खड्गजीत बराल
खड्गजीत बराल | |
---|---|
नवौँ नेपाल प्रहरी महानिरीक्षक | |
कार्यकाल वि.सं. २०२९ साउन – वि.सं. २०३५ जेठ | |
प्रधानमन्त्री | कीर्तीनिधि विष्ट (वि.सं. २०२८ – २०३०), (वि.सं. २०३४ – २०३६)[१] नगेन्द्रप्रसाद रिजाल (वि.सं. २०३२ – २०३४)[१] |
पूर्वाधिकारी | रोम बहादुर थापा (वि.सं. २०२३ असार – २०२९ असार)[२] |
उतराधिकारी | दुर्लभ कुमार थापा (वि.सं. २०३५ साउन - २०३९ जेठ)[२] |
बर्माका लागि नेपाली राजदूत | |
कार्यकाल वि.सं. २०३६ – वि.सं. २०४२ | |
प्रधानमन्त्री | सूर्यबहादुर थापा (वि.सं. २०३६ – २०४०) [१] लोकेन्द्रबहादुर चन्द (वि.स.२०४० – २०४२) [१] |
पूर्वाधिकारी | शार्दुल शमशेर ज.ब.रा. [३] |
उतराधिकारी | डा. दिव्य देव भट्ट |
फ्रेन्च इन्डो-चाइना (लाओस, कम्बोडिया र भियतनाम)का लागि नेपाली राजदूत | |
कार्यकाल वि.सं. २०३६ – वि.सं. २०४२ | |
प्रधानमन्त्री | सूर्यबहादुर थापा (वि.सं. २०३६ – २०४०) [१] लोकेन्द्रबहादुर चन्द (वि.स.२०४० – २०४२) |
पूर्वाधिकारी | शार्दुल शमशेर ज.ब.रा. |
उतराधिकारी | डा. दिव्य देव भट्ट [४] |
इन्डोनेसियाका लागि नेपाली राजदूत | |
कार्यकाल वि.सं. २०३६ – वि.सं. २०४२ | |
प्रधानमन्त्री | सूर्यबहादुर थापा (वि.सं. २०३६ – २०४०)[१] लोकेन्द्रबहादुर चन्द (वि.स. २०४० – २०४२)[१] |
पूर्वाधिकारी | अज्ञात |
उतराधिकारी | रामचन्द्र बहादुर सिंह[५] |
नेपालको सांसद | |
कार्यकाल वि.सं. २०४३ – वि.सं. २०४६ | |
प्रधानमन्त्री | मरिचमान सिंह श्रेष्ठ (वि.सं. २०४३ – २०४६)[१] |
रोयल नेपाल गल्फ क्लबको अध्यक्ष | |
कार्यकाल वि.सं. २०४५ – वि.सं. २०४६ | |
प्रधानमन्त्री | मरिचमान सिंह श्रेष्ठ (वि.सं. २०४३ – २०४६)[१] |
पूर्वाधिकारी | पियुष बहादुर अमात्य |
उतराधिकारी | विनोद शमशेर राणा |
युनाइटेड नेसन्स ट्रान्जिसनल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत | |
कार्यकाल वि.सं. २०४८ – वि.सं. २०५० | |
प्रधानमन्त्री | गिरिजा प्रसाद कोइराला (वि.सं.२०४८ – २०५१)[१] |
नेपाल जुडो सङ्घको अध्यक्ष | |
प्रधानमन्त्री | मनमोहन अधिकारी (वि.सं. २०५१ – २०५२)[१] |
व्यक्तिगत विवरण | |
जन्म | चुली बोझा, देवचुली, नवलपरासी जिल्ला | अप्रिल १७, १९२८
मृत्यु | १९ मे २०२१[६] | (उमेर ९३)
नागरिकता | नेपाली |
नाता | बहादुर सिंह बराल (पिता) सरस्वती बराल (आमा) |
सन्तान(हरू) | २ छोरा |
निवास(हरू) | काठमाडौँ, बागमती प्रदेश, नेपाल |
मातृ शिक्षाप्रतिष्ठान | आगरा विश्वविद्यालय (स्नातक) पटना विश्वविद्यालय (स्नातकोत्तर) |
पेशा | प्रहरी अधिकृत कूटनीतिज्ञ राजनीतिज्ञ समाजसेवक |
पुरस्कार | गोरखा दक्षिण बाहु-प्रथम, त्रिशक्ति पट्ट-प्रथम, लाइफ टाइम अचिभमेन्ट अवार्ड (२०६६) |
खड्गजीत बराल (वि.सं. १९८५, बैशाख ५-२०७८ जेठ ५) नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन्।[७] प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत,[८] इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो-चाइना (लाओस,[९] कम्बोडिया, भियतनाम)को लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी वहन गरेका थिए।[१०] [११]बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनित सांसद भएका थिए।[१०] सांसदको रूपमा सेवा समाप्त गरेपछि उनले युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत भए।
बराल लोक सेवा आयोग (नेपाल)बाट नेपालको तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकको लागि सिफारिस हुने प्रथम स्नातकोत्तर उतीर्ण प्रहरी अधिकृत हुनका साथै ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने प्रथम व्यक्ति हुन्। साधारणतया प्रहरी प्रमुखको कार्यकाल ४ वर्षको हुने भएतापनि नेपाल प्रहरीको इतिहासमा ६ वर्षसम्म प्रहरी महानिरिक्षक जिम्मेवारी वहन गर्ने दुई जना मध्ये उनी र रोम बहादुर थापा हुन्।[७][१२]
आफ्नो कार्यकालमा प्रहरीमा 'गाँस' (रासन), 'बास' (भवन) र 'कपास' (पोशाक) को व्यवस्था गरेर प्रहरीको मनोबल उच्च बनाउन सफल भएकाले उनलाई नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक मानिन्छ। [१०][१३] [१४][१५]
उनी बर्माका लागि नेपाली राजदूत रहँदा बर्मामा अधिकार विहीन शरणार्थी सरह बसिरहेका नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्नुका साथै बर्मामा पशुपतिनाथ मन्दिर निर्माण गर्दै त्यहाँ भानुजयन्ती मनाउने परम्पराको सुरूवात गरेका थिए।[१६]
प्रारम्भिक तथा शैक्षिक जीवन
वि.सं. १९८५, वैशाख ५ मा नवलपरासीको देवचुलीस्थित चुलीबोझा (गाँउ) मा कप्तान बहादुर सिंह बराल र सरस्वती बरालका कनिष्ठ पुत्रका रूपमा खड्गजीत बराल जन्मेका हुन्।[१७] सैनिक परिवारमा हुर्केका बरालका पिता तथा सबै दाजुहरू तत्कालीन ब्रिटिस इन्डियन आर्मीको प्रथम गोरखा राइफल्स (दोस्रो बटालियन) मा कार्यरत थिए।[१८] उनका पिता बहादुरसिंह बराल फुटबल र हकीको राम्रो खेलाडी भएकाले बाल्यावस्था देखिनै खेलकूद प्रति उनको अभिरूचि रहेको थियो। उनको जिजु हजुरबुवा रणजीत बराल नेपालको एकिकरणकालमा भक्ति थापासँग अङ्ग्रेज विरुद्ध लड्ने फौजमा थिए। सो लडाइँमा नेपाली फौजको बहादुरी देखेर अङ्ग्रेजले नेपालीलाई ब्रिटिस इन्डियन आर्मीमा भर्ना लिने भए जसको फलस्वरूप रणजीत बराल ब्रिटिस इन्डियन आर्मी बनेका थिए। रणजीतका छोरा श्रीधर, श्रीधरका छोरा सर्वजीत र सर्वजीतको छोरा बहादुरसिंह बरालले आफ्नो पारिवारिक परम्परालाई आगाडि बढाए।[१७]
उनको बुवा बहादुरसिंह बराल फुटबल र हकीको राम्रो खेलाडी भएकाले बाल्यावस्था देखिनै खड्गजीतको खेलकुदप्रति अभिरूचि रहेको थियो। यसका साथै उनले रवीन्द्रनाथ ठाकुर र आफ्ना पिताको कविता तथा रचनाहरूबाट प्रभावित भएका थिए।[१७]
शिक्षा
खड्गजीत बरालले भारतको पश्चिम बङ्गालको सेन्ट एन्ड्रयुज उच्च विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। उनी सोही स्कूलमा कक्षा ८ मा अध्ययनरत रहँदा फुटबल र हकी टोलीका प्रथम नेपाली कप्तान भएका थिए। यो भन्दा अघिसम्म फुटबल र हकी टिमका कप्तान सधैँ भारतीयहरू मात्रै छानिन्थे। बरालले विज्ञान विषयमा प्रमाण पत्र तह परीक्षा उत्तीर्ण गरेपछि आगरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरे। खड्गजीत अलीगढ मुस्लिम विश्वविद्यालयको फुटबल टोलीको प्रथम गैरमुस्लिम कप्तान भएर सो टोलीको नेतृत्व गर्दै अफगानिस्तान स्थित फुटबल प्रतियोगिताहरूमा भाग लिएका थिए।
उनी सेमेस्टरको मध्यमै अलीगढ विश्वविद्यालय छोडेर पटना विश्वविद्यालयमा राजनीति शास्त्र विषय लिएर स्नातोकोत्तरमा भर्ना भएर त्यहाँबाटै स्नातोकोत्तर तह उत्तीर्ण गरेका थिए।[१७]
राणा शासन विरूद्ध गठित 'मुक्ति सेनाको लडाकु' (वि.सं. २००७)
वि.सं. २००७ (असोज ९, १० र ११) मा तत्कालीन जहानिया राणा शासन विरूद्ध भारतको बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित बैरगनिया सम्मेलनमा पढाइ (बिए दोस्रो वर्ष) छाडेर बराल त्यसमा सहभागी भएका थिए, जसमा पिता बहादुर सिंह बराल, कुँवर इन्द्रजित सिंह, मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो। आनदोलनका क्रममा काङ्ग्रेसीहरू गणेशमान सिंह र महेन्द्र नारायण निधिसॅग बरालको राम्रो मित्रता कायम भएको थियो । पछि बुटवलमा प्रजातन्त्र सम्बन्धी पर्चा बाँढेकाले राणाकालीन प्रहरीले तीन दिन सम्म उनलाई हिरासतमा लिएको थियो।
देहरादूनमा रहेका गोर्खा किल्लाका फौजीसँग आफूहरू राणा शासन विरुद्ध क्रान्ति गर्न लागेकाले बरालले गोली दिन आग्रह गरे ; चाँदमारी (अभ्यास) का बेला कसले कति गोली हान्छ हिसाब नहुने भएकाले त्यही मौकामा उनीहरूले धेरै गोली दिएका थिए । उनले देहेरादुनको गोर्खा पल्टनबाट प्राप्त कयौॅ गोली बारूदका बाकसहरू गोरखपुर पुर्याउने जिम्मेवारी पाएका थिए । [१९]
खड्गबहादुर गुरूङको नेतृत्वमा मुक्ति सेनाको एक टोलीले बरालसहित करिब १५० लडाकुहरूका साथ भैरहवाका बडाहाकिमलाई सफलतापूर्वक आक्रमण गरेको थियो ; खड्गजीत आफ्ना पिता बहादुरसिंह बरालको 'बाह्रबोर' बन्दुक चोरी सात सालको क्रान्तिमा भाग लिएका थिए । [२०]
कुँवर इन्द्रजित सिंहको नेतृत्वमा विद्रोह
दिल्लीको त्रिपक्षीय सम्झौता अनुसार तत्कालीन नेतृत्वको मोहन शमशेर ज.ब.रा.लाई प्रधानमन्त्री बनाउने निर्णयको विरोध गरेर राणा शासन पूर्ण रूपमा निर्मूल नभएसम्म सशस्त्र आन्दोलन जारी रहने उद्घोष गर्दै डाक्टर के.आई. सिंहको नेतृत्वमा रहेको 'भैरहवा मोर्चा' (खड्गजीत, काशीप्रसाद श्रीवास्तव, रामवरण शर्मा लगायत अन्य केही कम्युनिष्ट नेता) ले संघर्ष जारी राख्ने निर्णय गरेको थियो ।[२१]
९ फागुन, २००७ को बिहान ३ बजे भैरहवा स्थित कदमहवामा रहेको मुक्ति सेनाको क्याम्पमा तत्कालीन भारतीय सेनाको मराठा पल्टनले मोर्टारबाट गोला बर्साई एम्बुष गरेपछी बराल सहित मुक्ति सेनाका लडाकु हरूको पक्राउ गरेको थियो; ९ जना वीर जवानले सहादत प्राप्त गरेर झन्डै ३५० को संख्यामा रहेका मुक्ति सेनाका सेनानीलाई नेल–हत्कडी, र जनसाधरणलाई डोरीले बाँधेर नेपाली सेनाको जिम्मा लगाइएको थियो। दिल्लीको त्रिपक्षीय सम्झौता पछी हतियार नबिसाएकाले खड्गजीत ३ महिनासम्म कारागारमा बसेका थिए।
नेपाल प्रहरीमा सेवा (वि.सं. २०१३ - २०३५)
खड्गजीत बराल वि.सं. २०१३ सालमा लोक सेवा आयोग (नेपाल)को खुल्ला प्रतिस्पर्धाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको प्रथम प्रहरी निरीक्षकको रूपमा नियुक्त भएका थिए। [२२] काठमाडौँमा ट्राफिक प्रहरी भई काम गरेपछि उनले वि.सं. २०१५ मा नेपालको प्रथम जननिर्वाचनमा 'बुथ अफिसर' भई काम गरेका थिए।
प्रहरी नायव उपरीक्षक (वि.सं. २०१६ - २०२१)
बराल प्रहरी सेवामा प्रवेश गरेको तीन वर्षमै प्रहरी नायव उपरीक्षक पदमा पढुवा भएका थिए। प्रहरी नायव उपरीक्षकमा बढुवा भएपछी उनको प्रथम दरबन्दी लुम्बिनी अञ्चलको रुपन्देही जिल्ला (भैरहवा) रहेको थियो। भैरहवामा कार्यरत रहँदा १ पुस, २०१७ मा तत्कालीन राजा महेन्द्रले राज्य सत्ता आफ्नो हातमा लिएपछि गृह मन्त्रालयको निर्देशानुसार तत्कालीन प्रहरी उपरीक्षकलाई पक्राउ गर्ने आदेश आएको थियो।[१०] [२३] पछि बराल धनुषाको जलेश्वर स्थित प्रहरी नायव उपरीक्षक कार्यालयको प्रमुख रहँदा उनले तत्कालीन काङ्ग्रेसी नेता तथा आफ्ना परम मित्र महेन्द्र नारायण निधिलाई दुई पटक गिरफ्तार गरेका थिए।
प्रहरी उपरीक्षक (वि.सं. २०२१-२०२४)
तत्कालीन प्रहरी उपरीक्षक बराल नेपालगञ्ज प्रहरी कार्यालयको प्रमुख भई भेरी, सेती, महाकाली र कर्णाली अञ्चलहरूको सुरक्षाको जिम्मेवारी वहन गरेका थिए। वि.सं. २०२४ मा मोतीलाल बोहोरा प्रहरी नायव निरीक्षकमा नियुक्त भएका थिए। नेपाल पुलिस क्लबको आवश्यकता महसुस गरी बरालले तत्कालीन प्रहरी महानिरीक्षक पहल सिंह लामालाई त्यसको स्थापनार्थ आह्वान गरे;पुलिस क्लबको स्थापनार्थ बराल र स्वर्गीय हर्क बहादुर थापा प्रदर्शनी मार्ग स्थित जग्गा हेर्न गएका थिए। तद्अनुरूप वि.सं. २०२३ (जेठ २८) मा नेपाल पुलिस क्लब स्थापना भएको थियो।
खड्गजीत बराल वि.सं. २०२२ देखि वि.सं. २०२४ सम्म तत्कालीन सदर प्रहरी तालीम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज) को समादेशक भई प्रहरी तालिमेहरूलाई समय सापेक्ष प्रशिक्षण प्रदान गरी दक्ष तथा व्यवासयिक प्रहरी जनशक्ति तयार गर्ने उद्देश्य अनुरूप तालीमको आधुनिकीकरण गरेको र शिवपुरी राष्ट्रिय निकुञ्जमा गुम्बा स्थापनार्थ योगदान पुर्याएका थिए।[२४]
प्रहरी नायव महानिरीक्षक (वि.सं. २०२४ - २०२९)
खड्गजीत बरालले २०२५ साल मङ्सिर १० देखि २०२२ साल जेठ २९ सम्म सुर्खेत (नेपालगञ्ज) स्थित पश्चिम क्षेत्र प्रहरी नायव महानिरीक्षक कार्यालयको प्रमुखको जिम्मेवारी वहन गरेका थिए। सो क्रममा उनले त्यहाँ वीरेन्द्र प्रहरी व्यायामशाला निर्माण गरेका थिए। [२५]
बरालले २०२७ जेष्ठ २८ - २०२९ आषाढ ३२ सम्म काठमाडौँको भृकुटीमण्डप स्थित मध्य क्षेत्र प्रहरी नायव महानिरीक्षक कार्यालयको प्रमुखको जिम्मेवारी वहन गरेका थिए। [२६] [२७] बराल सो कार्यालयको प्रमुख छँदा वि.सं. २०२७ मा अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान र प्रदिप शमशेर ज.ब.रा. प्रहरी निरीक्षक नियुक्त भएका थिए। २०२७ सालमा सो उनी सो टोलीका लागि परीक्षा समितिका अध्यक्ष समेत थिए।[२८]
प्रहरी महानिरीक्षक (वि.सं. २०२९ साउन - २०३५ जेठ)
बराल लोक सेवा आयोग (नेपाल)बाट नेपालको तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकका लागि सिफारिस हुने प्रथम स्नातकोत्तर उतीर्ण प्रहरी अधिकृत हुन्। [२९]४४ वर्षको कनिष्ठ उमेरमा प्रहरी महानिरीक्षक हुने उनी प्रथम व्यक्ति हुन्। [३०] उनी भन्दा अघिका सबै प्रहरी प्रमुख मुक्ति सेनाबाट प्रहरीमा समायोजन भएर वा सेनाबाट सरूवा भई प्रहरीमा प्रवेश गरेका थिए भने उनी चाहिँ प्रहरी ऐन २०१२ बनेपछि विधिवत रूपमा प्रहरीमा भर्ना भई प्रहरी महानिरीक्षकमा नियुक्त हुने प्रथम व्यक्ति हुन्। आफ्ना पूर्ववर्ती स्वर्गीय आईजीपी रोम बहादुर थापाका साथै बराल ६ वर्षका लागि प्रहरी प्रमुख भई सबैभन्दा बढी समयको लागि प्रहरी प्रमुखको जिम्मेवारी वहन गरेका थिए। [३१] [३२] [१२]
तत्कालीन दरबार र शाही नेपाली सेनाका केही उच्च पदस्थ अधिकारीहरूले प्रहरीको यस कदमलाई सकारात्मक रूपमा लिएनन्। दरबार र तत्कालीन श्री ५ को सरकारसँग अनवरत सङ्घर्षरत रहेर २०३० सालको भाद्रमा बरालले प्रहरीमा रासनको व्यवस्था गर्न सफल भएका थिए। एउटा प्रहरी कर्मचारी वा अधिकृतले आफू सहित आफ्नो परिवारका तीन सदस्यलाई ख्वाउन मिल्ने गरीकन रासनको व्यवस्था गरिएको थियो। [१२] [३३] [३४]
बरालको कार्यकाल अघिसम्म नेपाल प्रहरीमा किल्लाको व्यवस्था थिएन। प्रहरी महानिरीक्षक बरालकै अग्रसरतामा जनता प्रहरी मैत्री बनून् र प्रहरी भवनहरूलाई न्यायको मन्दिरका रूपमा हरेर प्रहरीको पनि जनताको सेवा गर्ने (जनमैत्री) मनोबल बडोस् भनी वि.सं. २०३१ मा इन्जिनियरिङ शाखा स्थापना [१२] गरी पगोडा शैलीका प्रहरी भवनहरूको निर्माण थालनी गरिएको थियो। [१२] अपर्याप्त बजेट रहेको तत्कालीन अवस्थामा जनताको चन्दाको भरमा अधिकांश थाना, चौकी र ब्यारेक लगायतका प्रहरी भवनहरू निर्माण गरिएका थिए। तसर्थ जनताको नासोको प्रतीकका रूपमा अधिकांश प्रहरी भवनहरू खडा भएका थिए। [१२] पुर्वमा मेची देखि पश्चिममा महाकालीसम्म प्रहरी थाना र चौकी निर्माण गरी बराल आफैले उद्घाटन गरेका थिए। [३५] [३६] [१२] [३७] [३८]
प्रहरीले आफ्नै तलबबाट वा ऋण लिएर पोशाक किन्न, वा अरूबाट अधारोमा पोशाक लगाउन नपरून् भनेर आइजीपी बरालले २०३३ सालमा पोशाकको व्यवस्था गरेका थिए।[३९][१२] [४०]तसर्थ प्रहरीको मनोबल बढाउनका निम्ति तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालले नेपाल प्रहरी सङ्गठनमामा रासन, बास र पोशाकको व्यवस्था गरेका थिए।[४१] [१२]
वि.सं. २०३२/३४ मा प्रहरी प्रमुखको हैसियतले भारत भ्रमण गर्दा तत्कालीन भारतीय सरकारबाट नेपाल प्रहरीको लागि ५०-शैय्याको अस्पताल बनाइदिन तत्कालीन प्रहरी महानिरिक्षक बरालकै पहलमा स्वीकृति पाइएको थियो, [३५] [१२] [४२] र पछि नेपाल प्रहरी अस्पतालको भवन निर्माणका लागि महाराजगञ्ज स्थित प्रचण्ड भवनको जग्गा समेत खरिद गरिएको थियो। [४२]
नेपालीहरू विदेशी पर्वतारोहीहरूको भरियामा मात्र सीमित नभई आफैँ पनि आरोहणमा संलग्न भै सफल होउन् भनी तत्कालीन महानिरीक्षक बरालकै अग्रसरतामा वि.सं. २०३० सालतिर नेपाल प्रहरी पर्वतारोही प्रतिष्ठान स्थापना गरिएको थियो।[३५] सो प्रतिष्ठानकै लागि दार्जिलिङ स्थित भारतीय पर्वतारोहण संस्थानमा स्वर्गीय तेन्जिङ्ग नोर्गेबाट १५ प्रहरी जवानहरूलाई ६ महिनाको लागि प्रशिक्षण दिइएको थियो।
सो प्रतिष्ठानबाट 'तिब्बती खाम्पा निशस्त्रीकरण अभियान अघि बढाउन पनि सहयोग पुगेको थियो। [३५] वि.सं. २०३१-२०३३ मा नेपाल प्रहरी र नेपाली सेनाको संयोजकत्वमा तिब्बती खाम्पा निशस्त्रीकरण अभियानबाट नेपाली भूमिलाई दलाइ लामाका सशस्त्र खम्पाबाट मुक्त गरी नेपालको सार्वभौमिकता पुनर्स्थापना गर्न सफल भएको थियो। [३५] अपराध अनुसन्धानको वैज्ञानिकीरणका लागि तत्कालीन महानिरीक्षक बरालको अग्रसरतामा प्रमाण ऐन ,२०३१ तयार गरिएको थियो। [४३]
बरालले तत्कालीन पश्चिम जर्मनी सरकारलाई लागूऔषध नियन्त्रण ऐनको विधेयकको मस्यौदा तयार पार्न नेपालमा कानुन विशेषज्ञ पठाउन अनुरोध गरेका थिए। तद्अनुरूप बरालकै अग्रसरतामा लागूऔषध नियन्त्रण ऐन, २०३३ तयार गरिएको थियो।[४३]
वि.सं. २०३१ सालमा काठमाडौँ उपत्यकामा अपराध नियन्त्रण प्रभावकारी बनाउन र जनतामा समयोचित सेवा पुर्याउन सकियोस् भनेर चीनबाट चारवटा अत्याधुनिक भ्यान नेपाल भित्र्याई प्रहरी निरीक्षकको नेतृत्वमा हातहतियारले सुसज्जित प्रहरी अधिकृतसहित नगर प्रहरी कार्यालयमा तत्कालीन प्रहरी महानिरीक्षक खड्गजित बरालद्वारा नेपाल पुलिस फ्लाइङ्ग स्क्वाड् स्थापना भएको थियो। सो टोलीहरूले तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा छिटो र छरितो ढङ्गबाट अपराध रोकथाम गर्दै आएको थियो
नेपाल प्रहरीको क्रमिक इतिहास प्रदर्शन गर्नका निम्ति प्रहरीद्वारा प्रयोग हुने पुराना तथा तत्कालीन हातहतियार तथा पोशाक सङ्कलन गरी वि.सं. २०३२ सालमा प्रहरी प्रधान कार्यालयको परीसरमा तत्कालीन प्रहरी महानिरीक्षक बरालद्वारा नेपाल प्रहरी सङ्ग्राहलयको प्रारूप तयार भएको थियो। तत्कालीन सदर प्रहरी तालीम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज) [४४] मा मात्र सिमित प्रहरी तालिमलाई अरू विकास क्षेत्रहरूमा पनि सञ्चालन गर्ने उद्देश्यले तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालले वि.सं. २०३३ (चैत्र २५) मा ५० गुरूवा (प्रशिक्षक) र ५० जवान तालिमेहरू सहित पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवलको स्थापना गरेका थिए [४५]
पूर्व प्रहरीको सल्लाह सुझाव लिन र भेटगाट गराउनका निम्ति तत्कालीन प्रहरी महानिरीक्षक खड्गजित बरालकै पहलमा प्रहरी पुनर्मिलन कार्यक्रमको थालनी भएको थियो जसले पछि पूर्व प्रहरी सङ्गठन' को स्थापनाका निम्ति समेत भूमिका खेलेको थियो। वि.सं. २०३० मा तत्कालीन रानी ऐश्वर्याको जनमोत्सवको अवसरमा तत्कालीन बरालले बिटिङ द रिट्रिट् अभ्यासको थालनी गरेका थिए। सो अभ्यासमा जिम्नास्टिक, जुडो र अरू विभिन्न प्रदर्शनी हुने गरेको थियो। [४६]
प्रहरी सुधार योजनाको कार्यान्वयन
बरालले प्रहरी सुधार योजना नेपालको तत्कालीन सरकारबाट स्वीकृत गराई त्यसलाई कार्यान्वयन गरेर प्रहरी प्रधान कार्यालय लगायतका अन्य प्रहरी ईकाइहरूमा नियन्त्रण सुपरीपेक्षण प्रबन्ध आदिको प्रशासनिक व्यवस्था, प्रहरीको काम, कर्तव्य आदि विविध पक्षमा सुधारात्मक कार्यहरू गरेका थिए। [४७] [१२]
प्रहरीमा हुने सरूवा-बढुवामा 'हुकुम प्रमाङ्गी' ले प्रहरी सङ्गठनमा उत्पन्न गराउने अस्थिरता र मनोबल गिराउने जस्ता नकारात्मक पक्षका बारे तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालले स्वर्गीय राजा वीरेन्द्रलाई जाहेर गरेपछी प्रहरीमा सो व्यवस्था (हुकुम प्रमाङ्गी) को पनि अन्त्य भएको थियो। [१२]
सीमा प्रहरी चौकीको स्थापना
बरालले सिमा सुरक्षाका लागि 'सिमा सुरक्षा प्रहरी' गठन गरी नेपाल-भारत सिमा भरी सिमा प्रहरी चौकी स्थापना गरेका थिए। उनको दूरदर्शीता अनुरूप २०२९ सालमा प्रहरी प्रमुखमा नियुक्त भएपछि ‘१६ वर्षीय सीमा सुरक्षा प्रहरी चौकी’ को योजना बनाइएको थियो। यस योजना अन्तर्गत उनले २०३५ सालको प्रारम्भमा प्रहरीबाट अवकाश पाउनु अघिसम्म नेपाल-चीन सीमामा ताप्लेजुङस्थित ओलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, सोलुखुम्बुको थ्याङ्गबोचे, गोरखास्थित छेकम्पार, मनाङस्थित हुम्दे, मुस्ताङको लोमान्थाङ, हुम्लाका मुचू र यारी, डोल्पाको तिन्जे र मुगुमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए।
त्यस्तै, नेपाल-भारत सीमामा दार्चुलाको दत्तु, डोटीको साँगडी, महोत्तरीको कट्टीकटैया, सर्लाहीको संग्रामपुर, कपिलवस्तुको कृष्णनगर, झापाको काँकडभिट्टा, इलामका पशुपतिनगर र मानेभञ्ज्याङ (दार्जिलिङ नजिक), भैरहवाको बेलहिया र दुवै नेपाल-भारत र नेपाल-चीन सीमा हेर्ने दार्चुलाको तिङकर सहित २० ठाउँमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए।
अन्य
वि.सं. २०३३ सालमा काङ्ग्रेसी नेताहरू विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिई नेपाल आएपछि तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज) लगेर राखेका थिए। तत्कालीन पञ्च नेताहरूको दबाब बाबजुद उनले बि.पि. र गणेशमान सिंहलाई विमानस्थलबाट सुन्दरीजल कारागार लगेनन्। [४८]
तत्कालीन महानिरीक्षक बरालले वि.सं. २०३१ सालमा स्वर्गीय राजा वीरेन्द्रको राज्याभिषेक समारोहको सुरक्षा व्यवस्थाको जिम्मेवारी पाएका थिए। [४९] [५०] [५१] [५२]
तत्कालीन महानिरीक्षक खड्गजित बरालकै कार्यकालमा वि. स. २०३३ सालमा सहवीर थापा र वासुदेव ओलीलाई प्रहरी निरीक्षमा नियुक्त भए, जो पछि सशस्त्र प्रहरी बल नेपालका प्रमुख भएका थिए। बरालले प्रहरी प्रमुखका हैसियतले मिश्र, फ्रान्स, ब्राजिल, अर्जेन्टिना लगायत देशहरूमा इन्टर्पोल सम्मेलनमा भाग लिएका थिए। करिब २२ वर्ष नेपाल प्रहरीमा सेवा गरेर बरालले नेपाल प्रहरीलाई एउटा आधुनिक प्रहरी सङ्गठनको रूपमा विकसित गराउन जति सक्दो योगदान पुर्याए, र आफ्नो कार्यकालमा (वि.सं. २०२९ - २०३५) नेपाल प्रहरी सङ्गठनलाई एउटा राष्ट्रिय प्रतिकका रूपमा स्थापित गर्न सफल भएका थिए। उनले वि.सं. २०३५ जेठ मा प्रहरी सेवाबाट अवकाश पाएपछी तत्कालीन प्रहरी नायव महानिरीक्षक दुर्लभ कुमार थापालाई नेपालको तत्कालीन सरकारबाट प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको थियो। [५३]
विभिन्न देशका लागि नेपाली राजदूत
बरालले प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि वि.सं २०३६ मा नेपालको तत्कालीन सरकारले उनलाई बर्मा, इन्डोनेसिया, लाओस, कोम्बोडिया, भियतनामका लागि नेपाली राजदूतमा नियुक्त भएका थियो। वि.सं. २०३७ मा तत्कालीन नेपाली राजदूत खड्गजीत बरालले बर्मामा तत्कालीन राजा वीरेन्द्रको राष्ट्र प्रमुखको हैसियतले प्रथम औपचारिक भ्रमणको व्यवस्था गरेका थिए। तत्कालीन राजदूत बरालको पहलमा बर्मामा महाविजया जेदी पगोडाको निर्माण कार्यमा बर्मेली र नेपाली शिल्पकार दुबैलाई संलग्न गराई नेपाल र बर्मा बिचको सम्बन्ध प्रगाढ बनाइएको थियो। नेपालद्वारा बर्मालाई उपहारको रूपमा दिइएको गौतम बुद्धको मूर्ति स्ह्वेडागन् पगोडा मै राखिएको थियो। राजदूत बरालको कार्यकालमा निर्मित महाविजया जेदी पगोडाले स्ह्वेडागन् पगोडा पछि बर्माको सबैभन्दा चर्चित पगोडाको स्थान ओगटेको छ, जसबाट बर्माका नेपाली र बर्मिज नागरिकहरू बीच प्रगाढ सम्बन्ध स्थापना हुनमा सहयोग पुगेको छ। बर्मामा वर्षौँदेखि अधिकारविहीन शरणार्थीसरह बसिरहेका ४०,००० नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्न तत्कालीन नेपाली राजदूत बरालले तत्कालीन बर्मिज सरकारलाई आह्वान गरेका थिए र फलस्वरूप नागरिकता दिलाउन सफल भएका थिए। तत्कालीन राजदूत बराल बर्माका तत्कालीन प्रमुख पुरोहित महाशीको लुम्बिनी भ्रमण गराउन सफल भए जसबाट बर्मा र नेपाल बिच धेरै संस्कृति र रीतिरिवाज आदानप्रदान भएको थियो।
वि.सं. २०४२ मा खड्गजीत बरालले राजदूतबाट अवकाश प्राप्त गरेपछि नेपालको तत्कालीन सरकारबाट स्वर्गीय डा. दिव्य देव भट्टलाई बर्मा र फ्रेन्च इन्डो-चाइना (लाओस, कोम्बोडिया र भियतनाम)का लागि नेपाली राजदूतमा नियुक्त गरियो भने रामचन्द्र बहादुर सिंहलाई इन्डोनेसियाका लागि नेपाली राजदूतमा नियुक्त गरिएको थियो। बर्माका लागि नेपाली राजदूतबाट निवृत्त भएपछि बराल राष्ट्रिय पञ्चायतका सदस्यमा मनोनित भएका थिए। [५४] नेपालको तत्कालीन सिंहदरवारस्थित संसद भवन (ग्यालरी बैठक) को बैठकमा तत्कालीन सांसद बरालले दक्षिण अफ्रिकाका स्वतन्त्र सेनानी नेल्सन मन्डेलाको रिहाईको माग गरेका थिए जसबाट अरू माननीयज्यूहरू अवाक् मा परे र पछि दरबारका सचिवहरूबाट नकारात्मक टिकाटिप्पणी आएको थियो।
कोम्बोडियाली उन्टाकका प्रमुख (वि.सं. २०४८-२०५०)
वि.सं. २०५० सालमा उन्टाकका तत्कालीन प्रमूख सम्पर्क अधिकृत खड्गजीत बरालद्वन्द्व ग्रसित कोम्बोडियाको प्रथम जननिर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन सफल भएका थिए। तत्कालीन खमेरू जर्नेलहरूले आफ्ना लडाकुहरू निसशस्त्र गरेपछि क्याम्बोडियाको प्रथम जननिर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको थियो।[१०]
खेलकुदमा योगदान
तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बराल ८ वर्षसम्म नेपाल हकी सङ्घको अध्यक्ष रहेका थिए। बरालले नेपाल हकी सङ्घको अध्यक्ष हुनु अगावै पाकिस्तानबाट दुई जना हकी प्रशिक्षकहरूलाई नेपाल निम्त्याई नेपालमा हकी खेलको सुरूवात गरेका थिए। बरालले टुँडीखेल र तत्कालीन सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज) मा कयौँ हकी प्रतियोगिताहरू आयोजना गरि आफू स्वयम् पनि सहभागी भई हकीलाई नेपालमा एउटा राष्ट्रव्यापी खेलको रूपमा परिचित गराएका थिए। बराल सन् १९९० को दशकमा नेपाल जुडो सङ्घको करिब ६ वर्ष अध्यक्ष रही काम गरेका थिए।
बरालले नेपाल जुडो सङ्घको अध्यक्ष हुनु अगावै सन् १९६९ मा जापानबाट जुडो प्रशिक्षक र खेलाडीलाई एक वर्षको लागि नेपाल निम्त्याई नेपालमा जुडो खेलको सुरूवात गरेका थिए। सन् १९९५ अगस्ट १देखि ५ मा उनले नयाँ दिल्ली स्थित 'दोस्रो राजीव गान्धी अनतरराष्ट्रिय जुडो प्रतियोगिता' मा नेपाली जुडो टोलीका लगि नेपाल जुडो सङ्घको अध्यक्षको रूपमा प्रतिनिधित्व गरेका थिए। उनले सन् १९८९ मा रोयल नेपाल गल्फ क्लबलाई एउटा सामाजिक संस्थाको रूपमा बाग्मती अञ्चलाधीश कार्यालयमा दर्ता गराई त्यसलाई विधिवत रूप दिन सफल भएका थिए। उनले रोयल नेपाल गल्फ कोर्सको जग्गालाई २० वर्षको लिज दिलाए, जुन पहिले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पर्दथ्यो। बरालले रोयल नेपाल गल्फ क्लबको उपाध्यक्ष (वि.सं. २०४४ - २०४५) र नेपाल ब्याडमिन्टन सङ्घको उपाध्यक्ष [५५] समेत भई नेपालमा खेलकुदको विकासका लागि जति सक्दो योगदान पुर्याएका थिए।
अवकाश प्राप्त जीवन
वि.सं २०४८ मानेपाल पूर्व प्रहरी सङ्गठन स्थापना गर्न पूर्व प्रहरी महानिरीक्षक दिलबहादुर लामालाई सुझाव दिएका थिए। पूर्व प्रहरी सङ्गठनको स्थापनार्थ नेपालको विभिन्न भागमा भ्रमण गरी प्रचार प्रसार गर्नका लागि लामालाई सरकारी गाडी प्रदान गर्न बरालले तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई निर्देशन दिएका थिए। बराल पशुपति क्षेत्र विकास कोषको सदस्य (वि.सं. २०४३) समेत रहेका थिए। बरालले रोटरी क्लब अफ पशुपति-काठमाडौँकन्ह सदस्यको हैसियतले ट्राफिक प्रहरीलाई वार्षिक मास्क वितरण कार्यक्रम आयोजना गराएका थिए। [५६] बरालले वि.सं. २०५५ अषाढ ११ मा नवलपरासीको देवचुलीस्थित चुली बोझामा प्रथम विद्यालय स्थापना गर्न सफल भएका थिए। वि.स. २०६६ मा प्रहरी दिवसको अवसरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा खड्गजीत बराललाई वर्ष प्राप्त पुरस्कार प्रदान गरिएको थियो।
स्रोतहरू
- ↑ १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ "नेपालका पूर्व प्रधानमन्त्रीहरु", प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२०।
- ↑ २.० २.१ "History" [नेपाल प्रहरीको इतिहास], नेपाल प्रहरी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-२०। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२४ मिति
- ↑ नेपाल राजपत्र - भाग ४, खण्ड २६ (प्रथम संस्करण), २०३३, अन्तिम पहुँच कात्तिक १८ २०७४।
- ↑ नेपाल राजपत्र - भाग ४, खण्ड ३५ (प्रथम संस्करण), पुष २६, २०४२, अन्तिम पहुँच कात्तिक १८, २०७४।
- ↑ नेपाल राजपत्र - भाग ४, खण्ड ३७ (प्रथम संस्करण), २०४४, अन्तिम पहुँच कात्तिक १९ २०७४।
- ↑ "४४ वर्षमै आइजीपी बनेर प्रहरीमा धेरै इतिहास रचेका खड्गजीत बराल रहेनन्", रिपोर्टर्स नेपाल (नेपालीमा), २०२१-०५-१९, अन्तिम पहुँच २०२१-०५-२२।
- ↑ ७.० ७.१ "प्रहरी इतिहास"। वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-१४ मिति
- ↑ नेपाल राजपत्र - भाग ४ (प्रथम संस्करण), माघ २३, २०३६, अन्तिम पहुँच कात्तिक १८, २०७४।
- ↑ नेपाल राजपत्र भाग ४ खण्ड ३१ (प्रथम संस्करण), २०३८, अन्तिम पहुँच कात्तिक १८ २०७४।
- ↑ १०.० १०.१ १०.२ १०.३ १०.४ "मुक्ति सेनाबाट आइजिपी हुँदै राजदूतसम्म"। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-१४ मिति
- ↑ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजाल, सम्पादक (वि.सं. २०७६), नेपालको कूटनीतिक अभ्यास राजदूतहरूको अनुभव, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, पृ: ८५–८६।
- ↑ १२.०० १२.०१ १२.०२ १२.०३ १२.०४ १२.०५ १२.०६ १२.०७ १२.०८ १२.०९ १२.१० १२.११ पुरी, आनन्द (२०७४), ९ आइजिपीसँगका अनुभूति (प्रथम संस्करण)।
- ↑ "नेता पैसा खाने, प्रहरीका हाकिम अख्तियार धाउने ?"। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-२९ मिति
- ↑ "Police Day 2073 बृत्तचित्र “नेपाल प्रहरी हिजो र आज ”"।
- ↑ "अपराध फस्टाएपछि प्रहरीको छवि धुजाधुजा", नेपाल मिडिया (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२०।[स्थायी मृत कडी]
- ↑ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजाल, सम्पादक (वि.सं. २०७६), नेपालको कूटनीतिक अभ्यास राजदूतहरूको अनुभव, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, पृ: ९४–९५।
- ↑ १७.० १७.१ १७.२ १७.३ बसनेत, पोस्ट बहादुर, "‘म ज्युँदै छु भन्दा मान्छे अचम्ममा पर्छन्’", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२०। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२८ मिति
- ↑ समाचार, राज्यसत्ता, "मुक्ति सेनाबाट आइजिपी हुँदै राजदूतसम्म", राज्यसत्ता (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२०। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-१४ मिति
- ↑ "(स्मरण) सशस्त्र आन्दोलनका लागि हतियार खोजतलास"। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१२ मिति
- ↑ "(स्मरण) सशस्त्र आन्दोलनका लागि हतियार खोजतलास..."। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१२ मिति
- ↑ "(स्मरण) त्यो नखोतलिएको दु:खदायी घटना..."। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-११ मिति
- ↑ "(स्मरण) पढेलेखेको मान्छे प्रहरीमा ?"। वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-१० मिति
- ↑ "(स्मरण) डिएसपी हुँदा एसपी पक्राउ गर्नुपर्दा..."। वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-०८ मिति
- ↑ पुरी, आनन्द (२०७४), ९ आइजिपीसँगका अनुभूति (प्रथम संस्करण)।
- ↑ "Karnali State Police Office Surkhet..History...Office In-charge to this office till date:प्रहरी नायव महानिरीक्षक ज्यूको नामावली"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३१ मिति
- ↑ "Bagmati State Police Office Hetauda..कार्यालय प्रमुखहरु...मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौँडा"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२१ मिति
- ↑ "सामान्य परिचय..."। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२१ मिति
- ↑ अच्युतकृष्ण खरेल आत्मकथा (प्रथम संस्करण), २०७५, पृ: ६७।
- ↑ "सुरक्षा अंगमा नियुक्तिको लागि सार्कस्तरीय ढाँचा अवलम्बन गर्न आवश्यक ..."। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
- ↑ Paudel, Bishnu (१९७२-०७-३१), "The Home Ministry has decided to appoint 43 year old DIGP Khadgajeet Baral as the Inspector General of Nepal Police...", Gorkhapatra, पृ: 05–06।
- ↑ "Police History"। वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-१४ मिति
- ↑ "गोर्खाली सैनिक र बीपी...मुक्ति सैनिकमध्ये जीबी याक्थुम्वा पछि बडाहाकिम र राजदूत भए।"।[स्थायी मृत कडी]
- ↑ Nepal Police Mirror 2015 (प्रथम संस्करण), २०७२, अन्तिम पहुँच कात्तिक १७ २०७४।
- ↑ "अपराध फस्टाएपछि प्रहरीको छवि धुजाधुजा"।
- ↑ ३५.० ३५.१ ३५.२ ३५.३ ३५.४ Nepal Police Mirror 2014 (प्रथम संस्करण), २०७१, अन्तिम पहुँच कात्तिक १७ २०७४।
- ↑ "सबै काम अलपत्र, आइजीपी लागे नियमावलीतिर"।[स्थायी मृत कडी]
- ↑ "पहिला नेपाल प्रहरीमा ब्यारेकको व्यवस्था थिएन"।
- ↑ "सीमा सुरक्षाको जग बसाल्न सरकारसँग टक्कर लिने पूर्वआईजीपी"।
- ↑ "नेता पैसा खाने, प्रहरीका हाकिम अख्तियार धाउने ?"। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-२९ मिति
- ↑ "सीमा सुरक्षाको जग बसाल्न सरकारसँग टक्कर लिने पूर्वआइजीपी"।
- ↑ "Police Day 2073 बृत्तचित्र “नेपाल प्रहरी हिजो र आज ”"।
- ↑ ४२.० ४२.१ घिमिरे, विद्याप्रसाद (२०७५ भाद्र मसान्त), नेपाल प्रहरी अस्पताल विगतदेखि वर्तमानसम्म... (प्रथम संस्करण), पृ: ३९–४६।
- ↑ ४३.० ४३.१ "सीमा सुरक्षाको जग बसाल्न सरकारसँग टक्कर लिने पूर्वआइजीपी"।
- ↑ "Haribhakta Sigdel 'Mahesh'...Training And Service To Nation"।
- ↑ "West Regional Police Training Center, Butwal HISTORICAL BACKGROUND"। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०२ मिति
- ↑ थापा (पल्लीमगर), हस्तबहादुर (२०७५), मेरो जीवन यात्रा: हस्तबहादुर थापा (पल्लीमगर) (प्रथम संस्करण), पृ: १३८–१४१।
- ↑ [Nepal Police Mirror 2015 (प्रथम संस्करण), २०७२, अन्तिम पहुँच कात्तिक १७ २०७४।
- ↑ "जाँच्ने डाक्टर भेटिएन"।
- ↑ "NEPAL CORONATION OF THE KING (60/92)"।
- ↑ "NEPAL CORONATION OF THE KING (61/92)"।
- ↑ "NEPAL CORONATION OF THE KING (63/92)"।
- ↑ "My career as police officer II"।[स्थायी मृत कडी]
- ↑ "MY CAREER AS POLICE OFFICER"।[स्थायी मृत कडी]
- ↑ "अवकाशपछि पनि सक्रिय...फेरिएको भूमिका"।
- ↑ "Tamang siblings steal the show..."।
- ↑ "District Advisory Committee...Khadga Jeet Baral"।
बाह्य कडीहरू
- खड्गजीत बरालको आधिकारिक फेसबुक पृष्ठ
- नेपाल प्रहरीको आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२४ मिति
- नेपाल प्रहरीको आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०२ मिति
- नेपाल प्रहरीको आधिकारिक पत्रिका वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२४ मिति
- नेपाल प्रहरीको आधिकारिक पत्रिका वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-३० मिति
खड्गजीत बराल जन्मः वि.सं. १९८५, वैशाख ५
| ||
पूर्वाधिकारी स्वर्गीय रोम बहादुर थापा
(वि.सं. २०२३ असार – वि.सं. २०२९ असार) |
नेपाल प्रहरी महानिरीक्षक वि.सं. २०२९ साउन – वि.सं. २०३५ जेठ |
पछिल्लो दुर्लभ कुमार थापा (वि.सं. २०३५ साउन - वि.सं. २०३९ जेठ) |
पूर्वाधिकारी स्वर्गीय शार्दुल शमशेर ज॰ब॰रा॰
(वि.सं. २०३३ - वि.सं. २०३६) |
बर्माका लागि नेपाली राजदूत वि.सं. २०३६ – वि.सं. २०४२ |
पछिल्लो स्वर्गीय डा. दिव्य देव भट्ट |