टिमुर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

टिमुर नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ।

बैज्ञानिक नाम ( ल्याटिन नाम) : जान्थोजाइलम अर्मेटम (Zanthoxylum armatum DC)

संस्कृत नाम : तुम्वरु, तीक्ष्णफल , तीक्ष्ण पत्र र तीक्ष्णवल्क

अन्य नाम : तामाङ्गमा “प्रुमो” , नेवारीमा “टेबू”

जापानी नामः किनोमे(kinome)

वनस्पति परिवार : रुटेसी (Rutaceae)

टिमुर
सुकाईएको टिमुर
हरियो टिमुर

परिचय[सम्पादन गर्ने]

यो काँढै काँढा भएको बोट नेपालको महाभारत पर्वत श्रृंखलाको १२०० देखि २,५०० मि. सम्मको उचाईका खुला पाखोमा पाइन्छ।

अण्डवृत्त आकार भएका स–साना २ देखि ६ जोडीसम्म ( टुप्पोको पालबाहेक ) पातहरू एउटै डाँठमा दुवैतिर पल्हाएका हुन्छन्। पातहरूमा टुप्पा तिखा हुन्छन्। यसको बोटमा हरिया र केही पहेंला स–साना फूलहरू हुन्छन्। प्राय ःएक विरुवामा भाले तथा पोथी दुवै फुल पाईदैन। झुप्पाका फूलहरू फूलको मुख्य हाँगा छोडी अर्को हाँगामा निस्केका हुन्छन्।

यसका फलहरू स–साना , राता , ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन्। फलको स्वाद तीतो , पिरो र जिब्रो पर्पराउने हुन्छ। यी फलहरूबाट वासना पनि आउँदछ। बीउ गोलो र सानो हुन्छ।

खेती[सम्पादन गर्ने]

टिमुरको विरुवा बीउबाट उमारिन्छ। बोट ठूलो नै हुने भएकाले करीब १ देखि ३ मिटरको दुरीमा ठाउँ अनुसार लाइन मिलाएर ३० सेन्टिमिटरको खाल्डोमा गाई वस्तुको मल हाली यसलाई रोपिन्छ।

संकलन[सम्पादन गर्ने]

यसको गेडा अर्थात् फलहरू पाक्ने समयभन्दा केही अघि नै बोटबाट संकलन गरिन्छ।

सुकाउने र संरक्षण[सम्पादन गर्ने]

संकलन गरिएका गेडाहरूलाई राम्ररी सुकाई बोरामा कसेर ओवानो गोदाममा राखिन्छ।

उपयोगिता[सम्पादन गर्ने]

आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने , दाँत दुखेको निको गर्ने , तागत दिने , जरो निको गर्ने , अजिर्ण र हैजा इत्यादि रोगहरूमा प्रयोग गरिन्छ। यो माछाको विषमा पनि प्रयोग गरिन्छ।