हिन्दू वर्ण व्यवस्था

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

वर्ण व्यवस्था अथवा वर्णाश्रम धर्म आश्रम व्यवस्था लाई उपनिषद्कालमा सामाजिक सङ्गठनका दुइ आधारहरू मानिएका छन् । वर्णको अर्थ रङ्ग हो र वैदिक साहित्यमा वर्ण रंगको अर्थमा नै प्रयुक्त, भएको छ ।[१] वर्णको समानान्तर शब्द वर्ग हुन सक्छ तर जाति हुन सक्दैन किनभने वर्ण एक परिवर्तनीय व्यवस्था हो । व्यक्तिको वर्ण कामको आधारमा परिवर्तन हुनसक्छ । तर जन्मको आधारमा गरिएको वर्गीकरण परिवर्तन हुन सक्दैन । वर्ण र जातिमा अन्तर हुन्छ । हुन त मन्वादि स्मृति तथा धर्मशास्त्रहरूमापाइने श्लोक-ब्राह्मणक्षत्रियविशशूद्राणां च परन्तप । वेदाचारपरास्वाद्याःत्रयो वर्णाः द्विजातयः॥ अनुसार ब्राह्मणादि चार वर्णहरूमा शुरुका तीन वर्णहरू वेदाचारपरायण हुनाले द्विजजातिहरू मानिन्छन् भने शूद्र एकजाति मानिन्छ ।आजभोली वेदाचार त्यागेका द्विजजातिका सन्तानहरू व्रात्य भएका देखिंदैनन् । यस अर्थमा गीताको यो श्लोकको तात्पर्यमा खलवल परिसकेको छ-चातुर्वर्ण्य मया सृष्टा गुणकर्मविभागसः। तस्य कर्तारमपि मां विद्धि सर्वानशेषतः॥ यस अर्थमा जन्मको आधार जाति हुन्छ भने पनि वर्ण चार मात्र र जाति अनेक हुन्छन् ।अतः चातुर्वर्ण्य व्यवस्थालाई एक प्रकारको सामाजिक विभाजन भने पनि अब त्यसमा वैदिक कालीन सामाजिक मर्यादाक्रम रहेन । पुराणहरूमा भनें झैं यो चातुर्वर्ण्य व्यवस्था ईश्वरले रचेको र यसमा विसंगति विकृतिहरू भत्रिएमा ईश्वरकै अवतार वा ईश्वरांश महापुरूषहरू ले विकृतिहरू हटाई शूद्धिकरण गर्नेछन् प्रतिक्षा गरौं । वर्णव्यवस्थासँग ठ्याक्कै मिल्दो जुल्दो त होइन, सामाजिक विभाजन दार्शनिक प्लेटोले पनि उल्लेख गरेका छन् । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग, मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग र निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । प्लेटोले जसलाई दार्शनिक राजा भनेका छन् कौटिलीय अर्थशास्त्रमा त्यसलाई राजर्षि भनिएको छ ।

वर्गीकरणका विशेषता[सम्पादन गर्ने]

हिन्दू दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबै कुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । उदाहरणका लागि ज्ञानका चार भाग ऋग्वेद, यजुर्वेद, सामवेद, र अथर्ववेद छन् । प्राणीका चार विभाजन स्वेदज, जरायुज, अण्डज र उद्भिज छन् । वर्गीकरण र विभाजन क्रमको दृष्टिले नभई अध्ययनको दृष्टिले गरिएको हो । यस विभाजनको उद्देश्य मानिसका विशेषताहरूको आधारमा वर्गीकरण र विश्लेषण गर्नु हो । खप्तड स्वामीले वर्णाश्रम व्यवस्थालाई वंशानुक्रम र वातावरण दुवैलाई ध्यानमा राखेर बनाइएको सामाजिक व्यवस्था बताएका छन् । आधुनिक चिकित्सा विज्ञानले पनि मानिसको रगतका श्रेणी तथा क्रोमोजोमलाई चार प्रकारले नै विभाजन गरेको छ ।[२] वर्ण व्यवस्थाको आधार ऋग्वेद पुरुष सूक्तमा निहित छ । ब्राह्मणस्य मुखामासीद्बाहुराजन्य कृतः। उरु तदस्ययद्वैश्यः पदभ्यांशूद्रो अजायतः। [३]। त्यस्तै विचार गीतामा पनि व्यक्त गरिएको छ– चातुर्वर्ण्यं मया सृष्ट्वा गुण कर्म विभागश ।।४.१३।। [४] वैदिक वाङ्मयको वर्णव्यवस्था अतीव निर्मल र पवित्रतम छ । त्यहा परस्पर भेदभाव, अवहेलना र घृणाको प्रवृत्ति पाईंदैन । चतुर्वर्णक समाज स्वच्छ, समुन्नत र गतिशील हुने कल्पना गरिएको छ । चारवटै वर्णलाई समाजरूपी गाडी चलाउने चार पाङ्ग्राको रुपमा कल्पना गरिएको छ, परस्पर आश्रित हुनुपर्ने स्थिति स्पष्ट रुपमा देखाइएको छ ।[५]

वर्ण अनुसारको कार्य विभाजन[सम्पादन गर्ने]

श्रीमद्भगवद्गीता अध्याय १८मा यस विभाजनको विवरण निम्नलिखित छ[६]

ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप ।
कर्माणि प्रविभक्तानि स्वभाव प्रभावैर्गुणैः ।।४१।।
शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च ।
ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ।।४२।।
शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् ।
दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३।
कृषि गौरक्ष्यवााणज्यं वैश्यकर्म स्वभावजम् ।
परिचर्यात्मकं कर्म शूद्रस्यापि स्वभावजम् ।।४४।।
स्वे स्वे कर्मण्यभिरतः संसिद्धि लभते नरः ।
स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ।।४५।।
हे परन्तप, ब्राह्मण, क्षत्रिय, वैश्य, र शूद स्वभाव पनि गुणका प्रभावले विभक्त हुन्छन् ।।४१।।
शम (संयम), इन्द्रिय नियन्त्रण, तप (नियम पालनका लागि कष्ट सहनु), शुद्धता, शान्ति र सरलता, ज्ञान र विज्ञानमा आस्तिकता नै स्वाभाविक ब्रह्मकर्म हुन् ।।४२।।
शूरवीरता, तेज, धारणा शक्ति, दक्षता, युद्धको सामना गर्नु, दान दिनु अनि मालिकपनको भाव, यी सबै क्षत्रियका स्वाभाविक गुण हुन् ।।४३।।
कृषि, पशुपालन, वाणिज्य यी वैश्यका स्वाभाविक कर्म हुन् भने परिचर्यात्मक कार्य शूद्र (सेवक) का स्वाभाविक कर्म हुन् ।।४४।।
आआफ्ना कर्ममा राम्ररी लागेको मानिसले सिद्धि (सफलता) प्राप्त गर्छ । सुन, आफ्नो काममा लागेर नै सफलता प्राप्त गर्न सकिन्छ ।।४५।।

मनुस्मृति, कौटिलीय अर्थशास्त्र, शुक्रनीति, याज्ञवल्क्यस्मृति आदिमा यही कुरा दोहोर्याइएको छ ।

ब्राह्मण

जुन वर्गले अध्ययन अध्यापन र अनुसन्धानमा मात्र योगदान गर्थ्यो त्यसलाई ब्राह्मण भनिएको छ । वेदाध्ययन, यज्ञ, ब्रह्म चिन्तन, दान दिनु दान लिनु जस्ता कार्य गर्नेलाई ब्राह्मण भनिएको छ ।

क्षत्रिय

जुन वर्गले राज्यको सुरक्षा गर्थ्यो । अरुको सुरक्षाका लागि हथियार चलाउंथ्यो तथा शासन सञ्चालन गर्थ्यो, त्यस वर्गलाई क्षत्रिय वा राजन्य भनिएको छ ।

वैश्य

जुन वर्गले आर्थिक क्रियाकलापको नियमन, नियन्त्रण र विस्तार गर्थ्यो त्यसलाई वैश्य भनिएको छ ।

शूद्र

जुन वर्गले समाजको सेवा गर्थ्यो अर्थात् जसको मुख्य कार्य सबैको सेवा गर्नु थियो त्यसलाई शूद्र भनिएको छ ।

स्मरण रहोस् वैदिक सनातन वर्णाश्रमधर्म का मूलमर्मज्ञ विद्वान् यसो भन्छन् -वेदका प्रधान अंग मानिने कल्पसूत्रभित्र श्रौतसूत्र,गृह्यसूत्र,धर्मसूत्र र शुल्वसूत्रहरू पर्दछन् । यी सूत्रग्रन्थहरू अवलोकन गर्दा गर्भाधानादि संस्कारहरू वेदोक्त रीतिले गर्नेहरू द्विजहरू हुन् । यसका अतिरिक्त अन्य सबै व्रात्यहरू हुन् । द्विजहरूमा

१) ब्राह्मण

ब्राह्मणपुत्र र ब्राह्मणपुत्रीको पृथक गोत्र-प्रवरमा मातृपितृ सम्बन्धका नातामा कम्तिमा ६ पुस्ता परका वरवधुका वीच वेदोक्त तथा आफ्ना शाखासम्मत गृह्योक्त विवाह पद्धतिका आधारमा अग्नि,द्विजका साक्षित्वमा मन्त्रोच्चारणपूर्वक विवाह गरी जन्माएको सन्तान ब्राह्मण हो ।

२) क्षत्रिय

शास्त्रोक्त विवाह पद्धतिबाट क्षत्रियमाता-पिताबाट वा ब्राह्मणपुत्रसँग विधिपूर्वक विवाह भएकी क्षत्रियकन्याबाट जन्मेको सन्तान क्षत्रिय हो ।

३) वैश्य

शास्त्रोक्त विवाह पद्धतिबाट वैश्यमाता-पिताबाट वा ब्राह्मण वा क्षत्रियपुत्र सँग विवाह भएकी वैश्य कन्याबाट जन्मेको सन्तान वैश्य हो ।

४) शूद्र

वेदोक्त आचार संहिता स्वीकार न गर्ने,गर्भाधानादि संस्कारहरू आफ्नै मनमाना पारामा सम्पन्न गर्ने परम्परागत शूद्रमाता-पिताबाट जन्मेको सन्तान जन्मनाशूद्र हो भने ब्राह्मण,क्षत्रिय र वैश्य मातापिताबाट जन्मे पनि आ-आफ्ना कुलाचार त्याग्ने व्यक्ति कर्मणाशूद्र हो । पूर्वोक्त वेद (मन्त्रभाग+ब्राह्मणभाग) वेदांग (शिक्षा, कल्प,व्याकरण,निरुक्त,छन्दर ज्योतिष) सूत्रहरू र ब्रह्मसूत्र ,जैमिनीयधर्मसूत्र मनुस्मृति, याज्ञवल्क्यस्मृति आदिमा सबै वर्णहरूका पृथक् संस्कारहरूको वर्णन गरिएको छ । वर्ण अनुसारको कार्य विभाजनलाई निम्नलिखित तालिकामा देखाइएको छ-

तालिका- वर्ण अनुसारको कार्य विभाजन

वर्ण कार्य विभाजन
ब्राह्मण समाजहितमा निरन्तर लाग्ने,वेदाध्ययन र अनुसन्धानमा रम्ने वर्ण
क्षत्रिय समाजको रक्षाका लागि हतियार चलाउन र यस कामका लागि जीवन त्याग गर्न पनि तयार हुने वर्ण
वैश्य देशको आर्थिक उन्नतिका लागि कृषि,पशुपालन र वाणिज्य व्यवसायमा लाग्ने वर्ण
शूद्र विभिन्न सिपसम्पन्न भई सबै वर्णको र समाजको सेवा गरी जीविका चलाउने वर्ण

सामान्य नियम[सम्पादन गर्ने]

विभिन्न वर्णले पालना गर्नु पर्ने अलग–अलग नियमहरू बताइएको भए तापनि केही नियमहरू सबैले समानरुपले पालना गर्नु पर्ने व्यवस्था थियो । धर्मशास्त्रहरूमा सबैले बराबर पालन गर्नु पर्ने यी नौ वटा नियमहरू स्पष्ट गरिएको छ– कसै प्रति क्रोध भाव नराख्नु, कसै प्रति विश्वासघात नगर्नु, बाह्य–आन्तरिक पवित्रता राख्नु, सरल भाव राख्नु, आफ्नो पत्नीको गर्भबाट सन्तान उत्पन्न गर्नु, कसैसग घात नगर्नु, धनको उपभोग गर्दा बाँडफाड गरी उपभोग गर्नु, क्षमा भाव राख्नु र भरण पोषण योग्य व्यक्तिहरूको पालन गर्नु । यसमा दशौ कर्म पनि थपिएको छ तर त्यो केवल विद्वान र मुमुक्षुहरूका लागि अनिवार्य छ, त्यो हो निरन्तर अध्ययन अनुसन्धानमा लागिरहनु ।

अक्रोधः सत्यवचनं संविभागः क्षमा तथा ।
प्रजनःस्वेषु दारेषु, शौचमद्रोह एव च ।।
आर्जवं भृत्यभरणं नवैते सार्ववर्णिकाः ।
ब्राह्मणस्य तु यो धर्मस्तं ते वक्त्राणि केवलम् ।।
दममेव महाराज धर्ममहाहुः पुरातनम् ।
स्वाध्यायाभ्यसनं चैव तत्र कर्म समाप्यते ।। [७] यी सामान्य कर्तव्यहरूलाई बाइबिलमा टेन् कमान्डमेन्ट्स[८]भनिएको छ । यसको अर्थ के भने सामान्य मानवधर्म सबभन्दा महत्त्वपूर्ण कर्तव्य हो र त्यस पछि मात्र वर्णानुसारको कर्तव्य पर्दछ ।[९]महाभारतमा र मन्वादि स्मृतिहरूमा -
धृतिःक्षमा शमोsस्तेयःशौचमिन्द्रियनिग्रहः ।
धीर्विद्या सत्यमक्रोधः दशकं धर्मलक्षणम् ॥

धैर्य,क्षमा,मननिरोध,चोरीको अभाव, ईन्द्रियनिरोध,विवेक बुद्धि,शरीरविज्ञान र आत्मविज्ञान, सत्यवचन, रीसको अभाव यी १०यस सामान्य नियमलाई धर्मको लक्षण भनिएको छ ।

वर्ण विभाजन र श्रम विभाजन[सम्पादन गर्ने]

वर्ण विभाजनको आधारलाई अर्थशास्त्रमा सरल श्रम विभाजन भनिन्छ । जुन मानिस जुन काममा निरन्तर लागि परेको हुन्छ अर्थशास्त्रमा त्यसलाई पेशागत श्रम विभाजन भनिन्छ । श्रम विभाजन त्यो आर्थिक प्रक्रिया हो जसको उत्पादनमा महत्त्वपूर्ण भूमिका हुन्छ । एक जनाले सबै प्रकारका काम गर्नु भन्दा अलग अलग व्यक्तिले अलग अलग काम गर्दा उत्पादनमा कुशलता उत्पन्न हुन गई उत्पादक, उपभोक्ता, र समाजलाई विभिन्न लाभहरु प्राप्त हुन्छन् भनेर एडम स्मिथले आफ्नो पुस्तक वेल्थ अफ् नेशन्समा सविस्तार उल्लेख गरेका छन् । आचार्य शुक्रले भनेका छन्– जन्मको आधारमा कोही ब्राह्मण वा शूद्र हदैन, ऊ आफ्नोे कर्मको कारणले ब्राह्मण वा शूद्र हुन्छ । तर आफूलाई निर्धारण गरिएको वर्णाश्रम अनुसार काम नगर्ने राजाद्वारा दण्डनीय हुन्छ ।[१०]त्यस बेला विभिन्न वर्णका मानिसहरूलाई एक अर्काको कार्य गर्न प्रतिबन्ध भने थिएन । उदाहरणका लागि सेनाको कार्य मुख्यतः क्षत्रियहरूका लागि मात्र निर्धारण गरिएको भए तापनि कौटिलीय अर्थशास्त्रमा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रका सैन्य टुकडीहरूको उल्लेख गरिएको छ ।[११]

उपसंहार[सम्पादन गर्ने]

वर्णाश्रम व्यवस्थामा त्यागमय भोग र आध्यात्मिक सांसारिकताको अनौठो संयोग पाइन्छ । धर्म,अर्थ,काम र मोक्ष गरी चार पुरुषार्थको प्राप्तिका लागि यस चातुर्वर्ण्य व्यवस्थालाई आवश्यक ठानिएको छ । वर्णाश्रमको स्थापना अन्तिम लक्ष्य भने होइन । यसको उद्देश्य व्यक्ति र समाजले पुरुषार्थ प्राप्त गरोस् भन्ने नै हो । पुरुषार्थ त्यो मानवीय क्रियाकलापबाट उत्पन्न वस्तु हो जबसबाट व्यक्ति र समाजको जीवन सुखमय बन्दछ भने जीवनका अन्त्यमा स्वर्गसुख र मोक्षसुखले सम्पन्न हुन जान्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. शर्मा, जनकलाल (वि.सं.२०३९). हाम्रो समाज,. काठमाडौ“: साझा प्रकाशन. प॰ ५९. 
  2. खप्तड स्वामी (वि.सं.२०५१). धर्मविज्ञान, सार संक्षेप संपादक चूडानाथ भट्टराय,. काठमाडौं: बबी शाह. प॰ ६९–७०. 
  3. ऋग्वेद., पुरुषसूक्त १०.९०.१२
  4. श्रीमद्भगगवद्गीता ४.१३
  5. लिंगपुराण पूर्वार्ध– ५२.२९–३०, डा. टीकाराम पन्थी, सांस्कृतिक संवीक्षण, (रुपन्देही विश्व हिन्दु महासंघ, रुपन्देही, वि.सं.२०६५), पृ. ११२ ।
  6. श्रीमद्भगवद्गीता, १८.४१–४५
  7. महाभारत, ६०.७–९।
  8. https://en.wikipedia.org/wiki/Ten_Commandments
  9. ज्ञवाली, बाबु राम (२०१२). कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र. रुपन्देही नेपाल: ज्ञानज्योति प्रकाशन. प॰ ७५–७७. . 
  10. उमेशपुरी ज्ञानेश्वर (२०००). शुक्रनीति. हरिद्वार: रणधीर प्रकाशन. प॰ ४.४.३. 
  11. अर्याल,, केशवराज, अनु., सं.पं.सोमनाथ शर्मा (वि.सं.२०२४). कौटिल्यको अर्थशास्त्र. काठमाडौ: नेराप्रप्र. प॰ ९.१.१३६. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]