हंसावतार

हंस एक जलीय प्रवासी पन्छी हो, जसको उल्लेख प्राचीन संस्कृत ग्रन्थहरूमा गरिएको छ। विभिन्न विद्वानहरूले यसलाई हाँस, राजहंस,[२] वा भद्रपन्छी को रूपमा व्याख्या गरेका छन्।[१][३] यसको छवि भारतीय संस्कृति र दक्षिणपूर्वी एसियाको संस्कृतिमा एक आध्यात्मिक प्रतीक र सजावटी तत्वको रूपमा प्रयोग गरिन्छ। हंसावतार ब्रह्माका मानसपुत्र सनकादिद्वारा सोधिएको प्रश्नको समाधान गर्न भगवान विष्णुले हंसावतार लिएको पौराणिक कथा छ। आफ्ना पिता ब्रह्मासँग मोक्ष सम्बन्धी प्रश्न सनकादिले सोधेको तर ब्रह्मा उत्तर दिन असमर्थ रहेकोले सनकादि तथा ब्रह्मा भै भगवान विष्णुको ध्यान गरेको र विष्णु हंस रूपमा प्रकट भै प्रश्नको समाधान गरेको र सनकादि तथा ब्रह्माले हंस नारायणको पूजन गरे पश्चात् हंस अदृश्य भएको पौराणिक कथा छ।
यसलाई रूपकको अर्थमा पनि प्रयोग गरिन्छ, जहाँ यस पन्छीमा दूध र पानीको मिश्रणबाट दूध मात्र छुट्याउन सक्ने वा खराबीबाट राम्रो पक्ष ग्रहण गर्न सक्ने पौराणिक क्षमता भएको मानिन्छ। हिन्दु प्रतिमा विज्ञानमा, हंसलाई ब्रह्मा, गायत्री, सरस्वती, र विश्वकर्माको वाहनको रूपमा लिइन्छ।[३]
हिन्दु धर्ममा
[सम्पादन गर्नुहोस्]हिन्दु धर्ममा, हंसलाई प्रायः सर्वोच्च आत्मा, अन्तिम सत्य वा ब्रह्मसँग पहिचान गरिन्छ।[२] हंसको उडानले मोक्षलाई जनाउँछ, जसको अर्थ जन्म, मृत्यु र पुनर्जन्मको चक्र संसारबाट मुक्ति पाउनु हो।[४][५]
हंस ज्ञान र रचनात्मक कलाकी देवी सरस्वती, सृष्टिका देवता र त्रिदेव मध्येका एक ब्रह्मा, र वेदकी देवी गायत्रीको वाहन पनि हो।[३][४]
परमहंस
[सम्पादन गर्नुहोस्]हंसका विभिन्न गुण र विशेषताहरूसँगको सम्बन्धलाई दृष्टिगत गर्दै, हिन्दु ऋषि र साधुहरूलाई परमहंस अर्थात् 'सर्वोच्च हंस' को उपाधि दिने गरिएको छ। यसले उच्च स्तरको आध्यात्मिकतामा पुगेका विशेष व्यक्तिलाई जनाउँछ।[६][७]
उदाहरणका लागि, परमहंस उपनिषद्ले त्यस्तो योगीलाई परमहंस भन्दछ जो न त पूर्वाग्रही हुन्छ, न त निन्दाबाट प्रभावित हुन्छ, न डाह गर्छ, न त देखावटी गर्छ, विनम्र रहन्छ र सबै मानवीय कमजोरीहरूबाट मुक्त हुन्छ। उसलाई आफ्नो शरीरको अस्तित्वको समेत परवाह हुँदैन, जसलाई उसले एक शवको रूपमा व्यवहार गर्दछ। ऊ मिथ्या बहानाहरूभन्दा माथि हुन्छ र ब्रह्मलाई साक्षात्कार गर्दै बाँचिरहेको हुन्छ। यस उपनिषद्को अध्याय ३ का अनुसार जसले "ज्ञानको दण्ड" र "काठको लौरो" (दण्ड) बीचको भिन्नता बुझ्दछ, उही वास्तविक परमहंस हो।[७]
भारतीय ग्रन्थहरूमा
[सम्पादन गर्नुहोस्]हंस भारतीय ग्रन्थहरूको एक अभिन्न अंश हो। 'अरायन्न' वा स्वर्गीय हंसहरू हिमालयको मानसरोवरमा बस्ने विश्वास गरिन्छ।[८] यिनीहरूको उल्लेख हिन्दु महाकाव्य रामायणमा गरिएको छ।[८] हंस नल र दमयन्तीको पौराणिक प्रेम कथाको एक पात्र पनि हो, जहाँ यसले दुई अपरिचित व्यक्तिहरूका बीच कथाहरू, ऐतिहासिक जानकारी र सन्देशहरू आदानप्रदान गर्ने काम गर्दछ।[८]
भारतीय ग्रन्थहरूमा हंसले मोती खाने र दूध तथा पानीको मिश्रणबाट दूधलाई अलग गर्ने क्षमता राख्दछ भनिएको छ।[९] चार्ल्स ल्यानम्यानका अनुसार, संस्कृत कविताहरूमा हंसले दूध र पानी 'छुट्याउन' वा 'विवेक प्रयोग गर्न' सक्छ भन्नुलाई मुख्यतया रूपकको रूपमा प्रयोग गरिएको छ। यहाँ 'दूध' भन्नाले कमलको डाँठबाट निस्कने सेतो चोप (क्षीर) लाई जनाइएको हुन सक्छ।[१०]
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]- दोस्रो शताब्दीको कनिष्क मञ्जुषामा कुँदिएको हंसको किनारा
- पहिलो शताब्दीको बिमरन मञ्जुषा वास्तुकला स्तम्भहरू बीचका हंस पन्छीहरू
- हंसका साथमा सरस्वती (सन् १८९५, बेलायती सङ्ग्रहालय)
- हंसका साथमा सरस्वती (१९औँ शताब्दी, बेलायती सङ्ग्रहालय)
- सरस्वती र हंस (केरलको सिरेमिक टायलमा)
- राजा रवि वर्माद्वारा चित्रण गरिएको दमयन्ती र हंस बीचको संवाद (१९औँ शताब्दी)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 Monier-Williams, Monier (२००१), "हंस, Hamsa", Monier Williams Sanskrit Dictionary, Germany: University of Cologne, पृ: 1286, आइएसबिएन 978-8120615090।
- 1 2 Jones, Lindsay (२००५), Encyclopedia of religion, Volume 13, Macmillan Reference, पृ: ८८९४, आइएसबिएन 978-0028657332।
- 1 2 3 Cush, Denise (२००७), Encyclopedia of Hinduism, Routledge, पृ: ६९७, आइएसबिएन 978-0415556231।
- 1 2 John Bowker (1998), Picturing God, Series Editor: Jean Holm, Bloomsbury Academic, आइएसबिएन ९७८-१८५५६७१०१०, pp 99-101
- ↑ Richard Leviton (2011), Hierophantic Landscapes, आइएसबिएन ९७८-१४६२०५४१४५, pp 543
- ↑ Deussen 1997, पृष्ठ. 717–720.
- 1 2 Olivelle 1992, पृष्ठ. 137–140.
- 1 2 3 Williams, George (२००१), Handbook of Hindu Mythology, Bloomsbury Academic, पृ: 58–59, आइएसबिएन 978-1576071069।
- ↑ Helen Myers (1999), Music of Hindu Trinidad: Songs from the India Diaspora, University of Chicago Press, आइएसबिएन ९७८-०२२६५५४५३२, page 4
- ↑ Lanman, Charles R. (१८९८), "The Milk-Drinking Haṅsas of Sanskrit Poetry", Journal of the American Oriental Society 19: 151–158, आइएसएसएन 0003-0279, जेएसटिओआर 592478, डिओआई:10.2307/592478।