भृङ्गीराज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भृङ्गीराज
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Asterales
कुल: Asteraceae
वंश: Eclipta
प्रजाति: E. alba
द्विपद नाम
Eclipta alba
(L.) Hassk.
पर्याय

Eclipta erecta
Eclipta prostrata
Verbesina alba
Verbesina prostrata

भृङ्गीराज अथवा भुइँझार अथमा भूमिराज औषधीय गुण भएको फूल फुल्ने वनस्पति हो । वैज्ञानिक नाम इलिप्टा अल्बा (Eclipta alba) अथवा इलिप्टा प्रोस्टाटा (Eclipta prostrata) भएको यो वनस्पतिलाई अङ्ग्रेजीमा फल्स डेजी (False Daisy) डेजी विड (Daisy weed) आदि नामले चिनिन्छ भने नेपालीमा अन्तलि, भुई झार, भंग्रेली, भृङ्गराज आदि नामले चिनिन्छ। Asteraceae वा Compositae परिवारमा पर्ने यस वनस्पतिमा भएको औषधीय गुणले गर्दा यसलाई अत्यन्तै उपयोगि जडीबुटिकोरूपमा विश्वभर प्रयोग गरिन्छ। साधारणतया भृङ्गीराज संसारभर ओशिलो ठाँउमा उम्रने गर्दछ। मुख्यगरी भारत, चीन, थाइल्याण्डब्राजिलमा प्रसस्त मात्रामा पाइने यो वनस्पति नेपालमा पनि पाइन्छ। आयुर्वेदमा भृङ्गीराजको पातलाई अत्यन्तै शक्तिशालि टनिककोरूपमा प्रयोग गरेको पाइन्छ भने यसबाट निकलिएको सारतत्व (extract) शक्तिवर्धक र कपालको औषधीको रूपमा प्रयोग हुन्छ। त्यस्तै भृङ्गीराजबाट निकालिएको कालो रंग कपाल रंगाउन तथा टाटु बनाउन प्रयोग गरिन्छ। परम्परागत रूपमा यसलाई खुट्टामा हिलोले खाएको (athlete foot), दाद, लुतो जस्ता विभिन्न चर्मरोगहरूमा प्रयोग गरिदै आएको पाइन्छ। चीन तथा ब्राजिलमा यसलाई सर्पले टोकेको बेलामा विषनाशक औषधिको रूपमा पनि प्रयोग गरिन्छ। त्यतिमात्र नभएर यसको नियमित प्रयोगले कपालको वृद्धि, झर्ने समस्याको समाधान तथा कालोपना कायम रहने विश्वास गरिन्छ।

भृङ्गीराजका स्थानीय नामहरू[सम्पादन गर्ने]

अन्तलि, भिमराज, भुई झार, भंग्रेली, भाँगटा, भँगेरी झार, भृङ्गराज, मार्कव, केशरन्जन तामिल भाषामा यसलाई करिसलङ्कानी भनिन्छ।

यो सयपत्री फूलको परिवारमा पर्ने एक किसिमको पोथ्रा (Herb) हो। ३० सेन्टिमिटर जति अग्लो हुने यो झार जमीन माथि फैलिएर हुर्केको पाइन्छ। सेतो झुसयुक्त फिका कलेजी रंगको काण्ड तथा थुप्रै हाँगाबिगाहरू आएका हुन्छन्। करिब १ देखि ५ सेन्टिमिटर लामो र ३ मिलिमिटर देखि १ सेन्टिमिटर चौडा भेट्नु (Petiole) नभएका दुबै छेउमा चुच्चो परेको लाम्चो पात हुन्छ। पातको दुबै तर्फ बाक्लै मसिना झुसहरू (Strigose) आएका हुन्छन् यी पातहरू डाँठमा एक अर्काको आमुन्ने सामुन्ने (Opposite) रहेका हुन्छन्। बाटुलो (Disc) आकारको फूलको माथिल्लो भाग चौडा हुन्छ। एउटा काण्डमा साधारणतया एउटा र कहिलेकाहीं दुईवटा फूलहरू हुन्छन्। साधारणतया फूलको रंग सेतो हुन्छ तर पहेंलो फुल्ने भृङ्गीराज पनि पाइन्छ। ४ वटा दाँते किनारा भएका पुष्पदल (Corolla) हुन्छ्न्। भृङ्गीराजको जरा पूर्ण विकशित, बेलनाकार र खैरो रंगको हुन्छ।

खेती गर्ने तरिका[सम्पादन गर्ने]

भृङ्गीराज खासै खेती गर्ने चलन नरहेको हुँदा जङ्गली अबस्थामा उपलब्ध भृङ्गीराज नै आयुर्वेदिक औषधी निर्माता कम्पनीहरूको प्रमुख श्रोतको रूपमा रही आएको छ। नेपालमा गोरखा जिल्लाका केही किसानहरूले बिसं २०४७\४८ देखि यस प्रजातिको खेतीको शुरुवात गरेको भएतापनि खेतीमा भने ब्यापकता आउन सकेको छैन। २ देखि ३ सेन्टिमिटर बाक्लो जङ्गलको मलिलो माटोको तह राखी बनाईएको नर्सरीको बीउ ब्याडमा चैत्रबैशाखमा भृङ्गीराजको बीउ छरिसक्नु पर्दछ। बेर्ना ३ देखि ४ सेन्टिमिटर अग्ला भएपछि खनजोत गरी खेती गर्न तयार पारिएको जग्गामा सिंचाई गरिसकेपछि बेर्नाहरू सार्नु पर्दछ। यसरी सार्दा एक बेर्ना देखि अर्को बेर्ना र एक हार देखि अर्को हार बीचको दूरी १० देखि २० सेन्टिमिटर राख्न उपयुक्त हुन्छ। राम्रो उत्पादन लिनको लागि निरन्तर चिस्यान एवं प्रकाश कायम राख्नु पर्दछ।

आयुर्वेदिक तथा परम्परागत प्रयोग[सम्पादन गर्ने]

कपालको लागि हितकर हुन्छ। शोथ (Oedema/Anasarca), चर्मरोग दम खोकी काटेको घाउ ज्वरो कमलपित्त रक्तअल्पता पिसाब सम्वन्धी समस्या कलेजो र फियो (Spleen) बढेको घाउको दुखेको उच्च रक्तचाप कुखत परेको आदिको उपचार गर्न प्रयोग गरिन्छ। यसका कलिला मुन्टाहरू तरकारीको रूपमा पनि खाईन्छ। काटिएको घाउमा पात र डाँठको स्वरस (Fresh juice) लगाएमा घाउ पाक्दैन छिटो निको हुन्छ तथा धनुष्टंकार रोगबाट पूर्णरूपमा बचाउन सक्छ भन्ने विस्वास गरिन्छ। गाईबस्तुको घाउ निको पार्न जरा पिंधेर बनाईएको लेदो (Paste) लगाईन्छ। बिच्छि बारुला कमिला र माकुराले टोककेको ठाँउमा पातको रस लगाईन्छ। रुघा खोकीले बच्चाको खासगरी नाक र घाटीमा असर गरेको अवस्थामा पातको स्वरस मह सँग मिसाएर ख्वाइन्छ। यसको जराले बान्ता (Emetic) गराउँछ कब्जियत हटाउँछ र अल्सर (Ulcer)मा जराको लेदो लगाउँदा (Antiseptic)को काम गर्दछ।

बाली संकलन[सम्पादन गर्ने]

भृङ्गीराज प्रायजसो गरम हावापानी भएको ठाँउमा पाइन्छ। कूलोको डिल खोला किनार चिस्यानयुक्त जमीन धाप दलदले जमीन र सिंचित खेतबारीमा पाइन्छ। बर्षातको समयमा मकै तथा धानबाली संगै उम्रेको पनि पाइन्छ। यस प्रजातिको राम्रो बृद्धि विकासको लागि खुल्ला प्रकाशको आवश्यक्ता पर्दछ। साधारणतया जेष्ठ देखि कार्तिक सम्ममा भृङ्गीराजको बाली संकलन गर्नु पर्दछ तर हावापानी र भौगोलिक अवस्था अनुकूल रहेको स्थानमा बर्ष भरी नै पनि बाली गर्न सकिन्छ। बेर्ना सारेको सामान्यतया २ देखि ३ महिना पछि बाली संकलन योग्य हुन्छ। फलहरू राम्रो सँग पाकेर कालो रंगको देखिन थालेपछि बाली संकलन योग्य भएको भनी थाहा पाउनु पर्दछ। सम्पूर्ण बोट नै उखेलेर बाली संकलन गरिन्छ। बोट उखेल्दा पाकेका बीउहरू त्यही नै झारेर छोड्नु पर्दछ जसले गर्दा भृङ्गीराजको प्राकृतिक पुनरुत्पादनमा दिगोपना कायमै रहन मदत पुग्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]