जुद्ध शमशेर जङ्गबहादुर राणा
श्री ३ महाराज जुद्धशमशेर जंगबहादुर राणा | |
---|---|
नेपालको १५औं प्रधानमन्त्री | |
कार्यकाल वि.सं. १९८९ भाद्र १७ – वि.सं. २००२ मंसिर ०४ | |
एकाधिपति | राजा त्रिभुवन |
पूर्वाधिकारी | भिम शमशेर |
उतराधिकारी | पद्म शमशेर |
नेपालको प्रधान सेनापति | |
कार्यकाल वि.सं. १९८६ मंसिर १२ – वि.सं. १९८९ भाद्र १७ | |
प्रधानमन्त्री | भिम शमशेर |
पूर्वाधिकारी | भिम शमशेर |
उतराधिकारी | रुद्र शमशेर |
व्यक्तिगत विवरण | |
जन्म | जुद्ध शमशेर बि.सं १९३२ बैशाख ७ |
मृत्यु | बि.सं २००९ मंसिर ८ भारतको देहरादुन |
अभिभावक | धीर शमशेर |
जुद्धशमशेर जंगबहादुर राणा (१९३२ बैशाख ०७ - २००९ मंसिर ०८) नेपालका राणा शासनका सातौँ प्रधानमन्त्री थिए। उनी जंगबहादुरको भाइ धीर शमशेरका छोरा थिए। आफ्ना दाजू भिम शमशेरको निधन पछि वि.सं. १९८९ भाद्र १७ मा नेपालको श्री ३ महाराज बनेका जुद्ध शमशेर वि.सं. २००२ मंसिर ०४ सम्म नेपालको प्रधानमन्त्री रहे। उनले आफू जीवित छँदै आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई आफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे। यिनको निधन ०८ मंसिर २००९ (सन् १९५२)मा भारतको देहरादुनमा भयो।
श्री ३ जुद्धशमशेर विषयलम्पट, अस्थिर मनस्थिति, हीनता मन, सिकारी, अर्थलम्पट, विवेकहीन, कमजोर तथा नालायक प्रशाशक भएर पनि उनका विविध सुधार, भूकम्प उद्धार, शिक्षा, स्वास्थ्य, समाजसुधार तथा उद्योगहरूको स्थापना गराई श्री ५ महाराजधिराजको गरिमालाई उच्च गराई राखेको हुनाले उनको नाउँ नेपालको इतिहासमा उल्लेखनीय रहेको कुरा निर्विवाद छ।[१]
जन्म/प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]जुद्ध शमशेर कमान्डर इन्चीफ धीर शमशेरका १७ भाइ छोरामा १५ औँ थिए। उनको जन्म वि सं १९३२ वैशाखमा जुहारकुमारीको कोखबाट भएको थियो। सानैबाट साँवलो, कमजोर र आत्मबलरहित हुँदा बचाउन कठिन परेका जुद्धशमशेरको भाग्य त्यत्तिकै प्रबल थियो। वि.सं. १९४१ मा प्रधानसेनापति धीरशमशेरको मृत्यु हुँदा जुद्ध १० वर्ष पुगेका तर जियारी भने ७ वर्षको बालकको जस्तो हुनाले मर्ने बेलामा निजका आमाले गुन तिर्न आफू समर्थ नहुँदा निजका छोराको ख्याल गर्ने निर्देशन वीर शमशेरलाई दिएकाले जुद्ध रोलवाला भएका थिए। वि.सं. १९४२ मा श्री ३ रणोद्दीपसिंहको हत्या भएपछि श्री ३ पदमा वीरशमशेर आए। त्यही बेला जुद्ध जनरल भए। उनी दसौँ रोलक्रममा थिए।[२] वीर शमशेरले जुद्ध शमशेरलाई थापाथली दरबार दिएका थिए तर कम्पाउण्ड नभएको दरबारमा नबस्ने भनेकाले वीरले उनलाई जावलाखेल दरबार दिए।
जुद्धशमशेर जन्मदै कर्णेल भए पनि लुरे हुनाले १९ वर्षको हुँदा आउँ रगतमासीले झण्डै खुस्केका थिए।
वृत्ति
[सम्पादन गर्नुहोस्]साल | पद | श्री ३ | श्री ५ |
---|---|---|---|
वि सं १९५८ | उत्तरतर्फका जङ्गीलाठ | चन्द्र शमशेर | पृथ्वी वीर विक्रम शाह |
वि सं १९६४ | पूर्वतर्फका जङ्गीलाठ | चन्द्र शमशेर | पृथ्वी वीर विक्रम शाह |
वि सं १९७० | पश्चिम तर्फका जङ्गीलाठ | चन्द्र शमशेर | राजा त्रिभुवन |
वि सं १९८६ | प्रधानसेनापति | भीम शमशेर | राजा त्रिभुवन |
वि सं १९८९ | श्री ३ तथा प्राइममिनिस्टर | आफै | राजा त्रिभुवन |
प्रधानमन्त्री काल
[सम्पादन गर्नुहोस्]विदेश नीति
[सम्पादन गर्नुहोस्]आर्थिक नीति
[सम्पादन गर्नुहोस्]जुद्धशमशेरले औद्योगिकरणको नीति लिए। उनले आफूले पनि उद्योगमा लगानी गरे र अरु मानिसलाई पनि उद्योगमा रकम लगानी गर्न प्रेरित गरे। उनले वि.सं १९९२ मा उद्योग परिषद् को स्थापना गरे। उद्योगको संरक्षणको लागि औद्योगिक कानुनको व्यवस्था गरे। वि.सं १९९३ मा कम्पनी कानुन, वि.सं १९९४ मा नेपाल बैङ्क लिमिटेड, १९९३ मा विराटनगर जुट मिल, १९९५ मा द जुद्धम्याच फ्याक्टरी, १९९९ मा कटन मिल्स, २००० मा नेपाल प्लाइउड एण्ड बबिन फ्याक्ट्री, मोरङ विद्युत, नेपाल माइका कम्पनी, नेपाल चामल र मैदा कारखाना, १९९२ मा नेपाल केमिकल इन्डस् ट्रिजहरूको स्थापना गरे। त्यस्तै ससाना उद्योगहरूमा सेरामिक्स फ्याक्टरी, कागज कारखाना, साबुन कारखाना, खानी उद्योग, नर्सिङखोला नुन उद्योग, फर्निचर उद्योग, भाँडा उद्योग, जस्ता उद्योगहरू खुले।
नेपालमा कुटिर उद्योगका निम्ति जुद्ध शमशेरले "घरेलु इलम प्रचार अड्डा" मार्फत कतुवा, चर्खा, तान, धागो र प्रविधि सम्बन्धी तालिम दिने व्यवस्था मिलाए। वि.सं १९९४ जेठमा नेपालमा १२ दिन उद्योग प्रदर्शनी आयोजना गरियो। १९९६ मा र २००१ मा पनि त्यस्ता प्रदर्शनी भएका थिए। त्यस्ता प्रदर्शनीमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो।
सर्वप्रथम नेपालमा सदर मुलुकी खानाबाट कागजी नोट छाप्ने चलन पनि श्री ३ जुद्धकै समयबाट भएको थियो ।
कृषि सुधार
[सम्पादन गर्नुहोस्]वि.सं २००० सालमा सर्लाही जिल्लामा जुद्ध नहरको निर्माण भयो । [३]
प्रशासनिक सुधार
[सम्पादन गर्नुहोस्]श्री ३ जुद्धको शासनकालमा सेनामा जागिर खाने मानिसलाई नगद तलब दिने , निवृतभरण, सैनिक द्रव्यकोष (हालको कर्मचारी सञ्चयकोष), अवकाशको व्यवस्था पनि भयो। निजामती कर्मचारी र प्रहरी सेवामा पनि केही सुधारहरू भए। जुद्ध शम्सेरको पालामा सैनिकहरुले अवकास पछि सरकारसँग रकम माग गर्न जाँदा नोकरी अवधिमा कमाएको रकम बचत भएन भन्ने प्रश्नमा ति सबै घरखर्च र जिविकोपार्जनमा सकिएको बताएपछि मासिक तलबबाट केही रकम कट्टी गरी संचित कोष खडा गनुपर्ने महसुस भएको हो । त्यसलाई मध्यनजर गर्दै सन् १९३४ मा सैनिक द्रव्य कोषको स्थापना गरी सैनिक जवानहरुको मासिक तलबबाट केही रकम कोष कट्टी गर्ने प्रारम्भ भयो । यसको एक दशक पछि निजामति कर्मचारीहरुको लागि पनि पनि त्यस्तो कोषको आवश्यकता महसुस गरी सन् १९४४ मा निजामति संचयकोष स्थापना भयो । यसरी अवकास कोषको अवधारणा सुरु हँुदै बि.स. २०१८ मा विशेष ऐन अन्तर्गत कर्मचारी संचय कोष स्थापना भएप्छि सैनिक द्रव्य कोष निजामति संचय कोषमा गाभिई अवकास कोष योजना सञ्चालनमा आएको हो ।[४]
चिडियाखाना, सङ्ग्राहलाय, जन्म-मृत्यु दर्ता, खानी अड्डा, समाचार सङ्ग्रह, वनस्पति अड्डा, वनविभाग, व्यापारिक समाचार सङ्ग्रह गर्ने व्यवस्था श्री ३ जुद्धशमशेरले गरे।
नेपालको कानूनी इतिहासमा सर्वप्रथम कार्यपालिकासँग न्यायपालिकालाई अलग राख्ने उद्देश्यले वि. सं. १९९७ श्रावण १ बाट कार्य सञ्चालन गर्ने गरी प्रधान न्यायालय खडा भयो । [५] राणाहरूले आपसमा जति अन्याय गरे पनि रैतीलाई स्वच्छ न्याय प्रदान गर्दथे। त्यस काममा श्री ३ जुद्ध शमशेर एक पाइला अगाडि बढेर ८ जिल्लामा पुनरावेदन अदालत खोली केन्द्रमा प्रधान न्यायालयको स्थापना गरे। वि.सं. १९९७ साल श्रावण १ गते प्रधानमन्त्री श्री ३ जुद्द शमशेरको पालामा नै एक सनद जारी भई नेपालमा प्रधान न्यायालयको स्थापना भएको थियो । सो सनद बमोजिम न्यायाधीश जनरलको निर्वाचन भई बहादुर शमशेर ज.व.रा. न्यायाधीश जनरल पदमा निर्वाचित भएको पाईन्छ। सो भन्दा पहिले प्रधानमन्त्रीले नै न्याय निसाफ समेतको कार्य गर्ने व्यवस्था रहेको थियो । [६]
शैक्षिक सुधार
[सम्पादन गर्नुहोस्]जुद्ध शमशेरले शिक्षामा समेत राम्रो योगदान पुर्याएका थिए। वीरगञ्ज, गौर, काठमाडौंं जस्ता ठाउँहरूमा उनले पब्लिक स्कुलहरूको स्थापना गराए। विद्यार्थीहरूलाई पढाईमा अभिमुख गराउन पुरस्कार, निशुल्क र तत्कालै जागिर दिने बन्दोबस्त मिलाए। वि सं १९९१ देखि नेपालमा म्याट्रिक जाँचको केन्द्र स्थापना गरी शिक्षा मन्त्रालयले त्यसको जिम्मा लियो। त्यो कामबाट नेपाली विद्यार्थीले जाँच दिन बाहिर जानू परेन। शारदा र उद्योग जस्ता साहित्यिक पत्रिका चलाउने श्री ३ जुद्धले गोरखापत्र साप्ताहिकलाई हप्तामा दुई अङ्क प्रकाशनको आरम्भ भयो। प्रयोगशाला, हुलाकटिकट, छापाखानाको विकास पनि राम्ररी गरियो।
सामाजिक सुधार
[सम्पादन गर्नुहोस्]सामाजिक चाडपर्वमा कम खर्च गर्न र विवाहका निम्ति दुवैको उमेर तोकेर बालविवाह र अनमेल विवाह रोके। त्यस्तै आशौच, देउकीप्रथा, काजकिरिया , व्रतबन्धजस्ता कुरामा सुधार गरे। आगलागीका घटनाबाट पाठ सिक्दै उनले जुद्ध वारुण यन्त्रको स्थापना गरे।
- सदर चिडियाखानाको स्थापना वि.सं. १९८९ मा प्रधानमन्त्री जुद्ध शमसेरले निजि चिडियाखानाको रूपमा सदर चिडियाखाना स्थापना गराएका थिए ।
१९९० को महाभुकम्प
[सम्पादन गर्नुहोस्]वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजेको महाभूकम्पमा प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा , निर्व्याजी ॠण सुबिधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए ।
सि क्लास राणापरिवारको निष्कासन
[सम्पादन गर्नुहोस्]वि.सं. १९९० चैत ०१ जुद्ध शमशेरले सि क्लास का राणाहरूलाई चार भन्ज्यांगबाट कटाउने कटु निर्णय लिए । उनीहरूलाई रोलक्रमबाट पनि झिकियो । तदनुसार कमाण्डर इन्चीफ रुद्र शमशेरलाई पाल्पाको तैनाथवाला , हिरण्यशमशेर वीरगञ्ज , प्रतापशमशेर इलाम, रामशमशेर जलेश्वर लघारिए। त्यसै गरी जनरल तेजशमशेर, रामशमशेर, महावीरशमशेर, सुवर्णशमशेर लगायतका राणाहरू सपरिवार उपत्यकाबाट चैत्र ५ गते लस्कर साथ टिस्टुङको बाटो बाहिरी पाटो लागे। ।[७]
दोश्रो विश्वयुद्ध
[सम्पादन गर्नुहोस्]द्वितीय विश्वयुद्धमा नेपाल प्रत्यक्ष सहभागी नभए पनि अप्रत्यक्ष रूपमा आफ्ना सेनाहरू पठाई बेलायतको पक्षबाट युद्धमा सामेल थियो। प्रधानमन्त्री जुद्ध शमशेरले बहादुर शमशेर लगायतको नेतृत्त्वमा जम्मा २ लाख ५० हजार नेपाली फौज पठाएका थिए। नेपालीहरूले बहादुर गोर्खालीका रूपमा गौरव तथा सम्मान प्राप्त गरे। गोर्खाली भन्नाले "दुई पैसाको लागि कसैको ज्यान लिन सक्ने जाति" भनेर चिनियो। नेपाली फौजले बेलायतका तर्फबाट जर्मनी तथा जापान विरुद्ध लडेको थियो। साइप्रस, ग्रीस, सिरिया, लेबनान्, प्यालेस्टाइन, इराक, सिङ्गापुर, मलाया तथा बर्मामा गई नेपाली फौज लडेको थियो। यद्धमा जम्मा सहभागी मध्ये ७,५४४ नेपाली युवाहरू मारिए र २३,६५५ जना घाइते भए। यसरी यस युद्धमा नेपाल राष्ट्रले पनि ठुलो युवा शक्ति गुमाउन पुग्यो। नेपाल सरकारको सहयोगबाट अत्यन्तै खुसी भई बेलायती सरकारले जुद्ध शमशेरलाई बेलायती सेनाको पूर्ण अनररी जर्नेल पदको उपाधि दिएको थियो।
साथै ३ करोड ३३ लाख एकमुष्ट आर्थिक सहयोग दियो। प्रथम विश्वयुद्ध पश्चात् दिने गरेको वार्षिक १० लाख रुपियाँ पनि निरन्तर दिने प्रतिबद्धता जाहेर गर्यो। यसका अलवा धेरै नेपाली वीरहरूले बेलायतको सर्वोच्च पदक भिक्टोरिया क्रस र मिलिटरी क्रस प्राप्त गरे।
विदेशमा भएको विकास र प्रगति देखेर नेपाली सैनिकहरूले स्वदेशमा आई जनजागरण र प्रजातन्त्र स्थापनाका लागि सहयोग गरेका थिए।
जनजागरणको आरम्भ
[सम्पादन गर्नुहोस्]वि.सं. १९९३ मा नेपाल प्रजा परिषद्को स्थापना भयो। वि.सं. १९९७ सालमा राणा शासन विरुद्ध पर्चा छरेपछि २ सयजना जति पक्राउ परे। वि.सं. २००७ सालको क्रान्तिको आधारभूमि तयार पार्ने ५ जना युवाहरू- टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्मा थिए। १९९७ माघमा शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो।
पदत्याग
[सम्पादन गर्नुहोस्]वि सं २००२ मार्ग ४ गते बृहद् भारदारी सभामा आफ्नै हातले श्रीपेच झिकी पद्मशमशेरलाई लगाइदिए। नेपालको इतिहासमा स्वेच्छाले पदत्याग गर्ने प्रथम प्रधानमन्त्री समेत हुन्। उनी भन्दा अधिका प्रधानमन्त्रीहरूको पदमै रहँदा हत्या, मृत्यु वा दबाबमा राजिनामा आएको थियो। आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई आफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे। स्वच्छिक श्री ३ त्यागेर रिडी हिंडेका उनलाई अहिले पनि ‘राजर्षि श्री ३ महाराज’ भनेर सम्झिन्छ ।[८]
जुद्ध शमशेरले उनै भिमका छोरा पद्मशमशेरलाई २००२ मंसिर १४ गते तीन चाँद लगाइदिएर रिडीतर्फ प्रस्थान गरे । उनले तीन चाँदसँग गेरू रंगको फेटा साटे । मंसिर १४ गते जुद्धले सिंहदरबारस्थित फुटबल मैदानमा भाइ भारदारको विशेष कार्यक्रम भन्दै बोलाए । कार्यक्रममा कर्मचारी, साहुमहाजन, साधुसन्त समेत सहभागी भए । त्यही विशेष समारोहमा तीन चाँद भतिज पद्यम शमशेरलाई लगाइदिए । भतिज पद्यमले काका जुद्धको पूजाआजा गरे । त्यसपछि लामो भाषण गरे । लामो भाषणको केही आफैले पढे, धेरै माहिला गुरुज्यू हेमराज पाण्डेलाई सुनाउन जिम्मा दिए । भाषणमा जुद्धले पद्यम शमशेरलाई रामराज्य गरे भने । त्यसैगरी मोहन शमशेरलाई भरतले रामलाई मानेझैं पद्मशमशेरलाई मान्नु भने ।
त्यो लामो भाषणमा श्री ३ त्याग्नुको कारण खोल्दै भने–‘मेरा छोरा भतिजहरू राजकाज गर्न समर्थ भएकोले र अघि–अघि रघुकुलका क्षेत्री राजाहरूले पनि उमेर पुगेपछि राजपाठ छाडी जंगलमा तपस्या गर्न गएकाले मैले पनि राजधर्म लिन लागेको छु ।’ भाषण सकिएपछि उपस्थित सबैलाई अनेक खाले उपहार दिए ।
सरदार भीमबहादुर पाँडेका अनुसार, बग्गीमा चढेर सिंहदबारबाट बिदाई भए । टुँडिखेलमा पल्टन र बाटाभरी जनताको अभिनन्दन ग्रहण गर्दै कालीमाटीस्थित छोरा रविशमशेरको दरबार रविभवनमा पुगेर रात बिताए। भोलीपल्ट भीमफेदी पुगेका उनी त्यहाँ दुई दिन बसेका थिए । भीमफेदीबाट अमलेखगञ्ज पुगेर चार दिन बसे । त्यसपछि दुई दिन वीरगञ्जको मुरली दरबारमा बसेर रक्सौलबाट विशेष रेलगाडीमा नौतनवा पुगे । नौतनवाबाट भैरहवा, बुटवल, तानसेन हुँदै रिडी पुगेका थिए ।
पद्मशमशेर श्री ३ महाराज भएको केही दिनमै, जुद्ध शमशेर रिडीतर्फ जान लाग्दा बाटोमै हुँदा काठमाडौंमा पद्मशमशेरले जनताको सामु ‘म राष्ट्र जनताको नोकर हुँ’ भने। पद्ममशेरले जनतासामु बोलेको यो शब्द निरङ्कुश शासकहरूको निमित्त ठूलो प्रहार थियो। जुद्धशमशेरले पनि पद्मशमशेरले बोलेको उद्गारलाई मन पराएनन्। तब रिडीतर्फ जान भनी जुद्धशमशेर बुटबल खस्यौली आइपुगे, त्यहाँ रुद्रशमशेरसँग उनको भेट भयो। रुद्रशमशेरलाई देख्नासाथै जुद्धशमशेरले,"काइँला (रुद्र)! कस्तो नालायकलाई मैले महाराज गराई आएँछु’ भने। जवाफमा रुद्रशमशेरले हात हल्लाइहल्लाई ‘महराजबाटै छानी–छानी बक्सेको हो’ भने। बुटवल खस्यौलीमा जम्मा एक रात मुकाम गरी उनी रिडी अर्गेलीतर्फ लागे।
उत्तरार्ध जीवन र मृत्यु
[सम्पादन गर्नुहोस्]उनी अर्घेलीबाट देहराधुन भारत पसे, देहरादुनमा जुद्धलाई बंगला बनाउन भारत सरकारले त्यहाँको भारतीय गोरखा सेना रहेको क्षेत्रको जग्गा ९० वर्षको लिजमा उपलब्ध गराएको थियो । जीवनको उत्तराद्र्धमा नेपालीभाषी समुदायको बसोबास रहेको देहरादुन बस्न रोजेका जुद्धले त्यहाँ निकै सम्मान पाएका थिए । जहाँ विसं २००९ मार्ग ८ गते[९] उनको जीवनलीला सकियो। गोर्खाली पल्टनले नेपालका पूर्व श्री ३ महाराजको हरिद्वारसम्मको शवयात्रामा ब्याण्डबाजा बजाई सम्मान गरेको थियो ।[८]
स्मारक
[सम्पादन गर्नुहोस्]-
जुद्ध शालिक
-
Juddha Shumsher Jang Bahadur Rana's statue at Newroad, Kathmandu.
-
Inscription of Juddha Salik. JuddhaShumsher Jang Bahadur Rana's statue at Newroad, Kathmandu.
-
Bhadrakali and Sundhara Area 20
-
Sundhara Area 01
सन्तान
[सम्पादन गर्नुहोस्]उनको सन्तानलाई जुद्ध खलक भनेर चिनिन्छ। उनका बीस छोरा र बीस छोरी थिए।
रङ्गमंच / प्रहसन
[सम्पादन गर्नुहोस्]कलाकार हरिवंश आचार्यले सालिक प्रहसनमा जुद्ध शमशेरको शालिकको भूमिका निर्वाह गरेका छन्। सो प्रहसनमा आचार्यले प्रजातन्त्र पुनर्स्थापना पश्चात मौलाएको दलगत बिकृतिको व्यंग्य गरेका छन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ सुवेदी, राजाराम (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: पृष्ठ २६४–२६५, आइएसबिएन 99933-2-406-X।
- ↑ राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २६०।
- ↑ जलस्रोत तथा सिंचाइ विभाग वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-२७ मिति
- ↑ श्रेष्ठ, शोभा (२०७५ चैत्र), "सामाजिक सुरक्षणमा अवकाश कोष", लगानी कोष समाचार: ९।
- ↑ "प्रधान न्यायालय"।
- ↑ http://jcs.gov.np/aboutjsc
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २६१
- ↑ ८.० ८.१ "श्री ३ महाराज त्यागेर जुद्धशमशेर किन आए रिडी ?", लुम्बिनी दैनिक, माघ १५ २०७८।
- ↑ "निर्णय नं. ६८८ - बिगो भराई चलन चलाई पाउँ", नेपाल कानून पत्रिका, साल: २०२९ महिना: बैशाख। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-०६ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]