सङ्खुवासभा जिल्ला
सङ्खुवासभा जिल्ला | |
|---|---|
कोशी प्रदेशको नक्सामा सङ्खुवासभा जिल्ला अवस्थिति | |
| देश | |
| प्रदेश | कोशी |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | खाँदबारी |
| सरकार | |
| • प्रकार | समन्वय समिति |
| • अङ्ग | जिसस, सङ्खुवासभा |
| क्षेत्रफल | |
| • जम्मा | ३,४८० किमी२ (१३४० वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | १५८,०४१ |
| • घनत्व | ४५/किमी२ (१२०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| टेलिफोन कोड | ०२९ |
| मुख्य भाषा(हरू) | नेपाली लिम्बू राई |
| वेबसाइट | www |
सङ्खुवासभा जिल्ला नेपालको कोशी प्रदेशमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ। समुन्द्री सतहदेखि ४५७ मिटर (संसारको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४८१ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७ डिग्री ६' उत्तरदेखि २७ डिग्री ५५' उत्तरी अक्षांशसम्म र ८६ डिग्री ५७' पर्वदेखि ८७ डिग्री ४०' पूर्वी देशान्तरसम्म फैलिएको छ। उत्तरतर्फ फराकिलो भागमा मनोरम हिमाली शृङ्खलाहरूले सजिएको यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवासयुक्त पहाडी भूभाग रहको छ। यस जिल्लाको आर्थिक श्रोत कृषिमा निर्भर रहेको छ। आर्थिक रूपले सक्रिय जनसङ्ख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन्।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]यस जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी संखुवासभा जिल्ला रहन गएको हो। शुरुमा यी दुई खोला बीचमा पर्ने भू-भागलाई संखुवासभा भनिने गरिन्थ्यो। भौगोलिक क्षेत्र र प्रशासनिक सुविधाका आधारमा २०३२ सालमा हेरफेर भएपछि हालको संखुवासभा जिल्लाको स्वरूप निर्धारण भएको हो।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा ५ नगरपालिका, ५ गाउँपालिका गरि १० वटा स्थानीय तहहरू रहेका छन्।[२]
| क्रम | स्थानीय तहहरू | समावेश गाविसहरू | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या (वि.सं २०७८) | क्षेत्रफल (वर्ग किमी) |
जनघनत्व (वर्ग किमी) |
|---|---|---|---|---|---|---|---|
| १ | चैनपुर नगरपालिका | चैनपुर, सिद्धकाली, सिद्धपोखरी, बानेश्वर, खराङ र नुनढाकी | ११ | चैनपुर | २६,७९९ | २२३.६९ | १२० |
| २ | धर्मदेवी नगरपालिका | आँखीभुई, मामलिङ र तामाफोक | ९ | तामाफोक | १६,०५३ | १३२.८२ | १२० |
| ३ | खाँदबारी नगरपालिका | सित्तलपाटी | ११ | खाँदबारी | ३५,५६५ | १२२.७८ | २९० |
| ४ | मादी नगरपालिका | मादीमुलखर्क, मादीरामबेनी र मावादिन | ९ | मादी ओखरबोटे | १३,२७३ | ११०.१ | १२० |
| ५ | पाँचखपन नगरपालिका | वाना, स्याबुन र जलजला | ९ | वाना | १६,३४८ | १४८.०३ | ११० |
| ६ | भोटखोला गाउँपालिका | किमाथान्का, चेपुवा, हटिया र पावाखोला (१,२,३) | ५ | हटिया | ६,४३८ | ६३९.०१ | १० |
| ७ | चिचिला गाउँपालिका | दिदिङ र मत्स्यपोखरी | ५ | दिदिङ | ६,५७७ | ८८.६३ | ७४ |
| ८ | मकालु गाउँपालिका | मकालु, याफु(५,६,७,८), नुम, पावाखोला (४-९) र पाथीभरा | ६ | नुम | १३,४२४ | ५१९.४५ | २६ |
| ९ | सभापोखरी गाउँपालिका | धुपु, बाह्रबिसे र सभापोखरी | ६ | बाह्रबिसे | ९,९७० | २२२.०८ | ४५ |
| १० | सिलिचोङ गाउँपालिका | सिसुवाखोला, बाला, ताम्कु, माङ्तेवा र याफु (१-४,९) | ५ | ताम्कु | १०,२९६ | २९३.२६ | ३५ |

जिल्लाको ऐतिहासिक पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]
वैदिक कालदेखि नै संखुवासभा जिल्लाको महत्त्व रहदै आएको छ। सो समयमा शिवपार्वतीको कि्रडास्थल मानिने शिवधारा वेदव्यासले भगवान शिवशंकरसंगको प्रार्थनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान सिद्धकाली जस्ता पौराणिक महत्त्व भएको स्थलहरूले सोको प्रमाणित गर्दछ।
नेपाल एकिकरण पूर्व संखुवासभा जिल्ला पल्लो किराँत लिम्बुवान अन्तरगत पर्दथ्यो। किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरूमा गढि गोला कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरूको नामाकरण (हटियागोला गढि बजार र चैनपुर गाबिसको लोहाकोट आदि)ले पुष्टि गर्दछन्। जस अनुसार गढि तथा कोटमा शासकहरूको दरवार हुने गर्दथ्यो भने गोलामा त्यस ताकाको अन्नपानी तथा हातहतियारको भण्डार रहने गर्दथ्यो। हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान जसलाई खादबारी १ ढोलबाजे गढि भनिन्थ्यो तथा हाल हेलिप्याड रहेको स्थान सम्याउने कार्य गर्दा फेला परेका चिल्ला वुट्टेदार तथा बलिया ईट्टाहरू त्रिशुल तीर तरवार खुँडा आदिले परापूर्वकालमा उक्त स्थानमा कुनै ठूलो दरवार रहेको तथ्यलाई पुष्टि गर्दछन्। यस्ता गढि गोला तथा कोतहरूमा हेदाङ्गना गढि चैनपुर गोला हटियागोला कोतडाँडा (हाल हिमालय मा.वि. भएको स्थान वानेश्वर गढि आदि प्रसिद्ध रहेका थिए।
नेपाल राज्यको एकिकरणका क्रममा वि. सं १८३१ वैसाखमा चैनपुरको दक्षिणी भागमा रघु रानाकाे नेतृत्वमा गोर्खाली सेनाहरू र लिम्बुवान राज्यका कांङसोरे वनेमको नेतृत्वमा युद्ध भएको प्राप्त तथ्यहरूले यस क्षेत्रको एकिकरण त्यस समय पश्चात भएको पाइन्छ। राणाकालमा यो क्षेत्र धनकुटा गौंडा वडाहाकिमको प्रशासनिक क्षेत्र तथा चैनपुरका न्यायिक क्षेत्रभित्र पर्दथ्यो। त्यसताकाका वस्तीहरूलाई थुम भनिने गरिन्थ्यो र यो जिल्ला भित्र पनि विभिन्न थुमहरू दशमजिया (मादिविर्ता) पाचँ मजिया (खराङ्ग) देखि लिङलिङ,वाना दशथर थुम (चैनपुर देखि पोखरीबजार) त्यस्तै पाँच खपन थुम, सभा उत्तर थुम, संखुवा उत्तर थुम आदि पर्दथे।
भौगोलिक अवस्था
[सम्पादन गर्नुहोस्]- अक्षांश:- २७ डिग्री ०६” देखि २७ डिग्री ५५” उत्तर
- देशान्तर:- ८६ डिग्री ५७” देखि ८७ डिग्री ४०” पूर्व
- सिमाना:- पूर्व-ताप्लेजुङ र तेह्रथुम,पश्चिम-सोलुखुम्बू र भोजपुर,उत्तर चीनको तिब्बत, दक्षिण-धनकुटा र तेह्रथुम
- क्षेत्रफल:- ३४६८.१७ वर्ग किलोमिटर
- औसत लम्बाइ:- .... उत्तर– दक्षिण
- औसत चौडाइ:- ..... पूर्व– पश्चिम
- भौगोलिक अवस्था:- हिमाली क्षेत्र
- सबभन्दा अग्लो स्थान:- ८,४६३ मिटर (मकालु हिमाल, विश्वको पाँचौं सर्बोच्च शिखर)
- सबभन्दा होचो स्थान:- ४५७ मिटर (अरुण उपत्यका, संसारको सबैभन्दा होचो उपत्यका)
- सदरमुकाम:- खाँदबारी
भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ। यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ। जैविक विविधता र प्राकृतिक संरक्षणको लागि मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लाली गुराँस संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन्। यस जिल्लाको कुल जमीनमध्ये ८।२७५ कृषियोग्य जमीन, ४०.३१% वन क्षेत्र, ११.३७% चरन तथा झाडी क्षेत्र, २७.३९% हिम तथा जल क्षेत्र र १२.६६% भू-भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ।
यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्त्वका पोखरीहरू हुन भने संखुवासभा चैनपुर,पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरू हुन।
यहाँ धार्मिक तथा पर्यटकीय महत्त्वका रमणीय स्थलहरू मनकामना तुम्लिङटार मन्दिर, बानेश्वर महादेव, चैनपुर, खराङ, बाह्रबिसे, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम (८,४६३ मिटर), मकालु दोस्रो (७,६७८ मिटर), वरुनत्से (७,१२९ मिटर), चाम्लाङ्ग (७,३१९ मिटर), हिमचुली (६,४२४ मिटर), कुम्भकर्ण (७,१२९ मिटर), मकालु-बरूण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका, मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ।
प्रमुख नदी, ताल, तलैया
[सम्पादन गर्नुहोस्]अरुणनदी, बरुण नदी, संखुवा, सवा, पिलुवा, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा,कासुवा, सिसुवा, सवापोखरी, गुफापोखरी, सिद्धपोखरी, पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि।
प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र
[सम्पादन गर्नुहोस्]मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा मकालु प्रथम (८४६३ मी.), मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,मिल्के डाडाँ आदि।
व्यापारिक महत्त्वका स्थानहरू
[सम्पादन गर्नुहोस्]
खाँदबारी, तुम्लिङ्टार, धुपु, चैनपुर, खराङ, त्रिबेणीबजार (बाह्रबिसे , जलजला, सित्तलपाटी, मादिओखरबोटे, आँखिभूईं, सिसुवाटार, सेदुवा मकालु, मुढेशनिश्चरे, किमाथान्का, गुफापोखरी आदि।
दुर्लभ जीवजन्तुहरू
[सम्पादन गर्नुहोस्]रुखभालु, पाण्डा, ओत, हिमभालु, हिमचितुवा, बाघ, घोरल, झारल, मृग, चित्तल, हरिण, खरायो, काँडे भ्याकुर, झिंगे फिस्टो, पखेंटे भ्याकुरो आदि।
राजनीतिक विभाजन
[सम्पादन गर्नुहोस्]१ सङ्घिय निर्वाचन क्षेत्र, २ वटा प्रदेश निर्वाचन क्षेत्र, ११ वटा ईलाका,५ वटा नगरपालिका, ५ वटा गाउँपालिका
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनसङ्ख्या तथा आवास जनगणना २०७८ (राष्ट्रिय प्रतिवेदन)", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।