कालीकोट जिल्ला
कालीकोट जिल्ला | |
![]() | |
अञ्चल: | कर्णाली अञ्चल |
---|---|
प्रदेश: | कर्णाली |
सदरमुकाम: | मान्मा, |
क्षेत्रफल: | १,७४१ वर्ग कि.मि. |
जनसङ्ख्या: | १,३२,५९३[१] |
गाउँपालिका(हरू): | |
नगरपालिका(हरू): | |
प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या: | १ |
भौगोलिक अवस्थिति: | हिमाल |
सबै भन्दा अग्लो स्थान: | मिटर |
सबै भन्दा होचो स्थान : | मिटर |
प्रमुख जातिहरू: | आदि |
प्रमुख भाषाहरू: | आदि |
मानव विकास सूचकाङ्क: | (७५ जिल्लाहरू मध्ये) |
टेलिफोन कोड: | ०८७ |
प्रमुख जिल्ला अधिकारी: | |
वेबसाइट: | ddckalikot |
(नेपाल सम्बन्धि लेखको अंश) |
प्रशासनिक विभाजन |
---|
![]() |
|
|
|
नेपाल पोर्टल हिमालय पोर्टल |
कालीकोट नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो । यो जिल्ला कर्णाली अञ्चलमा पर्दछ । यहाँको मुख्य पेशा कृषि हो । यहाँको सरदर आयु ४० वर्ष छ ।
वि.स. २०१८ साल अघि अहिलेको कालिकोट जिल्ला राणा कालिन बैधानिक कानुन २००४ अनुसार ३२ जिल्ला अन्तर्गतको जुम्ला जिल्लामा पर्दथ्यो । वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएपछि कर्णाली अञ्चलका ५ जिल्ला मध्ये तिब्रीकोटको रूपमा यस जिल्लाको नाम रहन गयो । यस जिल्लालाई कालीकोट भनी २०३२/८/२६ गते नामाकरण गरीएको हो । यस अघि यस जिल्लालाई तिब्रीकोट भनिन्थ्यो । त्यसैले यस जिल्लालाई "नेपालको कान्छो" जिल्ला भनिन्छ ।
वि.सं. २०४० मा जिल्ला सदरमुकाम मान्मबाट माथी लेकको चुचुरो खांडाचक्रमा सारियो । भुरे टाकुरे मल्ल वंशका अन्तिम राजा मलैब्रम्हको दरवार सामरिक हिसावले महत्त्वपूर्ण यही खांडाचक्रमा थियो भन्ने गरिन्छ जहाँ पुरानो दरवारको भत्केको जगको भग्नावशेष हाल पनि देख्न सकिन्छ । यस जिल्लाको कूल क्षेत्रफल १७४१ वर्ग कि.मी अर्थात १,७८,०३० हेक्टर रहेको छ। यो जिल्ला २९०' ५" उत्तर देखि २९.०२८ उत्तर आक्षांस र ८१०' २८" पूर्व देखि ८२०' ०२" पूर्व देशान्तरमा पर्दछ। जिल्लाको कुल जनसङ्ख्या १,३०,३५६ र घरपरिवार संख्या २१,१७९ रहेको छ। जसमा महिला ६५,८३० र पुरुषको ६४,५२६ देखिन्छ भने औसत परिवार संख्या ६.२६ , जनघनत्व ५९ व.कि.मी रहेको छ। ३० वटा गाविस रहेको यस जिल्लामा ९ वटा इलाकाहरू छन् भने एक मात्र निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लाको पूर्वमा जुम्ला, पश्चिममा अछाम, उत्तरमा बाजुरा र मुगु तथा दक्षिणमा दैलेख र जाजरकोट जिल्ला पर्दछन् । जिल्लाको नामाकरण सन्दर्भमा विभिन्न भनाई भएतापनि कालीकोट जिल्लाको मुग्राहा गाविसको कालीका गाँउमा अवस्थित रहेको कालीदेवीको मन्दिर (माडु)बाट नै यस जिल्लाको नाम कालीकोट रहन गएको हो भन्ने जनधारणा रहेको पाइन्छ । समशीतोष्ण हावापानी भएको यस जिल्लामा गर्मीयाममा अधिकतम तापक्रम १८.६०० से. सम्म र जाडो याममा न्यूनतम तापक्रम ५.६०० से. सम्म पुगेको पाइन्छ । यस जिल्लामा औषत ७३० मिली लिटर वार्षिक वर्षा हुने गरेको छ । समुद्री सतहबाट ७३८ मिटर देखि ४,७९० मिटर उँचाई रहेको छ ।[१]
जिल्लाको नामाकरण
कालिकोट जिल्लाकोको नामाकरण सम्बन्धी निम्न किँवदन्तिहरू पाइएका छन् :- १-मुग्राहाँ गा.वि.स.को कालिका गाउमा अवस्थीत रहेको कालिकादेवीको मन्दिर (मांडु)बाट नै यस जिल्लाको नाम कालिकोट रहन गएको २-कालिकोट जिल्लाको "कालिकोट" भन्ने गाउँको नामबाट तत्कालिन रा.पं.स. धर्म दत्त संज्यालले यो जिल्लाको नामाकरण गरेका थिए ।[१]
भौगोलिक अवस्थिति
![]() |
बाजुरा | मुगु | ![]() | |
अछाम | ![]() |
जुम्ला | ||
![]() ![]() | ||||
![]() | ||||
दैलेख | जाजरकोट |
- अक्षांश
२९ डीग्री ५ मिनेट देखि २९ डीग्री २८ मिनेट उत्तरी अक्षांश
- देशान्तर
८१ डीग्री २८ मीनेट देखि ८२ डीग्री ०२ मिनेट पूर्वी देशान्तर
- सीमाना
पूर्व जुम्ला, पश्चिम अछाम, उत्तर बाजुरा र मुगु, दक्षिण दैलेख र जाजरकोट जिल्ला।
- कुल क्षेत्रफल
१,७४१ ब.कि.मी.
भू-वनोट
कालीकोट जिल्लाको पहाडी श्रृङ्खलाको भिरालो जमीनमा पनि खेती गरेको देखिन्छ । गह्रा नबनाई वनफडानी गरी भिरालो जग्गामा खेती गर्ने प्रवृत्ति, जथाभावी रुख काट्ने गरेको कारणबाट यस क्षेत्रमा बढी भू-क्षय र भू-स्खलन हुने गरेको छ । भू-क्षय हुने ठाँउहरूमा खास गरेर कर्णाली नदी तटका गाविसहरू, तीला नदी किनाराका वस्तीहरू लगायत साना खोलाहरूको छेउछाउ पर्दछन् । वर्षेनी नदीहरूले ठूलो मात्रामा जमिन कटान गरी धनजनको क्षति गर्ने गरेको उदाहरणहरू पनि यस जिल्लामा प्रसस्त पाइन्छन् । यहाँको भू-बनोटलाई निम्नानुसार छुट्ट्याइएको छ ।
- (क) उत्तरी क्षेत्र
पहाडी भू-भाग रहेको यस क्षेत्रको माटोमा मसिना बालुवा, ढुङ्गा, फुस्रो रातो माटो पाईन्छ । यसप्रकारको माटोमा फलफूलमा सुन्तला,मौसम तथा अन्नमा मकै, फापर, कोदो, जौ आदि फस्टाएको पाईन्छ । यहाँका चट्टानहरू कमजोर ( Fragile) छन् र तिनीहरु Stone र Conglomerates ले बनेका छन् ।
- (ख) मध्य क्षेत्र
यो क्षेत्र (पहाडी भू-भागका फेद अर्थात चुरेको फेद) मा ग्राभेल, बालुवा, फुस्रो, रातो हल्का दोमट तथा अलि चिम्टाइलो किसिमको माटो पाइन्छ । अदुवा, फाफर, गहुँ, धान र फलफूलमा निवुवा, कागती आदि यहाँ फस्टाएको पाइन्छ र यस क्षेत्रको माटो साधारणतया Sandy Loam रहेको छ ।
- (ग) दक्षिण क्षेत्र
अलि अलि समथर भू-भागमा रहेको यस क्षेत्रमा चिम्टाइलो, बलौटे, दोमट, सवै किसिमको माटो पाइने हुनाले उर्वरा शक्ति राम्रो छ । यद्यपि यस क्षेत्रको माटोमा हल्का अम्लीय पन भएको पाइएको छ तापनि उर्वरा शक्तिमा त्यति असर परेको छैन । अधिकांश सिंचाई सुविधा रहेको यस क्षेत्रमा जमीनको उत्पादन क्षमता ज्यादै राम्रो छ । यहाँका प्रमुख बालीमा धान, मकै, कोदो, गहुँ तथा नगदे बाली उत्पादन गरिन्छ ।
प्रमुख पहाड एवं चुचुराहरू
- महाबुलेख- ओदानुक गा.वि.स.
- चुलीमालीका- दाहा र बदालकोट गा.वि.स.
- भवानिधाम -सुकाटिया गा.वि.स.
- पुगमालीका-फोईमहादेब गा.वि.स.
- बढीमालीका-मुम्रा र रूप्सा गा.वि.स. वीच बाजुराको सीमानामा
- देउली - नानीकोट फुकोट स्युना र सीपखाना गा.वि.स. वीचमा पर्दछ।[१]
जल सम्पदाहरू
जल भण्डारको दृष्टिकोणले कालीकोट जिल्लालाई अब्वल श्रेणीमा राख्न सकिन्छ । चीनको स्वशासित क्षेत्र तिब्बत क्षेत्रमा पर्ने मानसरोवरबाट बगेर आउने नेपालकै सवैभन्दा लामो नदी कर्णाली यस जिल्लाको बीच हुँदै बगेको छ । यस बाहेक तीला पनि प्रमुख नदीकोरूपमा मानिन्छ । साना साना खोलाहरू पनि प्रशस्त छन् । जसलाई प्रयोगमा ल्याउन सके जिल्लाले १४८० किलोवाट सम्म विद्युत निकाल्न सकिने सर्वेक्षणबाट देखिएको छ भने मुम्राको ५०० किलोवाट वाट जिल्लाको सदरमुकाम सहित ७ गाविसमा वत्ति बलेको छ । चिल्खाया गाविसमा २५ किलोबाटको साना जलविद्युत आयोजना सञ्चालन रहेको छ भने ओदानकु साना जलविद्युत आयोजनावाट पनि त्यस गाविसका जनताले वत्ति उपभोग गर्न पाएका छन । कर्णाली नदी र तिला नदीवाट ठूला जलविद्युत आयोजना सञ्चालन गर्न सक्ने प्रवल सम्भावना देखिन्छ । यस जिल्लामा सदरमुकाम र केहि गाविसहरूमा सौर्य प्रणालीबाट सिमित व्यक्तिहरूले प्रयोग गरेको पाइन्छ भने खाना पकाउने ग्यास र मट्टितेल थोरै जनसङ्ख्याले मात्र उपयोग गरेको छन् भने प्राय दाउरा नै प्रयोगमा ल्याएको पाईन्छ भने केहि सङ्घ संस्थाहरूको सहयोगमा सिमित ब्यक्तिहरूले गोवर ग्यास प्लान्ट पनि प्रयोगमा ल्याएको देखिन्छ[१] ।
नदीहरू
कर्णाली जिल्लाको मध्य भूभाग हुंदै उत्तरबाट दक्षिण तर्फ बगेको छ। तिला जुम्ला जिल्लाको पूर्वी भागबाट पश्चिम हुंदै कालिकोट जिल्लामा प्रवेश गरी सेरीगाड नजिककर्णालीमा मिसिन्छ।
गाडहरू
सान्नीगाड, फुगाड, खुलालुगाड, जुगाड, खलागाड, पाद्मगाड, नाग्मगाड, बालीगाड, भर्तागाड, लापुगाड, दाम्नीगाड, पिपगाड, उखाडीगाड, जाफेगाड, सीम्लेगाड, खल्लागाड, झयागाड।
तालहरू
- त्रीदेवी ताल (बढीमालीकाको लेक पाटनमा)
- गडुलरलानिह दह (रकुको लेकमा)
- लाकेदह (मुम्राको लेकमा)
- पान दह (पाखाको लेकमा)
- राखेरवाडादह (फुकोटको लेक पाटनमा)
झरनाहरू
- भित्ता छहरा झरना (ओखरभिट्टा,छाप्रे)
- पचाल झरना (राम्नाकोट गा.वि.स.)
- फुगाड झरना (फुकोट गा.वि.स.)
- पचछहरी झरना (बदालकोट गाविस)
प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरू
यस जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थल तथा मन्दिरमा बडीमालिका मन्दिर, चुली मालिका मन्दिर, पुग मालिका मन्दिर,महावु शिव मन्दिर, पञ्चदेवल (पंच पाण्डवद्धारा निर्मित), चुलीमालिका मन्दिर (मान्म, पाँखा र वदालकोट बीच) तिला गुफा, (रांचुली) ढुँगे बगैचा, महाबु मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, देउली, रामारोशन, पचाल झरना, फुगाड झरना, पचछहरी झरना आदि प्रमुख रहेको पाइन्छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा अवस्थित बडीमालिका मन्दिर पर्यटकीय एवं धार्मिक दुवै दृष्टिले महत्त्वपूर्ण छ जुन हिन्दुहरुका लागि झनै महत्त्वपूर्ण मानिन्छ । यिनलाई ब्यवस्थित तरिकाले संरक्षण र सर्म्वर्द्धन गरी वाह्य र आन्तरिक पर्यटनलाई आर्कषण गरी पर्यटकिय क्षेत्रकोरूपमा विस्तार गरे यस जिल्लाको आय आर्जनमा टेवा पुगि गरिवी निबारणमा सहयोग पुग्ने देखिन्छ । जसको लागि विभिन्न तह र तप्कावाट प्रचार प्रसार गर्न आवश्यक छ । पर्यटन वर्ष २०११ लाई लक्षित गरी विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमहरू मार्फत पनि पर्यटकलाई यस जिल्लामा भित्राउन सकिने प्रवल सम्भावना देखिन्छ ।
- पाचदेबल (पांच पाण्डवहरू निर्मित, मान्म गेला सुकाटिया मेहेलमुडी र सिपखाना गा.वि.स.)
- बडि मालीका मन्दिर (कालीकोट र बाजुराको सीमानामा)
- पुगमालीका मन्दिर (राम्नाकोट गा.वि.स. र फोईमहादेब गा.वि.स.)
- चुलीमालीका मम्दीर (बदालकोट र दाहा गा.वि.स. बीचमा पर्ने)
- कालिका मन्दिर (मुग्राहा गा.वि.स.)
- कृष्ण मन्दिर(मान्म)
- देउली (खिन)
- महावैमन्दिर (ओदानकु)
- सम्वुनाथ (सिउना)
- बजुमालिका (लालु)
- खेस्ममालिका (खिन) मन्दिर आदी
- दाहानल थान (सुकाटिया)[१]
संस्कृति
कालीकोट जिल्लामा थरी थरीका जात जातीका मान्छेहरूको बसोवास रहेका करणले यहाँको संस्कृतीमा धेरै भिन्नता पाइन्छ । अलग अलग जात जातीका मान्छेहरू सबैले आफ्नो आफ्नो रिती रिवाज अनुसार आफ्नो आफ्नो परम्पराले मनाउदै आएका चाड पर्वहरू मनाउने गर्दछन्। यो जिल्लामा मनाईने प्रमुख चाडपर्वहरूमा देउडा नाच, मारूनी नाच बैसेरी नाच, हुड्केउली नाच, फुर्का नाच, आदीको सुन्दर झलक देख्न पाइन्छ । लोक रितिस्थिति र सांस्कृतिक परम्पराका दृष्टिकोणले पनि कालीकोट जिल्ला एक अद्वितीय भूमि हो । कालीकोटले सबैलाई आफ्नो मौलिक परिचय दिएको छ र विशिष्ट संस्कार अनि संस्कृति दिएको छ । कालीकोटले पौरख सिकाएको छ र हाँसीहाँसी लडेर मर्न सिकाएको छ । जन्मदेखी मृत्युसम्मका सबै अवसरहरूमा, स्थानिय चाडपर्वहरूमा, मन्दिर तथा देवस्थलहरूमा, राम रमाइलोमा, युद्धको मैदानमा, विजयको उन्माद र पराजयको पीडामा, दुःख सुखमा, वनपाखा तथा मेलापात जस्ता सबै अवसरहरूमा अलग अलग प्रकारका गीत, बाजा, तथा लय र सङ्गीतको सिर्जना गरेको छ कालीकोटले । इतिहासको कालखण्डमा कान्छो जिल्ला भए तापनि यहाँ गुञ्जने गीत र लोक लयले यस जिल्लाको इतिहासको कथा व्यथालाई गीतमालामा उनेर गुनगुनउँदै आईरहेको छ । आफ्नो जिवन्त ऐतिहासिकतालाई सार्थक तुल्याउदै आधुनिकताको मार्गमा अघि बढिरहेको छ । कालीकोट जिल्लाको पूर्व, पश्चिम, उत्तर, दक्षिण, लेक, बेसीमा अलग अलग रूपमा लोक प्रचलनमा रहेका अमूर्त सांस्कृतिक सम्पदाहरूको सूची लामो छ । पञ्चे बाजा, हुडके नाच, देउडा, धमारी, रत्यौली, चैत, भारतजस्ता सम्पदाहरू यस जिल्लामा बढी प्रचलनमा रहेको पाइन्छ । त्यसै गरी रहरे बैंसारी, गुरु बैंसारी, सरौं, मारुनी, गर्राजस्ता सम्पदाहरू कालीकोट जिल्लाको विभिन्न क्षेत्रमा प्रचलित छ । यो जिल्लामा मनाईने प्रमुख चाडपर्वहरू यस प्रकार रहेका छन्।
- दशैं
- तिहार
- माघे संक्रान्ति
- जनैपूर्णिमा
- तीज
- गाइजात्रा
- कृष्णाष्टमी
- फागु पूर्णिमा
- शिवरात्री
- चैते दशैं
- स्वस्थानी
- भस्सि जात्रा
- भैले जात्रा
- भैनी
- पुष पन्ध्र
- गल्लौडी
- मालिका चतुर्दशी
- रोपाईं जात्रा
- सोह्र श्राद्ध
- नाग पञ्चमी
माथी उल्लेखित प्रमुख चाडपर्वहरूका साथै विभिन्न जनजातीहरूले अन्य थुप्रै आफ्नो आफ्नो परम्परा अनुसारका चाडपर्व तथा उत्सवहरू मनाउछन्। यस्ता चाडपर्वमा यहाँ खानपान नाचगानका साथै फुटबल, भलिबल, बुद्धी चाल, दौड प्रतुयोगीता जस्ता खेल तथा अन्य कार्यक्रमहरूको आयोजना पनि गरिन्छ। तिहारको बेला यहाँ तास खेल्ने चलन पनि रहेको छ ।
ब्यापारिक महत्त्वका स्थानहरू
घरेलु तथा साना उद्योग विकास समिति कालीकोटबाट उपलब्ध गराइएको तथ्याङ्क अनुसार यस जिल्लामा संचालित उद्योग तथा फर्मको संख्या ४८ छ भने निर्माण सेवाको संख्या जम्मा ५५ वटा पाईन्छ भने ब्यापार ब्यवसायको संख्या ९० रहेको देखिन्छ मान्म खांडाचक्र, शेरीगाड, जितेगडा, र्थिपु, स्युना, चिल्खाया, जुविथा, फोईमहादेव आदी यस जिल्लाका मुख्य व्यपारिक स्थानहरू हुन् [१] ।
कृषी उपज
यस जिल्लाको आधा भन्दा बढी भू-भाग ६१.४०% (१११०९०.१३ हेक्टर) वन क्षेत्रले ढाकिएको छ भने चरन क्षेत्र २५.२७%(४५००० हेक्टर) र अन्यमा २.०३% (३६१४.०१ हेक्टर) क्षेत्र पर्दछ । यसरी हेर्दा कूल क्षेत्रफलमा केबल १८०८७.८० हेक्टर (१०.१६%) जमिन मात्र आवादी तथा खेतीयोग्य छ । यस जिल्लामा बार्ह्रै महिना सिचाई सुविधा पुग्न सक्ने सम्भावना न्यून देखिएको छ केवल १५४१.३५ हेक्टर जमीनमा मात्र बाह्रै महिना सिंचाई सुविधा उपलब्ध भएको पाइन्छ भने अझै १२४३४.३८ हेक्टर जमीनमा सिंचाईको व्यवस्था गर्न बाँँकी रहेको छ । यसतर्फ समयमानै जल उपभोक्ता समिति लगायत स्थानीय निकाय र नेपाल सरकारको ध्यान पुग्नु अति आवश्यक देखिन्छ । यस जिल्लाका वासिन्दाहरू ९० प्रतिशत भन्दा बढी कृषि पेशामा आधारित छन् । ७० प्रतिशत जनताको भागमा ० देखि ५ रोपनी सम्म मात्र सिंचित जग्गा पर्दछ भने त्यसमध्ये ७७ प्रतिशत असिंचित क्षेत्र पर्दछ । यसका साथै ९० प्रतिशत भन्दा बढी जनसङ्ख्याले खाद्य अभावका कारण भोकमरीको समस्या झेल्नु परिरहेको छ । यस जिल्लामा बाली लगाएको क्षेत्रफलमा सबभन्दा बढी गहुँ ४८०० हेक्टर छ भने उत्पादन पनि अरु बाली भन्दा बढी नै हुने गरेको पाइन्छ । क्षेत्रफलको हिसाबमा धान दोश्रोमा पर्दछ भने उत्पादनको हिसावले मकै दोश्रो स्थानमा पर्दछ । जस अनुसार मकै १७३० हेक्टरमा वार्षिक २५९० मेट्रिक टन उत्पादन हुन्छ भने धान २०८० हेक्टरमा २२२५ मेट्रिक टन उत्पादन हुने देखिन्छ । जौ, कोदोको अवस्था पनि राम्रो नै रहेको देखिन्छ । त्यसै गरी दलहन, अदुवा, खुर्सानी, बेसार, आलु,मौसमी र वेमौसमी तरकारी लगायत अन्य फलफूलको उत्पादन पनि राम्रो नै भएको पाईन्छ । यस जिल्लामा फलफूल बालीका रूपमा पनि निकै उपयुक्त खाले हावापानी रहेको पाइन्छ: खासगरी स्याउ, सुन्तला, कागती र ओखर यस जिल्लाका प्रमुख फलफूल मानिन्छन् । फलफूलमा सबैभन्दा बढी स्याउनै कालीकोट जिल्लामा उत्पादन भएको पाइन्छ । करिब ४०५ हेक्टर जमिनमा वार्षिक ३०६ मेट्रिक टन स्याउ यस जिल्लामा उत्पादन हुने गर्दछ । त्यसै गरी दोस्रोमा कागती पर्दछ । जुन कुल ३६२ हेक्टर जमिनमा वार्षिक उत्पादन १३२ मेटि्रक टन उत्पादन हुने गर्दछ । उत्पादनका हिसाबले कुल ३०५ हेक्टर जमिनमा ९६.७ मेट्रिक टन वार्षिक उत्पादन सुन्तला तेश्रो स्थानमा रहेको देखिन्छ भने ओखर पनि राम्रै उत्पादन हुने तथ्यांकबाट देखिन्छ । पशुपालनलाई सहायक पेशाको रूपमा गणना गरिने भएता पनि कृषि व्यवसाय अवलम्बन गर्नेहरुका लागि नभई नहुने पेशा हो । जसको प्रत्यक्ष सम्बन्ध कृषिमा रहेको हुन्छ । खासगरी घना जंगल र घाँसे मैदान रहेको कालीकोट जिल्लामा पशुपालन व्यवसायले राम्रो स्थान प्राप्त गर्न सक्दछ । आर्थिक सम्पन्नतामा पनि यस पेशाले दरिलो भाग ग्रहण गर्न सक्दछ । कालीकोट जिल्लाका सबै गाविसहरूमा पशुपालनलाई व्यवसायकै रूपमा अंगालेको पाइन्छ । कालीकोट जिल्लामा घरपालुवा जनावरहरु मध्ये गाई, गोरु, भैंसी, भेडा, जस्ता जनावर पालेको पाईन्छ जसबाट खेतीको लागि गोवर मल, आय आर्जनको लागि दूध,उनी, र सामान ओसार पसार गर्नको लागि घोडा र खच्चर पालेको पाईन्छ ।[१]
स्वास्थ्य स्थिति
स्वास्थ्य क्षेत्रमा पनि यस जिल्लाको अवस्था कमजोर नै पाइन्छ । कुल १५ शैय्याको एकमात्र अस्पताल भएको कालीकोट जिल्लाको अन्तरसम्बन्ध अन्य नजिकको जिल्लामा बढी हुनु अस्वभाविक होइन । प्रति चिकित्सक जनसङ्ख्याको अनुपात ३५,१९३ रहेको जिल्लाले चिकित्सकको सेवा लिन पनि जुम्ला तथा सुर्खेतका साथै नेपालगञ्ज धाउनु पर्ने वाध्यता छ । कुल १,३२,५९३ जनसङ्ख्या रहेको कालीकोट जिल्लामा जनसङ्ख्याको अनुपातमा जिल्ला भित्र कार्यरत स्वास्थ्य संस्थाहरूको विवरण निकै कमी रहेको अनुमान सजिलैसंग गर्न सकिन्छ । कालीकोट जिल्लामा केवल १५ शैयाको एक मात्र अस्पताल भएको तथ्यांकले देखाउँछ । यसै गरी स्वास्थ्य चौकीको संख्या ९ छ भने उपस्वास्थ्य चौकीको संख्या १९ रहेको छ । कालीकोट जिल्लाको स्वास्थ्य अवस्थामा व्यापक मात्रामा सुधार गर्नु पर्ने देखिन्छ । कालीकोट जिल्लामा स्वास्थ्यको स्थिति हेर्दा अधिकांश गाविसहरूमा सुत्केरी महिलाहरूलाई खोप (प्राप्त तथ्याङकको आधारमा) आवश्यकता अनुसार दिने गरेको पाईएन । अधिकांश महिलाहरू आफ्नै घरमा कुनै सहयोगी वा सुडेनीको सहयोगमा सुत्केरी गराउने प्रचलन रहेको छ । बाल स्वास्थ्यको सर्न्दभमा भने चेतनशिलाताका कारण बालबालिकाहरूलाई यथा समयमा खोप दिने गरेको देखिन्छ [१] ।
शाक्षरता
मानविय मुल्य एवं मान्यतालाई आत्मसाथ गरी आधुनिक प्रविधिवाट दैनिक कार्य सम्पादन गर्न सक्ने नागरिक तयार गर्नु शिक्षाको मुख्य उद्देश्य हो । तर्सथ सवै शैक्षिक प्रक्रियाहरूलाई आम नागरिक तथा बालबालिकाको दैनिक जीवनसँग तादत्म्यता राख्दै स्थानीय ज्ञान तथा आधुनिक ज्ञानको उपयुक्त सामायोजन गरी स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको जनशक्ति तयार गर्नु पनि गुणस्तरीय तथा उपलब्धिमूलक शिक्षाको मूल उद्देश्य हो । यसै उद्देश्य अनुरुप यस जिल्लामा पनि शैक्षिक संस्थाहरू सञ्चालन हुँदै आएका छन् । खास गरी साक्षरता अभियान, अनौपचारिक शिक्षा, बाल विकास केन्द्र, प्राथमिक विद्यालय, निम्न माध्यमिक विद्यालय, माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय तथा क्याम्पस तहको अध्ययन कार्य लाई समेटिएका छन् । केवल एकमात्र क्याम्पस र पाँच वटा उच्च माध्यमिक विद्यालय भएको कालीकोट जिल्लामा अवश्य नै उच्च शिक्षा प्राप्तिका लागि अञ्चल सदरमुकाम जुम्ला लगायत छिमेकी जिल्लाहरू जुम्ला, दैलेख तथा सुर्खेतमा जानु पर्ने बाध्यता छ । यसको अलावा नेपालगञ्ज र देशको राजधानी शहर काठमाडौँसम्म पनि जानुपर्ने हुन्छ । कुल साक्षरता दर ५८.९१ प्रतिशत छ । अझै पनि ४१.०९ प्रतिशत जनता शिक्षाको उज्यालो घामवाट वन्चित छन् । गाविसहरूको हकमा सबैभन्दा बढी साक्षरताको सङख्या कुल जनसङख्या ५०९६ रहेको फुकोट गाविसमा रहेको छ। त्यहाको कुल साक्षरता संख्या महिलामा १४०६ र पुरुषको सङख्या २१७२ गरी कुल ३५७८ छ भने कम साक्षरता कुल जनसङंख्या ३२२१ रहको मुम्रा गाविसमा रहेको पाईन्छ जहाँ महिलाका सङख्या १७८ र पुरुषको सङंख्या २३४ गरी केवल ४१२ जना मात्र शिक्षित देखिन्छन् । सबैभन्दा बढी जनसङ्ख्या भएको सुकटीया गाविसमा निरक्षताको सङख्या महिलामा १३६ र पुरुषमा ७१० रहको छ।[१]
यातायात
यस जिल्लाका प्रमुख सडकमा सुर्खेत-कालीकोट कर्णाली राजमार्ग पर्दछ जसको लम्वाई २२३ किलोमिटर छ । यस सडकले मान्म, भर्ता,फोइमहादेव, दाहा, पाखा, छाप्रे जुविथा, राचुली गाउ विकास समितिहरूलाई छोएको छ । सुर्खेतको बाङ्गेसिमलबाट शुरु भई सोतखोला २४ किमि,बडीचौर २६ किमि, स्याउले ४० किमि, तल्लो डुङ्गेश्वर ६४ किमि, पादुका खोला ८३ किमि, रामाघाट ९४ किमि, असाराघाट ९९ किमि, राकम कर्णाली ११८ किमि, मान्म १३० किमि पिली १७३ किमि, नाग्म १९५ किमि, तातोपानी २१७ किमि, जुम्ला खलङ्गा २३३ किमिमा पुगेर टुङ्गिन्छ। कर्णाली राजमार्गको यस जिल्लाको प्रवेश बिन्दु भर्ता गाविस हो भने अन्तिम बिन्दु फोइमहादेव गाविस हो । यो राजमार्ग समुद्र सतहबाट २००० मीटर उचाईंमा रहेको छ । यस जिल्लाबाट हवाई सेवाका लागि नजिक बाजुराको कोल्टी र जुम्लाको जुम्ला विमानस्थल हो जहाँ पुग्न पैदल ३ दिन लाग्छ भने सवारी साधनबाट १ दिन लाग्छ । जुन सडक वर्षायाममा भरपर्दो छैन । [१]
सञ्चार
तीस गाउँ विकास समिति भएको यस जिल्लामा ३० वटै गाविसमा मोवाईल ( CDMA) सेवा पुगेको देखिन्छ भने ल्यान्ड लाइन २१५ लाइन मात्र सदरमुकाममा केन्द्रित रहेको छ भने मोवाइल सेवा अन्तर्गत १२५० GSM र २५०० CDMA को प्रयोग भएको पाइन्छ भने इमेल इन्टरनेटको लागिADSL सेवा संचालनमा आईररहेको छ । रेडियो नेपाललाई एफ एम स्टेशनवाट सजिलै सुन्न सकिन्छ भने रेडियो नयाँकर्णाली र चुलीमालिका सामुदायिक एफ एमहरू सञ्चालन भैरहेका छन । स्थानीय स्तरबाट खाँडाचक्र दैनिक पत्रिका पनि प्रकाशनमा आईरहेको छ।[१]