गाईजात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गाइजात्राबाट अनुप्रेषित)

गाइजात्रा
जात्राको दृश्य
वैकल्पिक नामगाई जात्रा
अनुयायीनेवार
प्रकारसांस्कृतिक
परिपालनमृतकको सम्झनामा झाँकी, व्यङ्ग्यात्मक कार्यक्रम
मितिभाद्र महिनामा शुक्ल पक्षको प्रतिपदा

गाई जात्रा (नेवारीः सापारु) काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

नामाकरण

यो पर्वमा मानीसले गाइको रुपमा सजीइ जात्रा गर्ने भएकोले गाइ जात्रा भनीएको हो । नेवारीमा 'सा' भन्नाले 'गाई' र 'पारु' भन्नाले 'प्रतिपदा' हुन्छ। [१]

ऐतिहासिक पृष्ठभुमि

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । यसै बेलादेखि प्रचलनमा आएको सापारु हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ । [२]

मनाउने विधि

सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि सापारु पर्व मनाउने गरिन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा सापारु निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । दिवङ्गत भएका आफन्तको सम्झनामा सापारुका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ । सापारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोराजनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङक प्रकाशित गर्ने चलन पनि बढेको पाइन्छ । सापारु पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ ।[३]

भक्तपुरमा सापारु

घिन्ताङघिसि

हरेक ठाउँका सापारुमा केही न केही विशेषता रहेका छन् । भक्तपुरमा पनि सापारुका छुट्टै रौनक र आकर्षण रहेका छन । प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्व भक्तपुरमा आठदिनसम्म चल्दछ । गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगतआत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । भक्तपुरमा सापारुका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । ताहामच्चालाई मृतकका घरको मुल ठोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ । ताहामचा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङघिसि र माकः प्याखङ सापारुको प्रमुख आकर्षण रहेको छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुस्याः बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङघिसि भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ । भक्तपुरमा सापारुको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङगात्मक नाटक साँस्कृतीक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट सापारु शुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुन्छ । भक्तपुर जिल्लाकै ठिमीमा भने सापारु पर्व राँको बालेर मनाइने चलन छ । [४]

भक्तपुरमा सापारुका झलकहरु

अन्य ठाउँमा सापारु

सापारुको मनाइने तरिका ठाउँ ठाउँमा फरक छन्। पाटनमा देखाइने सत्य युगको धान चामलको नमुना काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् । सापारु पर्व काठमाडौँ उपत्यकालगायत बनेपा धुलिखेल त्रिशूली दोलखा खोटाङ भोजपुर चैनपुर इलाम धरान विराटनगर वीरगन्ज हेटौँडा र पोखरामा मनाइन्छ । [५]

सन्दर्भ सामग्रीहरू