ढकारी गाउँपालिका
ढकारी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / 29.11°N 81.39°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | अछाम |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | प्रकाशबहादुर साउद (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | नेत्रकलादेवी शाही (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २२७.८८ किमी२ (८७.९८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,९९८ |
• घनत्व | ९७/किमी२ (२५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९७ |
केन्द्र | साविकको ढकारी गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
ढकारी गाउँपालिका अछाम जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ढकारी, हिच्मा, वलाता, ढुंगाचाल्ना र घोडासैन (१,७,८,९) गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ढकारी गाउँपालिकाको कुल जनसङ्ख्या २१,९९८ रहेको छ भने यहाँ ४,३०५ घरधुरी रहेका छन्।[२]
परिचय
[सम्पादन गर्नुहोस्]ढकारी गाउँपालिकाको कूल क्षेत्रफल २२७.८८ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरिएको छ। नेपाल मानव विकास प्रतिवेदन २०१४ तथा गरिबीको लघु क्षेत्र अनुमान २०६८ मा अछाम जिल्लाको सन्दर्भमा औंल्याएका तथ्यहरू लाई हेर्दा यस गाउँपालिको हकमा पनि सामान्यीकरण गरिएको छ । नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार अछाम जिल्ला मानव विकास सूचकाङ्कका दृष्टिकोणले ७५ जिल्लाहरू मध्य ७१ औँ स्थानमा पर्दछ । यस जिल्लाको मानव विकास सूचकाङ्कको मान ०.३७८ रहेको छ । जस अनुसार औषत आयु ६७.१४ वर्ष तथा प्रतिव्यक्ति आम्दानी ५३६ अमेरिकी डलर रहेको छ । गरिबीको लघु क्षेत्र अनुमान २०६८ अनुसार गरिबीको दर ४७.२% रहेको देखिन्छ[४] । यस गाउँपालिकाको सिमाना पूर्वमा कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका , पश्चिममा डोटी जिल्ला र सुर्खेत जिल्ला, उत्तरमा मंगलसेन नगरपालिका र कमलबजार नगरपालिका तथा दक्षिणमा सुर्खेत जिल्ला सँग जोडिएको छ ।[५] ढकारी गाउँपालिका सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित छ । साविकका ५ वटा गाविसहरू मिलेर बनाइएको यस गाउँपालिकामा ८ वटा वडाहरू रहेका छन् । अछाम जिल्लामा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी जम्मा १० वटा स्थानीय तहहरू मध्ये यो गाउँपालिका अछाम जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ । अछाम जिल्लाको जिल्ला सदरमुकाम देखि करिब ५० किलोमिटरको दुरीमा रहेको यस गाउँपालिकाको केन्द्र साविकको ढकारी गाविस अथवा हालको वडा नंवर १ मा रहेको छ । पूर्ववत रूपमा नेपालको सुदूरपश्चिम विकास क्षेत्रमा पर्ने सेती अञ्चल भित्र रहेको यो गाउँपालिका प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि क्षेत्र नम्बर २ तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि मधेश प्रदेश (ख) अन्तर्गत पर्दछ[४] ।
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]समुन्द्री सतहबाट करिब ६०० मिटर देखि २२०० मिटर सम्मको उचाईमा अवस्थित ढकारी गाउँपालिका २८°५३'५" देखि २९°०३'१५" उत्तरी अक्षांश र ८१°०३'४५" देखि ८१°२०'३०" पूर्वी देशान्तरमा फैलिएको छ । यो गाउँपालिका अछाम जिल्लाको सदरमुकाम मंगलसेन देखि करिब ५० किलोमिटर पूर्वी भागमा अवस्थित छ । यस गाउँपालिकाको सिमाना पूर्वमा कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका, पश्चिममा डोटी जिल्ला, उत्तरमा मंगलसेन नगरपालिका र दक्षिणमा सुर्खेत जिल्लासँग जोडिएको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल २२७.८८ वर्गकिलोमिटर रहेको छ [४] मध्य पहाडी भौगोलिक विशेषता बोकेको ढकारी गाउँपालिका धरातलीय स्वरूपका हिसाबले विविधता युक्त रहेको छ । अधिकांश जमिनको बनौट भिरालो प्रकृतिको छ भने नदी तटीय क्षेत्र लगायतका केही अन्य क्षेत्रमा समथर जमीन पनि रहेको छ । महाभारत पर्वतिय पहाडी श्रृङ्खलाले बनेको यस गाउँपालिकामा कडा खालको चट्टानी भू-भाग, भिरपाखा तथा बसोवास योग्य क्षेत्र सहितको विविधता युक्त धरातलीय स्वरूप रहेको छ ।[४]
नामाङ्कन
[सम्पादन गर्नुहोस्]नवगठित स्थानीय तह ढकारी गाउँपालिका अछाम जिल्लामा पर्ने साविकका ५ वटा गाविसहरू हिच्मा, बलाँता, ढुंगाचाल्ना, ढकारी र घोडासैन जोडेर बनाइएको हो । यो गाउँपालिकाको ऐतिहासिक रूपले डोटी राज्यसँग सामाप्यता रहेको छ । ढकारी गाउँपालिकाको नामांकनको सन्दर्भमा स्थानीय जानकार व्यक्तिहरूका अनुसार हाल बजार रहेको ढकारी क्षेत्रमा धेरै पहिले ढाक्रेहरूको थकाइ मेट्ने स्थानको रूपमा प्रयोग हुँदै आएको र यस नामबाट नै साविकको गाविस ढकारी नामांकन रहेको र स्थानीय तहको पुनः संरचना हुँदा त्यही नाम त्यो क्षेत्रको लागि प्रसिद्ध रहेको हुनाले ढकारी गाउँपालिकाको नामकरण गरिएको हो[४] ।
प्राकृतिक सम्पदाहरू
[सम्पादन गर्नुहोस्]ढकारी गाउँपालिका क्षेत्रमा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू, आर्थिक अभ्यास र उपलब्ध मानवीय पुँजी तथा पुर्वाधार लगायतको अवस्थालाई हेर्ने हो भने यस गाउँपालिकामा विकासका प्रशस्त सम्भावनाहरूको आँकलन गर्न सकिन्छ । वनक्षेत्रले ओगटेको क्षेत्र हेर्दा जङ्गल र झाडी गरी करिब ७२ प्रतिशत र खेति गरिएको जमिन २५.४१ प्रतिशत रहेको छ । ढकारी गाउँपालिका हुँदै बग्ने रिमाखोला, चाइराखोला, खातीखोला, ढुङ्गानीखोला, घामखोला, बुढाखोला, कालीखोला, तोलसेन खोला, गुगाड खोला, स्याउले खोला र कर्णाली नदी, यहाँका मुख्य जल सम्पदाहरू हुन् । यस क्षेत्रमा रहेका राष्ट्रिय वन, तामाखानी सामुदायिक वन, मधुवन सामुदायिक वन, विन्द्रासैनी सामुदायिक वन, त्रिपुरासुन्दरी सामुदायिक वन, आदि यहाँका वन सम्पदाहरू हुन् । जैविक विविधताका हिसाबले उच्च पहाडी चिसो हावापानीमा पाइने जीव तथा वनस्पतिहरू अमला, तेजपात, बाघ, भालु, मृग, बँदेल तथा कालिज, लुइँचे, डाँफे मुख्य रूपमा रहेका छन् । यसका पहाडको माथिल्लो भागमा अधिकांश स्थानमा वन र खर्कहरू रहेका छन् । बालुवा लगायतका खनिजहरू यस क्षेत्रमा पाइन्छन् ।[४]
संस्कृति
[सम्पादन गर्नुहोस्]डोटेली संस्कृतिको प्रभाव रहेको ढकारी गाउँपालिका क्षेत्रमा खस सभ्यता तथा हिन्दू संस्कृतिको अनुपम संगम रहेको छ । सामाजिक रितिरिवाज र चाडपर्वमा बडा दशैं, तिहार, चैते दशैं, जन्माष्टमी, साउने संक्रान्ति, माघे संक्रान्ति, होली, भुवा पर्व, बिसु पर्व आदि यहाँका मुख्य चाडपर्व हुन् । सामान्यतया यहाँका पुरुषहरूले सर्ट, पाइन्ट, कोट, टोपी र महिलाहरूले गुन्यू, चोलो, सारी, कुर्ता सुरुवाल भेषभुषाका रूपमा लगाउने गर्छन् । मिश्रित बसोबास रहेको यस गाउँपालिकामा ब्राह्मण, क्षत्री, दलित र जनजातिको बसोबास भएतापनि क्षेत्रिहरूको बाहुल्यता बढी रहेको छ । धार्मिक महत्त्व बोकेका जालपादेवी मन्दिर, मष्टा मन्दिर, शिव मन्दिर, सूर्यकाँडा माई, बण्डाली माईको मन्दिर, नवदुर्गा मन्दिर र तितौडा मन्दिर जस्ता स्थल तथा मन्दिरहरू यस गाउँपालिकामा रहेका छन् । यस गाउँपालिकामा अधिकांश रूपमा अछामी भाषाको प्रयोग गरिन्छ । देउडा, पुतला नाच, धमारी, हुड्केउली आदि यहाँका मुख्य परम्परागत नृत्यहरू हुन्[४] ।
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ ४.६ "संक्षिप्त परिचय", ढकारी गाउँपालिकाको कार्यालय। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०६ मिति
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।