सान्नी राज्य
सान्नी बाइसे राज्यकालको समयमा एक राज्य थियो भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ । तर सान्नी राज्यमा कुन समयमा कसले कति राज्य गरे भन्ने एकिन हुन सकेको छैन । राष्कोटमा राष्कोटी ठकुरीहरू को जन्मथलो हो भन्ने कुरा राष्कोटी राजाको वंशावलीमा उल्लेख छ । त्यस्तै सान्नी राज्यमा सन्यालहरूको जन्म थलो हुनका साथै सन्यालहरूले यस राज्यमा केही समय राज्य गरेका थिए । हालको कालीकोट जिल्लाको मेहलमुडी गाविसमा सान्नी राज्यको राजधानी रहेको थियो ।
इतिहास
[सम्पादन गर्नुहोस्]सान्नी राज्यमा खासगरी एकलौटी राज्य कसैको देखिदैन । जसले सक्यो त्यही राजा भइरहेको थियो भन्ने बुझिन्छ । १४४६ साल भन्दा अगाडि भोटेली बिष्पतीहरूको भुरे टाकुरे एकलौटी अत्याचारी भएको र त्यसपछी सान्नी वरपरका राज्य भन्दा सान्नी राज्य उपयुक्त देखेर राष्कोटी राजा र स्ववंशी राजाले सान्नीमा पटक पटक आँखा गाढेको देखिन्छ । [१] बिस्पती राजाहरूमा हमला गर्दै रहेको र वि.सं. १४४६ सालमा मल्लहरूले आफ्नो भाइ छोराहरूलाई राज्य खडा गर्दा सान्नी राज्य पनि आफ्नो नियन्त्रणमा लिएको बुझिन्छ किनभने बाइसे राज्यको खस प्रदेशमा भोटेली राजाहरूले राज्य गरेको खसहरूलाई मन पर्दैनथ्यो । त्यसैले भोटेली राजा बिष्पतीलाई निष्तेज पार्न बारम्बार खस राज्यका ठकुरीहरू भोटेली राजाहरूमाथी हमला गरिरहन्थे । त्रिशूली देखी राप्तीसम्म चौविसे राज्य र राप्ती देखी ! महाकालीसम्म बाइसे राज्य पर्दथे । बाइसे राज्य अन्तरगत जुम्ला साम्राज्यको मातहतमा रहेका राज्यहरू मध्य डोटी, दैलेख, बझाड़, दुल्लु दर्ना, बिमकोट, सल्यान, माल्लेटा, धिल्ने, जाजरकोट, जहारी, लावाङ, धुलिकोट, मलारा, दानिगौंडा,दाङ, मुसिकोट, रुकुम, वाँफी, आठबीस, बासाकोट र सान्नी यि राज्यहरू बाईसे राज्यमा पर्दथे । यिनी राज्यमा खासगरी मल्ल, कल्याल, राष्कोटी, स्ववंशी र चन्दहरूले राज्य गर्दथे भने सान्नी राज्यमा राष्कोटीको राज्य थियो भन्ने कुरा कर्णालीको सेरोफेरो र नेपालको तथ्थे इतिहासमा राजाराम सुवेधीले उल्लेख गरेका छन् र मल्लहरूको राज्य थियो भन्ने कुरा काव्डी धाराको शिलेलेख, नानिकोट गाविस गोठी गाउँमा रहेका तीनखम्मका शिलालेखलाई योगी नरहरीनाथले प्रमाणित गरेका छन् ।[१]
वि.सं.१४४६ सालमा सान्नी राज्य स्थापना हुँदा गण्डकी देखी कालीसम्म खस प्रदेश पर्दथ्यो त्रिशूली देखि राप्तीसम्म चौविसे राज्य तथा राप्ती देखि महाकालीसम्म बाइसे राज्य पर्दथे । तिनै बाइसे राज्य भित्र सान्नी राज्य पनि एक थियो । यी बाइसे राज्यहरू सिंजा साम्राज्यको अधिनमा थिए । कर्णाली राज्यका खस राज्यहरूको इतिहास गर्भमा नै छ । बाइसे राज्य भित्र खस राज्यमा विशेष गरी राजा हुने क्रममा मल्ल, कल्याल, राष्कोटी, स्ववंशी, बारकोटे र चन्द पर्दछन् । [१] यसरी सान्नी राज्यमा अत्याचार गर्ने विष्पतिहरूको अन्त्य गर्दै मल्लहरूले आफ्नो राज्य स्थापना गरे । सान्नीमा मल्लहरूको राज्य करिब एक शताब्दी चलेको देखिन्छ । तर मल्लहरूले पनि सान्नी राज्यलाई सही ढङ्गले चलाउन सकेनन् । राज्यमा विकृती र विसंगतीले तिब्र रुप लियो र त्यसलाई नियन्त्रण गर्न नसक्दा मल्लहरूको राज्य व्यवस्था कमजोर हुन पुग्यो । राज्य कमजोर भएपछि अन्य राजखलकहरूले सान्नी राज्यमाथि आँखा गाड्न थाले । यही सेरोफेरोमा सिंजाका राजा मोती मल्ल बझाङमा गइ मारिए । उनी मारए पछि सिंजाको गद्दी खाली हुन गयो । त्यही बखतमा मोती मल्लका आफ्नै भिनाजु कल्याल वंशका बलिराजलाई सिंजाको राजगद्दी प्रदान गरियो । बलिराज सिंजा साम्राज्यका अधिपति भए । यसरी मोतिमल्लका फुपाजू राष्कोटी वंशका राजा मलै वम्मले मान्म खाँडाचक्रमा राजधानी बनाए । यसरी मल्लहरूको खानदान समाप्त भए पछि सान्नी राज्यमा केही वर्ष सञ्ज्यालहरूले राज्य चलाएको अनुमान छ । [१] सान्नी राज्यमा सन्याल राजा भएर केही वर्ष मात्र सासन चलाए पनि आफ्नो राज्यमा ओलग अस्मानी उठाउने, धाडो चलाउने, अत्याचार गर्ने जस्ता कार्यहरू नियन्त्रण गर्ने प्रयास गरेको देखिन्छ । मल्लहरूबाट राज्य खोसिएर प्रजा भएका विष्पतीहरू पनि सान्नी राज्यमा अझै अत्याचार गरिरहेका थिए । संज्याल राजा र ती विष्पतिहरूवीच ठुलो संघर्ष भएको देखिन्छ । संज्यालहलाई विस्थापित गरेर आफू पुनः राजा हुने दाउमा विष्पतिहरू लागे । यही कारणले बिष्पती संज्यालहरूवीच भयानक सामाजिक संघर्ष भएको थियो । आफुलाई राजा हुन नदिने बिष्पतिहरूलाई निष्तेज पार्न र सान्नीमा स्थायी राज्य खडा गर्न त्यसबेलाका संज्यालहरू तत्कालिन मान्म खाँडाचक्र गई राजा मलै वम्मका नाति सुमेरू वम्मका छोरा शक्तिसाली पैकला शाइमल शाहीलाई ल्याएर सान्नीका राजा बनाए । [१]
बिष्पतिको वंश विनाश र शाईमल शाही सान्नी प्रवेस
[सम्पादन गर्नुहोस्]सान्नी राज्यमा बिष्पतीहरूको बिगविगी शासनका विरुद्ध संज्यालका पूर्खाले आफ्नो सहयोगी लिन आवस्यक देखियो । सान्नीमा शान्ती सुरक्षाका लागि मान्मा खाँडाचक्रमा राष्कोटी राजा मलै वम्मका नातिहरू, सुमेरू वम्मका छोरा १२ वटा थिए । उनकै दरबारमा सान्नीबाट सञ्ज्याल थरका देवी पाध्या नामका व्याक्ति गइ खाना नखाई धर्ना कसे । यो देखेर सुमेरू वम्मले भने "गुरू तपाईँले यसरी धर्ना किन कस्नु भयो "। यो सुनेर देवी पाध्याले आफ्नो सान्नी राज्यमा बिष्पतीको अत्याचारले सिमा नाघेकोले तिनीहरूको अन्याय र अत्याचारका विरूद्ध शान्ती सुरक्षा गर्नका लागि सुमेरु वम्मका १२ छोरा मध्य एक छोरो आफ्नो राज्यको राजा बनाइदिन आग्रह गरे । [१] देवी पाध्याको आग्रह सुनेर सुमेरू वम्मले देवी पाध्यालाई एक छोरा दिने वाचा गरेर उनलाई खाना खान लगाए । राजाको बचन सुनेर देवी पाध्याले खाना खाएर धर्ना छोडे । खाना खाए पछि देवी पाध्यालाई सुमेरू वम्मले कुन छोरा लिन्छौ भनेर सोधे । देवी पाध्याले सबै राजकुमारहरूको लक्षण विचार गर्दा सुमेरू वम्मलाई छैटौँ छोरा साइमल शाहीलाई रोजी म यही छोरा लिन्छु भनेर आग्रह गरे । देवी पाध्याको कुरा सुनेर सुमेरू वम्मले हुन्छ भनी साइमल शाहीलाई सिन्दूर लगाई देवी पाध्याखसँग सान्नी राज्यको सहयोगी बनाएर पठाए । साइमल शाही र देवी पाध्या रेंगिलमा पुगे तर त्यहाँ कर्णाली तर्न कुनै उपाय थिएन । आजकल जस्तो पुल पुलेसाहरू थिएनन् आरपार गर्न अप्ठ्यारो थियो । कर्णाली पारी जाने कुनै उपाय नहुँदा साथमा धागो ल्याएको रहेछ । देवी पाध्याले "मैले सत्कर्म गरेको रहेंछू वा सत्य रहेछ भने यो ठकुरी मेरो राजा हुने रहेछ भने यो सुताको घाट लागोस् " भनी त्यसै धागोमा भाकल गरेर धागो र अछेता कर्णाली पारी फाली सत् पुकारे पछि त्यसमा जेउडाको घाट लागेछ ।[१] त्यसै घाटबाट देवी पाध्या र साइमल शाही सान्नी पुग्न नसकी बेलुका रकु बसेछन् । त्यसै रातैभित्र राजा साइमल शाही भागेर टाढा गएछन् । भोली बिहान पख खोज्दा साइमल शाही रेंगिलको पहाडमा सुतेका भेटिए । देवी पाध्याले साइमल शाहीलाई राजा सान्नी जाउँ भनेर आग्रह गरे तर साइमल शाहीले मानेनन् । फेरी देवी पाध्या रकु आएर एक जना बुढा जातिका मान्छेलाई साथमा लिए साइमल शाही भएको ठाउँ गए । बुढाले साइमल शाहीलाई बिहुंझाएर "हेर राजा तिमी यिनी बाहुनलाई सहयोग गर बरु म तिमीलाई चाहिएको सहयोग गर्ने छु" भनेर बचन दिए । यो सुनेर साइमल शाहीले हुन्छ भनी देवी पाध्यासँग सान्नी प्रवेश गरे । त्यो समय वि.सं.१५२o तिरको हुनसक्ने अनुमान गरिएको छ ।[१] साइमल शाही सान्नी बसी त्यहाँका अत्याचारी विष्पतीसँग लडाईं लडी त्यहाँको संन्याल राजालाई सहयोग पुर्याए । साइमल शाहीले सान्नीका साथै अन्य ठाउँका मान्छेलाई सहयोग गरेको भन्ने किंवदंती रहेको छ । सन्याल र राष्कोटी ठकुरीको संयुक्त राज्य गरेको ठहर गरिएको छ । साइमल शाही एक शक्तिशाली राजा हुँदा साइमल शाहीले सान्नीमा भएको विष्पतीबाट अन्याय र अत्याचारलाई सखाप पारेर त्यहाँका जनतालाई सहयोग दिए । सान्नी राज्य वरपरका कमजोर कल्याल राजा र स्ववंशी राजाले पनि साइमल शाहीबाट सहयोग पाएको कुरा प्रष्ट भएको छ । किनकी कल्याल राजा विक्रम शाही र साइमल शाही मामा चेला फुपुचेला रहेछन् । विक्रम शाहीकी विख्यात सौंदर्य सुनकेशा रानीलाई टिपेर धौल्यात्री राज्यका राजा झम्पन्नले लगेका रहेछन् । कल्याल राजा विक्रम शाहीले तीन चोटी लडाईं गरे तर सुनकेशा रानीलाई ल्याउन सकेनन् । त्यसपछि सान्नीमा आएर साइमल शाहीसँग नौ दिनसम्म धर्ना कसी साइमल शाहीसँग गुहार मागे । त्यसपछि कल्याल राजा र साइमल शाहीले झम्पन्नसँग चौथो लडाईं लडेर झम्पन्नलाई हराएर सुनकेशा रानीलाई झम्पन्नको पञ्जाबाट छोडाएर ल्याएका थिए । यो कुरा शाके संवत १५४२ को हो [१] त्यो लडाईंको विजय पछि त्यही ठाउँमा बसी साइमल शाहीले लेख्न लगाएको ठाकुराचारको रेषमा त्यो युद्धमा सामेल भएका योद्धाहरूलाई साक्षी राखिएको देखिन्छ । यसरी साक्षी रहनेमा दाशु जैसी, राघव जैसी, विष्णुहरी जैसी धिताल, मानिकु जैसी, आनन्द जैसी, सागर जैसी सन्याल छन् । यी ब्राह्मणहरू मध्य सागर जैसी सन्याल बाहेक अरुले संकल्प हाल्नु र सागर जैसी सन्याल लोखाडीले सेक्नु भनि उल्लेख गरिएको उक्त रेषलाई योगी नरहरीनाथले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । त्यो घटनालाई आधार बनाएर त्यस समयमा रचना गरिएको एक देउडा गित यस प्रकार रहेको छ ।
- झम्पन्नको रातो बख्खु छुरीले छेक्याको ।
- साइमल शाहीका हात पर्नु कर्ममा लेख्याको ।
- झम्पन्नको रातो बखु चौघान चौड मिल्क ।
- झम्पन्नको चढ्न्या घोडो चौघान चौड खिल्क ।
यसरी शक्तिशाली राजा साइमल शाहीलाई ल्याउने र आफ्नो ठाउँमा राजा बनाउने संन्यालका सन्तान भएकाले संन्याललाई पनि बडा राजा भन्ने गरेको पाइन्छ ।[१] सान्नी राज्य वि.सं. १४४६ मा स्थापना भएको र विक्रम संवत १८४८ मा विलय भएको थियो । १४४६ मा स्थापना भएको सान्नी राज्यलाई पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा विक्रम संवत १८४८ मा बहादुर शाहको नेतृत्वमा आए को गोर्खाली फौंजले बाइसे राज्यहरूलाई नेपालमा एकिकरण गर्ने शिलशिलामा विलय गराएको थियो । यसबाट प्रष्ट हुन्छ कि सान्नी राज्य करिब ४०२ वर्ष चलेको देखिन्छ । तर यह अवधिमा कुन वंशले कति साशन गरेर भन्ने एकिन गर्न सकिएको छैन ।[१] तर शाके १५४२ साल साइमल शाहीका पालादेखि विक्रम संवत १८४८ मा राष्कोटी राजा भोपाल शाहीका पालासम्म राष्कोटीहरूको राज्य चलेको आधिकारिक प्रमाण भेटिएको छ । सान्नीमा सञ्ज्यालहरूको ताम्रपत्र छ भन्ने सुनिए पनि ताम्रपत्र नभेटिएकोले सन्यालले कहिले देखि कहिलेसम्म राज्य गरे भन्ने खुल्न सकेन । तर सान्नीमा सन्यालको राज्य थियो भन्नेमा दुई मत छैन । यस ऐतिहासिक तथ्यलाई विष्णु प्रसाद आचार्य द्वारा लिखित भेरी कर्णालीको सेरोफेरो पुस्तकको यो देउडा पंक्तिले पनि पुष्टि गर्दछ ।[१]
- वर्षा बस्यो खाँडाचक्र हिउँद बस्यो दुल्लु ।
- दुई मौजा डोटीमा मिल्यो रहप भयो भुल्लु ।।
- बडा राजा सन्यालको राज्य गोलमोल भयो ।
- सुरविर हुँदा उत्तिम शाहीको दुल्लु राज्य रह्यो ।।
अहिले पनि सान्नीमा पैठ जात्रा आदिमा गाइने यस देउडा गितले सन्याल राजा र सोडारी मंत्री भएको पुष्टि गर्दछ ।
- कोर पैरला शिर मुकुट कोर पैरला हार ।
- सन्याल पैरला शिर मुकुट सोडारी पैरला हार ।।
सान्नी राज्य दरामा परिणत
[सम्पादन गर्नुहोस्]विक्रम संवत १४४६ देखि सुरु भएको सान्नी राज्य संवत १८४८ मा राजा रणबहादुर शाहको पालामा अमरसिंह थापाको नेतृत्वमा आएको गोर्खाली फौंजले दैलेख र सुर्खेत कब्जा गर्दा सान्नी राज्य लडाई नलडी आत्म समर्पण गरेर विशाल नेपालमा गाभियो । यसरी करिब ४०० वर्ष भन्दा बढी समयदेखि एक अटुट र अखण्ड राज्यको रूपमा रहँदै आएको सान्नी राज्य नेपालमा विलय भयो सान्नी राज्य राज्यबाट दरामा परिणत भयो । साथै यस राज्यको क्षेत्र भित्र पर्ने विभिन्न गाउँहरू पनि दरामा परिणत भए । लालु देखि मुँब्रा सम्मको भू-भाग सान्नी दरामा परिणत भयो । त्यो क्षेत्रमा त्यो बेला राखिएका दराहरूका नाम यस प्रकार रहेका छन् । [१]
- १ अशी दरा
- २ चौबीस दरा
- ३ तिब्रीकोट दरा
- ४ गम दरा
- ५ मुगु दरा
- ६ स्वरुप दरा
- ७ करान दरा
- ८ गल्फा दरा
- ९ सिंजा दरा
- १० पलाँता दरा
- ११ खत्याड दरा
- १२ कुण्डा दरा
- १३ पानसय दरा
- १४ रकाल दरा
- १५ वारविस दरा
- १६ कालीकोट दरा
- १७ राष्कोट दरा
- १८ सान्नी दरा
सान्नी दराको सिमाना लालु देखि तुषार खोलासम्म रहेको थियो । सान्नी दरामा मालकोट, रुप्सा, कोटबाडा, अदेल्या, भर्ता, सोतर गाउँ, उच्छव, कुमालगाउँ, लोखाडा, लुसा, सेरिजिउला, रकु, ठिके, लयाँटा, उज्यालगाउँ, डाँडाखेत, धामीगाउँ, मेहलमुडी, तिकुआ, रिस्कोट, मुंब्रा, क्युरी, गाउँहरू पर्दथे । सान्नी राज्य समाप्त भएपछि यी गाउँहरूको नेतृत्व गाउँका मुखियाहरूको हातमा आयो । [१]
सान्नी दराबाट मेहलमुडी गाविस
[सम्पादन गर्नुहोस्]सान्नी दराबाट २०१७ साल भन्दा पछि नेपाल देश ७५ जिल्लामा विभाजन भयो । ७५ जिल्ला मध्य सान्नी मेहलमुडी जुम्ला जिल्ला अंतर्गत पर्यो र सान्नी राज्य मेहलमुडी गाउँ पञ्चायतमा परिणत भयो । सान्नी राज्यको राजधानी रहेको तिखाशुली दरबार मेहलमुडी गाउँ पञ्चायतको वडा नंबर १ मा परिणत भयो । त्यस पछि विक्रम संवत २०३२ सालमा देशकै सबै भन्दा कान्छो जिल्लाको रूपमा कालिकोट जिल्लाको जन्म भए पछि सान्नी (मेहलमुडी गाउँ पञ्चायत) कालिकोट जिल्ला अन्तरगत पर्यो र विक्रम संवत २०४६ सालको राजनीतिक परिवर्तन पछि सान्नी मेहलमुडी गाविसमा परिणत भयो । [१]
धरोहर, परम्परा, कलाकृति र सौंदर्य
[सम्पादन गर्नुहोस्]यो ठाउँमा बसोवास गर्ने मुख्य जातिहरू ब्राह्मणमा संन्याल र भट्टराई, ठकुरीमा शाही, राष्कोटी र वम्म, क्षत्रियमा धामी, साँउद, ऐडी, वोहरा र बुढा, शुद्रहरूमा लोहार, सुनार, सार्की र दमाई, सन्यासीमा नाथ र पुरी रहेका छन् । यो गाविसमा मेहलमुडी, उजेलगाउँ, धामीगाउँ, तिकुवा, लोहारवाडा, बुढीसान्नी, रिस्कोट र डाँडाखेत गाउँहरू पर्दछन् । यहाँका ऐतिहासिक तथा प्राकृतिक धरोहरमा पञ्चदेवल, तिखाशुली दरबार, सातखम्बा र घुगाने छहरा पर्दछन् । यस ठाउँमा दाडे मष्टो, रमाल मष्टो, कालाशिल्लो र दुधे मष्टो देवताहरूको पूजा गरिन्छ । यहाँ काफल, ऐँसेलु, चन्दन, बाँझ, गुराँस, धुपीसल्लो, बाबियो आदि वनस्पतिहरू पाइन्छन् । त्यस्तै सान्नीमा हातजरी, बायाजरी, सतुवा, बिष, हाड्या आदि जडिबुटीहरू प्रशस्त मात्रामा पाइन्छन् । यहाँ मुख्य रूपमा बाघ, भालु, चितुवा, कस्तुरी, घोरल, रतुवा, बनेल आदि जंगली जनावरहरू पाइन्छन् । उपायडांडा, कैलाशधुरा, हल्लु चुली र त्रिवेणी भेली यहाँका मुख्य प्राकृतिक सौन्दर्य स्थानहरू हुन् । धान, मकै, जौ, गहुँ, तिल र तोरी यहाँका मुख्य कृषि उपज बाली हुन् । देउडा, छैट, पैठ, रत्यौली, हुड्के नाच यहाँका मुख्य संस्कृति हुन् । दशैं, तिहार, नयाँवर्ष, माघे संक्रान्ति, वैसाख पूर्णिमा, साउन पूर्णिमा, जन्माष्टमी, श्रीपञ्चमी, जनै पूर्णिमा, तागा र शिवरात्री यहाँका मुख्य चाडपर्वहरू हुन् । सान्नीगाड खोला यहाँको मुख्य जल सम्पदा हो ।
तिखाशुली
[सम्पादन गर्नुहोस्]तिखाशुली धामीगाउँ देखि तल मेहलमुडी देखि माथि ऐतिहासिक तिखाशुली दरबार रहेको ठाउँमा अग्लो चुचुरो जस्तो देखिने ढुङ्गाको नाम हो । यस ढुंगाले अत्यंत चमत्कारी इतिहास बोकेको छ । यस ढुंगाको उचाईं अन्दाजी ७० फिट अग्लो छ । यसको मुख उत्तर पश्चिम तिर फर्केको छ । त्यस ढुंगाको मुख भारतको कुमाउँ तिर फर्केको छ । प्राचीन कालमा यो ढुंगाले कुमाऊँको कुनै गाउँमा पिर्ने गरेको रहेछ । कुमाउको त्यो गाउँमा नौजवानको मृत्यु हुने र परिवारहरू नबढ्ने हुँदा त्यो गाउँका मान्छेले ज्योतिषलाई यसको कारण सोधे । ज्योतिषले सान्नीमा भएको तिखाशुली ढुंगाले गर्दा यो गाउँमा पिरेको छ, त्यो ढुंगाको मुख यो गाउँ तिर फर्केको छ, यदि त्यो ढुंगाको मुख फुटाएमा ठिक हुन्छ भन्दा त्यो गाउँका मान्छेले सान्नी आइ तिखाशुली ढुंगाको मुख फुटाएर गए । त्यस बेला उनिहरूले भाँचेर खसालेको तिखाशुली ढुंगाको टुप्पो अहिले पनि त्यो ढुंगाको तल खसेको छंदैछ । [१]
पञ्च देवल
[सम्पादन गर्नुहोस्]सान्नीको मेहलमुडी गाउँ पैंयाखलामा रहेका पाँच वटा देवलहरू (पञ्चदेवल) पनि यह गाउँका ऐतिहासिक धरोहरका रूपमा रहेका छन् । यि पञ्च देवलहरू कसले किन र कुन समयमा के प्रयोजनको लागि बनाएको हो भन्ने एकिन गर्न कसैले पनि सकेको छैन । तर यो अभुतपूर्व कलाकृतिको राज समयको गर्भमा नै रहेको छ । तिनी पञ्च देवलहरू एक आपसमा बराबर छन् तर तिनीहरू अलिकती ढल्केको जस्तो देखिन्छन् । तर देवलहरू किन ढल्किएका हुन् भनेर भन्न नसकिए पनि गाउँलेहरू १९९० को भूकम्पले ढल्केका हुन् भन्ने गर्छन् । [१]
सान्नी शब्दको व्यूत्पत्ति
[सम्पादन गर्नुहोस्]नेपाली भाषाको उत्पत्ति सिंजाबाट भएको हो भन्नेमा कुनै दुई मत छैन । वैद्धिक कालमा मान्छेले संस्कृत भाषा बोल्दथे । संस्कृत भाषाको धातुबाट विकास भएर आज भोली बोलिने नेपाली भाषाको जन्म भएको हो । वृहद ज्ञानकोषका लेखक खगेन्द्र सुवेदी र संगिता सुवेदीका भनाई अनुसार नेपाली भाषा भारोपेली परिवारमा पर्दछ । यहाँ बोलिने जुम्ली भाषा, अछामी भाषा, राष्कोटी भाषा, दैलेखी भाषा, बझाङ्गी भाषा, डोटेली भाषा भारोपेली परिवारमा पर्दछन् । नेपाली भाषा संस्कृत भाषाको सन्तान हो । यो सम्वन्धमा विक्रम संवत १०३८ साल दामुपालको शिलालेख र १११४ सालको संग्राम मल्लको शिलालेखमा लेखिएको छ । यो भाषाको आधुनिक रूपमा विक्रम संवत १९५८ सालबाट विकास भएको हो । ११ औँ शताब्दिबाट यो भाषा बोलिन थालेको हो । यो कुरा वृहद ज्ञानकोषमा उल्लेख छ ।[१] नेपाली शब्द भण्डार कोषमा सान्नी शब्द छ कि छैन भनेर अध्ययन गर्दा सान्नी शब्द नभेटिए पनि सान्नी भन्ने शब्दसँग मेल खाने केही शब्दहरू भेटिएका छन् ।
- सान्नी - पुरुष वा स्त्री जातिको मर्मस्थान वा शरिरको जोर्नी परेको ठाउँ ।
- सान्नी धाम - निकटता वा समिपता स्थापित गर्ने ठाउँ ।
- सन्नी विष्ट - प्रविष्ट स्थापित साथ राखिएको ।
- सन्नेस्त - अन्त्य स्थान ।
- सन्यास - वैराग्य वा घर छोडेर जाने ।
- सन्न्यासी - प्राचीन आर्यका सामाजिक व्यवस्था अनुसार जिवनकालका चार भाग मध्य अन्तिम वा चौथो भाग ।
यिनी शब्द मध्य सन्नी, सन्यास वा सन्न्यासी, शब्दबाट सान्नी शब्दको उत्पत्ति भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । [१] आज भोली सान्नी भनिने ठाउँलाई उहिलेका मान्छेले कालोपातल भन्ने गर्दथे । त्यो समयमा यो ठाउँमा कालो पातल सांच्चिकै हुनु पर्दछ । काला पातलमा केवल बिष्पतिसरूले सन्नी राज्य भन्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । सान्नी नाम भन्नाको कारण द्वापर युगमा शिवजीकी पत्नी सतिदेवीको मृत्यु हुँदा शिवजीले सतिदेवीको मृत शरीरलाई काँधमा बोकेर चौधै भवन घुम्दा सतिदेवीको मर्मस्थान पतन भएको हुनसक्ने हुनाले त्यो ठाउँलाई पवित्र मानी वैद्धिक कालमा ऋषि मुनिहरूले तपस्या गरेको हुनाले र वैराग्य भई घर छाडेका संन्यासीहरूले तपस्या गरेको हुनसक्ने वा वैद्धिक कालमा मानिसहरूको जिवनकालको चार भाग मध्य अन्तिम अवस्था चौथो भागमा बुढो भएपछि घर छाडेर संन्यासीको रुप लिएर त्यो ठाउँलाई आफ्नो तपस्या गर्ने ठाउँ बनाएको हुनसक्ने अनुमान गरिएको छ । त्यस पछि सन्नी अथवा सन्न्यासीबाट अपभ्रंश भई सान्नी नाम रहन गएको हुनसक्ने अनुमान गरिएको छ । [१]