हेलम्बू
हेलम्बू | |
---|---|
![]() चिप्लिङ् नजीकैको स्थान, २१५० मि | |
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हेलम्बू नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो सिन्धुपाल्चोक जिल्लको रमणिय पर्यटकीय स्थल पनि हो|
सुन्दरीजलबाट थारेपाटी पुगेपछि गोसाइँकुण्ड र हेलम्बू जाने बाटो छुटिन्छ । देब्रे लागे गोसाइँकुण्ड र दाहिने लागे हेलम्बू। सुन्दरीजलदेखिको तीन दिनको हिँडाइले थकाइ लागेको हुनाले यो रात थारेपाटीमै बास बस्नुपर्दछ। भोलिपल्ट दाहिनेतिरको 'रालो बाटो लागेपछि हेलम्बू भेकको यात्रा शुरु हुन्छ। यहाँबाट पूर्व सिन्धुसम्मको दृश्य देख्न सकिन्छ।
यो भेक घुम्नाले पूरा हेलम्बू क्षेत्रको रमणीय दृश्यावलोकन गर्न र धार्मिक-सांस्कृतिक विषयको जानकारी पाउन सकिन्छ। शेर्पाको आतिथ्य सत्कार, सरसफाइ, चीज, गुम्बा र गुजुमुज्ज घरहरूमा फहराइरहेका झ्ण्डा अध्ययनका नयाँनयाँ विषय हुन्। हेलम्बूका स्याउ चर्चित मात्र हैनन्, सुन्दरीका गालाको तारीफमा सबैभन्दा बढी प्रयोग हुने बिम्व पनि बनिसकेका छन्।
हेलम्बु गाविस जिल्लाकै एक सुप्रसिद्ध गाविस हो। जिल्ला सदरमुकामबाट १४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १८५.५० वर्ग किलोमिटर छ। हेलम्बुको पूर्वी सिमानामा बरुवा गाविस पश्चिममा काठमाडौ जिल्ला. नुवाकोट जिल्ला. रसुवा जिल्ला उत्तरमा तिब्बत र दक्षिणमा इचोक तथा किउल गाविसहरू पर्दछन्। हेलम्बु गाविस पाल्चोक थुम अन्तर्गत पर्दछ। हेलम्बु गाविसले आफ्नै पहिचान बोकेको छ। चिसो हावापानी पाइने हेलम्बु जिल्लाकै एक आकर्षक गाविस हो। प्राकृतिक रूपमा निकै सुन्दरताका साथै साँस्कृति रूपमा पनि हेलम्बुको आफ्नै विशेषता छ। हिमाली शेर्पा संस्कृतिमा धनी चिसो हावापानी मनोरम हिमश्रृङ्खला आदिले जो कोही पर्यटकलाई हेलम्बुले लोम्भ्याउदछ। सिन्धुपाल्चोक जिल्लामा नै बढी स्याउ उत्पादन हुने गाविस हेलम्बु हो। उर्जा उत्पादनमा हेलम्बुमा हेलम्बु साना जलविद्युत परियोजनाको निर्माण गरिएको छ। जिल्ला निर्वाचन क्षेत्र नम्बर तीन अन्तगर्त पर्ने हेलम्बुको वि.सं. २०५८ सालमा साक्षरता दर ३९ घरपरिवार संख्या ५८९ र कुल जनसङ्ख्या २६७९ थियो।[१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ "हेलम्बु- मेरोसिन्धु डट कम", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |