कुशे औँसी
कुशेऔँसी | |
---|---|
आधिकारिक नाम | पित्रीऔँसी |
वैकल्पिक नाम | बाबुको मुख हेर्ने, गोकर्णऔँसी |
अनुयायी | हिन्दु |
महत्त्व | पित्री सम्मान |
परिपालन | श्राद्ध, तर्पण, दान, बाबुको सेवा |
मिति | भदौ कृष्णऔँसी |
कुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन मनाइने पर्व हो। कुशेऔँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ। कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन। कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशेऔँसीमा पुर्याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन्।[१]
कुशे औँसीका दिन हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन्। शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन्। गोकर्णेऔँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन्। विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठुलो घुइँचो लाग्छ।'पितृदेवो भव'भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिधा दान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामकमा उल्लेख छ।
मोतीजयन्ती
माध्यमिक कालीन नेपाली साहित्यका प्रणेता शृङ्गारिक युवा कवि मोतीराम भट्टको जन्मजयन्तीका रूपमा विशेष कार्यक्रम सहित ज्ञानअज्ञात साहित्यकारहरूप्रति समेत श्रद्धाञ्जली समर्पण गर्न मोतीरामका साहित्यको चर्चा र कथा, निबन्ध, कविता, अझ खासगरी गजल वाचनद्वारा भव्य र रमणीय श्रद्धाञ्जली कार्यक्रमहरू साहित्यिक सङ्घसंस्था र विद्यालय महाविद्यालयहरूमा आयोजना गरिन्छन्।[२]