विष

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्राणी हरूको लागि घातक रसायन विष(विरुवा) यो विरुवा नेपालको हिमाली भेकमा ६०० – ३००० मिटरको उचाईमा खुल्ला ढुङ्गा भएको ठाउँमा पाइन्छ। यो विरुवा १.५ मिटरसम्म अग्लो हुन्छ। यस विरुवाको पातको आकार गोलाकार , मृगौलाकार , अण्डाकार भए पनि पातको किनारा विभिन्न प्रकारले च्यातिएको र छिया छिया परेको हुन्छ। फूल फुल्ने बेलामा सबभन्दा तल्लो ५ देखि ८ पातहरू झरि सकेका हुन्छन्। विचको र माथिल्लो पातहरू झ्याम्म परेका हुन्छन्। पातको भेट्नो लामो हुन्छ। विरुवाको माथिल्लो भागमा धेरै फूलहरू झुप्पा फूलेका हुन्छन्। यसो हेर्दा यो विरुवा A ferox जस्तै देखिने भएता पनि यसका फूलहरू धेरै संख्यामा गुचुमुचु परेर डाँठको टुप्पामा खाँदिएको हुन्छ। A ferox का फूलहरू थोरै संख्यामा हुन्छन्। फूलको आकृति हेर्दा लामाहरूले अथवा पादरीहरूले धर्म गर्दा लगाउने टोपीको आकार सँग मिल्दो जुल्दो हुनाले अङ्ग्रेजीमा मंकस हुडार( Monks hood) भन्ने चलन छ। विरुवाको माथिल्लो भागको पातको काखीबाट फूलहरू पलाएको हुन्छ र विरुवाको माथिल्लो टुप्पामा १० देखि १२ वटा फूलहरू खुकुलो झुप्पामा मिलेका हुन्छन्।

यो विरुवाको जडीबुटीमा प्रयोग हुने भाग हो। गानोहरू दुईवटा जोल्टीएका हुन्छन्। यसको आकार सानो गाजरको जस्तो हुन्छ। यसको गानो १० देखि २० सेन्टिमिटरसम्म लामो र १.५ देखि ३ सेन्टिमिटरसम्म चौडा हुन्छ। यसको रङ्ग गाढा खैरो अथवा कालो हुन्छ र गानोबाट जराहरू निस्किएका हुन्छन्।

आयुर्वेदिक पद्धति अनुसार विषलाई गाईको मुत्र अथवा दुधमा शोधन गरी सकेपछि प्रयोग गरिन्छ। योबाट कफ , घाँटी दुखेको , ज्वरो , पित्त , फोक्सो र आन्द्राको रोगमा प्रयोग गरिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=विष&oldid=973789" बाट अनुप्रेषित