सामग्रीमा जानुहोस्

हाब्रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रेड पाण्डाबाट अनुप्रेषित)

हाब्रे
सामयिक शृङ्खला: Pleistocene–Present
सीआईटिईएस परिशिष्ट प्रथम (सीआईटिईएस)[]
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: मांसाहारी
परिवार: Ailuridae
वंश: Red panda
F. Cuvier, 1825
प्रजाति:
A. fulgens
वैज्ञानिक नाम
Ailurus fulgens
F. Cuvier, 1825
Subspecies

A. f. fulgens F. Cuvier, 1825
A. f. styani Thomas, 1902[]

Map showing the range of the red panda, a narrow band along the Himalayas and southwest China, in red
हाब्रेको दायरा

हाब्रे अर्थात् रातो पाण्डाको वैज्ञानिक नाम ऐलुरस फुल्जेन्स(Ailurus fulgens ) हो । खासगरी उच्च हिमाली तथा पहाडी भागमा पाइने यो प्राणी अति नै सुन्दर उभयभक्षी प्राणी हो । विशेषगरी बाँसका पात र तामा खाने यो स्तनधारी जीवलाई चम्किलो बिरालो (साइनिङ क्याट)को नामले पनि चिनिन्छ किनकि शारीरिकरूपमा यो घरेलु बिरालो जस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ । रातो पाण्डा नेपाल, चिन, वर्मा, भुटान लगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको छ। हाल विश्वभरिमा जम्माजम्मी केवल २५०० रातो पाण्डा रहेको अनुमान गरिन्छ ।


रातो पाण्डा दसदेखि २५ डिग्री सेल्सियस तापक्रम भएको र वाषिर्करूपमा कमै मात्र तापक्रम घटबढ हुने १८०० देखि ४८०० मिटर उचाइका क्षेत्रहरूमा पाइने गर्छ । यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रहरूमा पाइने गरिएको छ । हाब्रेको शरीर करिब एक मिटरसम्म लामो हुन्छ । यसको पुच्छर धेरै लामो हुन्छ जसको लम्बाई ६० सेन्टिमिटरसम्म पनि पुग्ने गर्छ । भाले हाब्रे पोथीभन्दा केही ठूलो हुन्छ, भालेको तौल ६ किलोसम्म हुन्छ भने पोथीको तौल साढे चार किलोसम्म हुन्छ । यसको शरीरको माथिल्लो भागमा रातो खैरो रङ लामा रौहरूले ढाकेको हुन्छ भने शरीरको तल्लो भुँडीपट्टीको भागमा काला रौले ढाकिएको हुन्छ । अनुहारमा भने सेतो रङको हुन्छ आँखाको छेउछाउमा आँसुले भिजेको जस्तो कालो रौ रहेका हुन्छन् । पुच्छर लामो, झ्याङ्गिएको हुन्छ, जसमा पहेँलो, रातो रङका छवटा ब्याण्डहरू हुन्छन् । यसको पाइतालामा समेत बाक्ला रौहरू हुन्छन् जसले हिउँ जमेको स्थानमा समेत चिसोबाट बचाउने गर्छ र यसका शिकारी जीवका जस्ता लामा नङ्ग्रा हुन्छन् ।

रातो पाण्डाको स्थानिय नामहरु

[सम्पादन गर्नुहोस्]

हाब्रेलाई नेपालमा पुन्डे कुन्दो, होबराक्पा नामले पनि चिनिन्छ[]। यसैगरि शेर्पा समुदायमा हाब्रेलाई "वाँ दोन्काँ " भनेर पनि चिनिन्छ[]तामाङ भाषामा हाब्रेलाई तवाम वा तावाम भनिन्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्रतिर बसोबास गर्ने लिम्बु समुदायले यसलाई काला वा काले भनेर चिनिन्छ। यसैगरि अङ्ग्रेजी भाषामा "Panda(पाण्डा)" शब्दको उत्पत्ती इलाम तिर लोकप्रयोगात्मक नाम पुन्डे कुन्दोबाट आएको हुनसक्ने अनुमान छ[]

रातो पाण्डाको बानी व्यहोरा

[सम्पादन गर्नुहोस्]
हाब्रे

रातो पाण्डा धेरै सिपालु जीव हो र यो प्रायः रूखमै चढेर बस्ने गर्छ । एक रूखबाट अर्कोमा उफ्रने र शत्रुबाट बच्नको लागि यो छिटो दौडन सक्छ । हाब्रेका मुख्य सत्रु भनेकै मानिस र हिउँ चितुवालाई लिने गरिन्छ । हाब्रेहरू खासगरी आफ्नो निश्चित आधार क्षेत्रमा समूहमा बस्ने गर्छन् तर कहिलेकाहीँ एक्लै, कहिलेकाहीँ जोडी बनाएर र कहिलेकाहीँ परिवारमा समेत बस्ने गर्छन् । खासगरी यो जीव राति खाना खोज्न निस्कने गर्छ । यसले प्रायः निगालो, बाँस खाने भएकाले हाब्रे सामान्यतया शाकाहारी हो कि भन्ने पर्न सक्छ तर होइन यसले कहिलेकाहीँ शिकार पनि गर्ने गर्छ । यसले चराचुरुङ्गीका बच्चा तथा फुल र कीरा फट्याङ्ग्रासमेत खाने गर्छ । महìवपूर्ण कुरा त के छ भने यसले एकपटकमा आफ्नो शरीरको तौलको ४० प्रतिशत तौलसम्मको बाँसको पात खान सक्छ । यसले एकदिनमा करिब दुई लाख बाँसका पात खान सक्छ । यसले विशेष गरी मुख्य खानाको रूपमा लिने बाँसका पातहरू धेरै पौष्टिक नहुने र हाब्रेले पूर्णतया पचाउन पनि नसक्ने भएकाले यसको शरीरमा बढी श्रम गर्न आवश्यक शक्तिको अभाव रहन्छ त्यसैले यो जीव दिउँसोभरि रूखमा चढेर सुत्ने गर्छ त्यसैले यसलाई अल्छी जीव पनि भन्ने गरिन्छ । हाब्रे कस्तुरीको जस्तो गन्ध निकाल्ने गर्छ जसबाट उसले आˆना साथीहरू र आफ्नो आधार क्षेत्रको पहिचान र रक्षा गर्ने गर्छ ।

रातो पाण्डाले वर्षमा एकचोटि मात्रै बच्चा जन्माउने गर्छ । खासगरी डिसेम्बरदेखि मध्ये फेब्रुअरी महिना नै हाब्रेले बच्चा जन्माउने मुख्य समय हो । करिब डेढ सय दिनको गर्भावस्थापछि पोथीले एकदेखि चारवटासम्म बच्चा जन्माउने गर्छ । जुन शिशु अन्धो हुन्छ र आँखा पूर्णत विकाश भइसकेका हुँदैनन् । बच्चा जन्माउनुभन्दा केही दिन अघि हाब्रेले सुकेको घाँस, काठलगायतका वस्तु जम्मा गरेर रूखको प्वालमा गुँड बनाउने गर्छ । करिब एक महिनापछि मात्रै शिशु हाब्रेका आँखा पूर्णतः विकशित हुन्छन् । करिब बाह्र हप्ताको गुँड बसाइँपछि बच्चा हाब्रे बाहिर निस्किन्छ र आमासँगै हिँड्न थाल्छ । बच्चाले आठ महिनासम्म आमाको दूध खाने गर्छ । करिब १८ महिनापछि बच्चा हाब्रे प्रजननका लागि सक्षम बन्छ । हाब्रेको औषत आयु आठ देखि दस वर्षसम्म रहने गर्छ ।

हाब्रेको वर्तमान अवस्था

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आईयुसीएनले रातो पाण्डालाई सन् १९९६ देखि सङ्कटापन्न जीवको सूचीमा राखेको छ । विभिन्न्न कारणहरूले गर्दा हाब्रेको सङ्ख्या दिनानुदिन घटिरहेको छ । यसको प्राकृतिक वासस्थानको निरन्तरको विनाश, निगालो र बाँसजन्य जङ्गलको अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरी-शिकारी, डढेलोलगायतका कारणहरू हाब्रेको लागि चुनौती बनिरहेका छन् । तीव्ररूपमा भइरहेको वनजङ्गलको विनाश र अवैध चोरी-शिकारीको कारणले गर्दा हाब्रे सङ्कटमा परिरहेको छ । हाब्रेको शिकार निषेधित भए पनि तस्करहरूले यसको लुकिछिपी शिकार गर्ने गर्छन् । हाब्रेको रौ र यसको रोमाञ्चक पुच्छर धेरै महìवपूर्ण र मूल्यवान् मानिन्छ । यसको पुच्छरबाट बनेको टोपी सौभाग्यको प्रतीक मान्ने संस्कार रहेको छ र त्यसलाई विवाह समारोहमा उपहार दिने चलन चिन तथा नेपालको उत्तरी भेगहरूमा रहेको छ । पछिल्लो ५० वर्षमा चिनमा रातो पाण्डाको सङ्ख्या ४० प्रतिशतले घटेको एक अध्ययनले देखाएको छ । अझ नेपालको हिमालय क्षेत्रमा पाइने रातो पाण्डाको अवस्था भने झनै चिन्ताजनक रहेको सो अध्ययनले बताएको छ । नेपालमा हाब्रेको निश्चित सङ्ख्या अझैसम्म पत्ता नलागे पनि केही समयसम्म हाब्रे रहेको बताइएको छ । नेपालको लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा हाब्रे पाइएका छन् । नेपालको राष्ट्रिय कानुनले पनि हाब्रेलाई संरक्षित जीवको रूपमा सूचीकृत गरेको छ ।

नेपालमा हाब्रेको स्थिती

[सम्पादन गर्नुहोस्]

नेपाल सरकारको पछिल्लो सर्वेक्षणले सुन्दर वन्यजन्तु हाब्रे (रेडपाण्डा) २३ जिल्लामा पाइने यकिन भएको छ । रेडपाण्डा नेटवर्कले ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा हाब्रेको बढी बासस्थान रहेकोसमेत पहिचान गरेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलोखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगुकालिकोटमा हाब्रेको उपस्थिती रहेको देखिएको छ । पहिने डोल्पा, लमजुङ र भोजपुरमा नदेखिएको ठाउँमा पनि हाब्रे भेटिएका छन् । दार्चुला, डोटी, बझाङ, अछाम, बाजुरा, मनाङगोरखामा यसअघि पाइएका ठाउँमा अब हाब्रे लोप भएका छन् । २ हजार मिटरभन्दा बढी उचाईँमा पाइने हाब्रे निकुञ्ज ऐनमा संरक्षित सूचीको वन्यजन्तु हो । साइटिसको अनूसूची १ र आइयुसिएनको रातो किताबमा अति संकटापन्न सूचीमा सुचीकृत छ । नेपालको १६ हजार ३ सय १६ वर्गकिलोमिटर क्षेत्रमा हाब्रेको वासस्थान रहेको छ । त्यसमध्ये सबैभन्दा बढी ४६ प्रतिशत पश्चिम, २८ प्रतिशत पूर्व र २६ प्रतिशत मध्य क्षेत्रमा हाब्रेको वासस्थान रहेको पाइएको छ । हाब्रेको ७५ प्रतिशत वासस्थान निकुञ्ज आरक्ष वा संरक्षित क्षेत्र बाहिर र २५ प्रतिशत संरक्षित क्षेत्रभित्र रहेको देखिएको छ । []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Glatston, A.; Wei, F.; Than Zaw; Sherpa, A. (२०१५), "Ailurus fulgens", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2015: e.T७१४A११००२३७१८, अन्तिम पहुँच १५ जनवरी २०२२  |name-list-style= प्यारामिटर ग्रहण गरेन (सहायता); |errata= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Thomas, O. (१९०२), "On the Panda of Sze-chuen", Annals and Magazine of Natural History, 7 X (57): 251–252, डिओआई:10.1080/00222930208678667 
  3. राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ र अन्य गैर-सरकारी तथा सरकारी संगठनको सहकार्यमा सन २०११ मा प्रकाशित: नेपालका स्तनधारीहरुको स्थिती र राष्ट्रिय रातो सूची
  4. गुगल (बुक्स) पुस्तक: नेपालको वनसम्पदा,नेपालको हिमाली तथा पहाडी भेगमा पाइने नविकरणीय स्रोतको अध्ययन: तेज कुमार श्रेष्ठ (सन् २००३)
  5. रेड पाण्डा नेटवर्क, सन् २०१६: पूवी नेपनलमा हाब्रे संरक्षण(अङ्ग्रेजीमा)
  6. https://www.kantipurdaily.com/news/2016/10/24/20161024190245.html