जुद्ध शमशेर जंगबहादुर राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री ३ महाराज
जुद्ध शमशेर जंगबहादुर राणा
Juddha Shamsher Jang Bahadur Rana.jpg
नेपालको १५औं प्रधानमन्त्री
कार्यकाल
वि.सं. १९८९ भाद्र १७ – वि.सं. २००२ मंसिर ०४
शासकराजा त्रिभुवन
अग्रजभिम शमशेर
उतराधिकारीपद्म शमशेर
नेपालको प्रधान सेनापति
कार्यकाल
वि.सं. १९८६ मंसिर १२ – वि.सं. १९८९ भाद्र १७
प्रधानमन्त्रीभिम शमशेर
अग्रजभिम शमशेर
उतराधिकारीरुद्र शमशेर
व्यक्तिगत विवरण
जन्मजुद्ध शमशेर
बि.सं १९३२ बैशाख ७
मृत्युबि.सं २००९ मंसिर ८
भारतको देहरादुन
अभिभावक(हरू)धीर शमशेर
आमाजुहारकुमारी

जुद्ध सम्शेर जंगबहादुर राणा (०७ बैशाख १९३२-०८ मंसिर २००९ ) नेपालका राणा शासनका सातौं प्रधानमन्त्री थिए। उनी जंगबहादुरको भाई धीर शमशेरका छोरा थिए। आफ्ना दाजू भिम शमशेरको निधन पछि वि.सं. १९८९ भाद्र १७ मा नेपालको श्री ३ महाराज बनेका जुद्ध शमशेर वि.सं. २००२ मंसिर ०४ सम्म नेपालको प्रधानमन्त्री रहे। उनले आफू जीवित छँदै आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई आफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे। यिनको निधन ०८ मंसिर २००९ (सन् १९५२)मा भारतको देहरादुनमा भयो।

जन्म/प्रारम्भिक जीवन[सम्पादन गर्ने]

जुद्ध शमशेर कमान्डर इन्चीफ धीर शमशेरका १७ भाइ छोरामा १५ औँ थिए। उनको जन्म वि सं १९३२ वैशाखमा जुहारकुमारीको कोखबाट भएको थियो।सानैबाट साँवलो, कमजोर र आत्मबलरहित हुँदा बचाउन कठिन परेका जुद्धशमशेरको भाग्य त्यत्तिकै प्रबल थियो। बीस १९४१ मा प्रधानसेनापति धीरशमशेरको मृत्यु हुँदा जुद्ध १० वर्ष पुगेका तर जियारी भने ७ वर्षको बालकको जस्तो हुनाले मर्ने बेलामा निजका आमाले गुन तिर्न आफू समर्थ नहुँदा निजका छोराको ख्याल गर्ने निर्देशन वीर शमशेरलाई दिएकाले जुद्ध रोलवाला भएका थिए। वि.सं. १९४२ मा श्री ३ रणोद्दीपसिंहको हत्या भएपछि श्री ३ पदमा वीरशमशेर आए। त्यही बेला जुद्ध जनरल भए। उनी दसौँ रोलक्रममा थिए। वीर शमशेरले जुद्ध शमशेरलाई थापाथली दरबार दिएका थिए तर कम्पाउण्ड नभएको दरबारमा नबस्ने भनेकाले वीरले उनलाई जावलाखेल दरबार दिए।

जुद्धशमशेर जन्मदै कर्णेल भएपछि लुरे हुनाले १९ वर्षको हुँदा आउँ रगतमासीले झण्डै खुस्केका थिए।

वृत्ति[सम्पादन गर्ने]

वि सं १९५८ उत्तरतर्फका जङ्गीलाठ

वि सं १९६४ पूर्वतर्फका जङ्गीलाठ

वि सं १९७० पश्चिम तर्फका जङ्गीलाठ

वि सं १९८६ प्रधानसेनापति

वि सं १९८९ श्री ३ तथा प्राइममिनिस्टर

कार्यहरु[सम्पादन गर्ने]

आर्थिक सुधार[सम्पादन गर्ने]

जुद्धशमशेरले औद्योगिकरणको नीति लिए। उनले आफूले पनि उद्योगमा लगानी गरे र अरु मानिसलाई पनि उद्योगमा रकम लगानी गर्न प्रेरित गरे। उनले वि सं १९९२ मा उद्योग परिषद् को स्थापना गरे। उद्योगको संरक्षणको लागि औद्योगिक कानुनको व्यवस्था गरे। वि सं १९९३ मा कम्पनी कानुन, वि सं १९९४ मा नेपाल बैंक लिमिटेड , १९९३ मा विराटनगर जुट मिल, १९९५ मा द जुद्धम्याच फ्याक्टरी, १९९९ मा कटन मिल्स, २००० मा नेपाल प्लाइउड एण्ड बबिन फ्याक्ट्री ,मोरङ विद्युत , नेपाल माइका कम्पनी, नेपाल चामल र मैदा कारखाना , १९९२ मा नेपाल केमिकल इन्डस् ट्रिजहरूको स्थापना गरे। त्यस्तै ससाना उद्योगहरूमा सेरामिक्स फ्याक्टरी, कागज कारखाना , साबुन कारखाना, खानी उद्योग, नर्सिङखोला नुन उद्योग , फर्निचर उद्योग, भाँडा उद्योग, जस्ता उद्योगहरू खुले।

नेपालमा कुटिर उद्योगका निम्ति जुद्ध शमशेरले "घरेलु इलम प्रचार अड्डा" मार्फत कतुवा, चर्खा, तान, धागो र प्रविधि सम्बन्धी तालिम दिने व्यवस्था मिलाए। वि सं १९९४ जेठमा नेपालमा १२ दिन उद्योग प्रदर्शनी आयोजना गरियो। १९९६ मा र २००१ मा पनि त्यस्ता प्रदर्शनी भएका थिए। त्यस्ता प्रदर्शनीमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो।

सर्वप्रथम नेपालमा सदर मुलुकी खानाबाट कागजी नोट छाप्ने चलन पनि श्री ३ जुद्धकै समयबाट भएको थियो ।

कृषि सुधार[सम्पादन गर्ने]

वि.सं २००० सालमा सर्लाही जिल्लामा जुद्ध नहरको निर्माण भयो । [१]

प्रशासनिक सुधार[सम्पादन गर्ने]

सेनामा जागिर खाने मानिसलाई नगद तलब दिने , निवृतभरण , सैनिक द्रव्यकोष (हालको कर्मचारी सञ्चयकोष), अवकाशको व्यवस्था पनि भयो। निजामती कर्मचारी र प्रहरी सेवामा पनि केही सुधारहरू भए।

चिडियाखाना , सङ्ग्राहलाय, जन्म मृत्यु दर्ता , खानी अड्डा , समाचार सङ्ग्रह , वनस्पति अड्डा, वनविभाग, व्यापारिक समाचार सङ्ग्रह गर्ने व्यवस्था श्री ३ जुद्धशमशेरले गरे।

राणाहरूले आपसमा जति अन्याय गरे पनि रैतीलाई स्वच्छ न्याय प्रदान गर्दथे। त्यस काममा श्री ३ जुद्ध शमशेर एक पाइला अगाडि बढेर ८ जिल्लामा पुनरावेदन अदालत खोली केन्द्रमा प्रधान न्यायालयको स्थापना गरे।

शैक्षिक सुधार[सम्पादन गर्ने]

जुद्ध शमशेरले शिक्षामा समेत राम्रो योगदान पुर्याएका थिए।। वीरगञ्ज , गौर , काठमाडौंं हस्ता ठाउँ मा उनले पब्लिक स्कुलहरूको स्थापना गराए। विद्यार्थी हरूलाई पढाईमा अभिमुख गराउन पुरस्कार, निशुल्क र तत्कालै जागिर दिने बन्दोबस्त मिलाए। वि सं १९९१ देखि नेपालमा म्याट्रिक जाँचको केन्द्र स्थापना गरि शिक्षा मन्त्रालयले त्यसको जिम्मा लियो। त्यो कामबाट नेपाली विद्यार्थीले जाँच दिन बाहिर जानू परेन। शारदा र उद्योग जस्ता साहित्यिक पत्रिका चलाउने श्री ३ जुद्धले गोरखापत्र साप्ताहिकलाई हप्तामा दुई अङ्क प्रकाशनको आरम्भ भयो। प्रयोगशाला, हुलाकटिकट, छापाखानाको विकास पनि राम्ररी गरियो।

सामाजिक सुधार[सम्पादन गर्ने]

सामाजिक चाडपर्वमा कम खर्च गर्न र विवाहका निम्ति दुवैको उमेर तोकेर बालविवाह र अनमेल विवाह रोके। त्यस्तै आशौच, देउकीप्रथा, काजकिरिया , व्रतबन्धजस्ता कुरामा सुधार गरे। आगलागीका घटनाबाट पाठ सिक्दै उनले जुद्ध वारुण यन्त्रको स्थापना गरे।

  • सदर चिडियाखानाको स्थापना बि.सं. १९८९ मा प्रधानमन्त्री जुद्ध शमसेरले निजि चिडियाखानाको रुपमा सदर चिडियाखाना स्थापना गराएका थिए ।

१९९० को महाभुकम्प[सम्पादन गर्ने]

वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजेको महाभूकम्पमा प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा , निर्व्याजी ॠण सुबिधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए ।

सि क्लास राणापरिवारको निष्कासन[सम्पादन गर्ने]

वि.सं. १९९० चैत ०१ जुद्ध शमशेरले सि क्लास का राणाहरुलाई चार भन्ज्यांगबाट कटाउने कटु निर्णय लिए । उनीहरुलाई रोलक्रमबाट पनि झिकियो । तदनुसार कमाण्डर इन्चीफ रुद्र शमशेरलाई पाल्पाको तैनाथवाला , हिरण्यशमशेर वीरगञ्ज , प्रतापशमशेर इलाम, रामशमशेर जलेश्वर लघारिए। त्यसै गरि जनरल तेजशमशेर, रामशमशेर, महावीरशमशेर, सुवर्णशमशेर लगायतका राणाहरू सपरिवार उपत्यकाबाट चैत्र ५ गते लस्कर साथ टिस्टुङको बाटो बाहिरी पाटो लागे। ।[२]

दोश्रो विश्वयुद्ध[सम्पादन गर्ने]

जनजागरणको आरम्भ[सम्पादन गर्ने]

वि.सं. १९९३ मा नेपाल प्रजा परिषद्को स्थापना भयो। वि.सं. १९९७ सालमा राणा शासन विरुद्ध पर्चा छरेपछि २ सयजना जति पक्राउ परे। वि.सं. २००७ सालको क्रान्तिको आधारभूमि तयार पार्ने ५ जना युवाहरू- टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्माजीवराज शर्मा थिए। १९९७ माघमा शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो।

राज्यत्याग[सम्पादन गर्ने]

वि सं २००२ मार्ग ४ गते बृहद् भारदारी सभामा आफ्नै हातले श्रीपेच झिकी पद्मशमशेरलाई लगाइदिए। उनी अर्घेलीबाट देहराधुन भारत पसे, जहाँ वि सं २००९ मार्ग ८ गते उनको जीवन लीला सकियो।

स्मारक[सम्पादन गर्ने]

  • जुद्ध शालिक
  • जुद्ध सडक

सन्तान[सम्पादन गर्ने]

उनको सन्तानलाई जुद्ध खलक भनेर चिनिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. जलस्रोत तथा सिंचाइ विभाग
  2. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २६१

बाह्य कडीहरू[सम्पादन गर्ने]