गण्डकी प्रदेश
गण्डकी प्रदेश | |
---|---|
शीर्ष बायाँ देखि दाँया अन्नपूर्ण, माछापुच्छ्रे, मुस्ताङ, तिलिचो ताल, मनकामना मन्दिर, मुक्तिनाथ मन्दिर, फेवा ताल र गोरखा दरबार | |
निर्देशाङ्क: २८°१२′३४″उ॰ ८३°५९′२९″पू॰ / २८.२०९४४°N ८३.९९१३९°Eनिर्देशाङ्कहरू: २८°१२′३४″उ॰ ८३°५९′२९″पू॰ / २८.२०९४४°N ८३.९९१३९°E | |
राष्ट्र | नेपाल |
साक्षरता | ७३% उच्च |
स्थापना | २०७२ असोज ३ |
राजधानी | पोखरा |
सरकार | |
• मुख्यमन्त्री | सुरेन्द्रराज पाण्डे |
क्षेत्रफल | |
• जम्मा | २१,५०४ किमी२ (८३०३ वर्ग माइल) |
उच्चतम उचाई | ८,०९१ मिटर (२६५४५ फिट) |
• क्रम | अन्नपूर्ण हिमाल विश्वको दशौँ अग्लो |
जनसङ्ख्या | |
• जम्मा | २,४१३,९०७ |
• घनत्व | ११०/किमी२ (२९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
भूसङ्केत | NP-FO |
वेबसाइट | gandaki |
गण्डकी प्रदेश नेपालको संविधान २०७२ लागू भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य पुनर्संरचना गरी बनेका ७ प्रदेशहरू मध्ये एक प्रदेश हो। कुल ११ जिल्लाहरू रहेको यस प्रदेशको प्रादेशिक राजधानी पोखरा कायम भएको छ।[१]
गण्डकी प्रदेशको इतिहास
[सम्पादन गर्नुहोस्]नेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट बि.सं. २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भयो। यसै संविधान बमोजिम नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो। उक्त नेपालको संविधान बमोजिम नेपाललाई ७ (सात) प्रदेशहरूमा विभाजन गरियो। यी मध्ये साविकका धौलागिरी अञ्चलका ४ जिल्ला, गण्डकी अञ्चलका ६ जिल्ला र लुम्बिनी अञ्चलको नवलपुरको भू-भाग समेटी कुल ११ जिल्लाको प्रदेश नं. ४ कायम भयो। भौगोलिक रूपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तीन वटै धरातलीय स्वरूपलाई समेटेको छ। त्यस्तै हावापानीको दृष्टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको हावापानी विद्यमान रहेको छ।
अवस्थिति
[सम्पादन गर्नुहोस्]भौगोलिक अवस्थितिलाई हेर्दा यो प्रदेश २७°२०' उत्तरी अक्षांश देखि २९°२०' उत्तरी अक्षांश र ८२° ५२' पूर्वी देशान्तर देखि ८५° १२' पूर्वी देशान्तरका बीच रहेको छ। यस प्रदेशको सबैभन्दा अग्लो भू-भागको रूपमा धौलागिरी हिमाल र होचो भू-भागको रूपमा नवलपुरको त्रिवेणीसुस्ता रहेको छ।
क्षेत्रफल
[सम्पादन गर्नुहोस्]नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये प्रदेश नं. ४ ले २१,७३३ वर्ग कि.मि. अर्थात् १४.६६% क्षेत्रफल ओगटेको छ। यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ५,८१९ वर्ग कि.मि. (२६.८%), पहाडी भू-भाग १४,६०४ वर्ग कि.मि. (६७.२%) र तराई भू-भाग १,३१० वर्ग कि.मि. (६%) पर्दछ। यस प्रदेशमा पहाडी भु-भाग बढी रहेको छ। यो प्रदेश नेपाल राज्यको करीब मध्य भागमा पर्दछ। नेपालकै सबैभन्दा ठूलो महानगरपालिकाको रूपमा रहेको पोखरा समेत यस प्रदेशमा रहेको छ।
सिमाना
[सम्पादन गर्नुहोस्]यस प्रदेशको सिमाना पूर्वमा बाग्मती प्रदेशका रसुवा, धादिङ्ग र चितवन जिल्ला, पश्चिममा लुम्बिनी प्रदेशका पूर्वी रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पाल्पा र नवलपरासी (सुस्ता बर्दघाट पश्चिम) र कर्णाली प्रदेशका डोल्पा जिल्ला पर्दछन्। त्यस्तै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेशको पाल्पा जिल्ला र भारतको विहार राज्य रहेका छन्।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप सङ्घीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र सङ्घीय सरकारको रूपमा विभाजन गरिएको छ। यो विभाजन मध्ये यस गण्डकी प्रदेश अन्तर्गत तत्कालीन धौलागिरी अञ्चलका ४ जिल्ला म्याग्दी, मुस्ताङ्ग, पर्वत र बागलुङ्ग, गण्डकी अञ्चलका गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्की र तनहुँ एवं लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग नवलपुर गरी जम्मा ११ जिल्ला रहेका छन्। १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन्। त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन्। प्रदेश सभामा समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ।
जनसांख्यिकीय विवरण
[सम्पादन गर्नुहोस्]२०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २,९१,९२,४८० मध्ये यस प्रदेशको जनसङ्ख्या २४,६६,४२७ रहेको छ जुन कुल जनसङ्ख्याको ८.4 प्रतिशत हुन आउँछ। यस मध्ये पुरुषको जनसङ्ख्या ११७०८३३ र महिलाको जनसङ्ख्या १२९५५९४ रहेको छ
भौगोलिक प्रदेशगत आधारमा गण्डकी प्रदेशको जनसङ्ख्या हिमाली प्रदेशको जनसङ्ख्या १९,९९० (०.८%), पहाडी प्रदेशको जनसङ्ख्या २०,७२,१६२ (८६.५%) र तराई प्रदेशको जनसङ्ख्या ३,१०,८६४ (१२.७%) रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’", २१ जेठ २०७५, अन्तिम पहुँच २३ जेठ २०७५।