नागबेली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नागबेली
संरक्षण स्थिति

Secure (NatureServe)
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Lycopodiophyta
वर्ग: Lycopodiopsida
गण: Lycopodiales
कुल: Lycopodiaceae
वंश: Lycopodium
प्रजाति: L. clavatum
द्विपद नाम
Lycopodium clavatum
L.

नागबेली नेपालमा पाइने एक किसिमको लहरा हो। यो निकै आकर्षक रूपको हुन्छ त्यसैले यसलाई स्वागत द्वार निर्माण गर्न र सजावटको लागि प्रयोग गरिन्छ। वनस्पति जगतको लाइकोपोडियसी(Lycopodiaceae) परिवार अन्तर्गत पर्ने यस वनस्पतिको वैज्ञानिक नाम लाइकोपोडियम क्लाभाटम (Lycopodium clavatum Linn) हो। नागबेली विरुवा नेपाल अधिराज्यका समुद्री सतहबाट १,८०० मी. देखि ३,६०० मी. उचाईका स्थानहरूमा पाइन्छ। यो एक लहरे झार हो। खुल्ला चौर वा मैदानमा फैलिएर रहेको हुन्छ। यसलाई बेली लहरो पनि भन्दछन्। यो लहरो विरुवा वनस्पति जगतको फूल नफुल्ने जातमा वर्गीकरण गरिएको छ। पात सानो र २ देखि १० मि. मि. लामो हुन्छ। पातहरू घुमाउरो प्रकारले मिलेर डाँठ र हाँगाहरूलाई झ्याम्मै ढाकेका हुन्छन्। जमीनमा फैलिएर रहेको डाँठबाट ५ देखि १० से.मी. लामो र ठाडो हाँगा निस्केका हुन्छन्। हरेक हाँगामा बीजाणु फल्ने ३ देखि ५ कोसा सम्म फल्दछ। कोसा छिप्पिए पछि यसभित्र रहेका नौनी रंगको मसिनो धुलो निस्कन्छ। यही धुलोलाई नागबेलीको धुलो भनिन्छ। यो धुलो चिप्लो , स्वाद र गन्धविहिन हुन्छ। हातले छुंदा टासिन्छ। यो चिसो पानीमा उत्रन्छ र आगोमा हाल्दा उज्यालो ज्वाला सहित झिलिक्क बल्दछ। यसलाई सुक्ष्मदर्शक यन्त्रले हेर्दा यसमा असंख्य अति साना बीजाणुहरू देखिन्छन्। बीजाणु २४ देखि ४० मिलिमाइक्रोन व्यासको हुन्छ। प्रत्येक बीजाणु स्तुपाकार , कोप्रो फेद भएको र बाहिरी भाग पाँच कुने आवरणले ढाकेको हुन्छ। विजाणु फोरेमा पहेंलो रंगको तेल निस्कन्छ। एक ग्राम तौलमा ९४,००० बीजाणुहरू हुन्छन्। जेष्ठदेखि श्रावणसम्ममा नागबेलीको कोसा लाग्न शुरु गर्दछ र माघ फाल्गुन तिर संकलन गरिन्छ। संकलन गरिएको कोसालाई घाममा सुकाइन्छ। राम्ररी सुकिसकेपछि जतनसँग कोसाबाट धुलो झारिन्छ। पात , डाँठ र हाँगाहरूको टुक्रा टुक्रा चाल्नीले छानेर अलग्याईन्छ। नागबेलीको धुलोलाई प्लाष्टिकको व्यागमा हाली राम्ररी मुख बन्द गरेर आगोबाट टाढा राख्नुपर्छ।

उपयोगिता[सम्पादन गर्ने]

आयुर्वेदिक पद्धतिअनुसार नागबेलीको झार मृगौला र फोक्सोको रोगहरूमा प्रयोग गरिन्छ। अजीर्ण लगायत पेट सम्बन्धि साधारण रोग, रक्त विकार र सन्निपातमा पनि यसको उपयोग गरिन्छ। यसको धुलोलाई खासगरि आतिसबाजी र पटाकाहरू बनाउनमा पनि प्रयोग गरिन्छ। यसलाई मृगौला र फोक्सोको रोगहरूमा पनि प्रयोग गर्न सकिन्छ। यसको अलावा नेपालको ईलाम, ताप्लेजुङ, भोजपुर, तेह्रथुम, धनकुटा लगायतका पूर्वी पहाडी जिल्लाहरूमा नागबेली लहरा प्रयोगगरी स्वागतद्वार समेत बनाई आकर्षक सजावटको सामग्रीको रूपमा पनि यसको प्रयोग गरेको पाइन्छ।

खेती[सम्पादन गर्ने]

नागबेली खेती गर्नको लागि शीतोष्ण (Temperate) जलवायुको आवश्यकता पर्दछ। बीजाणु (Spore) बाट यसको विरुवा उत्पादन गर्न सकिन्छ। यस्त बीजाणुहरू माघ\फाल्गुण महिनामा संकलन गरिसक्नु पर्नेहुन्छ। यदि उक्त अवधि भित्र संकलन नगरेमा कोसा फुटी हावाले बीजाणुहरू (Spore) उडाएर लगि दिनाले बीउ संकलन गर्न कठिन पर्दछ। बीजाणुहरू अतिसानो भएकोले ट्रे वा नर्सरी बेडमा बालुवा वा खरानी मिलाई यसको दल राख्नुपर्ने हुन्छ। यस विरुवाको विकास क्रम अन्य विरुवाहरूको भन्दा केही फरक किसिमको हुन्छ। अङ्कुरण (Germination) पछि बिरुवाले १ देखि ३ सेमी लामो गाँजरको जस्तो आकार लिन्छ र यसमा भाले र पोथी दुवै विकास हुन्छ। भाले र पोथी प्रजनन अन्ग संसर्ग (Fertilization)पश्चात भ्रुण (Embryo) उत्पत्ती हुन्छ। यही भ्रुण विस्तारै विरुवामा परिणत हुन्छ। यसरी तयार भईसकेको विरुवा मलजल गरी तयार गरीएको स्थानमा सावधानिपूर्वक सार्नुपर्दछ। विरुवा परिपक्क हुन ६ देखि १५ वर्ष लाग्दछ र धेरै वर्ष सम्म बाँच्दछ। नागबेलीको बिरुवा वयस्क भएपछि काण्ड र हाँगाको कक्षबाट कोपिला फुल्दछ जुन भुईमा मुरेर अङ्कुरण भई नयाँ, विरुवा तयारहुने क्रम जारि रहन्छ। यसको अलवा विरुवा तयार गर्न आवश्यक अन्य नर्सरी प्राविधिहरू कार्यपात्रोको आधारमा होशियारि पूर्वक अवलम्वन गर्न अत्यावश्यक छ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  • पराजुली, केशब, नागबेलीः चिनारी महत्व एवं खेती प्रविधी
  • Edwards D. M. (१९९६), Non- timber Forest Products Form Nepal, FORESE Monograph no.१/९६, Forest Research and Survey Centre, Kathmandu.
  • Gyawali A.R, K Paraluli and A. Bhandari (२००२), Study on Potential of Non timber Forest Products in Community Forest of Bhojpur District, District Forest Office, Bhojpur .