लाखे नाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ललितपुरको खोकनामा द्योपुखु जात्राको अवसरमा निकालिएको लाखे नृत्य

लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठ्माडौँमा देखाइन्छ । मुख्यतया, नवदुर्गा नाच भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइन्छ ।

कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच  नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ ।

उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ । लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ ।

नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच जिल्लाबाट लोप हुने अवस्थामा पनि लाखे नाच जिल्लाभर प्रचलित नै छ । नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका दर्जनौं स्थानमा भने यस नाचले थोर बहु आफ्नो स्थान ओगटेकै छ ।

नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहे पनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परासमेत पनि हराउदै गरेको महुस गरिएको छ । मुख्यगरी कृष्णजन्माष्टमीका दिनदेखि ऋषि पञ्चमीसम्म बढी नचाइने लाखे नाच हेर्न अन्य समुदायका सर्वसाधारणको देखि बिदेशी पर्यटकको पनि उतिक घुइँचो लाग्ने गर्दछ ।

लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने पुरानो कथन छ । टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्चर बनाएको केटाकेटीहरुले जिस्क्याउँदै अनि लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक तथा अनौठा लाग्न सक्छ ।

लाखे नाचका क्रममा स्थानीय लोकभाका, वेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]