सामग्रीमा जानुहोस्

दुष्यन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुष्यन्त
शकुन्तलालाई औंठी दिएर विवाहको प्रस्ताव राख्दै राजा दुष्यन्त। राजा रवि वर्माद्वारा निर्मित चित्र
धर्मग्रन्थहरूमहाभारत
वंशावली
अभिभावकहरू
  • इलिन/सन्तुरोध (पिता)
  • रथन्तरी/उपदानवी (माता)
भाइबहिनीहरूसुष्मन्त/सुर, प्रवीर/भीम, अनघ/प्रवासु, र वसु
जीवनसाथीशकुन्तला
सन्तानहरूशकुन्तलाबाट जन्मेका भरत
वंशचन्द्रवंश

दुष्यन्त हिन्दु ग्रन्थहरूमा वर्णित चन्द्रवंशका एक राजा हुन्। उनी शकुन्तलाका पति र भरतका पिता हुन्। उनी महाभारतकालिदासको नाटक, अभिज्ञानशाकुन्तलम् (अन्दाजी३०० ईस्वी) मा देखा पर्दछन्।[]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

महाभारतका अनुसार, दुष्यन्त इलिन र रथन्तरीका छोरा हुन्, जसलाई क्रमशः इलिन र रथन्तर पनि भनिन्छ।[] जेठो सन्तानले राज्य पाउने अधिकार अनुसार, दुष्यन्त आफ्ना भाइहरू सुर, भीम, प्रवासु र वसुमध्ये सबैभन्दा जेठो भएकाले आफ्ना पितापछि हस्तिनापुरको राजा बनेका थिए।

दुष्यन्तले शकुन्तला र उनका दुई सखीहरूलाई भेट्दै।

महाभारतमा उल्लेख भए अनुसार, एकपटक दुष्यन्त सिकारका लागि निस्किएका बेला एउटा वनमा पुग्छन्, जहाँ मालिनी नदीको किनारमा ऋषि कण्वको आश्रम थियो। त्यहाँ उनले कण्वकी धर्मपुत्री शकुन्तलालाई भेट्छन्, जसले आफ्ना पिताको अनुपस्थितिमा राजाको स्वागत गर्छिन्। शकुन्तलाको सौन्दर्यबाट मोहित भई दुष्यन्तले उनको वंशको बारेमा सोधपुछ गर्छन् र उनले आफू विश्वामित्रमेनकाबाट जन्मिएको कुरा बताउँछिन्। दुष्यन्त उनीसँग प्रेममा पर्छन् र उनीहरूको छोराले सिंहासनको उत्तराधिकारी पाउने सर्तमा गन्धर्व विवाह गर्छन्। शकुन्तला गर्भवती भएपछि, दुष्यन्तले उनलाई आफ्नो दरबारमा लैजाने वाचा गर्दै त्यहाँबाट प्रस्थान गर्छन्।

कण्व फर्किएपछि आफ्नो दिव्य दृष्टिद्वारा सबै घटना थाहा पाउँछन् र शकुन्तलालाई विश्वको शासक बन्ने पुत्रको आशीर्वाद दिन्छन्। उनले सर्वदमनलाई जन्म दिन्छिन्, जसलाई कण्वले नै हुर्काउँछन्। ६ वर्षको उमेरमा उनलाई शकुन्तलासँगै हस्तिनापुर पठाइन्छ। उनीहरू त्यहाँ पुगेपछि दुष्यन्तले उनीहरूको विवाहलाई अस्वीकार गर्दै उनीहरूलाई आफ्नो नातेदार मान्दैनन्। त्यसपछि ठूलो विवाद हुन्छ र अन्ततः एउटा आकाशवाणीले उनीहरूको विवाहको पुष्टि गर्दै सर्वदमन (जसको नाम पछि भरत राखियो) एक महान शासक बन्ने घोषणा गर्छ।[] भरतले २७,००० वर्षसम्म शासन गर्छन् र त्यसैले उनले विरासतमा पाएको र विस्तार गरेको राज्यलाई उनकै नामबाट भारत भन्न थालिन्छ।[]

अभिज्ञानशाकुन्तलम्

[सम्पादन गर्नुहोस्]

गर्मीको समयमा, राजा दुष्यन्तले वनमा एउटा मृगको पछ्याइरहेका हुन्छन् तब उनको भेट एक ऋषिसँग हुन्छ। ती ऋषिले उनलाई त्यो प्राणी कण्वको आश्रमको भएको र त्यसलाई मारेर आश्रमको पवित्रता उल्लङ्घन नगर्न आग्रह गर्छन्। दुष्यन्त मृग नमार्न सहमत हुन्छन् र उनलाई आश्रममा जान प्रोत्साहित गरिन्छ। आश्रममा प्रवेश गरेपछि उनले बिरुवामा पानी हाल्दै गरेका तीनजना अत्यन्तै सुन्दरी युवतीहरूलाई देख्छन् र तीमध्ये एक शकुन्तलाप्रति उनी मोहित हुन्छन्। उनीहरूसँगको कुराकानीपछि उनले शकुन्तलाका वास्तविक मातापिता विश्वामित्रमेनका भएको थाह पाउँछन्। यद्यपि, दुष्यन्तले आफ्नो वास्तविक परिचय लुकाउँछन्। एउटा हात्ती जङ्गलमा बौलाएको खबर सुनेपछि उनीहरूको भेट टुट्छ र शकुन्तला पनि ती आगन्तुकप्रति आकर्षित हुन्छिन्। राजाले आफ्ना सेनापतिलाई अराजकता रोक्न र आफ्ना मानिसहरूलाई आश्रमभन्दा टाढा बस्न निर्देशन दिन्छन्। उनले आफ्नो भावना आफ्नो साथी र विदूषकलाई सुनाउँछन् र शङ्का नजगाइकन आश्रममा बस्ने कुनै बहाना सोच्न आग्रह गर्छन्। सौभाग्यवश, केही तपस्वीहरूले उनलाई आफ्नो यज्ञको रक्षा गरिदिन अनुरोध गर्छन् जसलाई उनले सहर्ष स्वीकार गर्छन्। उनले विदूषकलाई आफ्नो राजधानी पठाउँछन् तर आफ्नो साथीले सबै कुरा खोलिदेला भन्ने डरले उनले शकुन्तलाप्रतिको आफ्नो भावना एउटा ठट्टा मात्र भएको झूटो कुरा बताउँछन्। केही समयसम्म उनले ऋषिहरूको यज्ञको रक्षा गर्छन्। चाँडै शकुन्तलाले दुष्यन्तप्रति आफ्नो प्रेम व्यक्त गर्छिन् र उनीहरूले गन्धर्व विवाह गर्छन्।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. www.wisdomlib.org (२०१२-०६-२९), "Dushyanta, Duṣyanta: 11 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२८
  2. महाभारत, आदि पर्व, सम्भव पर्व
  3. www.wisdomlib.org (२०१९-०१-२८), "Story of Bharadvāja", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२७
  4. www.wisdomlib.org (२०१९-०१-२८), "Story of Bharata", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२७
  5. SrinagarAshram, Abhijnana Shakuntalam Of Kalidasa M R Kale, पृ: 39–40।
  6. Abhigyan Shakuntalam Of Kalidas With R. D. Karmarkar Chaukhamba Sanskrit Pratishthan Delhi, पृ: xii–xiii।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]