वैशाख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बैशाख बाट पठाईएको)
वैशाख
चैत तथा बैसाखमा वसन्तको सुरवात सँगै लाली गुराँस तथा अन्य फूलहरु फुल्न थाल्छन्।
पञ्चाङ्गहिन्दू पञ्चाङ्ग
महिना संख्या
ऋतुवसन्त
महत्त्वपूर्ण दिनहरूबिसु पर्व

बैशाख (बङ्गाली: বৈশাখ) विक्रम सम्बतको पहिलो महिना हो। वैशाखको १ गते नेपालमा धुमधामका साथ नयाँ वर्ष मनाइन्छ। वैशाख महिना विक्रम संवतको पहिलो महिना हो। ओडिया, पञ्जाबी, आसामी पात्रोमा यस महिनालाई बोहाग भनिन्छ जहाँ बङ्गाली पात्रोमा यसलाई बोइशाख भनिन्छ।[१][२] सौर्य मासका अनुसार बैसाखको सुरुवात मेष सङ्क्रातिको दिनबाट हुन्छ भने चन्द्रमासका अनुसार चैत पूर्णिमाको भोलिपल्टबाट मानिन्छ। शाक्य संवत्सरका अनुसार वैशाख महिनाको सुरुवात मेष संक्रातीको ५ दिन पछाडीबाट हुन्छ। नेपालमा सौर्यमास पद्धतीलाई नै मानिन्छ। वैशाख महिना बसन्तऋतुको दोस्रो महिना हो। इस्वी संवत्कको आधा अप्रिल र आधा मे वैशाख महिनामा पर्छन्।

चाड पर्वहरू[सम्पादन गर्नुहोस्]

वैसाख महिनामा नेपाल तथा भारतका मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।

  1. वैसाख महिनाको पहिलो दिन नववर्षको आरम्भमा भक्तपुरमा बिस्केटजात्रा मनाइन्छ। यसै दिनमा वाग्द्वार, विष्णुनाभी टोखा, सपनतीर्थ, त्रिवेणी यी ३ ठाउँमा स्नान र चण्डेश्वरी पीठ दर्शन गर्नाले विभिन्न रोगहरू नासिन्छ भन्ने गरिन्छ। पश्चिम नेपालको मध्य तथा सुदूर पश्चिममा यो दिन विशु अथवा विखती मनाइन्छ। विशुको अवसरमा विभिन्न ठाउँहरूमा गल्लौडी जात्रा लाग्दछ। भारतमा यस दिनलाई "बैसाखी" अथवा "मेष सक्रांती" भनिन्छ। यस दिनमा स्नान दानको ठुलो महत्त्व मानिन्छ। हरिद्वार, ऋषिकेश, इलाहवाद जस्ता विभिन्न तिर्थस्लहरूमा भक्तजनहरूको ठुलो घुइँचो लाग्ने गर्दछ।
  2. वैसाख कृष्ण आमावस्यालाई माता तीर्थ औंशी भनिन्छ। यस दिन आमा नहुनेले स्नान आदी गरी जो सकेको दान गर्नाले पुण्य मिल्दछ भन्ने गरिन्छ त्यसै दिन काठमाडौंको मातातीर्थमा स्नान श्राद्ध गर्नेको मेला लाग्दछ। तर आमा हुनेले जो सकेको उपहार र मेवा मिष्ठान्न चढाएर आमालाई सम्मान गर्ने प्रचलन छ।
  3. वैसाख शुक्ल तृतियामा पर्ने अक्षय तृतियामा भुटेको जौको पिठो अथवा सातु, चीनी या सख्खर मिलायको पानी वा सर्वत माटोको भाँडो, अंखोरा, गाग्री, गिलास जे सकिन्छ त्यसमा राखेर दान गर्नाले देवताहरू खुशी हुन्छन् र अक्षय पुण्य मिल्दछ भन्ने धारणा रहँदै आएको छ।
  4. वैशाख शुक्ल सप्तमीलाई गङ्गाजीको जन्म दिन मानिन्छ। यस दिन आफुलाई पाएक पर्ने नदीमा स्नान गरेमा पुण्य प्राप्त भएर सुखी भईन्छ भन्ने धारणा रहेको छ।
  5. वैशाख शुक्ल पुर्णिमाको दिन भगवान बुद्धको जन्म दिन बुद्ध पुर्णिमा पर्दछ। यो दिन विश्व भरीका बौद्ध मार्गीहरूले महान चाडको रूपमा मनाउछन्। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यस दिन भव्य मेला लाग्दछ।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

धार्मिक परम्परा[सम्पादन गर्नुहोस्]

हिन्दू विधान अनुसार वैसाख महिनामा जती सक्य जल दान गर्ने कुवा धारा निर्माण गराउने र नित्य दिन स्नान गर्ने गर्नाले पुण्य मिल्दछ भन्ने धारणा छ। साथै यो महिनामा काँशको भाँडामा नखाने, मास, मुसुरो, चना, कोदो, मह र सागपातको सेवन गर्न नहुने भनिएको छ।[३]

सन्दर्भ सूचीहरू[सम्पादन गर्नुहोस्]

  1. Boniface Mundu (२०१३), The Silent Short Stories: A Word of Truth, CreateSpace Independent Publishing Platform, आइएसबिएन 9781492173311 
  2. "Nepali Calendar - २०७४ जेष्ठ - नेपाली क्यालेन्डर", www.nepcal.com, अन्तिम पहुँच २०१७-०६-०७ 
  3. वैशाख माहत्मे