कूर्म अवतार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भगवान कूर्मावतार
ब्रास रथमा कूर्म अवतार,सियरसोल राजबारी, पश्चिम बंगाल, भारत

हिन्दू धर्मका अनुसार कूर्म कच्छवातार भगवान विष्णुको दोस्रो रूप हो। कूर्मावतारमा भगवान विष्णुले कछुवाको रूप धारण गरेर समुन्द्र मथन गरिरहेका देवता र दैत्यहरूको उदार गरेका थिए।यो अवस्थामा भगवान विष्णुले तिनवटा रूप धारण गरेका थिए। जसको बर्णन गरिएको छ।

समुद्रमथन[सम्पादन गर्नुहोस्]

स्वर्गका राजा ईन्द्र एक दिन ऐरावत हात्तीमा स्वार भएर सैर गर्दै थिए अचानक उनको भेट महर्षीदुर्बाशासँग हुन गयो। दुर्बाशा ऋषिले देवराजको स्वागातार्थ आफ्नो गलाको माला निकालेर दिँदा भए। देवराज ईन्द्रले माला आफुले न पहिरेर ऐरावत गजलाई पहिराई दिए। ऐरावत मत्था भएर झुलिरहेको थियो अत: माला चुटेर भुईँमा खस्यो र ऐरावत हात्तीको खुट्टा मुनी कुल्चियो। यो देखेर दुर्बाशा ऋषी क्रोधित भएर देवराज ईन्द्रलाई घमण्ड गरेको भनी राज्य पदच्युतको श्राप दिए। श्रापका कारण स्वर्गमा दैत्यहरूले कब्जा जमाए। दैत्यराज बली स्वर्गका राजा भए। त्यसपछी सँधै जसो देव दानवमा युद्ध हुन थाल्यो देवताहरू सँधै हार्दै गए। एक दिन देवताहरू साह्रै दु:खी भएर ब्रह्माजी ठाउँ गएर प्रार्थना गरे "हे सृष्ठीकर्ता प्रभु ! दानवहरूले पुरा स्वर्ग नै सखाप पार्न थाले दैत्यराज बलिले उल्टो नियम चलाएर हजुरको सृष्ठी विनास गर्दै छन्। कोही उपाए सोच्नु होस् नत्र हजुरको सृष्ठी विनास हुने बखत आयो।" यती सुनेर ब्रह्माजीले सबैलाई विष्णु भए ठाउँ जाने सल्लाह दिए। त्यसपछी ब्रह्माजी सहित देवताहरू भगवान विष्णुको वासस्थान वैकुण्ठ धाम गए। देवताहरूले भगवान विष्णुको प्रार्थना गरेर सबै वृतान्त सुनाए। यो सुनेर भगवान विष्णुले दैत्यहरू सँग मेल गरी समुन्द्र मथनको राय दिए।[१] समुद्र मथनमा देवता र दानवहरू मिलेर बासुकी नागको नेती र मन्दराचल पर्वतको मथानी बनाएर क्षिर सागरलाई दही मथे जस्तै गरी मथ्नु पर्नेछ र यसरी मथिएमा सागरबाट अमृतको उत्पत्ती हुनेछ। अमृतको प्राप्ती पछि देवताहरूले अमृत खाएर दैत्यहरूसँग युद्ध गरी दानवहरूलाई मारेर पुन: स्वर्ग प्राप्ती हुने कुरा भगवान बिष्णुले बताए। यो उपाय पाए पछि देवताहरू दैत्य राज बली भएको ठाउँमा गएर भनेकी "महाराज! हामी एउटै बाबु कश्यप ऋषिका सन्तान हौँ। केवल हाम्री आमाहरू फरक भएकाले हामी सौते भाइ भयौँ। हामिले अब आपसमा वैरभाव राख्न उचित छैन हामीहरूले भगवान विष्णुको राय बमोजिम समुद्र मथन गर्नु पर्‍यो जसबाट अमृत प्राप्ती हुने छ। त्यो खाएर हामी कहिल्यै नमर्ने हुने छौँ। हामीलाई भगवान विष्णुले सहयोग गर्नु हुनेछ।" यो सुनेर दैत्यराज बली सहित सबै दानवहरू देवताको योजनासँग सहमती भए। सबै मिलेर मन्दराचल पर्वतलाई उठाएर क्षिर सागरमा लगे। बासुकी नाग पनि नेती बन्नकोलागी सहमत भए।[१]

कूर्म अवतार[सम्पादन गर्नुहोस्]

मन्दराचल पर्वत समुन्द्रको गहिराईमा डुब्न लाग्यो। यो देखेर देव दानवहरू फेरी बिष्णुको शरण लिन पुगे। भगवान विष्णुले पनि कछुवाको रूप धारण गरेर पर्वतलाई आफ्नो पिठमा अड्काए। समुन्द्र मथनबाट सबै भन्दा पहिले हलाहल नामको बिषको उत्पत्ती भएको थियो हलाहल बिषको असर देवताहरूले सहन सकेनन्। भगवान शिवले त्यो हलाहल बिष सबै पिए। शिवले हलाहल खाए पछि उनको घाँटी निलो पर्न गयो। त्यसैले शिवलाई निलकण्ठ भनिएको हो। यसै गरी समुद्र मथनबाट धनकी देवी लक्ष्मी, काम धेनु, रम्भा नामकी अप्सरा, उच्चश्रवा घोडा, भगवान विष्णुको गलामा पहिरिएको कोस्तुभमणी, पारीजात कल्प वृक्ष, आदी १३ रत्न पछि अमृतको उत्पत्ती भएको थियो।[१]

धन्वन्तरी अवतार[सम्पादन गर्नुहोस्]

समुद्र मथनमा अमृतको घडा हातमा लिएर भगवान विष्णुले धन्वन्तरीको रूप धारण गरेर आए। हेर्दा शान्त स्वभावका अमृत कलस हातमा लिएका धन्वन्तरीलाई पछि देवताहरूले वैद्य बनाए। हिन्दू धर्म शास्त्रका अनुसार भगवान धन्वन्तरी आयुर्वेदका ज्ञाता मानिन्छन्। अमृत देखेर दानवहरूले पहिले धन्वन्तरीको हातबाट खोसे। फेरी एक आपसमा अमृत कलश खोसा खोस गर्न थाले। देवताहरू हेर्दै रहे। देवताहरूको केही चलेन देवताहरू समुद्र मथेर थाकि सकेका थिए। न त उनीहरूले दानवसँग अमृत माग्न सके न त खोस्न सके। धन्वन्तरी अमृतको कलश दिएर अन्तर्ध्यान भए।[१]

मोहनी रूप[सम्पादन गर्नुहोस्]

अमृत कलशमा दैत्यहरूले कब्जा जमाएको देखेर भगवान विष्णुले एक सुन्दर नारीको रूप लिएर उपस्थित भए। दैत्यहरू मोहनी रूपलाई देखेर मोहित भए। दैत्यहरूले मोहनीसँग अमृत दैत्यहरूको समुहमा बाँटी दिने आग्रह गरे। मोहनीले देवता र दानव दुवै समूहको परिश्रमबाट प्राप्त भएको अमृत कसरी दैत्य समुहमा मात्र बाँटी दिउँ भनेर प्रश्न गर्दा मोहित भएका दैत्यहरूले दुवै समुहमा बाँट्ने सहमती दिए। त्यस पछि मोहनीले एक तर्फ दैत्य समुह र अर्को तर्फ देवता समुहलाई बसालेर आफ्नो लिलाले अमृतको घडा सँगै मदिराको घडा जोडेर देवताहरूलाई अमृत र दैत्यहरूलाई मदिरा दिन थाले त्यसै बेला चन्द्रमा र सूर्यदेवको बिचमा राहु नामको राक्षस बसेको थियो राहुले चन्द्रमालाई दिन लागिएको अमृत थापेर खायो यो देखेर मोहनी रूप छोडेर भगवान विष्णुले तरवारले राहुको टाउको काटे तर अमृत खाई सकेको राहु मरेन त्यसलाई भगवान विष्णुले टाउको तर्फको भाग राहु ग्रह र खुट्टा तर्फको भाग केतु ग्रह बनाई देवता समुहमा राखे।[१]

देवासुर युद्ध[सम्पादन गर्नुहोस्]

मोहनी रूपी विष्णुले छल कपट गरेको थाहा पाएर दैत्यहरूले फेरी देवताहरूमाथी आक्रमण गरे। देव दानवको भयंकर सग्राम मच्चियो। त्यस बेला देवराज ईन्द्रपुत्र जयन्तले अमृत कलशको रक्षाको जिम्मा लिए। युद्ध पुरा १२ वर्ष सम्म चलेको थियो। जयन्तले अमृत कलशलाई १२ वर्ष सम्म ४ अलग अलग ठाउँमा राखेका थिए। जहाँ जहाँ जयन्तले अमृत कलश जसलाई कुम्भ कलश पनि भनिन्छ लुकाएका थिए तिनै ठाउँहरूमा प्रतेक १२ वर्षमा कुम्भ मेला लाग्दछ। कुम्भ कलश राखेको ठाउँमा अमृतका छिटा परेको वाश्वास गरिन्छ। देवता-दैत्य युद्धमा अधिक तर दैत्यहरू मारिए अमृत खाएकाले देवताहरू मरेनन्। अन्तमा देवताको विजय भयो देवताहरूले पुन: स्वर्ग प्राप्त गरे। पछि गएर देवताहरूले भगवान कूर्मको प्रार्थना गरे। भगवान कूर्मले देवताहरूलाई "जसले भगवानको आशा राखेर कर्म गर्छ। त्यसैलाई सत्य सूख प्राप्त हुन्छ। जो घमण्ड र अभिमानको सहारा लिएर काम गर्छ त्यसले कहिल्यै पनि अमृत जस्तो सूख प्राप्त गर्न सक्दैन।" भन्ने उपदेश दिएर अन्तर्ध्यान भए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ हिन्दू धार्मिक पुस्तक सुकसागर, प्रकाशक सुब्बा होमनाथ केदारनाथ वाराणसी, भाषा नेपाली प्रकाशन मिती सन् 1955

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]