टङ्कप्रसाद आचार्य
टंक प्रसाद आचार्य | |
---|---|
१९ औँ प्रधानमन्त्री (नेपाल) | |
कार्यकाल वि.सं. २०१२ माघ १३[१][२] – वि.सं. २०१४ असार ३१[२] | |
एकाधिपति | राजा महेन्द्र |
पूर्वाधिकारी | राजाको प्रत्यक्ष शासन |
उतराधिकारी | डा के आई सिंह |
व्यक्तिगत विवरण | |
जन्म | १९६९ मंसिर १७ |
मृत्यु | २०४५ |
टंकप्रसाद आचार्य (वि.सं. १९६९-२०४५) प्रजातन्त्रवादी नेता, नेपालको जेठो राजनीतिक पार्टी नेपाल प्रजा परिषदका संस्थापक अध्यक्ष एवम् नेपालका भूतपूर्व प्रधानमन्त्री हुन्। माघ १० देखि१६ सम्मलाई सहिद सप्ताह र माघ १६ लाई सहिद दिवस मनाउन उनकै प्रधानमन्त्रीकालमा सुरु भएको थियो।
जीवनी
[सम्पादन गर्नुहोस्]आचार्यको जन्म वि.सं. १९६९ साल मंसिर १७ गते आइतबार भएको हो।
नेपाल प्रजा परिषद्
[सम्पादन गर्नुहोस्]उनले वि.सं. १९९३ मा (२२ वर्षको उमेरमा) नेपाल प्रजा परिषद्को स्थापना गरे। वि.सं. १९९७ सालमा राणा शासन विरुद्ध पर्चा छरेपछि पक्राउ पर्ने २ सयजना व्यक्तित्वमा उनी पनि थिए। टङ्कप्रसाद आचार्य जनकपुरमा गिरफ्तार गरिए, पक्राउ परिने सुइँको पाएका मुकुन्दनाथ रिमाल मुग्लान पसेर जोगिए। शुक्रराज शास्त्रीलाई १० माघको राति पचली र धर्मभक्तलाई १२ माघमा सिफलको उकालोमा रूखमा झुन्ड्याइयो, दशरथ चन्द र गङ्गालाललाई १४ माघमा विष्णुमती नदीतटको शोभाभगवती मन्दिरछेउ गोली हानियो। टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा मुडेर ब्राह्मणका लागि मृत्युदण्ड समान सजाय दियो।[३]
वि.सं. २००७ सालको क्रान्तिको आधारभूमि तयार पार्ने ५ जना युवाहरू- टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्मा थिए।
नेपाली राष्ट्रिय कांग्रेस
[सम्पादन गर्नुहोस्]२००३ सालमा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्दा प्रजापरिषद्को बलिदान सम्झेर उनलाई सभापति बनाइयो।
राणाशाहीको अन्त्यपछि वि.सं. २०१० सालमा गठित मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री र वि.सं. २०१२ माघ १३[२] देखि वि.सं. २०१४ असार ३१ सम्म १७ महिना १८औं प्रधानमन्त्री बनेका हुन्।
प्रधानमन्त्रीत्त्व
[सम्पादन गर्नुहोस्]मन्त्रि-परिषद
[सम्पादन गर्नुहोस्]२०१२ साल माघ १३ गतेका दिन गठन भएको मन्त्रि-परिषद
[सम्पादन गर्नुहोस्]- १. टंकप्रसाद आचार्य- प्रधानमन्त्री, गृह, राज्य व्यवस्था
- २. बालचन्द्र शर्मा- शिक्षा, स्वास्थ्य र स्थानीय स्वायत्तशासन मन्त्री
- ३. चूडाप्रसाद शर्मा- परराष्ट्र, वन तथा खाद्य कृषि मन्त्री
- ४. पशुपतिनाथ घोष- पब्लिक वर्कस तथा सञ्चार मन्त्री
- ५. स. गुञ्जमान सिंह- अर्थ, योजना, मालपोत तथा उद्योग वाणिज्य मन्त्री
- ६. सा. पुरेन्द्रविक्रम शाह- रक्षा मन्त्री
- ७. अनिरुद्रप्रसाद सिंह- कानुन तथा संसदीय प्रबन्ध मन्त्री
२०१३ साल माघ २३ थप भएको मन्त्रि-परिषद
[सम्पादन गर्नुहोस्]- १. अरुणसम्शेर ज.ब.रा. - कानुन तथा संसदीय प्रबन्ध मन्त्री
- २. किरण सम्शेर ज.ब.रा. - योजना विकास राज्य मन्त्री
- ३. रङ्गनाथ शर्मा - राज्यव्यवस्था तथा गृह राज्य मन्त्री
- ४. नागेश्वर झा - वन उपमन्त्री
- ५. सूर्यबहादुर भारद्वाज - खाद्य तथा कृषि उपमन्त्री
- ६. काशीराज उपाध्याय - उद्योग वाणिज्य उपमन्त्री
- ७. पुष्करनाथ उप्रेती - पब्लिक वर्कस सञ्चार मन्त्री
- ८. देवमान आङदेम्बे - अर्थ, मालपोत उपमन्त्री
- ९. छिमानन्द महतो - स्थानीय प्रशासन मन्त्रालय उपमन्त्री
- १०. रत्नप्रसाद खरेल - अर्थ मन्त्रालय उपमन्त्री
- ११. खगेन्द्रजङ्ग गुरुङ् - स्वास्थ्य मन्त्रालय उपमन्त्री
प्रसासनिक सुधार
[सम्पादन गर्नुहोस्]निजामति सेवामा सुधार, निजामती सेवा नियमावली लागू, भूमिसुधार, पञ्चशीलका आधारमा परराष्ट्र सम्बन्धको विकास, शिक्षा विकासका लागि अधिराज्यलाई ७ शैक्षिक क्षेत्रमा विभाजन, राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनामा योगदान दिए।
नेपालको मन्त्रिपरिषद् बैठकमा भारतीय कर्मचारी गोविन्द नारायण बस्ने नियम पनि उनकै पालामा खारेज भयो ।
आर्थिक नीति
[सम्पादन गर्नुहोस्]प्रथम पञ्चवर्षिय योजनाको थालनी, नेपाल राष्ट्र बैङ्कको स्थापना र देशभरि नेपाली मुद्राको प्रचलनमा योगदान दिए।
विदेश नीति
[सम्पादन गर्नुहोस्]नेपालको इतिहासमा खास गरेर परराष्ट्र सम्बन्धको हिसाबले उनको प्रधानमन्त्रीत्व काललाई सुनौलो समय मानिन्छ। उनको कार्यकालमा सोभियत संघ (July 20, 1956)[६], जापान(September 1, 1956)[७], स्विटजरल्याण्ड (1956) [८], इजिप्ट, चीन र सँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो। संयुक्त राष्ट्रसंघको सदस्यता (14-12-1955) [९] लिएर महासभामा नेपालको प्रतिनिधिमण्डल पठाउने काम पनि टंकप्रसाद कै पालामा भएको हो।
टंकप्रसादको प्रधानमन्त्रीत्वकाल मै, नेपालले भारत र चीनसँग समदुरीको सम्बन्धमा जोड दिएको हो। उतिबेला कायम गर्न खोजिएको सन्तुलनमा आधारित सम्बन्ध आज झनै सान्दर्भिक भएको छ। राणा शासकहरूले भारतस्थित इष्ट इन्डिया कम्पनीसँग राम्रो सम्बन्ध बनाएका थिए। सन् १९४७ मा भारतको स्वतन्त्रता र वि.सं. २००७ सालमा नेपालमा राणाशाहीको पतनपछि नेपाल-भारत सम्बन्धमा नयाँ आयामहरू आए। सन् १९५०मा नेपालले भारतसित विशेष सम्बन्ध देखाउने नेपाल-भारत शान्ति तथा मैत्री सन्धि गरेको थियो। यो अवस्थामा चीनसँग पनि उत्तिकै सहज हुन प्रधानमन्त्री आचार्यले दुई छिमेकीसँग समदुरीको सम्बन्धमा जोड दिएका थिए।
चीन
[सम्पादन गर्नुहोस्]राजा महेन्द्र चीनसँग छुट्टै सन्धि-सम्झौता गर्दा तिब्बतले नेपाललाई दिँदै आएको वार्षिक १० हजार काला मोहर रोकिनेमा बढी संवेदनशील भए पनि टंकप्रसादले राजाको कोपभाजनको जोखिम मोलेरै पञ्चशीलको सिद्धान्तको आधारमा छुट्टै सन्धिका लागि कूटनीतिक वातावरण तयार पारे। सन् १९५६ सेप्टेम्बर २० मा नेपाल-चीन मैत्री सम्बन्धमा हस्ताक्षर भयो। त्यही वर्ष पेकिङमा चीन भ्रमण गर्ने प्रथम नेपाली प्रधानमन्त्रीका रूपमा टंकप्रसाद आचार्यको स्वागत भयो। चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले नेपाल भ्रमण गरे।[१०][११]
भारत
[सम्पादन गर्नुहोस्]कूटनीतिज्ञ यदुनाथ खनालले राजा त्रिभुवनको शासनकालमा जोसुकै प्रधानमन्त्री भए पनि नेपालको वैदेशिक सम्बन्ध तीन कारणबाट भारतसितको सम्बन्धमा सीमित भएको विश्लेषण गरेका थिए। पहिलो, दिल्लीमा भइरहने नेपाली र भारतीय नेताहरूको भेटघाट; दोस्रो, नेपालले त्यसताका भारतबाट मात्र लिएको आर्थिक-प्राविधिक सहयोग; र तेस्रो, नेपाली सेनाको पुनर्गठन तथा तालिममा भारतीय सेनाको भूमिका। त्यसमाथि, नेपाल-भारत परम्परागत सांस्कृतिक र भौगोलिक सम्बन्धहरूको प्रभाव आफ्नो ठाउँमा छँदै थियो।
अन्य कार्य
[सम्पादन गर्नुहोस्]आचार्यकै कार्यकालमा निजामती कर्मचारी आयोग गठन भयो, जसले नेपालमा पहिलो पटक वृत्ति-विकासमा आधारित कर्मचारीतन्त्रको सुरूआत गर्यो। त्रिभुवन विश्वविद्यालय स्थापनाको तयारी पनि वि.सं. २०१३ सालमै भयो। विभिन्न विचार र स्वार्थको चेपुवामा परेका बेला प्रधानमन्त्री आचार्यले दृढताका साथ ती सुरूआती काम गरेका थिए।
राजीनामा
[सम्पादन गर्नुहोस्]टंकप्रसाद सरकारलाई निरन्तरता दिँदा भारत थप चिढिने अवस्था देखेपछि उनले टंकप्रसादको राजीनामा मागे ।
भारतलाई थप नचिढ्याउनमात्रै पर्याप्त नरहेको ठानेर उनले भारतपरस्तको डाम लागिसकेका केआई सिंहलाई प्रधानमन्त्री बनाए ।
निजी जीवन
[सम्पादन गर्नुहोस्]टंकप्रसादका छोरा कुसुमाकरको वि.सं. २०५६ साल बैशाख १ गते निधन भयो। जलस्रोत मन्त्रालय अन्तर्गत विद्युत् विकास केन्द्रमा वि.सं. २०३७ साल भदौ १२ देखि कार्यरत इन्जिनियर कुसुमाकरको जन्म वि.सं. २०१२ साल माघ १२ गते भएको थियो। कुसुमाकर रुसमा पढेका इञ्जिनियर थिए।
निधन
[सम्पादन गर्नुहोस्]उनको निधन वि.सं. २०४९ साल वैशाख ११ गते भयो।[१२]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ http://rajpatra.dop.gov.np/welcome/book/?ref=580 वि.सं. २०१२ माघ १३को राजपत्र
- ↑ २.० २.१ २.२ http://rajpatra.dop.gov.np/welcome/book/?ref=1530 २०१४ असार ३१ को राजपत्र
- ↑ रिमाल, अरविन्द (७ फागुन, २०७७), "राणा र प्रजा जुवामा रमाउँदा शुरू भएकाे क्रान्ति"।
- ↑ २०१२ साल माघ १५ गतेको नेपाल गजेट
- ↑ २०१४ साल वैसाख १७ गतेको नेपाल गजेट बाट
- ↑ "Main> Russia and Nepal>Political Relations", EMBASSY OF THE RUSSIAN FEDERATION IN NEPAL।
- ↑ "The Establishment of Diplomatic Relations between Japan and Nepal", जापानी राजदुतावास। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०८-०१ मिति
- ↑ "Bilateral relations Switzerland–Nepal", Embassy of Switzerland in Nepal।[स्थायी मृत कडी]
- ↑ "Member States", United Nations।
- ↑ "जो कसैसँग झुकेनन्, राष्ट्रवादको पक्षमा दरिलोसँग उभिए", एभरेष्ट हेडलाइन्स, मंसिर १८ २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०८-०१ मिति
- ↑ गाैतम, चन्द्रमणि (माघ ११, २०७९), "भूमि, शिक्षा र उत्पादनमा सबैको पहुँच बढाउनु कम्युनिस्टभन्दा अगाडि लाग्ने बाटो हो; अब चारतारे र लालझण्डाको विवाद हुनसक्छ; झन्डाहरूको विवाद छोडिदेऊ; कसैले प्रजा परिषदको झण्डा बोक्नु पर्दैन.... : टंकप्रसाद आचार्य", nepalpatranews।
- ↑ "Tanka Prasad Acharya, 78, Ex-Nepal Chief", The New York Times, अप्रिल २५, १९९२, अन्तिम पहुँच २०२०-०४-२५।