देउडा गीत
उत्पति | सुदूरपश्चिम नेपाल |
---|
देउडा गीत' (प्रचलित: देउडा गीत) नेपालको सुदूर तथा मध्य पश्चिम क्षेत्रमा गाइने प्रचलित लोक गायन शैली हो। यसलाई देउडा भाका, देउडा गीत, लोक डेउडा आदि नाम दिएको पाइन्छ। यो गायन खासगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लाहरूमा मुख्य रूपमा अपनाइएका पाइन्छन् ।[१] यो पश्चिमेली भाषामा गाइन्छ । देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्यप्रधान गीत हो । यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल न्याउले खेल अथवा भनिन्छ । यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ । स्थानीय भाषिकाहरूमा सृजित भई लोकप्रियता कमाएको देउडाले यस क्षेत्रभन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ । डेउडा खेल र गायनको प्रक्रिया यस क्षेत्रमा खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह आदिमा प्रस्तुत गरिन्छ । देउडा गीतलाई एकल रूपमा पनि गाउन सकिन्छ । नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाई प्रस्तुत गरिने भएकाले यस गीतलाई डेउडा नामकरण गरेको मान्न सकिन्छ । संस्कृत भाषाको देउंदुराय शब्दबाट देउदुरा हुँदै देउडा शब्द बनेको हो भन्ने पनि छ ।[२]देउडा गीत हो भने डेउडा खेल हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]देउडा गीतको सुरुवात खस सभ्यतासँगै सुरु भएको अनुमान लगाइन्छ । कतिपय ठाउँमा पहिलेका दिनहरूमा देउडा गीत गाउन लाज मान्ने चलन पनि थियो । त्यो अवस्थामा देउडा गीतको गीतबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) बीच सवालजवाफ चल्ने गर्दथ्यो । यति मात्र होइन, देउडा गीतबाट नै कतिपयका घरबार बसेका कुरा पनि सुन्नमा आउँछन् । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । प्रायः यसका गीतहरू खस भाषामा आधारित हुन्छन् । खास गरेर खस भाषाको उद्गमस्थल जुम्ला जिल्लाको सिंजालाई मानिएको छ । पश्चिम नेपालका अधिकांश राज्यहरू जस्तै:- बैतडी ,डोटी, दैलेख, दुल्लु, जाजरकोट आदि ठाउँमा खस भाषाको प्रयोग भएको पाइन्छ । देउडागीत पनि यिनै राज्यमा प्रचलित भएको थियो र अहिले पनि तत्कालीन राज्यअन्तर्गत पर्ने स्थानहरूमा यो देउडागीत लोकप्रिय बन्दै गएको छ । पश्चिम नेपाल राज्यको नजरमा टाढा रहे पनि संस्कृतिमा सधैं सम्पन्न रहेको छ । नेपाली भाषाको उद्गमभूमिको रूपमा रहेको पश्चिम नेपालको आफ्नै इतिहास छ । पश्चिम नेपालमा गाइने न्याउल्या गीतको त झनै गौरवमय इतिहास छ । देउडा गीतको ऐतिहासिक नाम न्याउल्या गीत हो । भारतको कुमाउँतिर अझै पनि ठाडीभाकालाई न्याउली भनिन्छ । पश्चिम नेपालका पहाडी जिल्लाहरूमा गाइने सबै गीतहरूलाई मिडियाले देउडा भन्ने गरेको पाइन्छ । यति मात्र नभएर कतिपयले खस, अछामी, डोटेली, बैतडा आदि पश्चिम नेपालमा बोलिने भाषासहितलाई पनि देउडा भाषा भन्ने गर्छन् । [३]। नेपाली भाषाको उद्गम स्थल पश्चिम नेपाल हो भन्ने कुरा इतिहासले नै सावित गरिसकेको छ । nepali culture
अहिले कर्णाली र सुदूरपश्चिम भनेर छुट्टाइए पनि पहिले यो भूमी खस साम्राज्यका नामले प्रख्यात थियो । कत्युरी शासन कालमा पनि यो भाषाको प्रयोग भएको पाइन्छ । तर कत्युरीहरूले राज्य भाषाको मान्यता दिएका थिएनन् । त्यस पछि खस साम्राज्यको उदय भयो । उनीहरूले जुम्लाको सिञ्जालाई राजधानी बनाएर शासन गरेका थिए । भारतको कुमाउँ, गढवाल लगायत तिब्बतको खार क्षेत्र र नेपालको त्रिशूलीसम्म खस साम्राज्य फैलिएको थियो । राजाले राजकिय भाषाको मान्यता दिएपछि यस भाषालाई खस भाषा भनेर पनि चिनिन थालियो । त्यहाँबाट सर्दै पूर्वी नेपालसम्म पुगेपछि यस भाषाले नेपाली भाषाको मान्यता पाएको थियो । नेपाली भाषाको मान्यता पाए पछि लेख्न र पढ्न सजिलो होस् भनेर केही विकसित गरियो ।
प्राचिन खस भाषा पश्चिम नेपालमा अझै पनि रहेको छ । पृथ्वीनारायण शाहले दिव्योपदेशमा " मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, चार जात ३६ वर्णको साझा फूलवारी हो सबैलाई चेतना भया" भनेका छन् । उनकै भाषाको आया, गया, खाया, भया जस्ता शब्दको प्रयोग भएको छ । त्यो भाषा पश्चिम नेपालमा अहिले पनि जस्ताको त्यस्तै प्रयोग हुन्छ । पश्चिम नेपालमा अँझै पनि काँ जाँदा भयौ, काँ बाटी आयौ, क्या अद्दा छौ जस्ता शब्दको प्रयोग हुन्छ । भानुभक्त आचार्यले लेखेको रामायणको पहिलो श्लोक "एक दिन नारद सत्यलोक पुगिगया लोकको गरौं हित भनी, ब्रह्मा ताहीं थिया पर्या चरणमा खुसी गराया पनि ।" त्यही भाषाको प्रयोग भएको छ । परिस्कृत भएर अहिले नेपाली भाषा भएको यस भाषाको मुहान प्राचिन नेपालको जुम्ला राज्य र डोटी राज्य हो । त्यो भाषासँगै न्याउल्या संस्कृतिले पनि मौलाउने अवसर पाएको हो । न्याउल्या संस्कृतिको सुरुवात न्याउली चरीको सुमधुर स्वरबाट भएको हो । डोटेली इतिहास अध्यायन गर्दा न्याउल्या गीत न्याउली चरीको स्वर जस्तै सुमधुर रहेकाले सोही अनुसार नामकरण गरिएको पाइन्छ । अहिले यसलाई देउडा गीत, देउडा संस्कृती, देउडा भाषा, डेउडा खेल आदि नामले चिनिन्छ [३]।
न्याउल्यालाई देउडा भनिएका कारणहरू
[सम्पादन गर्नुहोस्]पहिले न्याउल्या गीत भनिने यस गीतलाई देउडागीत भनिने विभिन्न कारणहरू रहेका छन् । २०११ सालमा योगी नरहरिनाथले लेखेको इतिहास प्रकाश भाग-३ मा कर्णाली क्षेत्रका न्याउल्या गीतबारे व्याख्या गरिएको छ । उनले गीतहरू सङ्कलन समेत गरेका छन् । लोकवार्ता परिषदले दाङमा २०७२ सालमा सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा कुमाउ युनिभर्सिटीका प्रोफेसर देवराज पोखरियालले एउटा कार्य पत्र तयार गरेका थिए । उनले त्यस कार्यपत्रमा कुमाउ गढवाल से महाकाली अञ्चल तकका न्याउल्या गीत भनेर लेखेका छन् । अतः यो गीतलाई न्याउल्या नै भनिन्थ्यो देउडात पछि भनिन थालिएको हो । सञ्चार माध्यमहरूबाट देउडा र डेउडा भनेर प्रसारण भएपछि यही शब्दले प्रसिद्धि कमायो र जनजिब्रोमा झुण्डियो । जनजिब्रोमा झुण्डिएको कुरालाई कसैले थुत्न सक्दैन । सबैले देउडाभनेर नै बुझ्नु पर्ने भयो[३] ।
विसं २०१५/१६ सालको फागुन महिनामा धर्मराज थापा पश्चिम भ्रमणमा गएका थिए । उनले त्यहाँको संस्कृति र गीतसंगीत अवलोकन गरेका थिए । सोही क्रममा उनले सुदूर पश्चिममा होरी खेलेको देखे । त्यो खेल (नृत्य)मा प्रयोग हुने गीतहरूलाई होरी देउडा भनिन्छ । धर्मराज थापा काठमाडौँ फर्किसकेपछि उनले सायद गोलाकार रूपमा खेलिने सबै देउडा हुन् सोचे । धर्मराज थापा त्यो बेलामा रेडियो नेपालमा लोकमञ्जरी कार्यक्रम चलाउँथे । उनले पश्चिम भ्रमणको अवसरमा रेकर्ड गरेर ल्याएका सबै कार्यक्रमहरूलाई रेडियो नेपालबाट देउडाभनेर प्रसारण गर्न थाले । रेडियो नेपालले तत्कालिन समयमा देउडा भनेर प्रसारण गर्दा जनमानसमा सबै कुरा देउडा रहेछ भन्ने पर्न गयो । जुन कुरा धर्मराज थापाले व्याक्तिगत धारणाका आधारमा भनेका थिए त्यो कुरा सबैमा कस्तुरीले आफूसँग भएको बिनाको सुगन्ध थाह नपाए जस्तै भयो । गहिरो अध्यायन नगरेर नै देउडा बोलिन थालियो । कसैलाई थाह नभएको कुरा एकै चोटी रेडियो नेपालबाट देउडाभनेर प्रसारण भए पछि पश्चिम नेपालको सबै कुरा देउडा बन्न पुग्यो [३]।
देउडा शब्दको पहिलो प्रयोग दुःखान्त नाटककार पहलमानसिंह स्वाँरले गरेका छन् । उनले कोल घुमेजस्तै गरेर गोलाकार रूपमा खेलिने खेललाई डेउडा भनिन्छ भनेर लेखेका छन् । अर्को पाटोमा भन्ने हो भने देउडाको अर्थ देवताको उपासना गर्ने भन्ने पनि हुन्छ । पश्चिम नेपालमा देवताका मन्दिरहरूमा र धार्मिक उत्सवहरूमा धमारी, झोडा, चुटकिला आदी देवताहरूका गाथा गाउने चलन छ । जसमा दुई हरफ चौध अक्षरको पंक्तिमा पुरै देवस्तुती हुन्छ । दे भन्नाले देवता, उ भन्नाले उपासना र डा भन्नाले डाक्ने अथवा आवाहन गर्ने भन्ने पनि हुन्छ । देवताहरूको उपासना गर्ने देउडा निश्चित चाडपर्वहरूमा गाइन्छ । भगवान कृष्णका चरित्र गाथा, देवकी नन्दनका चरित्र गाथा, रामका चरित्र गाथा, शिवका चरित्र गाथा, स्थानिय देवी देवताको वर्णन, प्रकृति वर्णन आदी होरीको देउडामा गाइन्छ । कृष्ण जन्माष्टमीमा कृष्णको गाथा गाइन्छ । त्यसैले यी गीतहरूलाई देउडा भनिन्छ [३]। यहाँ उल्लेख गरिएका विभिन्न कारणहरूले गर्दा पहिलेका दिनहरूमा न्याउल्या भनिने यी गीतहरूलाई अब देउडा गीत भनिएको हो ।
प्रकार
[सम्पादन गर्नुहोस्]देउडा गीतको हिसाबले र प्रयोगको हिसाबले धेरै प्रकारको हुन्छ । यसमा गायकहरूले विभिन्न ताल र लयको प्रयोग गरेर गायको देखिन्छ । कुनै तालमा बसेर गाइन्छ भने कुनैमा नाच्ने गरिन्छ । देउडा गीतका ताल र प्रकार निम्न अनुसार रहेको छन् ।
ठाडी भाका
[सम्पादन गर्नुहोस्]यो ठाडीभाका लामो स्वर गरेर गाईन्छ। यो भिर, पाखा, गोठालो जाँदा गाईने हुनाले यसलाई गोठाले गीत पनि भनिन्छ। यसमा गायकले शांत र एकान्त ठाउँमा बसेर गाउँछन्। ठाडी भाकामा दुल्लुको ठाडी भाका निकै प्रचलित छ। यसमा गायक एकल यूगल हुन्छन्। वन जंगल जाँदा गीत गाएर आफ्नो मनको विरह पोख्नु नेपालको सुदूर तथा मध्य पश्चिम क्षेत्रको एक प्रमुख संस्कृति रहि आएको छ । लामो स्वर तानेर गाइने हुनाले ठाडी नाम दिइएको यो भाकालाई देउडाको एक विधा मानिन्छ । समाजको अगाडि गाउन लाज मान्ने यस गीतमा बाजा बजाइदैन ।[४] आधुनिक जमानामा कलाकाकारहरूले ठाडी भाका गाँउदा बाँसुरी र हार्मोनियक बजाउने गरेको पनि पाइएको छ ।
हुड्क्यौली
[सम्पादन गर्नुहोस्]हुड्क्यौली अथवा हुड्के नाच हुड्काको तालसँग गाईन्छ। यसमा पुराना लडाईका कथाहरू समावेश गरिन्छन्। यो सामूहीकरूपमा गाईन्छ। यसमा गायकहरू २ समूहमा बाँडीएका हुन्छन्। एक समूहमा नाँच्ने हुन्छन् जसलाई हुड्के भनिन्छ। अर्को समूहमा बजाउने र गाउने हुन्छन् । जसलाई रागिला अथवा स्वरे भनिन्छ । यो खास गरी बैतडी र दार्चुला जिल्लामा विवाहादी उत्सवहरूमा गाइन्छ। यसलाई भारतको उत्तराखंडमा पनि प्रयोग भएको पाइन्छ ।धेरै जसो वैतडी दार्चूला भन्दा अछाममा बढी प्रयोग भएको पाईन्छ ।
धमारी
[सम्पादन गर्नुहोस्]देउडा समूह अंतर्गत पर्ने एक अर्को प्रकारको भाका हो। यसमा गायकहरू गोलो घेरा बनाएर एकै तालमा हात खुट्टा बटार्दै दुई समूहमा गाउने गर्दछन्। धमारी खास गरी न्वारन र देवताको पूजा स्थानमा प्रयोग भएको पाइन्छ। यसलाई मुख्य रूपले बैतडी दैलेख, कालिकोट, डोटी र अछाममा प्रयोग भएको पाइन्छ। खास गरेर मेला महोत्सव र पूजा पाठका बेला धमारी खेल्लने प्रचलन छ ।
झोडा
[सम्पादन गर्नुहोस्]झोडा पनि धमारी जस्तै हो। तर यसमा गायकहरूको ताल र भाषा फरक हुन्छ।
देउडाखेल
[सम्पादन गर्नुहोस्]डेउडा खेलबाट नै देउडा संस्कृतिको उत्पत्ती भएको पाइन्छ । यसमा गायकहरू गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा गीतै गीतमा सवाल जवाफ हुन्छ । डेउडा खेललाई न्याउले खेल पनि भनिन्छ । यस खेलमा प्राय: एक समूह यूवा र अर्को समूहमा युवती रहेका हुन्छन् । यूवा-यूवा बीच यूवती-यूवती बिच पनि यो सवाल जवाफको खेल हुन्छ । यो देउडा प्रचलित सबै ठाउँमा खेलेको देख्न पाइन्छ । बर्तुलाकार समुहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढङ्गले गाईने र खेलिने खेल डेउडा हो । तिहार सकिने बितिक्कै बैतडी तथासुदूर पश्चिममा जाँत पर्व सुरु हुन्छन् । त्यसबेला बालक देखि वृद्ध वृद्धा सम्म डेउडा खेल्न ब्यस्त देखिन्छन् ।यो गौरा पर्व मा पनि खेल्ने गरिन्छ। डेउडा खेल देउडी पारेर खेलिने खेल (नृत्य) हो ।
झ्याउरे लगायत अन्य गीतहरू गाउँदा र नाच्दा मादलको तालमा नाचिन्छ भने डेउडा नाच अथवा डेउडा खेलमा खुट्टाको चाल मिलाउनु पर्ने हुन्छ । यसरी खुट्टा चाल्ने कार्यलाई पैतोली अथवा पाइतो भनिन्छ । पाइतो हान्दा डेड स्टेप हान्नु पर्ने हुन्छ । एक स्टेपमा खुट्टा पुरा जान्छ भने अर्को स्टेपमा आधा जान्छ । यहाँ डेडीको प्रमुखता भएकोले यस खेलको नाम डेउडा खेल र यसमा प्रयोग हुने गीतलाई देउडा गीत भनिएको हो भन्ने भनाई छ । डेउडा खेलमा गीत गाउँदा पनि दुई पङ्क्ति मध्य पहिलो पङ्क्तिको श्लोक पहिलो पटक पुरा र दोस्रो पटक आधा उच्चारण हुन्छ । त्यसैले गायन र नृत्य दुईटैमा डेडीको प्रमुखता भएकोले यसलाई डेउडा भनिएको हो[३] । डेउडा खेल अथवा न्याउल्या खेल भन्नाले कुनै खेलकुद नभएर एक मनोरञ्जनात्मक परम्परागत नृत्य हो भन्ने बुझ्नु पर्ने हुन्छ । डेउडा खेल्ने भन्नाले गोलो घेरा बनाएर पैतोलका तालमा समूहगत रूपमा नृत्य प्रस्तुत गर्नु भन्ने बुझ्नु पर्छ । डेउडा खेलका सहभागीहरूले कुममा कुम जोडेर अथवा एक आपसमा पाखुरा समातेर सामुहगत रूपमा खुट्टा अघिपछि गरेर गीतसँग सामान्य नृत्य गर्छन् ।
विभिन्न उमेर समूहका महिला तथा पुरुषहरूले यस गीतमा छुट्टा छुट्टै नृत्य गर्न सक्छन् भने एउटै समूहमा मिसिएर पनि खेल्ने गर्दछन् । डेउडा खेलमा विशेष गरेर मायाप्रेम, विरह व्यथा, मानसिक भावहरूको अभिव्यक्ति तथा लोक जीवनका मार्मिक स्वरहरू प्रस्तुत भएको पाउन सकिन्छ । राजनीतिक, सामाजिक तथा वैयक्तिक व्यंग्यका साथै सामाजिक उत्पिडन, विषमता जस्ता विषयहरू देउडा मिहीन किसिमले केलाइएर प्रस्तुत गरिएको हुन्छ । सामूहिक डेउडा खेल्दा देउडियाहरू ठुलो आँगन तथा चौरमा गोलो घेरा बनाएर मुखामुख गरी दुई समूहमा विभाजित हुन्छन् । दुवै समूहतिर दुई जना गीदाउडा हरू हुन्छन् । गीतको उठान गर्ने व्याक्तिलाई गीदाउडा अथवा खेलाउडा भनिन्छ । बाँकी सहभागीहरूले तिनले भनेको गीतलाई पछ्याउँदै, पाइतो (खुट्टाको ताल) मिलाएर डेउडा गायन र नृत्यमा झुम्मिन्छन् । यसरी प्रस्तुत गरिने सवाल जवाफलाई झिट्टा भनिन्छ । दोहरी शैलिमा डेउडा खेल्दा गाउँ खाने कथा भन्ने गरिन्छ । यसमा प्रायः सबैजसो मान्छेले खेल्न सक्ने सामान्य किसिमको नाच प्रस्तुत गरिन्छ ।
डेउडा खेलमा छमक्म निरिमल छमक्क, छमक्क छमक्क, लौ बिरे छमछम, ए साली, मेरी बौजु, ए भिनाजु, तान तान बाज मैना चरी, हैक्या जिरा फूल फूल्याको छैक्या, आदि थेगोहरू प्रचलनमा रहेको पाइन्छ । यसरी डेउडा खेल्दा एकै ठाउँमा फरक फरक समूहहरू बनाएर पनि प्रस्तुत गर्ने गरिन्छ । बुढापाका, तन्नेरी पुरुष, महिला तथा बालबालिकाहरू छुट्टा छुट्टै रूपमा पनि डेउडा खेलेको पाइन्छ । सबै उमेरका मान्छेहरू तथा युवा युवतीहरू एकै समूहमा घेरा बनाएर पनि नृत्य प्रस्तुत गरिन्छ । अपरिचित मान्छेहरू एकै खेलमा जुटेर गीतै गीतको सवाल जवाफ मार्फत परिचय गर्ने र मायाप्रेमका गीतहरू समेत अलाप्ने गर्दछन्[२] ।
उदाहरणार्थ केही देउडा गीतहरू
[सम्पादन गर्नुहोस्]- डोटी राम्रा डडेल्धुरा अछाम राम्रा साँप्या । मलाई पनि उडाई लैजा हिउँचुलीका डाँफ्या॥
- दुल्लुदेई दैलेखसम्म जाँथी हान्यो खम्म। खाँक फाल तिर्सना झाल घाम लागन्तीसम्म॥
- म पारि गैजान्या छियाँ नित्र गंगा नित्र। मैजसो दु:खारी क्वै नाइँ चौध अञ्चलभित्र॥
- भैंसाथी जाँदैन भन्दो बामनको बर्म। दुख् पाउनु परदेशै धाउनु के बिग्री होइ कर्म॥
- जैगाड बस्याको भोट्या पानी काँ खाँदो हो। हाड मांस माटीका भर हंस काँ जाँदो हो॥
- कि पानी पिदै नपिनु कि कर्णाली सुका। कि त दैव जन्म नदे कि सोच्याको पुगा॥
- धोती मैलै टोपी मैलै धोइदिन्या कोई छैन। परदेशमा मरन्याको रोइदिन्याँ कोइ छैन ॥
- सर्क लाग्यो लिसे बादल कर्णाली तुरुक्क। सम्झिगे बसेकी ठौर रोइगए धुरुक्क ॥
- नुन पिसु, खुर्सानी पिसु, जिरो लै पिसुकी। सौँरीले जिउ जान लाइग्यो, आइझा बिसुकी॥
- रोप रोप रोप्न्यारी हो, आसार गोडौली। एकचोटी लायाको पिरती, फेरि काँ छोडौली॥
- डोटीकी देइजात राम्री, बन्नाकी चैतली। भनिदेऊ मनका कुणा, मिलाइदेउ पैतली॥
- भाइटीका फूलको माला, दसैँकी जमरा। डेउडा खेल्न आया साथी, भदौकी गमरा॥
- घात गरी अलपत्र पारी हाँसी रमाई रमाई। मन हुन्याकी जिउँदै मारी धनीको हात समाई॥
- माथि राम्रो बासुधारा तलको मजखोरी । डिठ पणे हाँसने बानी जनलाया चोरी ।।
- कि माल तो उब्भो आइजा कि डाँडा छेकिजा । छैन भने म का खोजुँ छैइ भन्या देखिजा ।।
- मायाँ प्रिती लैजा दिलमा मेरो नाम लेखिजा । तेरीलाई तड्पेको मन एकचोटी सेकिजा ।।
- मलाई बस्ने ठाउँ रहेन साईका बस्ने ठौर । छुटे देखी छुटेकाई छौँ कठै जोली भौर ।।
- र्धिर्तमा कसरी ओर्लु म कैलाश छौर ।आज भोलि बिरानो भयो हाँसी खेल्ने चौर ।।
- बालकालै लायाको माया आज भयो खती ।माया प्रीति छुटेदेखि बिग्रेको छ मति ।
- म पनी कैलाश आउँकी सौराइ लाग्यो अति ।दशा लाग्यो मति बिग्रो छुटिगो पिरती ।।
- माछाकी माँ छोरी मा¥यो भुरेली जालले ।लाउँखाउ भन्दै बालिबैश लैइगयो कालले ।।
- दिन दशा हामीलाई लाग्यो यही नौला सालले ।सिर्के रुमाल बगाईलैगो कर्नाली छालले ।।
- हात चुट्दै पसिना पुछ्दै बाईगई मायाजाल ।। दिन दशा हामीलाई लाग्यो अहिले नयाँ साल ।।
- बृन्द्रावन निस्याईलो बनाई तेरी खाने काल ।तँ छुटी स्वर्गमा पुगीम छुटेर माल ।।
- मार्सी चामल पकाईखानु सिमीको दालसँंग ।साईको माया बगाई हाले कर्नाली छालसंँग ।।
- क्या भनेर चित्त बुझाउ यही माया जालसँग ।राजा भए विन्ति गर्नृ क्या भनुँ कालसँग ।।
- सिमल डाली भाँचिगयो चरी उडी गईन् ।जिउ बाईगो जोवन बाईगो मनका जसो भईन ।।
- जनमभरि अब हाम्रो भेटघाट हुने छईन । रोईरोई कन दिन काट्नु छ कठै मेरी दईन ।
- धर्तीभरि शितल छायाँ आकाशका जुनले ।दिन रात रुवाउन लाग्यो बासुरी धुनले ।।
- हातमा औठी बन्ने छैन लंकाका सुनले ।आत्माशान्ती भयाको नाई साई तेरा गुनले ।।
- उर्ली बग्दो करनाली हल्ली बग्दो भेरी ।हाँस्नु बोल्नु यति भयो भेट हुन्यानाई फेरी ।।
- दिन काट्नु मुस्कीलै भयो तस्वीरको मुख हेरी ।हाँस्तै खेल्दै बालिबैश कालले लैगो घेरी ।।
- आज राति सैना धेक्या सौराइ लागी तेरी ।बैकुण्ठ बास भयो तेरो अब रैनस् मेरी ।।
- साईपनि स्वर्गमा आईजा सौरणी लाईसक्यो ।बाज तेरा सुरताले परानी खाईसक्यो ।।
- साईको मेरो कैलाश भेट्ने दिन पन आईसक्यो ।।साई पनी मर्ने छौ पक्कै आत्माले राईसक्यो ।।
- जन्म्यापछि मर्नुपर्ने यो मान्छेको चोला ।यो परानी रैछ कठै बगिजाने खोला ।।
- जनमभरी भेट हुन्यानाई कठै सुन तोला ।दुई आत्मा दुर दुरै भयो अब क्यार्ने होला ।।
- डुल्यो मन डुलेकै होला कोइनाई साइका साथ ।दिनमा बाडूल्ली लाग्ला रुदै जाँदा रात ।।
- कानमा सिउरेको फूल छैन साईका हात ।भाँचियो पिपल डाली बगाई लैगो पात ।।
- फुलबाडी ओइलेर गयो कसैले नगोडी ।लंका भन्दा पर पुगी तँैले मलाई छोडी ।।
- दूई आत्मा दुर दरै भयौ छुट्यो हाम्रो जोडी ।काल बैरीले साथ लिएन गयौ बाटो मोडी ।।
- बालीवैश पौलो माया त्यसै खेर गयो ।जनमभरी एग्लै साईलाई रोइ रोइ बस्नु भयो ।।
- अमनको घरवारी भयो मन डुलेको रह्यो ।बाज तोम्रा परानीले दुख मात्र सह्यो ।।
- एग्लै रुन्छ न्याउँली चरी पारी रानी वनमा ।गया दिनका भया कुरा नराख मनमा ।।
- वाढी पहिरोसँग आयो तेरा जोवनमा । अन्तिम भेट भयो हाम्रो चिहान दोभानमा ।।
- वासिगया कोइली चणी काफलु खान्तका ।सँंगै थियो हिड्ने बाटो स्कुल जान्तक ।।
- साई छोडी स्वर्गमा पुग्या सिन्दुर लाउन्तक ।दुख कष्ट धेरै सहि हुन् आमाले पाउन्तक ।।
- जन्मिनु आमाको कोख मर्नु काँछ काँछ ।जन्मेको धरती पनि बिरानो भैइराछ ।।
- बिछोडको पिडा सुवा मकि सबै थाहाछ । बाहिर म कोसँग भनु मुटु भित्र घाछ ।।
- जन्मियौ आमाको कोख वास भयो कैलाश ।हास्नु बोलनु यति भयो अब छैन आश ।।
- न जिउ छ न जोवन प्रीति बदमास ।हाँस्न खेल्न नपाइकनै परान भयो नास ।। १५ नं देखि ५१ नं सम्मका गीतहरुको स्रोतः रत्नकमल विष्टको झल्का कर्नालीका देउडा गीतिसंग्रहबाट पुस्तकबाट
बाजाहरू
[सम्पादन गर्नुहोस्]देउडा गीतकोलागी प्रयोग हुने बाजाहरू मुख्य रूपले यस प्रकार रहेका छन्:
प्रमुख देउडा कलाकारहरू
[सम्पादन गर्नुहोस्]नन्दकृष्ण जोशी, भोजराज भट्ट, नरेन्द्रराज रेग्मी, टेकराज अवस्थी, यज्ञराज उपाध्याय, डिक्रादेवी बादी, विनोद बाजुराली आदि कलाकारहरूले डेउडा गीत गाएर यसलाई रेकर्ड गराएका छन् ।[५]।
- भुवन दहाल
- नन्दकृष्ण जोशी
- महेश कुमार औजी
- नरेन्द्र राज रेग्मी
- हरिना साउँद
- राजा राम भाट
- हरिश चन्द्र कठायत
- डिग्रा देवी
- टेक राज अवस्थी
- भोज राज भट्ट
- दीपेन्द्र प्रसाद दाहाल
- हेमा देवी जोशी
- मान बहादुर केसी
- पुष्पा बोहरा
- यज्ञराज उपाध्याय
- अन्तराम बिष्ट
- चाँदनी मल्ल
- लालबहादुर थापा
- गोरखबहादुर थापा
- धनराज रेग्मी
- हेमन्त बिवस
- हिक्मत बोहरा
- दिपक संगम बि.सी
- कमल बोहरा
- जगदिश भट्ट
- दीपा रोकाया
- शंकर सिंह बिस्ट
- बिरेन्द्र जोहारी
- पुस्पा बोहरा
- कुन्ती ठगुन्ना
- गणेश बम
- चन्द्र सिं चौसिर
- उमेश ठगुन्ना
- शान्ति धामी
- गोपलराम दमाई
- जुंगे भट्टराई
- मुरलीधर अवस्थी
- गोपाल बिस्ट
- प्रेमराज खत्री
- तिलकसिंह प्याला
- मोहन बजुलिया
- मनोहरराम दमाई
- श्रीधर पन्त
- मनोरथ खडायत
- यज्ञराज पन्त
- बिमला पन्त
- केशब उप्रेती
- डिल्लीराज भट्ट
- सबिता भट्ट
- शान्ति पन्त
- दीर्घ फुलारा
- माया बोहरा
- लोकराज पन्त
- सिन्धु मल्ल
- सुदाम थापा
- भोजराज ओली
- चन्द्रकान्त जोशी
- टेकबहादुर ऐर
- योगेन्द्र भुल
- चन्द्रसिं साउद
- हिरालाल ताम्राकार
- केशब फुलारा
- चित्र पनेरु
- पूर्णा जोशी
- राजेन्द्र शाहा
- नन्दसिंह धामी
- भक्त बहादुर धामी
- बेनीमाधव भट्ट
- देवराज भट्ट
- चेतबहादुर ताम्राकार
- डिल्लीराज फुलारा
- कर्णबहादुर मल्ल
- तेजबहादुर कार्की
- यादव कडाल
- निर्मला भण्डारी
- राजु भट्ट
- धोज महरा
- देवराज जोशी
- सुर्य बहादुर बलायर
- रमेश बलायर
- डबल बोहरा
- निमराज ओझा
- लक्ष्मी सिंह
- राजु नेपाली
- बिष्णु भट्ट
- टेक बहादुर ऐर
- शेर बहादुर बी.क.
- लक्ष्मी पाली
- निर्मला पाली
- गंगी बलायर
- हेमा मडै
- चाँदनी जोशी
- मानबहादुर रोकाया
- ललित बोहरा
- कृतिबहादुर सिंह
- शुसिला थापा
- माया बोगटी
- राजेन्द्रबहादुर थापा
- संगीता शाह
- शोव सुनार
- अम्बर बी.क.
- बिमला बुढा
- रमेश सुनार
- विद्या तिमिल्सिना
- सन्तोष शर्मा
- कृष्ण दानी
- परिमल स्नेही
- कटक नेपाली
- दीपा धामी
- चन्द्रबहादुर थापा
- बहादुर सिंह
- लालबहादुर धामी
- पदमबहादुर रोकाया
- दिपेन्द्र बहादुर सिंह
- कलकबहादुर परियार
- कित्थे बादी
- धर्मराज भट्टराई
- बासुदेव रेग्मी
- निरज कुमार
- बिमला रावल
- मंजु रसाईली
- धना जोशी
- उमाशंकर जोशी
- देवसिंह बोहरा
- जयभक्त जोशी
- नारायण बिस्ट
- हर्कबहादुर सिंह
- दानबहादुर महरा
- कमला खड्का
- दुर्गादेवी जोशी
- गणेशबहादुर सिंह
- रत्ना जोशी
- हंस बी.क
- कुन्ती रोकाया
- हेमन्त रोकाया
- नरबहादुर भण्डारी
- नृप स्वार
- लालसिंह भण्डारी
- गोपिसिंह नेपाली
- भरत रावल
- झंकर थापा
- झंकर साउद
- गणेश बहादुर साउद
- सेते नेपाली
- महेन्द्र बी.क.
- कृष्ण बी.क.
- झंकर कुँवर
- कुल बी.क.
- सेते ओड
- पबित्र भण्डारी
- लोकेन्द्रबहादुर चन्द
- बिरेन्द्र चन्द बिरु
- उमेश बि.क
- विनोद बाजुरेली
- रमेस नागरि
- सुर्यविरही साउँद
- टंक तिमेल्सेना
- हर्क नेपाली
- करुन दहाल
- कल्पना बिसी
- रेखा जोशी
- गौरी भट्ट
- सुरेश शाही
- कमल बिरही थापा
डेउडा गीत लोप हुँदै
[सम्पादन गर्नुहोस्]डेउडा गीत पश्चिम नेपालको पहचान गराउने एक संस्कृति नै हो । पहिलेका दिनहरूमा पश्चिम नेपालका प्रत्यक वन पाखामा र मेलापातमा घन्किने लोक डेउडा भाकाहरू अब आएर लोप हुन लागेका छन् । पश्चिम नेपालका वनपाखाहरूमा गुञ्जिने ठाडी भाकाहरू पाश्चात्य संस्कृतिको प्रभावका कारण हराउँदै गइरहेका छन् । बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले डेउडा गीतलाई ओझेल पार्न लागेको छ । बढ्दो बजारीकरणका कारण गाउँहरूमा पनि आधुनिक र पप संगीतमा युवा पुस्ता रमाउन थालेपछि लोक डेउडा संस्कृती लोप हुन थालेको छ [६]। केही समय पहिले डेउडा गीतहरू पश्चिम नेपालको सेरोफेरोमा मात्र सिमित थिए । अहिले डेउडा अन्तर्राष्ट्रिय करण भएको छ । डेउडा अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउन सफल भएको छ । डेउडाको लोकप्रियता दिनानुदिन बढ्दो छ । लोकप्रियता बढेपनि यसको मौलिकता भने खस्किदै गएको छ । यो चिन्ताको विषय भएको छ । पहिलेका कलाकारहरूले सम्बन्धित ठाउँमा नै गएर मौलिकता सङ्कलन गरेर ल्याउने र रेकर्डिङ गर्दथे । अबका कलाकारहरूले मौलिकता सङ्कलन गर्ने दुःख गर्नु भन्दा पनि नयाँ जेनेरेसनले मौलिकतालाई बिर्सिएर नयाँ र्याप पपको नक्कल गरेर डेउडाको रेकर्डिङ् गराउने गर्छन् । त्यस्तो गर्नाले डेउडाको वास्तविक मौलिकता खस्किएको छ । केही रफ पपका टुक्काहरूमा पश्चिम नेपालका शब्दहरू जोडेर डेउडा भनेर प्रस्तुत गर्नु सरासर गलत हो । मौलिकतालाई जस्ताको तस्तै बाँच्न दिनु पर्छ । अर्को कुरा पश्चिमी संस्कृतिको प्रभावले पनि परम्परागत संस्कृतिको मौलिकता खस्किन पुगेको हो । अहिले गीतहरूको बजार पनि खस्किएको छ । त्यसमा पनि डेउडाको बजार त निकै सानो छ । अहिले प्रवधीले गर्दा सहज हुनु पर्नेमा मौलिकता सङ्कलन गर्नमा पुराना कलाकारहरूलाई झनै गाह्रो भएको छ । अहिले पहिलेका जस्तै गीतहरू पनि बजारमा आइरहेका छैनन् । त्यसैल पनि नयाँ पिंढीलाई परम्पागत संस्कृति तर्फ आकर्षण गर्न नसकेको हो । अहिले नेपाली चलचित्रहरूमा डेउडाको प्रयोग हुन थालेको छ, तर वास्तविक मौलिकता छैन[३]। पहिलेका दिनहरूमा पश्चिम नेपालमा बिहान बेलुका डेउडा खेलिन्थ्यो । विवाह आदी शुभ कार्यमा डेउडा खेलिन्थ्यो । रत्यौलीमा डेउडा खेलिन्थ्यो । गहुँको दाईं गर्न समेत डेउडा खेलिन्थ्यो । तर अब डेउडा हेर्न चाडवाड र मेला पर्व नै कुर्नु पर्छ । त्यहाँ पनि पुरानो मौलिकताको डेउडा देखिन्न । सबै ठाउँमा नयाँ रफ पप र डिजेको चलन चलेकाले डेउडाको स्थिती निकै न्युन स्तरमा पुगेको छ ।
यी पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ डेउडा प्रमुख क्षेत्रहरू
- ↑ २.० २.१ "डेउडा गीत : लोक जीवन-स्पन्दनको कलात्मक अभिव्यक्ति", सिधारेखा, २०७३ बैशाख २४, शुक्रबार। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१८ मिति
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ "‘डेउडा’ मा अब सबै दंग", नेपाल समय, २०७५-०८-१५। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०४ मिति
- ↑ "ठाडी भाका", बिबिसी (नेपाली), ८ सितम्बर २०१७।
- ↑ म्युजिक नेपाल तथा अन्य विभिन्न गीत रेकर्डिङ् कम्पनीहरूमा रेकर्ड गरिएका क्यासेटहरू
- ↑ "हराउदै लोक डेउडा भाका", रेडियो जाजरकोट, २५ नोवेम्बर २०१६। वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-२२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- पश्चिम नेपालको धरोहर डेउडा संस्कृति कसले जोगाउन वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-२० मितिउत्तम चन्द डेउडा गीत प्रेमी
- फेसबुक डेउडा समाज
- डेउडा गीतको संगालो
- दैलेखी डेउडा समाज
- सुदूरपश्चिम
- मेरो प्यारो बगर वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०४ मिति