बन्दिपुर गाउँपालिका
बन्दिपुर गाउँपालिका | |
---|---|
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | तनहुँ जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | सुरेन्द्रबहादुर थापा (नेकपा (एमाले)) |
• उपाध्यक्ष | पञ्चमाया गुरुङ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १०२ किमी२ (३९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १८,५३२ |
• घनत्व | १८०/किमी२ (४७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६५ |
केन्द्र | साविकको बन्दीपुर नगरपालिकाको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
बन्दिपुर गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो। आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिँदा बन्दिपुरलाई नगरपालिका घोषणा गरिएको थियो।[३] यसलाई नगरपालिका घोषणा गर्दा धरमपानी र बन्दिपुर गाउँ विकास समिति समावेश गरिएको थियो।[४] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको बन्दिपुर नगरपालिकामा घाँसीकुवाका (१,९) वडाहरू, र केशवटारका (१,९) वडाहरूलाई समेटेर बन्दिपुर गाउँपालिका घोषणा गरिएको थियो।[५][६] बन्दिपुर गाउँपालिकाको केन्द्र साविक बन्दिपुर नगरपालिकाको कार्यालय रहेको छ।[७] बन्दिपुर गाउँपालिकामा ६ वडाहरू रहेका छन । बन्दिपुरको कुल क्षेत्रफल १०२ वर्ग कि.मी. छ ।[८] बन्दिपुर नेवारी कला र संस्कृतिको लागि पनि प्रसिद्ध छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बन्दिपुर गाउँपालिकाको कुल जनसङ्ख्या १८,५३२ रहेको छ भने यहाँ ५,२०८ घरधुरी रहेका छन्।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]बन्दिपुर तनहुँको पुरानो सदरमुकाम सहर हो । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारीक नाकाको रूपमा रहेको थियो । तनहुँ, कास्की, लमजुङ र गोरखाको लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलको रूपमा यो नाकाको विकास भएको हो । तनहुँ जिल्लाको सदरमुकामको रूपमा रहेको यस ठाउँबाट विसं २०२५ सालमा उक्त सदरमुकामलाई दमौली सारिएको थियो ।
भुगोल तथा संस्कृति
[सम्पादन गर्नुहोस्]नेवार संस्कृतिमा लिपिएको बन्दिपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दिपुरका विशेषता हुन् । बन्दिपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दिपुरको विशेषता हो । बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको हिउँमात्र देखिँदैन, ३०० कि.मी. फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाड पनि देखिन्छन् ।
बन्दिपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ । पश्चिमतिर चाहिँ लाङटाङ, गणेश, गोरखा (मनास्लु, हिमचुली तथा बौद्धसहित), अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमाल फेददेखि टुप्पोसम्मै देखिन्छन् । तलतिर मर्स्याङ्दी नदीले बनाएका उपत्यका हेर्दा लाग्छ, बन्दिपुर उपत्यका माथि झुण्डिइरहेको छ ! बन्दिपुरले प्राकृतिक भ्यु टावरको उपमा यसै पाएको होइन ।
बन्दिपुरबाट दुई घण्टा हिँडेर पातालीद्वार वा स्वर्गद्वारी गुफा पुग्न सकिन्छ । यहाँको सिद्ध गुफा नेपालकै सबैभन्दा ठूलो गुफा मानिन्छ । बन्दिपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् । बन्दिपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ । ११५० मिटर उचाइमा रहेको भञ्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडरहरू तल फाल हाल्ने गर्छन् । पोखराका कम्पनीहरूले यहाँको प्याराग्लाइडिङको व्यवस्थापन गरेका छन् । सेती नदीमा राफ्टिंग गर्न दमौली आउनेहरूले पनि बन्दिपुरमा एक दिन बास बस्ने गरेका छन् । मुग्लिनबाट आधा घण्टा जतिमा गाडीमा पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ । त्यहाँबाट दुई किमि पश्चिममा पिप्ले, जहाँबाट आधा घण्टा मोटर यात्राबाट पुरानो पहाडी सहर बन्दिपुर पुग्न सकिन्छ ।
पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दिपुर अत्यन्त उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दिपुरे सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । मध्यजेठदेखि मध्यअसारसम्म आउने आगन्तुकको बजारमा मानिसले मात्र होइन, बाटैभरि चौबीस जातिका सुनगाभाले पनि स्वागत गर्छन् । बन्दिपुरमा घुम्नको लागि बसोबासको समस्या छैन । टुँडिखेलमा सुविधासम्पन्न रिसोर्ट मात्र छैन, पुराना नेवारी घरहरूलाई पनि मध्यमस्तरको बसोबासका निम्ति उपयुक्त होटलका रूपमा विकसित गरिएको छ । यहाँका कतिपय घरहरूमा खाना र बिहानको खाजा खाने गरी सशुल्क पाहुना भएर बस्न सकिने व्यवस्था पनि छ । बन्दिपुरका प्रमुख आकर्षणहरूमा खड्गदेवी माई मन्दिर पनि एक हो ।[९]
चित्रवाली
[सम्पादन गर्नुहोस्]-
तनहुँ जिल्लाको नक्शामा बन्दीपुर गाउँपालिका
-
बन्दीपुर बजार
-
टुँडिखेलबाट देखिने बन्दीपुर बजार
-
बन्दीपुर बजार
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०७१ वैशाख २५, अन्तिम पहुँच वैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति
- ↑ "बन्दीपुर नगरपालिका", बन्दीपुर नगरपालिका। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-१८ मिति
- ↑ "तनहुँका दुई नगरपालिका गाउँपालिका निर्धारण", कारोबार, २४ पौष, २०७३, अन्तिम पहुँच २४ पौष, २०७३।[स्थायी मृत कडी]
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ संवाददाता, नागरिक (४ असोज, २०७१), "नेपालको घुम्नैपर्ने १३ गन्तब्य", नागरिक दैनिक, अन्तिम पहुँच ४ असोज, २०७१। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-२८ मिति