मेलम्ची नगरपालिका
मेलम्ची नगरपालिका | |
|---|---|
| निर्देशाङ्क: २७°५०′ उत्तर ८५°३४′ पूर्व / २७.८३° उत्तर ८५.५६° पूर्व | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| जिल्ला | सिन्धुपाल्चोक |
| स्थापित | २७ फागुन २०७३ |
| सरकार | |
| • अध्यक्ष | आइतमान तामाङ (नेपाली काङ्ग्रेस) |
| • उपाध्यक्ष | उमा प्रधान (नेपाली काङ्ग्रेस) |
| क्षेत्रफल | |
| • जम्मा | १६०.६३ किमी२ (६२.०२ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ४१,०६३ |
| • घनत्व | २६०/किमी२ (६६०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-०११ |
| केन्द्र | साविकको मेलम्ची गाविसको कार्यालय |
| वेबसाइट | आधिकारिक वेबसाइट |
मेलम्ची नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो। वि.सं. २०७१ साल मङ्सिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविकका ७ वटा गाविसहरू (मेलम्ची, ज्यामिरे, शिखरपुर, तालामाराङ, सिन्धुकोट, बाँसबारी र फटकशिला) समावेश गरेर मेलम्ची नगरपालिका गठन गरिएकोमा राज्यको पुर्नसंरचना पछि वि.स. २०७३ साल फाल्गुण २६ गते साविकका ४ वटा गाविसहरु (भोटेचौर, हैबुङ, थकनी र दुवाचौर) समेत थप गरी मेलम्ची नगरपालिकाको पुनर्गठन गरिएको थियो। यस नगरपालिकामा हाल १३ वटा वडाहरू रहेका छन्। यसको क्षेत्रफल १६०.६३ वर्ग किलोमिटर रहेको छ। नेपालको राजधानी काठमाडौंबाट उत्तर–पूर्वमा पर्ने बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची नगरपालिका एक हो। यस नगरपालिकाको पूर्वमा ईन्द्रावती गाउँपालिका, पश्चिममा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका र नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, उत्तरमा हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका तथा दक्षिणमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका रहेको छ।
भौगोलिक विविधताको कारण नगरपालिकाको विभिन्न क्षेत्रमा पाइने हावापानी फरक फरक प्रकारको रहेको छ। उचाईको वृद्धि सँगसँगै चिसोको मात्रामा वृद्धि हुँदै जाने हुँदा यहाँ तातो हावा बहने मेलम्ची नदी किनारको क्षेत्र देखि बाह्रै महिना चिसो हुने भोटेचौर, हैबुङ्ग, गुफा चांखु जस्ता स्थानहरु रहेका छन्। यस नगरपालिकामा चैत्र महिना देखि असोजको प्रारम्भसम्म गर्मी र असोज देखि फागुन महिनासम्म जाडो हुने भएकोले यहाँको हावापानीमा मौसम अनुसार विविधता रहेको पाइन्छ ।
यस नगरपालिकामा ग्रिष्म र वर्षा ऋतुमा मनसुनी बर्षा बढी हुने गर्दछ । मेलम्ची नगरपालिका दक्षिणपूर्वी मनसुन प्रभावित क्षेत्रमा पर्ने हुनाले असार देखि भाद्रसम्ममा प्रशस्त पानी पर्दछ । नगरका मुख्य जलाधार क्षेत्रहरू न्यून चापीय वायु हुँदै जाने हुनाले यस क्षेत्रमा बढी वर्षा हुने गर्दछ । समग्र नगरमा बार्षिक सरदर १६१५ मि. लि. सम्म बर्षा हुने गर्दछ ।
महाभारत क्षेत्र अन्तर्गत पर्ने मेलम्ची नगरपालिका जैविक विविधताले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा पाइने मुख्य जडिबुटीहरूमा लोठसल्ला, सुगन्धवाल, चिराईतो, जटामसी, धसिंगरे, कुटकी, पाखनवेद, कुरिलो, सतिवयर, नूनढिकी, झ्याउ, पदमचाल, गुराँस, लप्सी, बेल, चुत्रो, दामपाते, घ्युकुमारी, काँचोपात, दतिवन आदि हुन् । यस क्षेत्रमा जडिबुटीको प्रचुर संभावना रहेकोले केही स्थानीय व्यक्तिहरुले व्यवसायिक रुपमा जडिबुटी खेती गर्न सक्ने संभावना रहेको छ भने केही किसानहरूले जडिबुटी खेतीको शुरूवात गरेका छन् । यस क्षेत्रमा पाइने रुख विरुवाहरुमा साल, अस्ना, खयर, कटुस, चिलाउने, उत्तिस, सल्ला, मौवा, लाँकुरी, गुराँस मूख्य रुपमा रहेका छन् । त्यस्तै डाले घाँसमा चिउरी, बडहर, कुटमिरो, किम्बु, खनिउँ, इपिल आदि पाइन्छ । वन क्षेत्रको विकास विस्तार र संरक्षणको लागि केही सामुदायिक तथा कवुलियत वन उपभोक्ता समितिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
यस नगरपालिका क्षेत्रमा पाइने मुख्य जनावरहरूमा सालक, चितुवा, बाघ, भालु, बँदेल, दुम्सी, खरायो, स्याल, रतुवा मृग, बाँदर आदि छन् भने चराचुरूङ्गीमा काग, परेवा, चिवे, कालिज, हुचिल, लाटोकोसेरा, भंगेरा, मैना, सुगा, बाज, ठेउवा, जुरेली, फिस्टा, तित्रा, बकुल्ला, चिल, गिद्ध, ढुकुर जस्ता पंक्षीहरु रहेका छन् । विभिन्न किसिमका माछाहरु, गोहोरो, सर्प, छेपारो, माउसुली, भ्यागुतो, विच्छी, फट्यांग्रा, मौरी, अरिङ्गाल, बारूलो लगायतका विभिन्न जिवजन्तु तथा किराहरू पाइन्छ ।
मेलम्ची नगरपालिका भित्र हिन्दु, बौद्ध, क्रिश्चियन लगायतका धर्मावलम्बीहरुको बसोबास रहेको पाइन्छ । यस क्षेत्रमा बोलिने मातृ भाषामा नेपाली, नेवारी, तामाङ, दनुवार, माझी, मगर, शेर्पा आदि रहेका छन ।
मेलम्ची नगरपालिका क्षेत्रभित्र महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । यस क्षेत्रमा त्रिवेणीघाट, फट्केश्वर महादेव, ईन्द्रेश्वर महादेव, गोल्मेश्वरी, सातकन्या देवी, कोटदेवी, सितलादेवी, धौलेश्वरी, कुण्डेश्वर, सिद्धेश्वर, कृष्ण मन्दिर लगायका अन्य मठ मन्दिर र गुम्बाहरु रहेका छन् । यस नगरपालिका क्षेत्रमा विशेषगरी ब्राह्म्मण तथा क्षेत्री जातीले दशै, तिहार, मातातिर्थ औंसी, बुद्ध जयन्ती, गुरु पुर्णिमा, साउने संक्रान्ती, नाग पञ्चमी, रक्षा बन्धन, कृष्ण अष्टमी, तीज, सोह्र श्राद्ध, धान्य पुर्णिमा, स्वस्थानी पूजा, माघे संक्रान्ती, श्रीपञ्चमी, महाशिवरात्री, फागु पुर्णिमा, चैते दशैं आदि पर्वहरु मनाउने गर्दछन् भने ल्होसार, घेवा जस्ता पर्व तथा रितिरिवाज तामाङ समुदायले मनाउँछन् । नेवार समुदायले ब्राह्म्मण समुदायले मनाउँने अन्य चाडपर्वको अलवा तिहारको भाइटिकाको दिन म्ह-पूजा समेत गर्दछन् ।त्यसैगरी, माझी समुदायमा आफ्नो पितृको सम्झनामा पित्रा देखाउने प्रचलन रहेको छ।
यस नगरपालिकामा रहेको कूल जनसंख्याको जातीय बनावट हेर्दा बहु–साम्प्रदायीक जात जातीहरू पाउन सकिन्छ।खास गरी मंगोलियन र आर्य सम्प्रदायहरू अन्तर्गतका विभिन्न जात जातीहरू विगत देखि नै बसोवास गर्दै आएका छन्।मंगोलियन सम्प्रदायहरूमा तामाङ्ग, मगर, घले, गुरूङ्ग, दनुवार, माझी आदि मुख्य रहेका छन् ।
जनसङ्ख्या
[सम्पादन]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेलम्ची नगरपालिकाको कुल जनसङ्ख्या ४१,०६३ रहेको छ भने यहाँ ११,१८० घरधुरी रहेका छन्।[२]
| नयाँ वडा | समावेश साविकका गाविसहरू | जनसङ्ख्या | क्षेत्रफल (वर्ग कि.मी.) | जनघनत्व (व्यक्ति/वर्ग कि.मी.) |
|---|---|---|---|---|
| १ | भोटेचौर (१–४) | २५९० | ९.३३ | २७७.६० |
| २ | भोटेचौर (५–९) | १२०३ | ४.४ | २७३.४१ |
| ३ | हैबुङ | २०३४ | १४.५३ | १३९.९९ |
| ४ | थकनी | २८३९ | १९.१३ | १४८.४१ |
| ५ | सिन्धुकोट (१-७,९) | २३१८ | ९.६२ | २४०.९६ |
| ६ | तालामाराङ | २६२७ | १२.७ | २०६.८५ |
| ७ | दुवाचौर (१–६) | ३८९२ | १२.९२ | ३०१.२४ |
| ८ | दुवाचौर (७–९) | १८०३ | ७.४५ | २४२.०१ |
| ९ | ज्यामिरे (१,३-९) | ४२९३ | १८.९ | २२७.१४ |
| १० | शिखरपुर र ज्यामिरे (२) | ३१२७ | ९.७ | ३२२.३७ |
| ११ | मेलम्ची र सिन्धुकोट (८) | ५८९८ | १२.७५ | ४६२.५९ |
| १२ | बाँसबारी | ४८३० | १४.८७ | ३२४.८२ |
| १३ | फटकशिला | ३६०९ | ११.८७ | ३०४.०४ |
| जम्मा | ४१,०६३ | १५८.१७ | २५९.६१ | |
जनसङ्ख्या
[सम्पादन]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेलम्ची नगरपालिकाको कुल जनसङ्ख्या ४१,०६३ रहेको छ भने यहाँ ११,१८० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- 1 2 3 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।