सामग्रीमा जानुहोस्

महेन्द्र वीरविक्रम शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(श्री ५ महेन्द्रबाट अनुप्रेषित)

महेन्द्र वीर विक्रम शाह देव
राजा महेन्द्र
नेपालका राजा
शासनकालवि.सं. २०११ चैत १ – वि.सं. २०२८ माघ १७[]
राज्याभिषेकवि.सं. २०१३ वैशाख २१
पूर्वाधिकारीराजा त्रिभुवन
उत्तराधिकारीराजा वीरेन्द्र
जन्म१९७७ जेठ ३०
(१९२०-०६-११)११ जुन १९२०
नारायणहिटी दरवार, काठमाडौँ, नेपाल
मृत्युवि.सं. २०२८ माघ १७
३१ जनवरी १९७२(1972-01-31) (उमेर ५१)
दियालो बङ्गला, भरतपुर, नेपाल[]
जीवनसाथीइन्द्र राज्यलक्ष्मी देवी शाह
(वि.सं. १९९७ बैशाख २९[] –२००७ भदौ १८, मृत्यू)
रत्न राज्यलक्ष्मी देवी शाह (वि.सं. २००९ माघ २५–२०२८, मौसुफको मृत्यु)
सन्तानशान्ति शाही
शारदा शाह
वीरेन्द्र वीर विक्रम शाह
ज्ञानेन्द्र शाह
शोभा शाही
धिरेन्द्र शाह
नाम
महेन्द्र वीर विक्रम शाहदेव
वंशशाह वंश
वंशनारायणहिटी दरवार
बाबुत्रिभुवन वीर विक्रम शाह‎
आमाकान्ति राज्यलक्ष्मी देवी शाह
धर्महिन्दु

महेन्द्र वीर विक्रम शाह नेपालका नवौँ शाहवंशीय राजा थिए। उनले वि.सं. २०११ चैत १ देखि वि.सं. २०२८ माघ १७ सम्म नेपालको राजाको रूपमा सेवा गरेका थिए।[] उनले १९९७ वैशाख २९ गते हरि शमशेर जबराकी छोरी इन्द्र राज्यलक्ष्मी देवी शाहसँग विवाह गरेका थिए जहाँ उनीसँग उनका तीन छोरा वीरेन्द्र, ज्ञानेन्द्रधीरेन्द्र र तीन छोरी शान्ति, शारदा र शोभा रहेका थिए। राजा महेन्द्रले वि.सं. २०१८ सालमा नवलपरासीको उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए भने उनलेे वि.सं. २०२२ सालमा नवलपरासी जिल्लाको गैँडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरेका थिए।[]

महेन्द्र उच्चकोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए। आजको विन्दुबाट इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दूरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्न सकिन्छ।[][]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

राजा महेन्द्रको जन्म विक्रम सम्वत् १९७७ मा नारायणहिटी दरबारमा भएको थियो। उनको विवाह जुद्ध शमशेरको नातिनी इन्द्र राज्य लक्ष्मीसँग भएको थियो।[] विक्रम सम्वत २००७ कात्तिक २१ मा राजा त्रिभुवनले भारतीय दुतावासमा शरण लिंदा युवराज महेन्द्र पनि सँगै गएका थिए।[]

राजा त्रिभुवनले २००७ को क्रान्तिपछि राणाहरूलाई बिदाइ गर्ने क्रममा २००७ को अन्तरिम शासन बिधानमा राजसंस्थाको अधिकार घटाएकोमा महेन्द्रको चित्त बुझेको थिएन ।[१०]

महेन्द्र राजा त्रिभुवनको उत्तराधिकारीको रूपमा नेपालको राजा भएका थिए। राजा त्रिभुवनले उपचारको लागि युरोप प्रस्थान गर्दाको समयमा महेन्द्रले तात्कालिन राजा त्रिभुवनबाट शासनाधिकारको अख्तियार पाएका थिए। उनको राज्याभिषेक विक्रम सम्वत् २०१३ वैशाख २१ मा भएको थियो।[११][१२]

टङ्कप्रसाद आचार्यको मन्त्रीमण्डल

[सम्पादन गर्नुहोस्]

२०१२ साल माघ १३ गते, राजा महेन्द्रले आचार्यलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।[१३] उनको प्रधानमन्त्रीको क्रममा पहिलो पञ्चवर्षीय योजनाको सुरु भएको थियो। उनकै पालामा नेपाल राष्ट्र बैङ्क[१४]सर्वोच्च अदालतको[१५] स्थापना भएको थियो। आचार्यको कार्यकाललाई विदेश सम्बन्धका लागि नेपालका लागि सुनौलो युगको रुपमा पनि हेरिएको छ। धेरै देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुका साथै सरकार चिनियाँ सरकारसँग घनिष्ठ सम्बन्ध कायम गर्न सफल भएको थियो। २०१३ असोज २२ गते चीन सरकारले नेपाललाई ६ करोड प्रदान गरेको थियो।[१६]टङ्कप्रसाद आचार्यले २०१४ असारमा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।[१७]

कुँवर इन्द्रजित सिंहको मन्त्रीमण्डल

[सम्पादन गर्नुहोस्]

कुँवर इन्द्रजित सिंहलाई २०१४ सालमा राजा महेन्द्रले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।[१७][१८] उनको मन्त्रिपरिषदमा शिक्षा मन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा रहेका थिए।[१९] अत्यन्तै उद्दण्ड स्वभावका देखिएकाले उनको सरकार ३ महिनासम्म पनि टिक्न सकेन। पछि उनलाई प्रतिस्थापन गर्दै सुवर्ण सम्शेर राणाको नेतृत्त्वमा सरकार गठन भएको थियो।[२०] जनरल नर शमशेरको अनुसार उनले राजा महेन्द्रलाई उनकै पुर्खाहरू मझे निष्क्रिय बनाएर के आइ सिंहले आफू सर्वेसर्वा हुने प्रयास गरेकाले राजा महेन्द्रले उनलाई बर्खास्त गरेका थिए।[२१]

राजा महेन्द्र र रानी रत्न

नेपाल अधिराज्यको संविधान २०१५

[सम्पादन गर्नुहोस्]

देशलाई संसदीय व्यवस्था तर्फ लैजानका लागि राजा महेन्द्रले २०१५ मा संविधान जारी गरेका थिए। यो संविधान विक्रम सम्वत् २०१५ फागुन १ गते घोषणा गरिएको थियो।[२२] २०१५ सालको निर्वाचन यसै संविधान अनुसार भएको थियो।[२३]

आम निर्वाचन २०१५

[सम्पादन गर्नुहोस्]

आम निर्वाचन २०१५, नेपालको संसद्को तल्लो सदन प्रतिनिधि सभाको लागि १०९ प्रतिनिधिहरूलाई निर्वाचित गर्नको लागि वि.सं. २०१५ साल फागुन ७ देखि वि.सं. २०१५ साल चैत २१ सम्म ४५ दिन लगाएर गरिएको नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचन थियो।[२४] वि.सं. २०१५ फागुन १ गते लागु गरिएको नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम यो निर्वाचन सम्पन्न गरिएको थियो।[२५]

बिपी मन्त्रिपरिषद्

[सम्पादन गर्नुहोस्]
प्रधानमन्त्री पदको सपथग्रहण समारोहमा बिपी (बायाँ) र महेन्द्र (दायाँ)

निर्वाचनमा सबैभन्दा ठुलो दलको रूपमा उदाएको नेपाली काङ्ग्रेसले[२६] पार्टी सभापति बिपी कोइरालालाई संसदीय दलको नेता छानेर उनलाई नेपालको प्रधानमन्त्री बनाउन दावेदारी पेश गरेको थियो। वि.सं. २०१६ जेठ १३ मा नेपाली काङ्ग्रेसका विश्वेश्वरप्रसाद कोइरालाले तत्कालिन राजा महेन्द्र वीर विक्रम शाह समक्ष सपथग्रहण लिई आफ्नो कार्यभार सम्हालेका थिए।[२७]

२०१७ साल पुष १ को कदम

[सम्पादन गर्नुहोस्]

महेन्द्रले विक्रम सम्वत् २०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर राजनीतिक दलहरूमाथि प्रतिवन्ध लगाएर एकतन्त्रीय शासन चलाएका थिए। यही आधारमा उनलाई प्रजातन्त्र विरोधी, निरङ्कुश, तानाशाह जस्ता आरोपहरू लाग्ने गरेको छ।[२८] महेन्द्र एक महत्त्वाकांक्षी राजा थिए।[२९] आफैँले प्रत्यक्ष शासन चालाउने मोह उनमा रहेको थियो। विक्रम सम्वत २०१७ सालको ‘कु’मा यसबाहेकका कारणहरूसमेत छन्। मूल कारण भनेको नेपाललाई भारतीय हस्तक्षेप र प्रभावबाट जोगाउनु थियो।[३०]

पञ्चायती व्यवस्था

[सम्पादन गर्नुहोस्]

बहुदलीय संसदीय व्यवस्था नेपालमा अफाप सिद्ध भएको भन्दै राजा महेन्द्रको शाही घोषणा मार्फत निर्वाचित संसद र विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रीमण्डल विघटन गरेपछि २०१७ सालमा पञ्चायती व्यवस्था सुरू गरिएको थियो।[३१] यो निर्दलीय व्यवस्था थियो। २२ पुस २०१७ मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलिय" पञ्चायत व्यवस्था लागुू गरेका थिए।[३२] नेपालको संविधान २०१९ जारी भएसँगै यसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्याएको थियो। २०४६ को "जनआन्दोलन"ले राजतन्त्रलाई संवैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य तुल्याएको थियो र फलस्वरूप नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्बाहली भएको थियो।[३३]

जनकपुर बम काण्ड

[सम्पादन गर्नुहोस्]

२०१८ साल माघ ९ गते राजा महेन्द्र पूर्वी भ्रमण पुरा गरी जानकी मन्दिरको दर्शनमा गएका थिए। दर्शन गरी रङभूमितर्फ फर्किरहेको अवस्थामा दुर्गानन्द झाको नेतृत्त्वमा अरबिन्दकुमार ठाकुर लगायत पञ्चायत विरोधी युवाहरूले उनी सवार गाडीमा बम प्रहार गरेका थिए। दुर्गानन्द झा, अरबिन्दकुमार ठाकुर र दलसिंह थापालाई मृत्युदण्डको घोषणा गरिएको थियो। २०२० माघ २५ गते दुर्गानन्द झालाई फाँसी दिइएको थियो[३४] भने बाँकी दुई जनालाई जन्मकैदको घोषणा गरिएको थियो।[३५]

नेपालको संविधान २०१९

[सम्पादन गर्नुहोस्]

पञ्चायती व्यवस्थाको आधार समेत मानिएको नेपालको संविधान २०१९ वि.सं. २०१९ पुस १ मा राजा महेन्द्रले जारी गरेका थिए। २० भाग ९७ धारा र ६ अनुसूची रहेको उक्त विधानमा १ सदनात्मक व्यवस्था रहेको थियो। उक्त व्यवस्थापिकाको नाम राष्ट्रिय पञ्चायत थियो। सार्वभौम सत्ता तथा अवशिष्ट अधिकार धारा ९० को आधारमा राजामा रहेको थियो। यस संविधानमा राजाको शाही घोषणाद्वारा संविधान संसोधन हुन सक्ने प्रावधान रहेको थियो।[३६]

गाउँ फर्क राष्ट्रिय अभियान, २०२४

[सम्पादन गर्नुहोस्]
गाउँ फर्क राष्ट्रिय अभियान

गउँ फर्क राष्ट्रिय अभियान पञ्चायती व्यवस्थाको एउटा राजनीतिक कार्यक्रम थियो। गाउँबाट अध्ययन र रोजगारीका लागि सहर गएका नेपालीहरूलाई गाउँ फर्काउनका लागि यो अभियान ल्याइएको थियो।

विदेश भ्रमण

[सम्पादन गर्नुहोस्]
राजा महेन्द्र र महारानी जुलियाना नेदरल्यान्ड्सको राजकीय भ्रमण, १९६७ अप्रिल २५
महारानी जुलियाना र राजा महेन्द्र राजकीय भ्रमणमा ड्याम स्क्वायरमा गार्ड अफ अनर (सम्मान गारद) ग्रहण गर्दै, १९६७ अप्रिल २५
देश भ्रमण गरेको क्षेत्र मिति वर्णन
 सोभियत सङ्घ जेठ २२- असार १२, २०१५
 जापान २८ चैत २०१६[३७]
 संयुक्त राज्य अमेरिका होनोलुलु (हवाई), न्युयोर्क सहर, क्नोक्सभिल (टेनेसी), सान फ्रान्सिस्को, लस एन्जलस, न्यु मेक्सिको, मियामी, डेट्रोइट १५-१८ वैशाख २०१७[३८] वैशाख १६ मा, अमेरिकी काङ्ग्रेसमा सम्बोधन
 संयुक्त अधिराज्य लन्डन १-४ कात्तिक २०१७
 मेक्सिको जेठ ३-५ जेठ २०१७
 क्यानडा १२-१५ जेठ २०१७
 चीन १५-१९ असोज २०१८
 फ्रान्स पेरिस २०२३ कात्तिक ९
 संयुक्त राज्य अमेरिका विलियम्सबर्ग, केप केनेडी र न्युयोर्क सहर। १५-१८ कात्तिक २०२४ २०२४ कात्तिक २३ गते पछि, शिकारका लागि अलास्का प्रस्थान।
 इरान २६-३० असोज २०२८ फारसी साम्राज्य स्थापनाको २५००औँ वर्षगाठ समारोहमा उपस्थित

अर्थतन्त्रको सुधार

[सम्पादन गर्नुहोस्]

राजा महेन्द्रले योजनाबद्ध विकासको सुरुवात गरेका थिए। उनले वि.सं. २०१३ मा पञ्चवर्षीय योजनाको अवधारणाको विकास गरेका थिए।[३९] नेपाल राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढङ्गबाट नेपाल भारतमा निर्भर रहेको थियो।[४०] वि.सं. २००७ सालदेखि वि.सं. २०११ सम्मको भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत रहेको थियो। महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याउन सफल भएका थिए। राजा हुनासाथ महेन्द्रले आर्थिक तथा प्रशासनिक संरचनाहरूको निर्माणमा ध्यान केन्द्रित गरेका थिए। उनले नेपाल राष्ट्र बैङ्कराष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन गरेका थिए।[४१][३९] विदेशी राष्ट्रहरूको सहयोगमा भौतिक पूर्वाधारहरू निर्माण गरेर अर्थतन्त्रको जग बसाल्ने काम पनि उनले गरेका थिए। बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१८), हेटौँडा औद्योगिक क्षेत्र, वीरगन्ज चिनी कारखाना, नेसनल ट्रेडिङ लिमिटेड, नेपाल आयल निगम, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरू, सबै उनकै पालामा स्थापना भएका थिए।[४२][४३][४४][४५][४६].

शीतयुद्धको समयमा दुवै धुरी संग समदुरी कायम गर्दै दुवै पक्षबाट आर्थिक सहयोगको वातावरण मिलाएर अर्थतन्त्र उकास्ने प्रयास गरेका थिए।

राजमार्ग तथा सडक

[सम्पादन गर्नुहोस्]

राजा महेन्द्रको शासनकालमा महेन्द्र राजमार्ग, पृथ्वी राजमार्गअरनिको राजमार्ग[४७] जस्ता मुख्य सडकहरूको निर्माण भएका थिए।[४८] पूर्व-पश्चिम राजमार्गमा राजा महेन्द्रको महत्त्वपूर्ण देन रहेको थियो। उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपर्दथ्यो। राजा महेन्द्रले विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरेका थिए।[४९] राजा महेन्द्रले सुरुमा यो राजमार्गका निर्माणका लागि भारतलाई अनुरोध गरेका थिए। तर, भारतले नमानेपछि सोभियत सङ्घको सहयोग लिएका थिए। ढल्केबरदेखि पथलैयासम्मको सडक रुसले बनाइदिएपछि भारत पनि आकर्षित भएको थियो। ढल्केबरदेखि मेची खण्ड भारतले बनाइदियो भने हेटौँडा नारायणगढ खण्ड एसियाली विकास बैङ्क, नारायणगढ-बुटबल खण्ड बेलायत र बुटबल कोहलपुर खण्ड भारतको सहयोगमा निर्माण सम्पन्न भएको थियो।[५०] चीनले कोदारी राजमार्ग निर्माण गर्ने भनेपछि भारत तीव्ररूपमा आक्रोशित बनेको थियो। राजमार्ग निर्माण २०१६ सालमा भएको थियो।[५१] यसरी राजा महेन्द्रले आफ्नो कुटनीतिक चातुर्यता प्रयोग गरी चौतर्फीरूपमा वैदेशिक सहयोग हासिल गर्न सफल भएका थिए। शीत युद्धको समयमा नेपालले दुवै गुटसँग समदुरी कायम गर्दै दुवै पक्षबाट सहायता प्राप्त गरेको थियो।

कूटनैतिक अभियान

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय जगतमा नेपाललाई स्थापित गराउन महेन्द्रले खेलेको भूमिका महत्त्व छ। संयुक्त राष्ट्रको सदस्यता दिलाउने देखि लिएर नेपाललाई शान्तिक्षेत्रका रूपमा स्थापित गराउने सोच उनैको थियो। पञ्चशीलअसंलग्न परराष्ट्र नीतिको सिद्धान्तलाई अङ्गीकार[५२] गर्दै उनले छिमेकी देशहरूसित दौत्य सम्वन्ध बनाएर त्यसलाई सन्तुलनमा राखेका थिए। उनले तराईमा भारतीयले थिचोमिचो नगरून् भनेर झापादेखि कञ्चनपुरसम्म ठाउँठाउँमा नेपालीहरूको बस्ती बसालेका थिए भने उनले हतियार चलाउन जानेका भूपू सैनिकदेखि लिएर बर्माबाट लखेटिएका नेपालीहरूलाई आवास उपलब्ध गराएका थिए।[५३] २०१८ सालमा नवलपरासीको गैँडाकोटमा उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए। भारतीय रुपियाँ नेपाली नोट सरह चलिरहेकामा उनले त्यसलाई बन्द गराएका थिए। नेपाल स्वाधीन राष्ट्र हो भन्ने कुरा संसारलाई बुझाउन राजा महेन्द्रले ४५ देशसँग राजा महेन्द्रले कूटनीतिक सम्बन्ध स्थापना गरेेेेका थिए भने [५४] २०१२ साल नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको थियो। त्यस पश्चात् ऋषिकेश शाह संयुक्त राष्ट्रको स्थायी प्रतिनिधि बनेका थिए।[५५] २०१२ साल माघ १३ गते, राजा महेन्द्रले आचार्यलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।[५६] भने उनले चीन र जापानको भ्रमण गरेर मैत्री सम्बन्ध स्थापना गरेका थिए।

राष्ट्रियताको सम्वर्द्धन

[सम्पादन गर्नुहोस्]

राष्ट्रियताको संवर्द्धनमा राजा महेन्द्रको भूमिका अविस्मरणीय रहेको छ। जतिबेला हिन्दी भाषाको नेपालमा अत्यधिक दबदबा थियो, उनले नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा स्थापित गरेर यसलाई देशव्यापी बनाएका थिए।[५७] नेपाल राष्ट्र बैेंकको स्थापना गरेर राजा महेन्द्रले नेपाली मुद्रालाई अधिराज्यभरि अनिवार्य गरिदिएका थिए।[५८] जबकि त्यतिबेला नेपालमा ९० प्रतिशत भारतीय मुद्राको चलनचल्ती रहेको थियो।

उनले लागु गरेको “एउटै भाषा एउटै भेष”” को नीतिलाई कतिपयले असन्तुष्टि पनि जनाएका छन्

सामाजिक तथा सांस्कृतिक सुधार

[सम्पादन गर्नुहोस्]

२०२० साल भदौ १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लैङ्गगिक भेदभाव विरुद्धको नीति अख्तियार गरेका थिए। २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरूको अधिकार सुरक्षित गरेका थिए। उनले २०१३ सालमा राष्ट्रिय योजना आयोगको स्थापना गराएका थिए। २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानशाही नेपाल वायुसेवा निगम स्थापना गरिएको थियो। बालचन्द्र शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना बमोजिम राजा महेन्द्रबाट नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी)को स्थापना भएको हो। काठमाडौँको कमलादीमा रहेको ५० रोपनी जग्गामा आफ्नै निजी कोषबाट यसको स्थापना भएको थियो। तत्कालिन राजाको यो कदमले साहित्यिक क्षेत्रमा ठूलै हलचल ल्याएको थियो। सत्यमोहन जोशीका अनुसार साहित्यकारहरूले आफू पनि सम्मानित भएको अनुभूति गरेका थिए।[५९]

उनले त्यस पश्चात् कर्मचारी वृत्ति विकास गर्न नेपाल निजामती ऐन ल्याएका थिए, फलस्वरूप [६०]पँजनी प्रथाको अन्त्य भएको थियो। २०१२ मा, प्रहरी ऐन[६१] बनेसँगै सेनाको मनोबल उठाउने प्रयासहरू भएका थिए। २०१८ साल वैशाख १ गते १४ अञ्चल ७५ जिल्लामा विभाजन गरी प्रसासनिक विकेन्द्रीकरण गरिएको थियो। २०२० सालमाा, जातिभेद उन्मूलन गर्न छुवाछूत विरोधी ऐन ल्याइएको थियो।[६२] २०२१ सालमा किसानहरूलाई मोहियानी मोहियानी हक दिलाइएको थियो। उनले त्रिभूवन विश्वविद्यालयको आधुनिकीकरण गर्दै उच्च शिक्षा नेपालमै हासिल गर्ने अवस्था सिर्जना गर्दै भने पाठ्यक्रमबाट भारतीय पुस्तकहरू विस्थापित गराएका थिए।

स्थानीय परम्परा, धर्म–संस्कृति, रहनसहन, पर्व तथा भाषाहरू बचाउन उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय नाचघर लगायतका संस्थाहरूलाई सक्रिय गराएका थिए।

राज्य रजौटा ऐन, २०१७

[सम्पादन गर्नुहोस्]

राज्य रजौटा ऐन, २०१७ र राज्य अदालत उन्मूलन ऐन, २०१७ लागु भएपछि सबै राज्यहरू खारेज भएका थिए। यद्यपि राज्य रजौटा ऐनले सल्यान, बझाङ, जाजरकोट, मुस्ताङ, भिर्कोट, माल्नेटा, दर्ना गरी १७ रजौटालाई मान्यता दिएको थियो। वि.सं २०१७ मा, राज्य अदालत उन्मुलन ऐन लागु भएपछि राज्य अदालतको ठाउँमा इलाका अदालतको गठन गरिएको थियो।

नयाँ मुलुकी ऐन

[सम्पादन गर्नुहोस्]

श्री ५ महेन्द्रबाट वि.सं. २०२० भदौ १ गते नयाँ मुलुकी ऐन लागु गरिएको थियो।[६३]

भूमिसुधार कार्यक्रम

[सम्पादन गर्नुहोस्]

श्री ५ महेन्द्रबाट २०२१ साल मङ्सिर १ मा भूमिसुधार कार्यक्रम लागु गरिएको थियो। भूमिसुधार कार्यक्रमबाट जमिनदारी प्रथाको उन्मुलन, जग्गाको हदबन्दी, मोहियानी हकको व्यवस्था, मोहिले जग्गाधनीलाई तिर्नुपर्ने कुतको निश्चितता लगायत्का विविध व्यवस्थाहरू गरिएका थिए। यसमा भूमि सम्बन्धी कार्यक्रम लागु गरी देशका गरिब जनताको हितका लागि क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्य राखिएको थियो।[६४] वि.सं. २०२४ सालमा भूमि प्रशासन ऐन लागु भई भूमि प्रशासन कार्यालयहरू खोलिएका थिए। वि.सं. २०२७ सालमा मालपोत असूली र स्याहाको लागि “कोष तथा तहसिल” कार्यालय खोलिएका थिए। वि.सं. २०१८ साल देखि जग्गा प्रशासनको लागि ७५ जिल्लामा माल अड्डाहरू स्थापना गरिएका थिए। वि.सं. २०२४ सालमा भूमि प्रशासन ऐन जारी भएपछि सुरुमा काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित ९ जिल्लामा जग्गा (नापजाँच) ऐन, २०१९ अनुसार तयार भएको नक्सा र स्रेस्ताबाट भूमिको प्रशासन हेर्ने गरी भूमिसुधार मन्त्रालय अन्तर्गत भूमि प्रशासन कार्यालय स्थापना भएका थिए। वि.सं. २०२४ सालमा भूमि प्रशासन कार्यालय खारेज गरी भूमिसुधार कार्यालय नामाकरण गरिएको थियो भने त्यस पश्चात् तत्कालीन कोष तथा तहसिल कार्यालयलाई मालपोत कार्यालयमा परिणत गरिएको थियो। भूमि प्रशासन कार्यालयले दिएको लगत अनुसार मालपोत असूल गर्न वि.सं. २०२६ सालमा मालपोत कार्यालयलाई तत्कालीन अर्थ मन्त्रालयको मालपोत विभाग अन्तर्गत रहने गरी स्थापना गरिएको थियो। वि.सं. २०२८ सालमा सो मालपोत कार्यालयको नाम कोष तथा तहसिल कार्यालयमा परिणत भएको थियो।[६५]

भारतीय सेना फिर्ता

[सम्पादन गर्नुहोस्]

२०२८ सालमा नेपाल तिब्बत सिमामा राखिएका भारतीय सैनिकका १७ वटा चेकपोष्टहरू हटाउने कार्य महेन्द्रले भारतविरुद्ध चालेको सबैभन्दा साहसिक कदमका रूपमा लिइन्छ। २०२६ सालमा राजाले सूर्यबहादुर थापालाई अपदस्थ गरेर कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाएका थिए।[६६] भारतीय चेकपोस्ट हटाउने विषयमा उनी आफैँ संलग्न नभईकन कीर्तिनिधिलाई अघि सारेका थिए। कीर्तिनिधि विष्टले सुरुमा भारतलाई आफ्नो चेकपोस्ट फिर्ता लैजान अनुरोध गर्दै लिखित पत्र पठाएका थिए। नेपाल एउटा स्वाधीन राष्ट्र भएकाले विदेशी सैनिकको उपस्थिति हाम्रो र हाम्रा छिमेकीको हित अनुकलमा छैन भन्दै उनले पत्र लेखेका थिए। तर, भारतले यसमा कुनै सुनवाइ गरेको थिएन। त्यसपछि कीर्तिनिधिले विष्टले १९५० को मैत्री सन्धिको कुनै वैधानिकता छैन भनेर भाषण गरेका थिए।[६७] नेपालले आफैँ ती चेकपोस्टहरू हटाउने तयारी गरेपछि तत्कालीन भारतीय परराष्ट्रमन्त्री विनयसिंह नेपाल आएका थिए।सरकार आफ्नो अडानबाट पछि नहटेपछि यो विषय अन्तर्राष्ट्रियकरण हुने डरले भारतले ती चेकपोस्टहरू फिर्ता लगेको थियो।[६८][६९] चेकपोस्ट हटाएको निहुँमा नै भारतले नेपालमाथि २०२८ सालमा नाकाबन्दी लगाइदिएको थियो।[७०] भारतीय नाकाबन्दीले ठुलो असर सिर्जना गर्न नसकेपछि भारत पछि हट्न बाध्य बनेेेेको थियो। उनले नेपालमा भारतीय प्रभावलाई पहिलेको तुलनामा ४० प्रतिशतभन्दा तल झार्न सफल भएका थिए।

सत्ता हस्तान्तरणको तयारी

[सम्पादन गर्नुहोस्]

राजाले सत्ता आफ्नो हातमा लिँदा एउटा आधार तयार पारेर ‘जनताको नासो जनतालाई नै फिर्ता गर्छु’ भनेका थिए। जीवनको अन्त्यतिर प्रजातान्त्रिक प्रणालीका लागि संविधान मस्यौदा गर्ने काम आफैँलाई सुम्पिएको शम्भुप्रसाद ज्ञवालीले पनि लेख्नुभएको छ। सूर्यबहादुर थापाको आत्मकथामा ‘संशोधित मस्यौदा तयार भइसकेको थियो, निधन नभएको भए चितवनबाट फर्किएपछि लागु हुन्थ्यो। काङ्ग्रेसका नेताहरू बोलाएर जिम्मा लगाउनेसम्मको तयारी थियो’ भन्ने उल्लेख छ। देशमा विदेशी सैनिकको उपस्थिति थियो। पार लगाउने श्रेय उनैलाई जान्छ। केही समयका लागि भनेर घोषणामै भनिएको थियो, जनतामा अधिकार हस्तान्तरण गर्ने प्रक्रिया पनि शुरू भएको हो। शम्भुप्रसाद ज्ञवालीको संयोजकत्वमा संविधान संशोधनको मस्यौदा पनि तयार हुँदै गरेको थियो। त्यसो हुँदा राजा निरकुंशताको निरन्तरताको पक्षमा थिएनन् भन्ने बुझ्नुपर्ने हुन्छ।   [७१]

राजा महेन्द्रको मृत्यु २०२८ माघ १७ बिहान ३:४५ मा चितवनको दियालो बङ्गला दरबारमा भएको थियो। उनको निधन पश्चात्, उनका जेठा पुत्र युवराज वीरेन्द्रले राजगद्दी सम्हालेका थिए।[७२][७३]

भरतपुरबाट राजा महेन्द्रको पार्थिव शरीरलाई बोकेर एक विशेष हेलिकप्टर माघ १७ गते अपरान्ह ४ बजेर ४५ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा ओर्लिएको थियो। राजा महेन्द्रका छोराहरू मध्ये माहिला छोरा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र सोही हेलिकप्टर र कान्छा छोरा अधिराजकुमार धीरेन्द्र अर्को हेलिकप्टरमा साथै आएका थिए। उनको पार्थिव शरीरको मुहार सम्म रामनाम लेखिएको पीताम्बर र सेतो कपडा त्यसमाथि फूलमालाहरूले ढाकिएको थियो।

राजा महेन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन विमानस्थलमा नै ठूलो भीड जम्मा भएको थियो। राजा महेन्द्रको पार्थिव शरीरलाई विमानस्थलबाट ब्राह्मणहरूले बाँसको खटमा बोकेर आर्यघाट सम्म पुर्याएका थिए। खट बोकेका ती ब्राह्मणका पछाडि छोराहरू अधिराजकुमार ज्ञानेन्द्र र धीरेन्द्र, भाइहरू अधिराजकुमार हिमालय र बसुन्धरा समेत सँगै थिए। शवयात्रमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय पञ्चायतका अध्यक्ष, मन्त्रीगण, राजसभा स्थायी समितिका सभापति, राजसभाका सदस्यहरू, संवैधानिक अङ्गका प्रमुखहरू र सदस्यहरू त्यस्तै नेपाल स्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू समेत उपस्थित थिए। राजा महेन्द्रको अन्तिम संस्कारमा सहभागी हुन भारतका उपराष्ट्रपति जि.एस. पाठक एवम् मन्त्री राजबहादुर समेत नेपाल आएका थिए। पशुपति आर्यघाटमा माइला अधिराजकुमार ज्ञानेन्द्रले राजा महेन्द्रको पार्थिव शरीरमा दागबत्ती चढाएर अन्त्येष्टि गरेका थिए।

राजगद्दी एकछिन पनि खाली राख्न नहुने परम्परा अनुसार पहिले नयाँ राजा घोषित गरेपछि मात्र दिवङ्गत राजाको निधनको घोषणा गरिन्थ्यो। राजाको उत्तराधिकारी जेठो छोरो वीरेन्द्रले नयाँ राजाका रूपमा राजगद्दी सम्हाल्नु पर्ने थियो। त्यसैले जेठो छोरा बाहेक अरू छोराहरू मात्र राजाको अन्त्येष्टोली सरिक हुन्थे।[७४]

प्रतिक्रिया

[सम्पादन गर्नुहोस्]

विभिन्न मुलुकका राष्ट्राध्यक्षले शोक सन्देश पठाएका थिए। ती शोक सन्देश पठाउनेमध्येमा जापानका हिरोहितो, बेलायतकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका राजा भूमिबल, डेनमार्ककी महारानी मार्गरेट, स्विडेनका राजा गुस्ताफ, नेदरल्यान्डसकी महारानी जुलियाना, इरानका राजा मोहम्मद रजा पहलवी, अफगानिस्तानका राजा महम्मद जहिर, भारतका राष्ट्रपति भीभी गिरी, ग्रिसका राजा कन्सटान्टाइन, अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन, रूसका राष्ट्रपति एन पोदगर्नी, जोर्डनका राजा हुसेन, इजरायलका राष्ट्रपति साहजर र लाओसका राजा साभाङ्ग थिए।

जनगणतन्त्र चीनका उपाध्यक्ष तथा प्रधानमन्त्रीले समेत शोक सन्देश पठाएका थिए। राजा महेन्द्रको निधनमा छिमेकी भारतको दुवै सदनमा एक मिनेट मौन धारण गरी शोक व्यक्त गरिएको थियो। भारतको सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भीभी गिरीले राजा महेन्द्रको आकस्मिक निधनबाट भारतीयहरुलाई ठूलो दुःख लागेको कुरा बताएका थिए। त्यस्तै प्रधानमन्त्री इन्दिरा गान्धीले लोकसभा बैठकलाई सम्बोधन गर्दै राजा महेन्द्र दूरदर्शी र कुशल राजनीतिज्ञ भएको उल्लेख गरेकी थिइन्। फ्रान्स, पश्चिम जर्मनीसहित संसारभरका विभिन्न मुलुकले शोक सन्देश पठाएका थिए।

इजरायलका राष्ट्रपति साहजरले रेडियो सम्बोधनमार्फत राजा महेन्द्रको निधनबाट इजरायलले एक सच्चा मित्र गुमाएको बताएका थिए। साथै उनले राजा महेन्द्रसँगको आफ्नो व्यक्तिगत सम्बन्ध उल्लेख गर्दै आफूले राजा महेन्द्रका केही कविता हिब्रु भाषामा अनुवाद गरेको समेत स्मरण गरेका थिए।

उनको निधनबारे समाचार प्रकाशित गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी दी एसोसियटेड प्रेसले राजा महेन्द्रले नेपालमा भूमिसुधार लागू गरेको, नयाँ मुलुकी ऎन जारी गर्दै त्यसमा रहेको छुवाछुतको अन्त्य र बहुविवाहलाई दण्डनीय गरेको उल्लेख गरेको थियो। त्यस्तै मुलुकमा वैदेशिक सहायता भित्र्याएर विमानस्थल, राजमार्ग, अस्पताल, विद्यालयसहित हज्जारौं पर्यटकहरुलाई बस्न पर्यटकीय आवासको व्यवस्था गरेको समाचारमा उल्लेख थियो।[७५]

  1. निरङ्कुश राजा
    [७६] राजा महेन्द्रलाई लाग्ने मुख्य आरोप नेपाली काङ्ग्रेसको सरकार र संसद विघटन गरे भन्ने छ। यस बारे उनको भनाइ थियो "म मेरा प्रजालाई प्रजातन्त्र बदला सबल राष्ट्र दिनेछु। हाम्रो प्रमुख शत्रु भनेको गरिबी हो।", "मेरो प्राण रहेसम्म र मैले गरेर हुनेसम्म नेपालीको हात खुट्टा लुलो हुन दिने छैन। यो पनि मेरो दृढ संकल्प मध्ये मै छ।"[७७]
  2. एक देश एक भेषको नीति[७८]
    एक राजा एक देश
    एक भाषा एक भेष (महेन्द्रिय राष्ट्रवाद)
  3. नेपाल राष्ट्र बैङ्कको स्थापना गर्दा गणेशमान सिंहबाट आलोचना:"जिमीदार औ दायाँबायाँ बस्ने व्यापारीहरूको फाइदाका निमित्त खोलिएको राष्ट्र बैङ्कले गरिब रैतीहरूलाई कुनै फाइदा छैन"[७९][८०]
  4. आफ्नो रानी रत्नको नाममा रत्नपार्कको निर्माण

दोस्रो विवाह

[सम्पादन गर्नुहोस्]
राजा महेन्द्र एवम् रानी रत्न २०१२ मा

पहिली पत्नी इन्द्र राज्यको २००६ मा निधनपछि तत्कालीन युवराज महेन्द्र साली रत्नसँग प्रेम सम्बन्धमा रहेका थिए, तर राजा त्रिभुवन भने कुनै हालतमा राणापुत्री रत्नसँग छोराको विवाह हुन नदिने योजनामा रहेका थिए। बाबुले खोजेकी केटीसँग विवाह गर्न दिएको दबाब तात्कालिक युवराज महेन्द्रलाई मन परेको थिएन। राजा त्रिभुवन भने राणा परिवार, अझ जुद्ध शमशेरको खलकसँग सम्बन्ध विस्तार गर्ने पक्षमा थिएनन्। राजा त्रिभुवन जुद्ध शमशेरले आफूलाई गरेको अपमानबाट आक्रोशित थिए भने सो विवाद लामो समय चलेको थियो। विवाहको टुङ्गो नलाग्दै २००८ कात्तिक २६ गते राणा–काङ्ग्रेसको गठबन्धन सरकार विघटन भई २००८ मङ्सिर १ गते[८१] मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काङ्ग्रेसको एकल सरकार बनिसकेको थियो। २००९ माघ २५ गते उनले रत्न राज्यलक्ष्मीसँग विवाह गरेका थिए।[]

राष्ट्रिय
विदेशी

स्मृति / स्मारक

[सम्पादन गर्नुहोस्]
महेन्द्र शालिक दरबारमार्ग

राजा महेन्द्रको स्मृतिमा धेरै संरचना, संस्था, सम्मान बनेका छन्। उनका नाममा बनेका स्मारकहरू वि.सं २०६३ मा संसद पुनर्स्थापना भएपछि र वि.सं २०६५ मा राजतन्त्र अन्त्य भएपछि नाम परिवर्तन गर्ने प्रयास भएको देखिन्छ। २०६३ को राजनीतिक परिवर्तन पछि राजाका नाममा बनेका राजमार्गलाई लोकमार्ग नामाकरण गर्ने प्रयास भएको थियो। उनकी रानीको नाममा बनेको रत्नपार्कलाई पनि शङ्खधर साख्व पार्क नाम परिवर्तन गरिएतापनि सर्वसाधारणको बोलोचालीमा अझै पनि रत्नपार्क प्रचलित छ।

  1. महेन्द्र राजमार्ग
  2. महेन्द्र माला
  3. महेन्द्रशालिक (दरबारमार्ग)
  4. महेन्द्र पुलिस क्लब
  5. महेन्द्र प्रकृति संरक्षण कोष
  6. महेन्द्ररत्न क्याम्पस
  7. महेन्द्रनगर
  8. महेन्द्र ताल /रारा ताल
  9. श्री ५ महेन्द्र स्मारक आँखा अस्पताल

म मरे पनि मेरो देश

[सम्पादन गर्नुहोस्]

"म मरे पनि मेरो देश बाँचिरहोस्" राजा महेन्द्रको अभिव्यक्ति थियो। यसै भनाईलाई लिएर गीतहरू रेकर्ड भएका छन् र ती गीतहरू राजा महेन्द्रलाई सम्झ्ना गर्ने माध्यम बनेका छन्।

राजा महेन्द्रको निधनपछि देशलाई माया गरेर लेखिएका गीतहरूको एक किसिमले लहरै चलेको थियो। त्यसै क्रममा यो गीत रेडियो नेपालमा रेकर्ड गरिएको थियो।सङ्गीतकार सिके रसाइलीका अनुसार यो गीत २०२९ सालतिर रेकर्ड भएको थियो। त्यो बेला यस्ता गीतहरू रेकर्ड गरेर राजा महेन्द्रप्रति श्रद्धा प्रकट गर्ने होडबाजी नै थियो। त्यतिबेला उस्तै शब्द ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ भन्ने गीतमा चाहिँ शिवशङ्करले सङ्गीत र स्वर दिएर रेकर्ड गराएका थिए।[९४]

Back view of Mahendra Griha at Tikapur Park
टिकापुर पार्क महेन्द्र गृहको पछाडी मोहोडाको दृश्य

२०२४ चैत्र २ मा[९५] राजा महेन्द्र शिकार खेल्न महाकाली अञ्चलको शुक्लाफाँटा आरक्ष जाँदा राजा महेन्द्रका साथ परराष्ट्रमन्त्री कीर्तीनिधि विष्ट पनि थिए। रूखमाथि बनाइएको मचानमा बसेर बाघको पर्खाइमा थिए। प्रधानमन्त्री र राजाका एडीसी पनि साथै थिए। दर्जनौं हात्तीले बाघलाई घेर्दै राजातिर ल्याउँदै थिए। एउटा अजङ्गको भाले बाघ लुसुलुसु हिंड्दै मचानमुनि आइपुग्यो। राजाले कति बेला गोली दाग्छन् भनेर सास थामेर प्रतीक्षामा थिए प्रधानमन्त्री र एडीसी तर गोली चल्नुको साटो राजा आफैं पो ढले मचानमा।[९६] त्यसै बेला जङ्गलको माझमा राजा महेन्द्रलाई आकस्मिक हृदयाघात भएको थियो। राजालाई हृदयघात भएको ठाउँ एउटा मचान र त्यहाँ एउटा चकला मात्र बिछ्याइएको थियो। हृदयाघातपछि महेन्द्रलाई त्यही चकलामा सुताइएको थियो। त्यस घटनाबाट त्यहाँ निक्कै ठूलो हाहाकारको सिर्जना भएको थियो । राजाको शरीरभरि खलखल पसिना आएको थियो । त्यस घटनाले कीर्तिनिधिको जीउ पानी नै पानी भएको थियो । राजाका साथमा रहेका बङ्गाली डाक्टर हल्डरले हत्तपत्त राजाका पाखुरामा इन्जेक्सन लगाइदिएका थिए ।

त्यस बेला राजा महेन्द्रलाई ठूलो पीडा भएको थियो त्यही पीडामा राजाले निक्कै रन्थनिएका थिए । राजाको शरीरभरि खलखल पसिना आएको थियो । त्यस बेला राजा महेन्द्र कीर्तिनिधिका पाखुरा र नाडीको बीच भागलाई सिरानी लगाएर सुतेका थिए। त्यसै बेला राजा महेन्द्रले उनलाई रूपमा भनेका थिए, “खोइ कीर्तिनिधि, अब के हुने हो; मलाई जे भए पनि मेरो देश बाँच्नुपर्छ । म मरे पनि मेरो देश बाँचिरहोस् ।” त्यसपछि राजा महेन्द्र मूर्छा परेका थिए । राष्ट्रको चिन्तामा हृदयको रोदन पोख्तापोख्दै त्यस बेला राजा महेन्द्र अचेत भएका थिए । रातभर मचानमै बित्यो। भोलिपल्ट बिहान पाँच बजेतिर जमिनमा ल्याइयो।[९७]

राजा महेन्द्रको उपचारको लागि जङ्गलमा तत्कालै मुटुविशेषज्ञ डा.मृगेन्द्रराज पाण्डेलाई बोलाइयो र उनी पनि त्यहाँ गएर राजाको उपचारमा संलग्न भए। [९८]अनि केही दिनपछि अमेरिकाबाट पनि चिकित्सकहरू आए जसअनुसार अमेरिकी डा. मेटिङ पनि राजा महेन्द्रको स्वास्थ्यउपचारमा केन्द्रित भए । डा. मेटिङ पूर्व अमेरिकी राष्ट्रपति ड्वेट डि. आइजनहावर (कार्यकाल जनवरी २०, १९५३ – जनवरी २०, १९६१)का विशेष चिकित्सक थिए । आइजनहावरहावरलाई पटक, पटक हृदयाघात भएको थियो । अनि उनका भरोसा नै डा. मेटिङ्ग थिए । राजा महेन्द्रलाई केही आराम भएपछि उनलाई चैत्र २५ [९५]मा टीकापुर वृहत उद्यान ल्याइयो । कर्णाली नदि को भङ्गालो नजिकै राजा महेन्द्रका लागि काठको एउटा घर बनाइएको थियो । त्यहीँ नै राजाको सम्पूर्ण स्वास्थ्यउपचार गरिएको थियो ।[९९][१००]

  1. नेपालको शाह तथा राणा वंशावली: विष्णु प्रसाद श्रेष्ठ
  2. "राजा महेन्द्र र गणतन्त्र नेपाल"प्रतिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  3. नेपालको शाह तथा राणा वंशावली: विष्णु प्रसाद श्रेष्ठ पृष्ठ २
  4. ४.० ४.१ नेपालको शाह तथा राणा वंशावली: विष्णु प्रसाद श्रेष्ठ
  5. "राजतन्त्रको पालामा बनेको गौरव महेन्द्र राजमार्ग गणतन्त्रमा जीर्ण अवस्थामा"नेपाल पत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  6. "महेन्द्रको दूरदर्शी विचारले नेपाल अहिले स्वतन्त्र छ – कमल थापा"खरिबोट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  7. "सन्दर्भ पुस १ राजा महेन्द्र, जसले भारतीय सेनालाई नेपालबाट धपाए"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  8. "श्री ५ रत्नको आमा बन्ने अधिकार हनन् भएको थियो"डिसी नेपाल (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  9. "फागुन ४ देखि ७ रोचक, महत्पूर्ण र नाटकीय चार दिन"घामछायाँ (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  10. "इतिहासको आँखामा 'एक अत्याचार'", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०७-२४ 
  11. "Selected Originals Nepal - Coronation Of…" 
  12. Pathé, British, "Nepal - Coronation Of King Mahendra", अन्तिम पहुँच २० जुलाई २०१६ 
  13. वि.सं. २०१२ माघ १३ को राजपत्र
  14. "नेपाल राष्ट्र बैङ्कको स्थापना कहिले भएको हो ?"नेपाल राष्ट्र बैङ्क (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  15. "बारम्बार सोधिने प्रश्नहरू"सर्वोच्च अदालत (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  16. "महेन्द्रले पत्याएका मान्छे" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  17. १७.० १७.१ http://rajpatra.dop.gov.np/welcome/book/?ref=1104
  18. http://rajpatra.dop.gov.np/welcome/book/?ref=1111
  19. "महाकविको कोट र बुद्धचित्तको बोट !"अन्नपूर्ण (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  20. "तन, मन र धन सबै दिने नेता"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  21. नरशमशेरको जीवनी
  22. "७० वर्षमा ७ संविधान, यस्तो छ नेपालको संविधानको इतिहास"इमेज खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  23. "नेपालको संवैधानिक इतिहास"नेपाल पत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  24. सेतोपाटी संवाददाता। "४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  25. रिसाल, भैरव, "राजा झुक्किंदा भयो चुनाव", नेपाली हिमाल, अन्तिम पहुँच १९ जुन २०२० 
  26. "केवल एक पार्टी प्रमुखले जितेका थिए पहिलो आमनिर्वाचन"देशसञ्चार। २०१७-१२-०१। सङ्ग्रह मिति २०२०-०६-१७ 
  27. "यशस्वी राजनेता बीपी कोइराला"नेपाल पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  28. कुमार रुपाखेती। "निरङ्कुश राजा महेन्द्र ?" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  29. "सन्दर्भ पुस १ः राजा महेन्द्र, जसले भारतीय सेनालाई नेपालबाट धपाए" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  30. "भारत र महेन्द्र बीपीको उचाइको तगारो"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  31. "किन ढल्यो पञ्चायती शासन ?"ब्लास्ट खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  32. "राजा महेन्द्रको अलग धार"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  33. "सम्झनामा जनआन्दोलन ०४६ (शृङ्खला १)"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  34. "सहिद दुर्गानन्द झा जसलाई मृत्युदण्ड दिन कानुन नै संशोधन गर्नुपर्‍यो"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  35. "प्रजातान्त्रिक योद्धा अरबिन्दकुमार" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  36. प्रेमराज सिलवाल। "नेपालका संविधान कस्ता"गोरखापत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  37. जगत नेपाल। "यस्तो थियो महेन्द्र र बीपीबीच व्यक्तित्वको टकराव"पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  38. Visits By Foreign Leaders of Nepal
  39. ३९.० ३९.१ Yang, Eunmo (२००७), "Modernization of Nepal under the Shah Dynasty, 1951-1991", www.zum.de, Korean Minjok Leadership Academy International Program, अन्तिम पहुँच २०२२-०७-२६ 
  40. "राजा महेन्द्र एक दूरदर्शी राजनेता"लाइभमाडौँ (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  41. राष्ट्रिय योजना आयोग परिचय र इतिहास वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०६ मिति
  42. "कथा जनकपुर चुरोट कारखानाको" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  43. Khatri, M. B. (2018). Industrial development in Nepal: Problems and prospects. Economic Journal of Nepal, 41(3-4), 25-40.
  44. "Govt decides to scrap National Trading Limited", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०७-२१ 
  45. Pathé, British, "Nepal: Chinese Tannery Begins Production", www.britishpathe.com (en-GBमा), अन्तिम पहुँच २०२२-०८-०२ 
  46. "Domestic Footwear Industry Flourishes", www.newbusinessage.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-३०  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-०४ मिति
  47. "कोदारी राजमार्ग बनेपछि..."नेपाल पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  48. "आज राजा महेन्द्रको १००औँ जन्मजयन्ती, कस्ता थिए राजा महेन्द्र ?"राष्ट्रिय समाचार (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  49. "राजा महेन्द्रको सपना"नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  50. "बुटवल–नारायणगढ सडक : महेन्द्रले बनाएको राजमार्ग ओलीले चौडा गर्दै"हाम्रो पात्रो (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  51. "५२ वर्षअघि यसरी बन्यो कोदारी राजमार्ग"नयाँ पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  52. Nepal and the Non – Aligned Movement BY: NNW TEAM ON: APRIL 10, 2015 IN: NNW ARTICLES वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २६, २०२० मिति
  53. "कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?"नयाँ पेज (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  54. https://mofa.gov.np/foreign-policy/diplomatic-relations/ वेब्याक मेसिन अभिलेखिकरण २०२२-०६-२७ मिति
  55. PERMANENT MISSION OF NEPAL TO THE UNITED NATIONS
  56. वि.सं. २०१२ माघ १३ को राजपत्र
  57. "वर्तमान नेपाल र राजा महेन्द्र"नेपालगन्ज न्युज (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  58. हिमालय शम्शेर राणा। "भारु हटाएर नेपाली रुपैयाँ चलाउन खुलेको थियो राष्ट्र बैङ्क, पहिलो गभर्नरको अनुभव" (नेपाली) भाषा)। बिजमाडौँ। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  59. जोशी, सत्यमोहन, "हामी यसरी प्राज्ञ भयौँ", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-१३ 
  60. नेपाल निजामती सेवा ऐन, २०१३
  61. प्रहरी ऐन २०१२
  62. "छुवाछूत अन्तको लागि नयाँ सूत्रको आवश्यक छ" (नेपाली) भाषा)। धरान न्युज। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  63. मुलुकी ऐन २०२०
  64. नेपाल राज पत्र
  65. नेपाल सरकार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय भूमि व्यवस्थापन तथा अभिलेख विभाग वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-०२ मिति
  66. दिलनाथ गिरी। "देशभक्त राजनेता कीर्तिनिधि विष्ट"डिसी नेपाल (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  67. The Indian checkposts, Lipu Lekh, and Kalapani
  68. Savada, Andrea Matles, सम्पादक (१९९१), "Foreign Policy", Nepal: A Country Study, GPO for the Library of Congress, अन्तिम पहुँच १७ अप्रिल २०१७ 
  69. Singh, Raj Kumar (२००९), Global Dimensions of Indo-Nepal Political Relations: Post Independence, आइएसबिएन 9788121210256 
  70. https://www.nepjol.info/index.php/rnjds/article/download/2127[स्थायी मृत कडी] 2. SOCIO ECONOMIC IMPACT OF UNDECLARED BLOCKADE OF INDIA ON NEPAL - Bhuwaneswor Pant2
  71. भेष बहादुर थापा (२०८० पुष १, आइतबार), "‘महेन्द्र रहेको भए उनीबाटै जनतामा अधिकार हस्तान्तरण हुन्थ्यो’", उकालो 
  72. http://rajpatra.dop.gov.np/welcome/book/?ref=5107
  73. http://rajpatra.dop.gov.np/welcome/book/?ref=5109
  74. "राजा महेन्द्रको अपत्यारिलो अवसानको ५० वर्ष पूरा"  वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-०६ मिति
  75. "राजा महेन्द्रको निधन, अन्त्येष्टि र शोक सन्देश*", Himal Press (en-USमा), अन्तिम पहुँच २०२५-१२-०७ 
  76. कुमार रुपाखेती। "निरङ्कुश राजा महेन्द्र ?"प्रतीक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  77. "सिपाही", सिपाही शाही सैनिक वार्षिक पत्रिका: पेज ११, २०२७ जेठ। 
  78. चिरञ्जीवी पौडेल। "राजा महेन्द्रको उचित मूल्याङ्कन भएन"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  79. उधृतांश- देवकोटा, राजनीतिक दर्पण भाग-१, पृष्ठ ३८८
  80. कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?
  81. २००८ मङ्सिर १ को राजपत्र
  82. "संस्मरण : तक्मा र तोक्मा, भट्टी पसल्नीदेखि महाराजधिराजसम्म", Dcnepal (en-USमा), अन्तिम पहुँच २०२२-०७-२४ 
  83. "ODM of Nepal: King Tribhuvan Silver Jubilee Medal 1935", अन्तिम पहुँच २० जुलाई २०१६ 
  84. "Grand State Banquet", मूलबाट ५ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०१६  वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१६ मिति
  85. Saad719 (२०२०-१२-०७), "Crown Prince Akihito and Crown Princess Michiko in Nepal, 1960", The Royal Watcher (en-usमा), अन्तिम पहुँच २०२२-०८-०१ 
  86. "Embassy of Japan in Nepal", www.np.emb-japan.go.jp, अन्तिम पहुँच २०२२-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-०५ मिति
  87. Pathé, British, "Japan: Nepalese King Visits Japanese Emperor", www.britishpathe.com (en-GBमा), अन्तिम पहुँच २०२२-०८-०१ 
  88. Presidência da República
  89. "Bilateral relations", La France au Népal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०७-३१ 
  90. Benelux Royal वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०१५ मिति
  91. Saad719 (२०१९-०४-२५), "Nepal State Visit to The Netherlands, 1967", The Royal Watcher (en-usमा), अन्तिम पहुँच २०२२-०७-२४ 
  92. Saad719 (२०१९-०२-२६), "British State Visit to Nepal, 1961", The Royal Watcher (en-usमा), अन्तिम पहुँच २०२२-०७-२४ 
  93. "The Order of Sikatuna | GOVPH", Official Gazette of the Republic of the Philippines (en-USमा), अन्तिम पहुँच २०२२-०७-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२५ मिति
  94. "ऊ मरे पनि उसलाई देशको माया छ", Setopati (en-USमा), अन्तिम पहुँच २०२५-१२-०७ 
  95. ९५.० ९५.१ "२०८० वैशाख १ देखि २०८० असार मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरू स्वतः प्रकाशन", www.tikapurmun.gov.np (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-०७ 
  96. "रानीलाई गोली लाग्यो, राजा हौदाबाट पछारिए", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-१२-०७ 
  97. "महेन्द्र महिमा", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-०७ 
  98. sangrahalaya, Sahitya- (२०१४-०२-२८), "संस्मरण : राजा महेन्द्रलाई हृदयाघात हुँदा", साहित्य सङ्ग्रहालय (en-USमा), अन्तिम पहुँच २०२५-१२-०७ 
  99. editor (२०२०-०६-१२), "मुटुको व्यथाले कक्रक्क भएपछि…", साहित्यपोस्ट, अन्तिम पहुँच २०२५-१२-०७ 
  100. ज्ञावली, ईश्वरी, "संस्मरण: राजा महेन्द्रलाई हृदयघात हुँदा", कान्तिपुर  वेब्याक मेसिन अभिलेखिकरण २०११-१२-३० मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
पूर्वाधिकारी
त्रिभुवन वीर विक्रम शाह
नेपालको राजा
सन् १९५५ -- १९७२
उत्तराधिकारी 
बीरेन्द्र वीर विक्रम शाह