विजया एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विजया एकादशी
प्रकारहिन्दू
मितिफाल्गुण कृष्ण एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ । फाल्गुण महिनाको कृष्ण पक्षको एकादशीलाई विजया एकादशी भनिन्छ ।

विजया एकादशी[सम्पादन गर्नुहोस्]

विजय प्रदान गर्ने भएकाले फाल्गुण कृष्ण पक्ष एकादशीलाई विजया एकादशी भनिन्छ । भयंकर शत्रुहरूबाट घेरिएको अवस्थामा र पराजय सामुन्ने आइपुगेको अवस्थामा विजया नामक एकादशीले हजुरलाई विजय दिलाउने क्षमता राख्दछ । यस एकादशीका सम्बन्धमा पद्म पुराणस्कन्द पुराणमा अति सुन्दर वर्णन प्राप्त हुन्छ । यस एकादशीका बारेमा भगवान श्रीकृष्णले स्वयं अर्जुनलाई बताउनु भएको थियो । शास्त्र अनुसार जब भगवान राम माता सीताको खोजीमा लंका जादै हुनुहुन्थ्यो त्यस बेला मार्गमा समुद्र तर्नु पर्ने भएकाले समस्या उत्पन्न भयो । अनि भगवान राम सहित समस्त सेनाले विजया एकादशीको व्रत लिएको प्रसङ्ग छ । त्यसै व्रतको प्रभावस्वरूप प्रभुले सागरमा पुल हाल्नुभयो र रावणको वध गर्नुभयो । त्रेता युगमा जब भगवान विष्णुले रामको अवतार ग्रहण गर्नुभयो, त्यसबेला वहाकी पत्नी सीतालाई राक्षसराज रावणले अपहरण गरेर लग्यो । जब रामले थाहा पाउनुभयो कि सीता माता लंकामा हुनुहुन्छ, वहा बाँदरको सेना साथमा लिई लंका तर्फ प्रस्थान गर्नुभयो । तर बाटोमा समुद्र थियो, त्यसैले रोकिनु पर्‍यो । वहाले समुद्र तर्ने कुनै उपाय नभेट्दा लक्ष्मनसित यस समस्याको हल के छ भनी सोध्नुभयो । लक्ष्मणले उत्तर दिनुभयो- यहांबाट आधा योजन टाढा परम ज्ञानी वकदाल्भ्य मुनिको आश्रम छ, हामीले ऋषिसंगै यस समस्याको हल खोज्नुपर्छ । भगवान श्रीराम लक्ष्मण समेत वकदाल्भ्य मुनिको आश्रममा पुग्नुभयो र उनलाई प्रणाम गरेर आफ्नो प्रश्न ऋषिसमक्ष प्रस्तुत गर्नुभयो । मुनिले आज्ञा गर्नुभयो- हे राम ! हजुर आफ्नो सेना समेत भएर फाल्गुण महिनाको कृष्णपक्षको एकादशीको व्रत लिनुहोस । यस एकादशीको व्रतको प्रभावले हजुरले निश्चितरूपमा समुद्र तरेर रावणलाई पराजित गर्नु हुनेछ । श्रीरामले मुनिको निर्देशनबमोजिम आफ्ना सेनासमेत एकादशीको व्रत लिनुभयो र सागरमा पुलको निर्माण गरी लंकामा आक्रमण गर्नुभयो । राम र रावणको अद्वितीय युद्ध भयो जसमा रावण मारियो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]