सामग्रीमा जानुहोस्

माझी जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(माझीबाट अनुप्रेषित)
माझी
परम्परागत माझी पोषाकमा दुई बालबालिका
जम्मा जनसङ्ख्या
२०७८ को जनगणना अनुसार १,११,३५२
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
नेपाल
भाषाहरू
माझी, नेपाली
धर्महरू
हिन्दु, प्राकृतिक धर्म

माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो । माझी जाति छुट्टै भाषा, धर्म, संस्‍कार–संस्‍कृति, परम्‍परा भएका आदिवासि जनजाति हुन् । माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये एक हुन् । यस जाति खोला, कोशीको किनारमा बसोबास गर्ने, माछा मार्ने, डुंगा चलाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्ने जाति हुन् । यो जाति मूलतः सप्तकोशीका सहायक नदीहरूका छेउछाउ, मध्य तथा पूर्वी क्षेत्रका भित्रीमधेश र मधेशमा बसोबास गर्दछन् । हाल आएर तराईका सहनी, गोडी, मलाहा, थारू, दुषाद, हल्खोर, डुम, हाडी, मुसहर, भित्रिमधेशका बोटे, पश्चिम नेपालका केही खस क्षेत्री, रायमाझी इत्यादिले पनि माझी लेखेका हुनाले वास्तविक माझी जातिको पहिचानमा संकटमा परेको छ । माझी जाति अतिसीमान्तकृत समूहमा पर्दछन् ।

नेपाल, भारत, भुटान तथा अन्य स्थानहरूमा माझी जाति छरिएर बसोबास गरिरहेका छन् । विशेषत उनीहरू हिन्दू धर्मावलम्बीहरू हुन् ।

इतिहास र परिचय

[सम्पादन गर्नुहोस्]

यो जातिको मुख्य पेशा माछा मार्ने, डुङ्गा चलाउने हो । हाल, माझी जातिहरू माछा मार्ने परम्परागत पेशमा मात्र आवद्ध नभई विभिन्न पेशा व्यवसाय गरिरहेका छन् । नेपालका विभिन्न आदिबासी जनजातीहरूमध्ये “माझी” हरू पनि एक हुन् । अन्य जनजाती आदिबासीहरूको जस्तै यिनीहरूको पनि आफ्नै अलग्गै बस्ने थलो, भाषा, पहिरन, संस्कृति, पहिचान आदि रहेको हुन्छ । प्रायजसो यिनीहरू शान्त, सहयोगी र लजालु स्वाभावका हुन्छन् । यही स्वभावका कारणले होला सामाजीक र आर्थीक रूपले पछाडी परेको छन् ।

माझीहरूको भनाइ अनुसार सृष्टीको शुरुवातदेखि नै यिनीहरूको “नदी”सँग आत्मीय र विशेष सम्बन्ध रहेको छ । यिनीहरूको प्रमुख परम्परागत व्यवसाय भनेको आफैलें काठको डुङ्गा बनाई त्यस मार्फत मानिसहरूलाई नदी वारपार गराउनु र प्राकृतिक जलाशयहरूमा रहेका माछा मार्नु खेती किसानी र पशुपालन हो । विशेषगरी सप्तकोशीका सहायक नदिहरूको आसपास, भित्री मधेशको नदीहरूको छेउछाउमा रहेको भाग माझीहरूको प्रमुख बसोबास थलो हो । यिनीहरूको साधारणतया प्राचिन मङगोलियन शारिरीक बनावट, गहुँगोरो वर्ण, मध्यम खालको उचाइ र पुष्ट शरीर हुन्छ ।

माझी जातिको उत्पत्ती

[सम्पादन गर्नुहोस्]

माझी जातिको उत्पत्ति अन्यौलग्रस्त र वस्तुगत प्रमाणिकताको अभाव रही रहेको अवस्थामा जनजाति अन्तर्गतकै माझी समुदायको उत्पत्तिको वारेमा यसै भन्न सकिने अवस्था छैन । यद्यपी माझीहरुको पुख्यौली थलो सातकोशीका सहायक नदीहरु हो । सप्तकोशीमा जस्तै गण्डकी, कर्णाली, सेती, भेरी र नारायणीमा पनि माझी जातिको बसोवास हुनु पर्ने हो तर त्यस्तै देखिदैन । गण्डकी र नारयणी किनारमा वोटे जातिको बसोवास भएको देखिन्छ । माझी जातिको एउटा थर वोटे पनि छ । त्यस क्षेत्रमा माझीहरु अल्पसंख्यक भएकोले बोटे जातिमा विलय भएको पनि हुनसक्ने बलियो सम्भावना पनि छ । वोटे र माझी जातिमा खासै भिन्नता छैन । माझी र वोटे एउटै जाति हुन सक्ने धेरै आधारहरु छन् । त्यस्तै वेदव्यास द्वारा रचित महाभारतमा उल्लेख भए अनुसार मत्स्यगन्धा वास्तवमा माझीकै छोरी हुनु पर्दछ । हिन्दू धर्म शास्त्रले उचनीच जातिको विभाजनको कारण माझीको छोरी हो भन्ने संकोच मानेर माछाको गर्भबाट जन्मिएकी भनिएको हुनसक्छ ।

प्रसिद्ध ग्रन्थ काव्य रामायणमा भगवान रामलाई माझीहरुले समुन्द्र तारेको उल्लेख छ । रामलाई तार्ने भनिएका माझी निषद वंशका हुन् जुन हिन्दू वर्णाश्रम अनुसार शुद्ध अर्थात अछुत मानेका छन् । नेपाल वृहत राज्यकोषमा निषद शब्दलाई 'एक प्राचीन अनार्य जाति' भनेर पनि अर्थ्याएको छ । यसबाट माझी पनि निषद वंशका हुन सक्ने सम्भावना भने छ । नेपालको मधेश तर्फका केही जिल्ला र भारतमा यस जातिका मानिसहरुको वाक्लो बसोवास छ । उनीहरु आफूलाई केवट पनि भन्दछन् । राम र रावणको युद्ध हुँदा रामलाई सहयोग गर्ने सबैलाई रामले मेरा सहयोगी सबै क्षेत्रीहरु भनेर मानिसदेखि वाँदर समेतलाई जनै लगाई दिएको कुरा रामायणमा उल्लेख गरेको पाइन्छ । रामलाई समुन्द्र तार्ने सबै निषाद वंशका भएता पनि अहिलेसम्म कसै कसैले जनै लगाउँदै छन् । यसमा उल्लेख गर्न खोजिएको के हो भने माझी जातिको कुनै पनि पुर्खाले जनै लगाउँदैनन् ।

रामेछाप जिल्लाको पुरानो सदरमुकाम देखि पश्चिम तिरको डाँडामा गोल्मा राजाले सुरक्षाका लागि वनाएको आडको (युद्ध गर्नुपर्दा सुरक्षाको लागि बनाइएको विशेष किसिमको ठाउँ) भग्नावशेष अझै पनि छ । आड देखि दक्षिणतिर गोल्मा राजाको दरवार भएको ‘गोल्माटार' नामको ठूलो टार पनि छ । गोल्मादार देखि केही तल सिपाहीहरु कवाज खेल्ने, नाचगान गर्ने, ख्यालठट्टा गर्ने, रमाइलो गर्ने, 'ख्यालीटार' नामको ठूलो टार छ । ख्यालीटार देखि तल सुनकोशी तिरमा ठूलो टार छ त्यो टार त्यस समयको मसानघाट हो र त्यसलाई अहिले मरिनघाट भन्दछन् । मरिनघाट देखि केही तल सुनकोशी भित्र गोल्मा राजाको ठूलो हात्ती छ । सुनकोशीको पानी सफा भएको समयमा पानीमा हेयो भने हात्ती आकृतिको ठूलो ढुङ्गा छ । त्यसलाई गोल्मा राजाको हात्ती भनिन्छ । यसरी यो यसबाट कोशी तिर नै माझीको पुख्र्यौली थलो भएको पुष्ट्याइ गर्ने प्रमाण हो । अझै पनि नेपालको जुनसुकै जिल्लाको माझीहरु पितृ कार्यको सराद गर्दा पितृलाई वोलाउने गीत गाउँदा गोलघरे राजासँग विदा मागी आउ भन्छन् ।

माझी बुढापाकाहरुको भनाई र अहिलेसम्म पाइएका भग्नावशेष अनुसार रामेछाप जिल्लाको रजगाउँमा मन्दरे नाम गरेका राजा थिए । तिनको दरवार रजगाउँमा थियो । दरवारको भग्नावशेष अहिलेसम्म वारीमा खन्दा ठूला ठूला इटा भेटिन्छन् । रजगाउँ देखि तल मसानटार (मसानघाट) पारीपट्टि हात्तीटार (हात्ती, घोडा बाँध्ने ठाउँ) हो भन्छन् । रजगाउँ, मसानटार, हात्तीटार र कुनौटी माझीगाउँ अहिलेसम्म पनि छ । रामेछापको पहिलेको सदरमुकामबाट आउने सुकामोर खोला तामाकोशीमा मिस्सिन भन्दा केही माथि खोलामा मन्दरे माझी राजाले तन्त्रमन्त्र विद्याद्वारा निकालेको जरुवापानी अहिलेसम्म पनि छदैछ । त्यस जरुवा पानीलाई मन्दरे पानी भनिन्छ ।

माथि उल्लेखित विभिन्न मतहरुबाट माझी जातिले गोलघरे राजालाई पितृका राजा मानेका छन् । रामेछापका गोल्मा राजा माझी जातिको पुर्खा हुन सक्ने धेरै सम्भावना छ । गोपाल वंशावलीमा रजगाउँका भारदारले सबै धनमाल हात लाए भनिएको छ तर राजाको उल्लेख छैन । यसरी त्यसभन्दा धेरै पहिले देखि त्यस गाउँमा माझी जातिको राजा भएको अनुमान गर्न करै लाग्छ । यो भन्दा पहिलेको इतिहास नभेटिएकोले माझी जातिको पुख्र्यौली थलो रामेछाप जिल्लाको तामाकोशी गडतीर वा रजगाउँ नै भन्ने प्रमाणित हुन्छ ।

२०७८ को जनगणना अनुसार माझी जातिको जनसंख्या
२०७८ को जनगणना अनुसार माझी जातिको जनसंख्या

२०५८ सालको जनगणना अनुसार नेपालमा माझीहरूको कूल जनसङ्ख्या ७२,६१४ रहेको थियो । जस अनुसार माझीभाषा बोल्ने जनसङ्ख्या २१,८०० मात्र थिए । २०७८ को जनगणना अनुसार माझी जातिको जनसंख्या १,११,३५२ अर्थात ०.३८ प्रतिशत रहेको छ । जसमा ५४,७८३ पुरुष र ५६,५६९ महिला रहेका छन् । मातृभाषा बोल्ने मानिसको संख्या भने ३२,९१७ रहेको छ । []

माझी समुदायको आफ्नो छुट्टै भाषा छ जसलाई ‘माझी कुरा’ भनि माझी समुदायमा भनिन्छ । माझी जातिले बोल्ने भाषालाई माझी जातिले ‘माझी कुरो’ भने पनि यस जातिबाहेकका जातिले माझी भाषा भन्दछन् । माझी भाषा भारोपेली भाषा परिवारमा पर्दछ । विशेषगरी तामाकोशी, सुनकोशीदुधकोशी गडतीरमा माझी भाषा बोल्‍ने गर्दछन् । यस भाषाको केही क्षेत्रीय भाषिका भेदहरू पाइन्‍छन् । प्रत्‍येक जिल्‍ला र गाउँहरूमा केही भिन्‍नताहरू छन् ।

आदिवासी जातजातिहरुको मातृभाषा हुन्छन् भन्ने देखाइएको छ । माझी जातिको पनि आफ्नै छुट्टै मातृभाषा छ । माझी भाषा भरोपेली भाषा परिवारभित्र पर्दछ । यो भाषा विशेषगरी रामेछाप, काभ्रे, ओखलढुङ्गा, खोटाङ्ग, दोलखा जिल्लाका अलावा माझी बसोवास भएका समुदायहरुमा वोल्दछन् । यस भाषाका केही क्षेत्रीय भाषिकामा भेद पनि पाइएको छ । भाषा नवोल्ने गाउँहरुमा पनि अवेशषका रुपमा माझी भाषाका केही शब्दहरु प्रयोग भएको पाइन्छ । माझी भाषा बोलीचालीमा मात्र सीमित छ । यसको आफ्नो लिपि नभएकोले भाषा लोप हुने अवस्थामा छ ।

उदाहरणका लागि नेपाली शब्‍द ‘खानु'’लाई तामाकोशीमा ‘खा’, ‘खाइ’ र सुनकोशी र दुधकोशीमा ‘खारा’ भन्‍दछन् । यसमध्‍ये मुख्‍य भाषा कुन हो भन्‍नेबारे अध्‍ययन अनुसन्‍धान हुन बाँकी नै छ । दुरीको आधारमा दुधकोशी र तामाकोशीको भाषा बढी मिल्‍नु पर्ने हो तर दुधकोशी र सुनकोशीको चाँहि बढी मिलेको पाइन्‍छ । यी तीन क्षेत्रबाहेक अन्‍यत्र पनि यो भाषा फाटफुलट रुपमा बोल्‍ने गरेको पाइन्‍छ ।

  1. भाषा बोल्‍ने माझी समुदायले पनि आफ्नो मातृभाषालाई छोडेर अन्‍य भाषा बोल्‍न थालेका छन् । भाषा बोल्‍न नजान्‍नेहरु धेरै छन् ।
  2. विद्यालयमा मातृभाषामा समेत पठनपाठन गराउने सरकारी नीति भएतापनि हालसम्‍म माझी भाषामा पढाइ हुन नसकेकाले पढ्ने पढाउने र अन्‍य माझी भाषा प्रेमी, प्रयोगकर्ताहरूलाई माझी भाषाका शब्‍द प्रयोग र लेखनबारे आवश्‍यक छ ।

नेपालको हिमाल, पहाड र तराइ भेगमध्ये भित्री मधेशमा माझीहरूको प्रमुख बसोबास रहेको छ । यस बाहेक केही तराइ र पहाडी भागमा पनि यिनीहरूको बसोबास रहेको छ । अझ भन्नुपर्दा सप्तबकोशी लगायत यसका सहायक नदीहरूको किनार नै माझीहरूको बसोबास क्षेत्र हो । यिनीहरू आफ्नै छुट्टै ऐतिहासिक भौगोलिक समुदायभित्र बसोबास गर्ने गर्छन् । सकेसम्म घर बनाउँदा भने संभव भएसम्म लहरै अथवा साझा आँगन हुने गरी ८/१० परिवार एकै ठाउँमा झुरुप्प हुने गरी बनाउने गर्छन् । घरको छाना छाउनको लागि भने कि त ढुङ्गा कि त खरको प्रयोग गर्छन् ।

माझी जातिको बासेवास विशेष गरेर कोशी प्रदेश वा कोशीका सहायक नदीका तिर नै भएता पनि अन्य जिल्ला र मधेशतिरका सम्पूर्ण जिल्लाहरुमा इन्द्रावती, सनुकोशी, तामाकोशी, लिखु, दूधकोशी, अरुण र तमोरबाट नै बसाई सरी गएको बुझिन्छ । नेपाल बाहेक भारतको विहार राज्यको पूर्णिया जिल्लाको महनहा हरिपुर दार्जिलिङ्ग, आसामा र भुटानका गेलेफु, चिराहाङमा समेत यिनै कोशी किनारबाट बढी ७ - ८ पुस्ता पहिले विभिन्न कारणबाट बसाइ सरी गएका र उतै बसोवास गरेका छन् ।

कोशी र अन्य नदीहरुसँग माझी जातिको विभिन्न धार्मिक साँस्कृतिक परम्पराको कारणले अति निकट सम्बन्ध छ । त्यसकारणले माझी जातिले कोशी नदी र अन्य नदी तीरमा वसोवास क्षेत्र विस्तार गरेको पाइन्छ । यसरी सिन्धुपाल्चोक र काभ्रेबाट मकवानपुरमा रामेछाप र ओखलढुङ्गाबाट सिन्धुलीमा ओखढुङ्गा र खोटाङबाट उदयपुर, अन्य जिल्ला र मधेस तिरका सम्पूर्ण जिल्लाहरुमा इन्द्रावती सुनकोशी तामाकोशी लिखु दुधकोशी, अरुण तमोरबाट नै वसाई सरी गएको बुढापाकाहरु बताउँछन् । यस क्षेत्रमा वाग्मती नदी किनारमा सिन्धुली मकवानपुरबाट आएको बुझिन्छ ।

माझी थर विभाजन

[सम्पादन गर्नुहोस्]

परम्परागत माछा मार्ने, डुङ्गा चलाउने, कृषि र पशुपालन पेशामा लागेका माझी जातिहरुको थर र त्यसमा पनि विभिन्न उपथरहरु रहेको पाइन्छ । तर पनि ती थरका अलावा यी चिसापानी, मन्थले, कुनौरे, अटौले, रजगाउँले, पूँजीघाटे, उवखाली, सित्खाली, कोंपशेली, लुवेली, सेलेघाटे, तपुघाटे, धनेघाटे, सुङरेली, तौलपुरे, खुवाली, टोकसेले, मूलघाटे, मरिनखोले, कोलोन्जोरे, सिपाली, भिमटारे, दोलालघाटे, आँपघाटे, पचुवारघाटे आदि वास्तवमा माझी जातिको थर गोत्र नभई माझी गाउँ र घाटको नाम हो । मधेशतिर र अन्यत्र यी स्थानका या थर भएका मिल्यो भने दाजुभाइ या हाडनाता मान्छन् विवाहवारी गर्दैनन् ।

माझी जातिको थर निम्नानुसार रहेको पाइन्छ

[सम्पादन गर्नुहोस्]

१. दनुवार माझीभित्र

क) राजवंशी दनुवार माझी

ख) वोटे दनुवार माझी

ग) शेककरे दनुवार माझी

घ) घारमाउले दनुवार माझी

ङ) सुपारे दनुवार माझी

च) सूर्यवासी दनुवार माझी

२. कुशुवार माझीभित्र

क) कास कुशुवार माझी

ख) दूध कुशुवार माझी

ग) कुस कुशवार माझी

घ) लोहोटी कुशवार माझी

ङ) पहरेली कुशुवार माझी

च) नेपाले कुशवार माझी

कुमाले माझी, बाँतुर माझी र थाल्थारु माझीको उपथर भने भेटिएको छैन ।

आदिवासी जनजाति आयोगका अनुसार

[सम्पादन गर्नुहोस्]

आदिवासी जनजाति आयोग को मिति २०७९।०८।१४ गतेको गोरखापत्रमा प्रकाशीत सूचना बमोजिम आदिवासी जनजातीका संघ संस्थाहरूबाट आयोगमा प्राप्त भएको थरहरूको विवरण अनुसार माझी जाति भित्रका थरहरू यसप्रकार हरेका छन्:

  1. कुसुवार
  2. बोटे
  3. दुध कुसुवार
  4. कास कुसुवार
  5. लोहरे कुसुवार
  6. नेेपाले कुसुवार
  7. दनुवार
  8. कुमाले
  9. पहरेली
  10. सनटाटि
  11. रजवंशी
  12. सूर्यवंशी
  13. घोर माउले
  14. सुपारो
  15. गोरे
  16. ठोक्करे

यस जातिमा रहेका बाजाहरू ढोल, मादल, झ्याली, घण्टा, भाली, झुली आदि हुन् । माझी बाजा तथा भाषा सम्पदा विलुप्त हुने स्थितिमा पुगेको देखिन्छ ।

माझी जाति हिन्दू वर्णाश्रम व्यवस्थाभित्र पर्दैनन् । धर्म सोद्धा हिन्दू भनिएको पाइएता पनि कुनै पनि कर्मकाण्ड गर्दा वाहुन पुरेत लगाउँदैनन् हिन्दू धर्मशास्त्र अनुसार कर्मकाण्ड सम्पन्न गर्दैनन् । बुढोपाका, धाँधी, ज्वाइचेला, भान्जाभान्जी र जान्नेसुन्नेद्वारा कर्मकाण्ड सम्पन्न गर्दछन् । मृत्यु संस्कारमा वाहुन लगाएत कुनै पनि जातिले छोएको सिन्का, पात समेत चलाउँदैनन् ।

पुरुषले कछाड, भोटो, फेटा, इस्टकोट र टोपी लगाउँछन् र सुनको माडवरी, विमेली र रानोछँदा हातमा चाँदीको चुरा लगाउँछन् । महिलाले फरिया चौवन्दी चोलो, पटुका, मजेत्रो, कपालमा लाछा वा धागो लगाउँछन् र गहनाको रुपमा, कानमा ढुंग्री, माडवारी, च्यापटे सुन, नाकमा फूली, बुलाकी, कपालमा सीरफूल, गलामा हर्सौली र चाँदीको सिक्री, हारी, पोत, पच्छा गोडामा कल्ली, हातमा वागमुखे चाँदीको चुरा र काँचको चुरा लगाउँछन् । कपडा लगाउँदा पुरुषले लगाउने कछाड र महिलाले लगाउने फरिया अन्य जातजातिले भन्दा छोटो लगाउँछन् भने धेरै रातोरंग मन पराउँदैनन् । पानीमा माछा मार्नु पर्ने भएकाले कछाड र फरिया छोटो लगाएका हुन सक्छन् ।

अतिथि सत्कार

[सम्पादन गर्नुहोस्]

माझी जातिले जाँड, रक्सी, माछा, मासु खान मन पराउँछन् । पाहुनाको सत्कार जाँडले गर्दछन् र रक्सीले कम महत्व पाउँछ । पाहुनाको सत्कारमा पहिले जेठो मान्यजन र साइनोले प्राथमिकता पाउँछ । पाहुनामा सम्धीलाई विशेष सत्कार गर्दछन् । ज्वाइँलाई छोरो सरह मान्छन् र धेरै माया गर्छन् । घरमा आएका पाहुनालाई सर्वप्रथम वाहिर दलानमा राडी ओच्छ्याएर बस्न अनुरोध गर्दछन् । पाहुनालाई तमाखु, जाँड र भात खान दिन्छन् । पहिले तमाखु भरेर हुक्का सहित टक्र्याउँछन् । पाहुनाले हात जोडेर लिनुहोस् भने पछि मात्र आफैले पनि खान्छन् । तमाखु खादै गर्दा जाँडको व्यवस्था गरिन्छ । पाहुना घरभित्र बसेपछि पहिले जाँड, माछा मासु, अन्डाको सीतन दिन्छन् र खानेकुरा दिँदा नमस्कार गर्दछन्, त्यसपछि हात जोडेर खाने अनुरोध गर्दछन् । सम्धी आएका छन् भने भेट हुनासाथ हातमा कुनै कपडा वा रुमाल लिएर निहुरिएर रुमाल सहितको हातले भूँइमा छोएर उभिएर नमस्कार गर्दछन् । यो क्रम तीन पटक गर्दछन् । खाजाको रुपमा जाँड खाँदै गर्दा सञ्चो विसञ्चो सोधनी गर्छन् ।

पाहुनालाई खानेकुरा दिँदा जाँड, मासु र भात भए हुन्छ । विभिन्न प्रकारका तरकारी, अचार नहुँदा पनि हुन्छ तर मासु छैन भने पाहुनालाई सम्मान नगरेको ठहर्छ । धेरै जसो पाहुनाले लाज मानेर नअघाइकनै भो पुग्यो भन्ने भएकाले भो भन्दा पनि कर गरेर थपीथपी खान दिने चलन छ । खाइसकेपछि पाहुनालाई घरभित्रै चुठ्न लगाउँछन् । पाहुना विदा गर्ने बेलामा मीठो जाँड, निंगार, रक्सी खान दिइन्छ । यसलाई बाटोको लौरो भन्दछन् । विदा हुँदा पनि ढोगभेट गरेर मात्र पाहुना विदा हुन्छन्र ।

मुख्यतः जन्म संस्कार, न्वारन, पास्नी, छेवार, विवाह र मृत्यु संस्कार पर्दछ । यसका साथै सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर र सुनसरी, झापा, मोरङको मृत्युसंस्कारमा केही भिन्नता पाइन्छ ।

गर्भवती अवस्थामा माझी महिलाले लास ल्याएको वा वाँधेको नहेर्नु हेरे बच्चाको घाँटीमा नाल बेरिन्छ भन्ने छ। यसैगरी बाघ भालु चितुवा आदिले मारेको कुनै जनावरको मासु नखानु, खाए सुत्दा निन्द्रामा बाघ जस्तो घुर्छ । हलोले जोतेको सियो ननाघ्नु नाघे सुत्केरी बेथा लामो हुन्छ। बच्चाको बाबुआमाले काटमार नगर्नु, सर्प नमार्नु, काटमार गरे सर्प मारे बच्चाको जिब्रो निकाल्ने बानी हुन्छ । इच्छा लागेका कुरा खानु नखाए बच्चाको याल काढ्ने बानी हुन्छ । ग्रहण लागेको नहेर्नु, पेट नकन्याउनु र हेरे कन्याय बच्चा खोडे हुन्छ । घोडा गाइवस्तु बाँधेको दाम्ला डोरी ननाघ्नु नाघे सालनाल झर्दैन वा ढिलो झर्छ । बाबर रोटी चोरेर नखानु खाए कान खोडे हुन्छ । खोर्सानी चोरेर खाए बच्चा बाठो हुन्छ भन्ने विश्वास राख्दछन् । दुईजीउकी महिलाले परदेश, भिरपहरा नजानु, रुख नचढ्नु, चर्को काम नगर्नु, गहुँगो भारी नबोक्नु, धेरै पिरो अमिलो नखानु पनि भनेर अऱ्हाउने चलन पनि छ।

गर्भवती महिलालाई सुत्केरी गराउँदा घरभित्र गराउनु पर्छ भन्ने मान्यता माझी समुदायमा छ । बच्चा जन्मिसकेपछि घरको ढोकाको सँघारमा एउटा कुखुरा काट्छन् । छोरो जन्मेमा भाले र छोरी जन्मेमा पोथी काट्छन् । कुखुरा काटेको देख्दा छोरा वा छोरी के जन्मियो भन्ने कुराको प्रष्ट जानकारी गराउँदछ । सुत्केरीलाई सुत्केरी भएकै दिनदेखि कुखुराको मासु, जाँड, रक्सी, घ्यू, ज्वानो खुब खान दिन्छन् ।

बच्चा जन्मेको तीन, पाँच, सात बिजोर दिन पारेर नामकरण वा न्वारान गर्दछन् । बच्चाको नाइटो नझरुन्जेल नवारान गर्नु हुँदैन । चाँडै न्वारान गर्नु छ भने नाइटो चाँडो झार्नको लागि सुत्केरीलाई खुवाउन पकाएको कुखुराको मासुको झोल हाली नाइटो झार्ने प्रयास गर्दछन् । न्वारान गर्ने दिन घर लिपपोत गरी सुडेनी, सुत्केरी र बच्चालाई नुहाइधुवाई गर्दछन् । गाउँका मिझार, गौरुड, सुडेनी बोलाउँदछन् । कुनै ठाउँमा मिझार गौरुङले र कुनै ठाउँमा सुडेनीले बच्चाको नाम जुराईदिन्छ वा राखिदिन्छ । नाम राख्दा कुन दिन, बार, ठाउँ, अवस्थामा जन्मेको हो सोही दिनको बार अवस्थाको पहिलो अक्षर राखेर नाम राख्दछन् । न्वारानको दिन बच्चालाई नुहाउँदा गाइको दूध, भलायोको ठेला, सिंगी, काटी, बागी माछाको काँडा अरिङगाल, बच्छयुँ, बारुलो, धारे, सिस्नो, अल्लो पनि डढाई धुवाँ दिदा ती माछाले

घोच्छा, अरिङ्गाल बच्छयूले चिल्दा विष नलाग्ने, सिस्नो अल्लोले नपोल्ने हुन्छ भन्ने माझी जातिको विश्वास पाइन्छ । न्वारानमा बाबु, बाजे वा काका साक्षी राखी ज्वाई चेला, भान्जा भान्जी, कुटुम्बले सुत्केरीलाई गहुँत, तेल खान र लाउन दिन्छन् । गउत सुत्केरी बसेको ठाउँ, भँडार चोटोकोठा, फूल विरुवामापनि छर्दछन् । यसलाई गहुँत छर्ने वा चोख्याउने पनि भन्दछन् । कसैले न्वारानको दिनदेखि नै पानी छुन्छन् भने कसैले १५ दिनसम्म पानी बार्छन् । सुत्केरी नचोख्याइ कुनै पनि शुभ, अशुभ काम गर्दैनन् । यो नगरुन्जेल कुलपितृ, देवीदेवतामा चल्दैन भन्नेछ । जाँड, मासु, भात अन्य विभिन्न खाद्यपदार्थहरु बनाई बुढापाका र सुडेनीलाई खुवाउनुपर्छ साथै सुडेनीलाई गुन्युचोलो (एकसरो कपडा) दिने गर्दछन् ।

माझी जातिमा बच्चा आइतबार जन्मे आइते, आइतवीर, आइती, सोमबार जन्मे सोमे, सोमी, मंगलवार जन्मे मंगले, मंगलमान, मंगली, बुधवार जन्मे बुधे, बुधवीर, बुधमाया, बिहीबार भए बिर्देउ, बीरसे, बीरमान, शुक्रवार भए शुक्रे, शुक्रवीर, सुकमाया, शनिवार भए संसरे, सन्ते, सन्ती नाम राखिन्छ । यसै गरी माइतमा जन्मेको भए माइते, माइती, बाटोमा भए बाटुले, बाटुली इत्यादी ।

बच्चालाई पहिलो पटक भात खुवाइ दिने कर्मलाई 'पास्नी' भन्दछन् । छोरो भए ६ महिना छोरी भए ५ महिनामा पास्नी गर्दछन् । जाँड, रक्सी, माछा, मासु, अण्डा, दही, दूध, घ्यू, मह दालभात अन्य विभिन्न खाद्यसामग्री तयार पार्दछन् । दियो बत्ती बाली कलस थाप्दछन् । कलसको पानीले अभिषेक गरी दही अक्षताको टीका लगाइ धेरै आशिष पनि दिन्छन् । पास्नीमा मावली, दाजुभाइ, नातागोता, इष्टमित्र पनि बोलाइ भात खुवाउँछन् । घरको सबैभन्दा जेठोले पहिले खुवाउँछन् टिका लगाई दिंदा “ आजदेखि मनुष्य भइस् पाथीको भात खानु सक्ने, धार्नीको कोदालो चलाउनु सक्ने हुनु, विसासय आयु होस्” भन्ने खालका आशिष दिएर टीका लगाइदिन्छन् । सबैले भात खुवाइ टिका लगाइए दक्षिणा कपडा दिने पनि चलन छ । निम्तालु सबैलाई जाँड, रक्सी, माछा, मासुसमेत खान दिने, नाचगान गर्ने पनि कसै कसैले गर्छन् । भात नखुवाउँदै मर्यो भने सराद गर्दैनन् सुध्याईमा नै सरात गर्नु नपर्ने गरी खोला कोशीमा सेलाउँछन् । भात खुवाइ सकेको छ भने सुध्याई मात्र गरेर हुँदैन, सराद पनि गर्नुपर्छ । बच्चाको ८ महिनामा दाँत उम्रियो दाँत उम्रेको बच्चालाई मामाले घरको भित्ता प्वाल पारेर हात छिराइ काँसको भाँडा डवकामा दूध भात खुवाइ टीका लगाइदिइ बडका वा कचौरासहित दक्षिणा दिएपछि दोष लाग्दैन मुख हेर्नुहुन्छ भन्ने माझी जातिको विश्वास रहेको छ।

पहिलो पटक कपाल काट्नुलाई 'छेवर' भन्दछन् । छेवरमा कपाल काटी दिनका लागि मामा अनिवार्य चाहिन्छ । आफ्नो मामा छैन भने अन्य नाता साइनोको भएपनि मामा बनाइ उनीबाटै कपाल काटिन्छ । गाईको थलो लिपपोत गरी नयाँ किलो, दाम्लो, हरियो सालको पातको टपरी तयार पार्दछन् । दाम्लाले घाँटीमा बाँधेर मामाले भान्जाको कपाल काट्दै टपरीमा राख्छन् ।

माझी जातिहरुमा मागी, चोरी, जारी, विधवा, अन्तरजातीय र जबरजस्तीसमेत गरी छ प्रकारको विवाहको प्रचलन चलेको इतिहास भेटिन्छ । आधुनिकता सँगै यस जातिमा समेत विवाह र संस्कार जन्य अन्य क्रियाकलापहरूमा अन्य जातजातिहरूको अनुसरण भएको पाइन्छ ।

माझी जातिहरुमा मागी, चोरी, जारी, विधवा, अन्तरजातीय र जबरजस्तीसमेत गरी छ प्रकारको विवाहको प्रचलन चलेको इतिहास भेटिन्छ । आधुनिकता सँगै यस जातिमा समेत विवाह र संस्कार जन्य अन्य क्रियाकलापहरूमा अन्य जातजातिहरूको अनुसरण भएको पाइन्छ ।

कोसी (लदि) पूजा माझी जातिको महान पर्व हो । दसैै, तिहार जस्ता नेपालीहरूले मनाउने पर्व पनि धेरैजसो माझी जातिहरूले मनाउँछन्, माझी जति प्रकृतिको पूजा गर्छन । गोठ पूजा पनि गर्ने गर्छन् । संस्कृति र परम्पराको संरक्षण गर्न विभिन्न पूजाको चलन पनि चलाउँदै आएका छन् । वर्षेनी हुने पूजा होस् वा श्राद्ध, माझीहरूको आफ्नै छुट्टै मौलिकता छ । यस्तो मौलिक अभ्यास नयाँ पुस्तामा सकुशल हस्तान्तरण गर्न उपायहरूको खोजी गरिरहेका छन् ।

कोसी पूजा अर्थात लदि पूजा नेपालमा बसोबास गर्ने समस्त माझी जातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप-पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ-आफनो घरबाट नजिकको खोलामा सबै मानिसहरू भेला भई समूहमा यो पर्व मनाउने गरिन्छ । यो दिनमा नदिलाई विशेष रूपले पूजा गरिन्छ। पूजामा विशेष बिधिबाट तयार गरिएको थानमा सुँगुर, भैंसी, कुखुरा, हाँसपरेवा गरि पाँच प्रकार जीवको बलि चढाउने गरिन्छ; जसलाई पञ्चबलि पनि भनिन्छ । यो पञ्चबलिको साथ थानमा फुल-अक्षता र भेटी आदि चढाइ मन्त्र वा विधिद्वार पूजाआजा गरिन्छ । यो दिनमा आफ्ना आफन्तहरू बिच शुभकामना आदानप्रदान पनि गर्ने गरिन्छ । साथै यो दिन नाचेर, गाएर खुसी साटासाट गर्ने, रमाइलो गर्ने गरिन्छ ।

बैसाखे पूर्णे

[सम्पादन गर्नुहोस्]

वैशाखे पूर्णेमा वायुको पूजा गर्ने भएकोले यसलाई वायुपूजा पनि भन्दछन् । मरेका पूर्खा पितृहरुलाई थान लगाई राख्दछन् । यसलाई वायु भन्दछन् । कसैले वर्षमा दुई पटक कसैले एकपटक वायु पूजा गर्दछन् । वायू पूजा गर्दा पुरुष वायुलाई भाले र महिलावायु भए पोथी कुखुरा बली चढाउँछन् । यो पूजाको प्रसाद कुनैपनि जातजातिले खानहुन्छ । यसलाई अन्य पितृकार्यको जस्तो प्रसाद कुनैपनि जातजातिले खानहुन्छ । यसलाई अन्य पितृकार्यको जस्तो प्रसाद मान्दैनन् । वायुको माटोको धुपौरो, पानस, घन्टी सफा गर्दछन् । अक्षेता, कपडा फेर्दछन् । यो पूजा गर्दा पूर्खा पितृहरु खुशी हुन्छन् भन्ने छ । घरमा कुनै दुःख विमार हुँदैन । अन्न पानीको सह हुन्छ । शुभ्य फाप्य हुन्छ भन्ने माझी समुदाय मान्यता राख्दछन् । यो पूजामा चेलीबेटी, ज्वाइँचेला बोलाउँछन् । कसैकसैले खानपिन गराई टिका लगाई दक्षिणा दिने पनि गर्दछन् ।

संसारी पूजा

[सम्पादन गर्नुहोस्]

संसारी पूजा जेठमा शनिवार पारेर गरिने सामुहिक पूजा हो । कसैकसैले व्यक्तिगत रुपमा पनि गर्दछन् । सामुहिक गर्दा प्रत्येक घरबाट पैसा उठाई पाठी किन्छन् । पूजाको दिन प्रत्येक घरबाट, अक्षेता, धुप, भेटी, सुपारी एकैठाउँमा जम्मा पार्दछन् । गाउँको नजिक अग्लो डाँडामा देवता स्थापना गरी चामलको पिठोको रेखी हाली, धुपबत्ति बाली पुजारीले लौ परमेश्वरी संसारी माई, देसान- मसान हटाईदिनु, महामारी, हैजा, बिफर, ठेउला, खुरेत जस्ता रोगव्याधि आउन नदेउ, समय-समयमा पानी पारिदेऊ, गाउँको रक्षा गरिदेउ इत्यादि भन्दै बल पुकारा गरेर पाठी बली चढाउँछन् । बली चढाएको पाठीको मासु वा कुनै अक्षता, पाती गाउँघरमा ल्याउँदैनन् । बली चढाएको पाठी, परेवाको मासु प्रत्येक प्रसादको रुपमा सबैले खान्छन् । यो प्रसाद खान नछुने भैसकेका महिला जाँदैनन् । यो पूजा गाउँबाट कुनै खोला वा खोल्सा कटाएर गर्दछन् । प्रसाद पनि खोला, खोल्सा कटाएर ल्याउनु हुँदैन भन्दछन् ।

व्यक्तिगत रुपले यो पूजा गर्दा कुनै चोखो ठाउँमा लिपपोत अथवा खोचो पारी देवता स्थापना गरी धुप, बत्ती बाली, अक्षतापाती चढाई, पोथी कुखुरा बली चढाउँछन् । बली चढाएको कुराको मासु घरमा ल्याउँदैनन् । उपयुक्त ठाउँमा भात, मासु पकाई, घरका सबै परिवारले खान्छन् । यो प्रसाद खानमा महिलालाई प्रतिबन्ध छैन । पकाउन, खान प्रयोग गरेको भाँडा सफा नगरी घरमा ल्याउँदैनन्, ल्याए अनिष्ट हुन्छ भन्ने मान्यता राख्दछन् ।

आइतबारे पूजा जेठ, असारमा आइतबार पारेर गर्दछन् । आइतबारे झाँक्री, झाँक्रेनीको स्थान गाउँको नजिकै पहरा वा चोखो ठाउँमा बनाउँछन् । झाँक्रीलाई भाले र झाँक्रेनीलाई पोथी कुखुरा पनि चढाउँछन् । धूप, बत्ती, अक्षेता र कोदोको पिठोको घिउ-तेलमा पकाएको बाबर चढाउँछन् । आइतबारेलाई वस्तुभाउको गोठालोको रुपमा पूजा गर्दछन् । पूजारीले वनजंगलको तष्कर, बाघ, भालु र भीर, पहराबाट वस्तुभाउ जोगाइदेउ इत्यादि भनेर बल पुकार माग्दछन् । बली चढाएको कुखुराको पोलेको कलेजो, कोदोको बाबररोटी, जाँड प्रसादको रुपमा त्यहाँ गएका सबैले खान्छन् ।

साउने संक्रान्ति

[सम्पादन गर्नुहोस्]

साउने संक्रान्तिलाई लुतो फाल्ने संक्रान्तिका रुपमा मान्दछन् र जेठो चाड पनि भन्दछन् । अन्य साधारण चाडमा जस्तै राँगा, भैंसी, सुँगुर काट्दछन् । यस समयमा खेत रोपाईको चर्को काम भएपनि एकदिन केही आराम गरेर संक्रान्ति मनाउँछन् । बेलुका साँझमा लुतो फाल्ने गर्दछन् । लुतो फाल्दा भलायोको पात, कुकुरडाइनो, कुरीलो, ढोकामाथि घुसारेर राख्छन्. । यसो गर्दा घरभित्र भूत, प्रेत, देसान, मसान पस्दैन भन्ने मान्यता राख्दछन् । नाङ्गलो उठाउदै अनिकाल जा, सहाल आइज भन्दै ठूलोठूलो स्वरले कराउँदै वारिकाले पारिकालाई, पारिकाले वारिकालाई, वल्लो गाउँकाले पल्लौ गाउँकालाई, पल्लो गाउँकाले वल्लो गाउँकालाई मेरो लुतो लिन आइज भनेर अगुल्टो फ्याँक्छन् । यसो गर्दा वर्षभरि लुतो आउँदैन भन्ने हो।

यस चाडलाई दशैं जस्तै ठूलो चाडको रुपमा पनि लिन्छन् । माझी बुढापाकाहरु बाच्नेको दशैं मर्नेको साउने संक्रान्ति भन्दछन् । यो भनाईमा मूल कुरो के छ भने विशेष गरेर श्रावण भाद्रमा विभिन्न प्रकारका महामारी रोगबाट धेरै मानिस मर्ने गर्दछन् । श्रावण र भाद्रमा महामारी रोगबाट बाँचियो भने मात्र असोजमा दशैं मनाउन पाइने भएकोले मर्नेको लागि ठूलो चाड साउने संक्रान्तिलाई मानेका हुन । यो चाडमा बेलुका विशेष खानपिनको व्यवस्था गरिने भएकोले केटाकेटीहरु चाँडै सुत्न लागेभने आज राति देउताले जोख्छन्, जोख्दा धार्नी पुगेन भने मरिन्छ, धार्नी पुग्यो भने बाँचिन्छ | नखाईकन सुत्यो भने धार्नी पुग्दैन भनेर बच्चाहरुलाई समेत खानपिन गराएर मात्र सुत्न दिन्छन् । यस चाडमा ज्वाइँचेला, चेलीबेटीलाई बोलाउने, ख्वाउने चलन अझै छ । श्रावण महिनाभरि देवताहरु गुफा बस्दछन् वा पाताल जान्छन् भन्ने माझी जातिहरुको विश्वास भएकोले अन्य कुनै पनि देवीदेवताको पूजाआजा गर्दैनन् भने धामीहरु साधारण झारफुक मात्र गर्दछन् चिन्ता बस्ने काम गर्दैनन् ।

दशैं अशोज महिनामा पर्दछ । नेपालमा बसोवास गर्ने विभिन्न धर्मालम्विहरु मध्ये हिन्दूहरुको मुख्य चाड दशैं हो । अन्य जातले जस्तो औंसीमा जमरा राख्ने, नौ दिनसम्म पूजापाठ गर्ने, जमरामा बली चढाउने गर्दैनन् । अरुभन्दा आफूलाई विशेष सम्झिने कसैकसैले जमरा राख्न थालेका छन् । रामेछाप चिसापानीका १०२ वर्षिय मिझार पाइते माझीका भनाई अनुसार ७५ / ८० वर्ष पहिलेदेखि भटौली र खिम्तीमा सबभन्दा पहिले दशैको टिका लगाउन शुरु गरेका हुन । दशैंमा रातो टिका लगाउन चाहिँ २०२५ सालको दशैंदेखि हो । अझै पनि सबै माझी गाउँमा दशैंको टिका लगाउँदैनन् । हिन्दू संस्कारको सिको गरी अहिले माझीहरुले यसप्रकारले दशैं मनाउन थालेका छन्।

जमरा राख्ने औंसीपछि कसैले कमेरो, कसैले रातोमाटोले घर लिपपोत अथवा सिँगार्ने गर्दछन् । दशैंमा घर सिँगारपटार गरेको छैन भने त्यो घरमा जुठो परेको रहेछ भन्ने जनाउँछ । घर सिँगार्नुलाई घर चोख्याउनु पनि भन्दछन् । अप्ठेरो र अग्लो ठाउँमा पुरुषहरुले र सजिलो ठाउँमा महिलाहरुले लीपपोत गर्दछन् । कमेरो लगाएकोमा तलबाट रातोमाटोले लिप्छन् । यसलाई कन्दनी लगाएको भन्दछन् । रातो माटो लगाएकोमा कसैकसैले कालो रँगको कन्दनी लगाउँछन् । घरको झ्यालढोकामा सालको बोक्रा पकाएर त्यसबाट निस्किने रँग लगाउँछन् भने खट्प्वाल, खोपामा विभिन्न रँगले अनेक प्रकारका बुट्टा पनि बनाउँछन् ।

फूलपातीको दिन दशैंमा सराद गर्नेहरुले पानी राख्ने वा पितृ भुलाउन भन्दछन् । यस विषयमा बढी चर्चा मृत्यु संस्कारमा उल्लेख गरिएको छ । सोऱ्ह सरादमा सराद गर्नेले फूलपातीको दिन विहान विभन्न प्रकारका देवीदेवतालाई भाकल, निम, कुखुरा, पाठी, हाँस बली चढाउँछन् । दिउँसो गाउँका सबैलाई कसलाई के कतिको मासु चाहिने हो त्यसको लागि पहिले नै जोहो गरी राखेको राँगा, भैसीं, सुँगुर काटेर भागबन्डा गर्दछन् । परिवारमा कोही परदेश गएको छ भने पनि त्यसको समेत भाग लगाएर जाँड, रक्सी, मासु, भात खान्छन् । अष्टमी र नवमीको दिन अहिले अन्य जातजातिको सिको गरेर आ-आफ्नो घरमा पनि खसी, सुँगुर, राँगा काट्ने गरेका छन् भने गाउँका सबैलाई आवश्यकता अनुसार राँगा, भैंसी, सुँगुर काट्छन् । युवायुवतीहरु नाचगानसहित लिँगो, चर्खे पिंग हालेर खेल्छन् । खानपिनबोहक कुनै पूजाआजा गर्दैनन् । दशमी अथवा टिकाको दिन राजाले टिका लगाउने साइत पारेर दही, अक्षताको टिका लगाउँछन् । टिका लगाउँदा बुढापाकाले श्री ५ को टिको, श्री ५ कौ प्रताप र कुलपितृको शक्तिले दुबो मौलाएको जस्तो मौलाउनु, वरपिपल तपे जस्तो तप्नु सन्तानले डाँडाकाँडा ढाकुन् नाम चलाएर खानु, दिइ खाने हुनु, सबैको आसा पुऱ्याइदिने हुनु, मिझारको ज्वाइँ वा बुहारी हुनु जस्ता आशिष दिन्थे ।

तिहार कार्तिक महिनामा मनाउँदछन् । माझी समुदायको तिहार पनि दशैंजस्तै पछि मात्र मनाउन थालेका हुन् । तिहारमा भैलो, देउसी खेल्ने चलन भने धेरै पुरानो हो । देउसी, भैली औंसीदेखि एकादशीसम्म खेल्दछन् । देउसी खेल्दा माझी गाउँमा भट्याएर देउसीरे भन्ने र ख्याली, विभिन्न भ्याउरे, चुट्का गीत गाएर नाचगान गर्दछन् भने अन्य जातजातिको गाउँघरमा ख्याली, विभिन्न झ्याउरे, चुट्का र सरादमा गाइने भाकाले गीत गाएर ढोल, मादल, झ्याली बजाएर नाचगान गर्दछन् । भाकाले गीत गाएर ढोल, मादल, भ्याली बजाएर नाचगान गर्दछन् । यसरी देउसी, भैलो खेलेर प्राप्त भएको पैसा अन्नले पहिलेपहिले वनभोज खाने गर्दथे भने अहिले सामाजिक काम गर्ने गर्दछन् । पहिलेपहिले जस्तो एकादशीसम्म देउसी, भैलो खेल्ने छोडेका छन् । भैलो खेलेर घर आउनेदिन पितृ बगाएको जस्तै गरेर खौला समेत बगाउँछन् ।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०७८ नतिजा", censusnepal.cbs.gov.np (npमा), अन्तिम पहुँच २०२३-१०-०९