जगद्गुरु योगिराज कमलनयनाचार्य
जगद्गुरु योगिराज कमलनयनाचार्य |
---|
जगद्गुरु योगिराज (जन्म: वि.सं १९२५ भदौ महीनाको कृष्णपक्ष दशमी) नेपालदेशका प्रथम जगद्गुरु सम्मानद्वारा विभूषित श्रीयोगिराज कमलनयनाचार्य परम वैष्णवसन्त थिए तथा उनी अष्टाङ्गयोग निपुण भएर अन्न सर्वदा परित्याग गर्ने सन्त थिए। उनले मृत्यु पर्यन्त नै गाईको दुध मात्र पान गरेका थिए । नेपालमा रामानुजाचार्यद्वारा प्रतिपादित श्रीवैष्णव सम्प्रदाय को उत्थानमा उनकोको निकै ठुलो भूमिका रहेको छ । उनी भक्ति आंदोलक भै नेपालकै विभिन्न स्थलमा हिन्दू धर्मकै अङ्ग सनातनवैदिक धर्मको संरक्षण संबर्धनमा सधैनै तत्पर उनको नेतृत्वमा नेपाल भारत तथा भूटान जस्ता हिन्दू बाहुल्य देशहरूमा वैदिक संस्कृत पाठसाला हरूको निर्माण गरियो ।[१] ।
बाल्यकाल एवं शिक्षादीक्षा
[सम्पादन गर्नुहोस्]पूर्वी नेपालको मेची अञ्चल अन्तर्गत इलामको नामसालिङ भन्ने ठाउँमा वि.सं. १९२५ सालको भदौ महिना, दशमी तिथि आइतबारको दिन । बुबा मुक्तिनाथ रिमाल र माता यशोदा रिमालको साहिँलो पुत्र रूपमा उनको जन्म भएको थियो । संस्कृतमा
भाद्रमासे शुभे कृष्णे दशम्यां रविवासरे ।
आर्द्राभे भुवि जाताय कमलाक्षाय मङ्गलम् ।।
(भाद्र महिना, कृष्णपक्ष, दशमी तिथि, आइतवार आर्द्रा नक्षत्रका दिन पृथिवीमा आएका कमलनयन सन्त महापुरुषको मङ्गल होस्) । मुक्तिनाथ रिमाल यजुर्वेद शाखाध्यायी कर्मनिष्ठ ब्राह्मण थिए । अतः उनले वैदिक–संस्कार अनुरूप पुत्रको नामकरण गरे । जन्मनक्षत्र आद्र्रा अनुसार नामको आदि अक्षर कुबाट जुरे पनि बोलाउनका लागि पुत्रको नाम काशीनाथ राखियो । पुरोहितद्वारा विधिवत् नामकरण संस्कार सम्पन्न भएपछि बालक काशीनाथ सुशील, उज्ज्वल एवं सर्वलक्षण सम्पन्न हुँदै हुर्किए । बाल्यकाल इलामको सुन्दर प्राकृतिक वातावरणमा बिताएका उनले घरमै आफ्ना बुबाबाट अक्षरारम्भ गरे । आठ वर्षको उमेरमा ब्रतबन्ध संस्कार सम्पन्न भएपछि बुबा मुक्तिनाथले आफ्नो छोरामा पढ्ने इच्छा तीव्र रहेको बुझेर संस्कृत व्याकरण आदि पढाउन भोजपुरको दिङ्लामा बालागुरु षडानन्दले स्थापना गरेको संस्कृत पाठशालामा पुर्याए । त्यहाँ रहेर शिक्षा आर्जन गर्ने क्रममा योगिराज बालागुरु षडानन्दको योगसाधना, तपोबल र त्यागपूर्ण जीवनशैलीबाट प्रभावित भएको देखिन्छ । लगभग चारवर्षसम्म त्यहाँ रहेर वेद, व्याकरण र कर्मकाण्ड अध्ययन गरी बालागुरु षडानन्दकै निर्देशनमा उच्च शिक्षा अध्ययनका लागि भारततर्फ गए । उच्चशिक्षा र दीक्षा भारतको अयोध्या पुगेर वेदान्त दर्शनका विभिन्न विषयहरू आत्मा, परमात्मा, प्रकृति, विद्या अविद्या आदिमा गहन अध्ययन र चिन्तन गरे । त्यसपछि वृन्दावन पुगेर श्रीमद्भागवत आदि पुराणहरूको अध्ययनमा लागे । यसका अतिरिक्त उत्तर भारतका मात्र नभई दक्षिण भारतका समेत भूतपुरी, काञ्ची, श्रीरङ्गम् आदि क्षेत्रमा समेत उनले ज्ञान आर्जन गरेका थिए यसै क्रममा जगन्नाथपुरी पुगेर त्यहाँका तात्कालीन श्रीशङ्कराचार्यसँग वेदान्तदर्शनको सार र सरल मुक्तिमार्गको बारेमा जिज्ञासा गरेपछि श्रीशङ्काराचार्यले नै विशिष्टाद्वैत दर्शनलाई आत्मसात गर्ने श्रीवैष्णव दीक्षा ग्रहण गरी शरणागतिमार्ग अवलम्बन गर्न सुझाव दिए । श्रीशङ्काराचार्यबाट प्राप्त सुझावअनुसार दक्षिण भारतको काञ्ची पुगेर उनले श्रीवैष्णव सम्प्रदायको प्रतिवादी भयङ्कर गद्दीमा रहेका श्रीअनन्ताचार्य सन्तबाट श्रीवैष्णव दीक्षा ग्रहण गरी उनको शिष्यत्व स्वीकार गरे ।[२][३]
जगद्गुरु उपाधि
[सम्पादन गर्नुहोस्]वि.सं. २०४० फागुन २१ गतेदेखि २७ गतेसम्म नवलपरासी जिल्लाको गैंडाकोटमा आयोजना गरिएको २४ कुण्डात्मक विश्वशान्ति गायत्री महायज्ञ तथा विद्वद्सम्मेलनको अवसरमा महायज्ञको पाँचौं दिन फागुन २६ गते उनलाई जगद्गुरु पदले विभूषित गरियो । उक्त कार्यमा दक्षिणभारतदेखि उत्तरभारतसम्मका विशिष्ट आचार्य, महन्त, सन्तहरू तथा विभिन्न विश्वविद्यालका प्राध्यापकहरूको सहभागिता रहेको थियो । यसैगरी नेपालका विभिन्न धर्म सम्प्रदाय सम्बद्ध धर्माचार्य तथा सङ्घ–संस्थाका प्रतिनिधिहरू, संस्कृतज्ञ विद्वान्, साधुसमाज र सर्वसाधारणहरूको समेत व्यापक उपस्थिति रहेको थियो । आजीवन धर्म प्रचार र संस्कृत शिक्षाको विकासमा लागिपर्ने उनको योगदानको उच्च मूल्याङ्कन गर्दै विद्वद्समाजले उनलाई जगद्गुरु पदमा अभिषेक गरेको थियो ।[३][२]
योगसाधना
[सम्पादन गर्नुहोस्]उनले गुरुको निर्देशन अनुसार बदरिनाथ क्षेत्रको ज्योतिर्मठ (हाल जोशीमठ)मा आई श्रीरघुनाथाचार्यबाट अष्टाङ्गयोगको साधना र अभ्यास गरे । पौराणिक एवम् आध्यात्मिक दृष्टिले अत्यन्त पवित्र र प्राकृतिक सुन्दरताले भरिपूर्ण बदरिकाश्रमको चायाँ, स्थायीवाडी क्षेत्रमा उनले तपस्या गरेका थिए । तात्कालीन समयमा योगको अभ्यासमा रहेका समकक्षीहरूको तुलनामा उनको विशेष प्रतिभा र क्षमताबाट प्रभावित भई श्रीरघुनाथाचार्यले नै उनलाई ‘योगीराज’ उपाधिद्वारा विभूषित गरेका थिए । आज पनि उनलाई सोही विशेषणबाट बढी सम्बोधन गरिन्छ । यसैक्रममा बदरीकाश्रम क्षेत्रमा बदरीनारायण भगवान्को दर्शन गर्न जोशीमठ आइपुग्दा आफ्ना शिष्यको योगसाधना र श्रीवैष्णव सम्प्रदायप्रतिको निष्ठाबाट प्रभावित भई श्रीअनन्ताचार्य स्वामीज्यूले उनलाई दिक्षा दान गर्ने अधिकार प्रदान गर्दै सनातन वैदिक परम्परा र श्रीवैष्णव सम्प्रदायको अभिवृद्धि गर्ने महत्त्वपूर्ण अभिभारा प्रदान गरेका थिए । त्यो विशिष्ट स्थानबाट आचार्य अधिकार प्राप्त गर्ने उनी पहिलो नेपाली आचार्य थिए ।[३][२]
योगदान
[सम्पादन गर्नुहोस्]गुरुको निर्देशन अनुसार उनले पश्चिम नेपालको कैलाली जिल्लामा आई धर्मप्रचारको अभियान प्रारम्भ गरेर कैलाली, बर्दिया, दाङ, सल्यान, पाल्पा, गुल्मी आदि जिल्लामा समेत उक्त कार्यले निरन्तरता दिदै गए । यसरी सुदूर पश्चिमबाट प्रारम्भ भएको उनको यात्रा क्रमशः पूर्वतर्फ आउँदै सीमा पारका सिक्किम, आसाम, बङ्गाल र भूटानसम्म पनि फैलिन पुग्यो । तात्कालीन समयमा अधिकांश स्थानमा पैदल यात्रा गरेर नै उनले धर्म प्रचार गरेका थिए । उनले २८ वर्षको उमेरदेखि गाईको दूधमात्र पिउन थाले बद्रीनाथधाममा योगसाधना समयदेखि नै उनले अन्नको परित्याग गरेका थिए । नित्य दैनिकीमा ब्रह्ममूहुर्तको स्नान यौगिकक्रिया, तिलकधारण र सन्ध्यावन्दन सम्पन्न गरी तीर्थ प्रसाद लिएपछि गोमुखासनमा बसेर विद्यार्थीहरू लागि वेदपढाउथे । उनले खासगरी गुरुकूलीय पद्धतिको शिक्षा र धार्मिक मठमन्दिरहरूको स्थापनामा जोड दिए। वेद र गाईको संरक्षण नै उनको मुख्य उद्देश्य थियो । यस क्रममा पश्चिम नेपालको गुल्मी जिल्लामा अवस्थित जुहाङ रितौदीमा श्रीलक्ष्मीनारायण मन्दिरको स्थापना र प्राण प्रतिष्ठा, कालीगण्डकी नदी किनारमा रहेको पूर्तिघाट फूलबारीमा रहेको गौशालासहितको मन्दिर निर्माण, भक्तहरूका साथमा दुर्लभ मुक्तिनाथ यात्रा आदि गरेर त्यस क्षेत्रमा धार्मिक जागरण ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरे। वि.सं. २०१० को प्रयाग महाकुम्भ चलेको समयमा त्यहाँ पुगेका उनलाई आसामका नेपालीभाषी हिन्दूहरूको आग्रह अनुसार त्यहाँ धर्म प्रचार गर्न आसाम प्रस्थान गरे आसामका विभिन्न स्थानमा धर्म प्रचार गर्दै विद्यालय र मठ, मन्दिरको स्थापना गराउदै । धर्मका विषयमा उठेका जिज्ञासालाई समाधान गर्न ‘धर्मालोचनी’ सभाको गठन गर्नुगर्दै । उनले त्यस क्षेत्रमा रहेर पुर्याएको धार्मिक एवम् शैक्षिक योगदानलाई उच्च सम्मान गर्दै वि. सं. २०१७ मा उनलाई १०८ कलशले अभिषेक गरी नगरपरिक्रमा समेत गराइएको थियो । यसैगरी धर्म प्रचार गर्न उनी वि. सं. २०२२ मा भूटानतर्फ लागे । आफ्नो जीवनकालमा चारपटक भूटानको यात्रा गरे त्यहाँ विभिन्न स्थानमा हजारौं शिष्य बनाई धार्मिक जागरण गरे । तात्कालीन समयमा भूटानका उच्च पदस्थ व्यक्तिदेखि सर्वसाधारणसम्मले उनलाई आफ्ना गुरुका रूपमा वरण गरे । त्यहाँ उनले मठ मन्दिर निर्माण यज्ञानुष्ठान सम्पादन, शिक्षाको प्रचार–प्रसार गर्दै आफ्नो सनातन धर्मसंस्कारको संरक्षण गर्न विशेष प्रेरित गरे । [३][२]
देहत्याग
[सम्पादन गर्नुहोस्]वि.सं. २०४२ वैशाख १७ गतेका दिन ११७ वर्षको उमेरमा उनको देहावसान भयो । वि.सं. २०४१ चैत्र २१ गते माईधारबाट भूटानको यात्रामा निस् किएका उनले भूटानको सूरे भन्ने स्थानमा देह त्याग गरे । सूरेमा तीन दिने अखण्ड श्रीमन्नारायण सङ्कीर्तन कार्यक्रमको आयोजना गराई उनी समाधिमा बसे । योग बलका प्रभावले समाधिद्वारा नै आफ्नो प्राण त्याग गरी उनको देहावसान भयो।[३][२]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ श्रीकमलनयानाचार्यज्यूको अतिसंक्षिप्त जीवनी ,श्रीजगाद्गुरु योगिराज कमलनयनाचार्य आश्रम माईधार झापा नेपाल
- ↑ २.० २.१ २.२ २.३ २.४ "ब्लास्ट खबर", Blastkhabar, २०१८/०९/०५/, अन्तिम पहुँच २८ अक्टोबर २०१८।
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ "Vijayafm.com.np" (Nepaliमा), Vijaya fm, AUGUST ४, २०१८, अन्तिम पहुँच २८ अक्टोबर २०१८। वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१८ मिति