणाली भएकाले, भाषा संरक्षणको दृष्टिकोणले यसको संरक्षण र प्रवर्द्धन अपरिहार्य छ। समकालीन विश्वमा भाषिक विविधता संकटमा परेको सन्दर्भमा सम्भोट लिपिको प्रयोगले तिब्बती सांस्कृतिक पहिचानको रक्षा गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
२. शैक्षिक प्रयोग र अनुसन्धान
[सम्पादन गर्नुहोस्]धर्म, इतिहास, दर्शन, र मानविकी विषयमा अनुसन्धान गर्ने विश्वविद्यालयहरू तथा संस्थाहरूमा तिब्बती ग्रन्थहरूको मूलपाठ पढ्नका लागि सम्भोट लिपिको ज्ञान आवश्यक छ। अमेरिकास्थित हार्वर्ड, कोलम्बिया तथा दिल्ली विश्वविद्यालय जस्ता प्रतिष्ठित संस्थाहरूले सम्भोट लिपिमा लेखिएका ग्रन्थहरूमाथि अध्ययन गरिरहेका छन्।
३. धार्मिक प्रयोजनमा प्रयोग
[सम्पादन गर्नुहोस्]आज पनि सम्भोट लिपिमा लेखिएका ग्रन्थहरू तिब्बती बौद्ध मठहरूमा दैनिक पाठ, पूजा, अनुष्ठान र शिक्षा कार्यमा प्रयोग गरिन्छ। नेपाल, भारत, भूटान र चीनको तिब्बत स्वायत्त क्षेत्रमा यो लिपिले धार्मिक निरन्तरता सुनिश्चित गरिरहेको छ।
४. डिजिटल युगमा सम्भोट लिपि
[सम्पादन गर्नुहोस्]युनिकोड प्रणालीले सम्भोट लिपिको मान्यता प्रदान गरेपछि डिजिटल दुनियाँमा पनि यसको प्रयोगको सम्भावना बढेको छ। सम्भोट लिपिको टाइपिङ टूल, Unicode फन्टहरू (जस्तै Jomolhari, Tibetan Machine Uni), डिजिटल प्रकाशन उपकरणहरू, तथा वेबसाइटहरूमा यसको प्रयोग सुरु भएको छ। BDRC (Buddhist Digital Resource Center) जस्ता संस्थाहरूले सम्भोट लिपिमा स्क्यान तथा OCR गरिएका ग्रन्थहरूलाई विश्वभर उपलब्ध गराइरहेका छन्।
५. समुदाय स्तरमा उपयोग
[सम्पादन गर्नुहोस्]विशेषगरी तिब्बत, भारत, भुटान र नेपाल आदिमा रहेको हिमाली समुदायमा सम्भोट लिपिको प्रयोग जारी छ। विद्यालय, मठ, भाषा कक्षा तथा सांस्कृतिक कार्यक्रमहरूमा यसको पढाइ र लेखाइ कार्यक्रियाशील रूपमा भइरहेको छ।
६. नेपालमा सम्भोटा लिपिको पाठ्यक्रम
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Mustang documents in the Nepali language (1667-1975 A.D.) (Results of the Nepal German Project on High Mountain Archaeology) - Karmacharya, Madhav L: 9783882800531 - AbeBooks", www.abebooks.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-०८।
- ↑ Gur-bkra-chos-'byung, पूर्वानुदित बौद्ध सम्प्रदायको धार्मिक इतिहास (१८०७-१८७३) | लेखक: गुरु ट्राशी | भाषा: तिब्बती | सन् १९८७ मा तिब्बत शैक्षिक अनुसन्धान केन्द्रबाट प्रकाशित
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- प्राचीन तिब्बती भाषा
- वयली लिप्यन्तरण
- Snellgrove, David & Richardson, Hugh (1986). A Cultural History of Tibet. Boston: Shambhala Publications.
- University of Virginia – Tibetan and Himalayan Library. [१](https://www.thlib.org)
- BDRC – Buddhist Digital Resource Center. [२](https://www.bdrc.io)
- Unicode Consortium – Tibetan Script Block. [३](https://www.unicode.org/charts/PDF/U0F00.pdf)
- van Driem, George (2001). Languages of the Himalayas. Brill Academic Publishers.