सामग्रीमा जानुहोस्

भोजपुर जिल्ला, नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पूर्व चार नम्बरबाट अनुप्रेषित)
भोजपुर जिल्ला, नेपाल

भोजपुर (अङ्ग्रेजी: Bhojpur Districtसुन्नुहोस् नेपालको कोशी प्रदेश‎ मा अवस्थित पहाडी जिल्ला हो। उतिखेरको नेपालको पूर्व चार नम्वर भनेर चिनिने भोजपुर तत्कालिन नेपालको एक प्रमूख प्रशासकीय जिल्ला हो। भौगोलिक हिसाबले यो एक मध्य पहाडी जिल्ला हो। भोजपुर जिल्ला भौगोलिक विविधतताले भरिएको उब्जाउ भूमि हो। संखुवासभा, धनकुटा, उदयपुर, खोटाङसोलुखुम्बु जिल्ला यसका छिमेकी जिल्लाहरू हुन। विविध जनजातिले बसोबास गरेको यो जिल्लामा राई जातिहरूको उल्लेख्य बसोबास छ। अन्य मुख्य जातिहरूमा क्षेत्री, ब्राह्मण, मगर, नेवार,तामाङ, शेर्पा आदी पर्दछन। भोजपुर बजार यसको प्रशासकीय केन्द्र हो भने दिङ्ला बजार, घोरेटार, टक्सार बजार, चौकीडाँडा, कुलुङ्, दावाँ,च्याङ्ग्रे,मानेडाँडा,प्याउली बजार लगायत अन्य प्रमुख स्थानहरू हुन। मध्यकालिन नेपालमा टक्सार बजारको स्थापना नेपाल भरिलाई चाहिने धातुको सिक्काको लागि गरीएको भन्ने इतिहास छ।

जिल्लाको नामकरण

[सम्पादन गर्नुहोस्]

यस जिल्लाको पुरानो नाम सिद्धपुर थियो। यस जिल्लाको प्रसिद्ध धार्मिक स्थल सिद्धकालीको नाउँबाट यसको नामकरण भएको हुनसक्दछ। पृथ्वीनारायण शाहले माझ किराँत विजय गर्दै आउँदा यस ठाउँलाई जितेपछि जितेको खुशीयालीमा ठूलो भोज खाएको र बाँकी रहेको भोज यही ठाँउमा पुरेर गएको हुनाले यसको नाम सिद्धपुरबाट "भोजपुर" रहन गएको हो भन्ने किम्वदन्ती छ र अर्को भनाइ अनुसार पहिले यस जिल्लाको उच्च पहाडी क्षेत्रको जंगलमा भोजपत्रको रुखहरू प्रशस्त पाइने हुनाले यसको नाम भोजपुर रहन गएको भन्ने पनि लोकोक्ति रहेको पाइन्छ। किरातकालिन खिकामाक्छा हालको भोजपुर जिल्ला हो । किरात कालिन समयमा हालको भोजपुर जिल्लालाई खिकामाक्छा भनेर चिनिन्थ्यो । वि.सं. १८३१ साल अघि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा यो भू भागलाई नेपालमा गाभ्नु अघि सम्म यहि नामले भोजपुर चिनिन्थ्यो ।

जिल्लाको इतिहास

[सम्पादन गर्नुहोस्]

पाल्पाका राजा मुकुन्द सेनले पूर्वी नेपालको सम्पूर्ण भूभागलाई जिती आफ्नो राज्य बनाएका थिए। पछि सो राज्य टुक्रिएर मकवानपुर, विजयपुर र चौदण्डीगढी गरी तीन राज्यमा विभाजित भयो। चौदण्डी राज्य माझ किराँत अर्थात् दूधकोशीदेखि अरुण नदीसम्म र तराईमा सप्तकोशीकमला नदीबीचको भूभाग थियो। यसको सदरमुकाम चौदण्डी गढी भएता पनि पहाडी क्षेत्रमा शासन चलाउन सजिलोको लागि हतुवागढीमा अर्को शासनकेन्द्र कायम गरिएको थियो, जुन हाल यस जिल्लाको दक्षिणी क्षेत्र रानीवास गाविसमा पर्दछ। नेपालको एकीकरणपछि पूर्वी गौँडा धनकुटाबाट यो क्षेत्र प्रशासित भए पनि माझ किराँतको नामले पुकारिन्थ्यो। राणाकालीन समयमा पूर्व ४ नं. भोजपुर माझ किराँत एक प्रशासनिक एकाइ थियो। २०१९ सालमा प्रशासकीय क्षेत्र विभाजन गर्दा यो जिल्ला सगरमाथा अञ्चलमा राखीएको थियो र २०३२ सालदेखि कोशी अञ्चल अन्तर्गत राखीएको छ।

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

भोजपुर जिल्लामा रहेको गा.पा. को नाम

[सम्पादन गर्नुहोस्]

१. टेम्केमैयुम गा.पा. २. राम प्रसाद राई गा.पा. ३. पौवादुम्मा गा.पा.४. साल्पा सिलिछो गा.पा. ५. अरुण गा.पा. ६.आम्चोक गा.पा.७. हतुवा गढी गा.पा.८. षडान्द न.पा.९. भोजपुर न.पा

प्रमुख नदी,झरना ताल तलैया

[सम्पादन गर्नुहोस्]

अरुण नदी, सुनकोशी नदी, खोलामा पिखुवा,इर्खुवा, चिर्खुवा, बेङ्खुवा , याङ्गुवा, नखुवा, ककुवा, छिन्तालु,अखुवा, वुवा, जुके, सिक्देल, कावा, नेवासुखे, घे, बल्खु, खकुवा, वहरे,हङ्ग्रायो,खेसाङ, सिसुवा, साल्पापोखरी, पाँचकन्या, हँसपोखरी, भबिष्यवक्ता पोखरी र च्याङ्ग्रे पोखरी, साउने डाँडा पोखरी आदि। चिर्खुवा खोला झरना जिल्लाको सबैभन्दा ठूलो र अग्लो झरना हो । यस्तै हेलौछाको छरछरे खोलाको छरछरे झरना, याङ्वा खोलाको झरना पनि आकर्षक झरना हुन् ।

प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र

[सम्पादन गर्नुहोस्]

सिद्धकाली देवी, ट्याम्के, शन्तानेश्वर माहादेवथान (चारढुङ्गे माहादेवथान सानोदुम्मा-१,शुप्ला), गुफा नागी (बास्तिम), पञ्चमी, साल्पापोखरी, शिलिचुङ् चुली, कालिका देबि, टक्सार् गणेशस्थान, षडेश्वर शिवालय (दिङ्ला), शिवालय(हेलौछा),योगमाया शक्तिपीठ(मझुवाबेसी,नेपालेडाँडा), पखुवा (बोया भीरथाप्ला), गोरुकाटे डाँडा(कुलुङ्), डेलिढुंगा(ताल,चौकीडाँडा), डेलिखर्क गुम्बा(खाटाम्मा), टाँसी छोलिङ् गुम्बा (बोया पात्ताल)। सेल्मे, सुन्तले, भीरथाप्ला (बोया), दिङ्ला, अरुणडाँडा (श्यामशिला), मैयुँडाँडा, हतुवागढी, अरुण(कात्तिकेघाट)-नेपालेडाँडा-ताँबुटार-चौकीडाँडा-गोथेबजार-साल्पाफेदी हुँदै सोलुखुम्बुको नाम्चेबजार जाने तेन्जिङ् हिलारी पदमार्ग, हंसपोखरी र घोडेटार आदि

प्रमुख पर्यटकीय गन्तब्य- साल्पा पोखरी

[सम्पादन गर्नुहोस्]

खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको सँगमस्थलका रूपमा परिचत प्राकृतिक सौन्दर्यले भरपिूर्ण साल्पा पोखरी समुद्र सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा छ। भौगोलिक रूपमा भने यो पोखरी भोजपुर जिल्लाको दोभाने गाबिसमा अवस्थित छ। भोजपुरको सबैभन्दा उच्च पहाडी ईलाका शिलिचुङ चुलिको फेदैमा अवस्थित तथा सुन्दर मनोरम विभिन्न प्रजातिका जंगल तथा जडीबुटीले ढाकिएको पहाडको टाकुरामा अवस्थित यो पोखरी जती सुन्दर छ त्यतिनै बढी पुजीत पनि छ। संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, कुदाककाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ। भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हँदै पनि त्यहाँ पुग्न सकिन्छ। खोटाङको खानीडाँडा विमानस्थलबाट दिक्तेल, तालखर्क, मैयुङ हँदै र लामीडाँडा विमानस्थलबाट नुनथला, मुढे, रूपाकोट, सुङदेल हुँदै तीन दिनको पैदल यात्रा गर्नुपर्छ। पहिलोपटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पा पोखरी कै मार्ग प्रयोग गरेका थिए|

उक्त पोखरी वरिपरिको ठाउँलाई कुलुपेखु भनिन्छ । त्यस ठाउँबाट सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङ्ग जिल्लाका हिमाल, चुचुरा, पहाड, झर्ना र अन्य प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ ।

यसको आसपासमा धुपी, सल्ला, चाँप, चिमल, लालीगुराँस, बुकीफूल, सुनाखरी, सुनपाती र विभिन्न जडीबुटीले ढाकेको मनमोहक घना जङ्गल छ । यस जङ्गलमा भालु, कस्तुरी, मृग, झारल, घोरल, डाँफे, मुनाल जस्ता वन्यजन्तु तथा पशुपक्षी पाइन्छन् । काठमाडौँबाट तुम्लीङ्गटार हुँदै लुक्ला, नाम्चेबजार, मेरापिक, सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्न आउने प्रमुख मार्ग पनि हो पोखरीको छेउको साल्पा डाँडा हो । भर्खंरै लिएको तथ्याङ्क अनुसार साल्पा डाँडा र पोखरीको बाटो भई धेरै विदेशी पर्यटकहरूले यात्रा गर्ने गरेका छन् । कुलुङ्ग राई भाषामा स(सल्पा) भनेको लामो वा लाम्चो भन्ने बुझिन्छ । साल्पा पोखरी लाम्चो आकारमा पैलिएको छ तर गाउँघर र बोलीचालीमा मानिसहरू साल्पा पोखरी भन्दछन् । साल्पा पोखरी पर्यटकीय दृष्टिकोणले मात्र हैन धार्मिक दृष्टिकोणले पनि यसको आफ्नै प्रकारको महत्त्व छ । प्रत्येक वर्ष बैशाखको चण्डी पूर्णिमा र श्रावणको जनै पूर्णिमामा पोखरी वरिपरि ठूलो मेला लाग्दछ । सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङ्गका भक्तजन तथा युवा युवतीहरूको ठूलो भीड लाग्छ।

किम्वदन्ती अनुसार साल्पा पोखरीमा रुद्री पूजा, भेटीपाती चढाएर जेसुकै वर मागेमा पाइन्छ भन्ने विश्वासका साथ छोरा नहुनेले छोरा माग्छन्, युवा युवतीले मिल्दो जोडी माग्दछन् । भक्तजनहरू हाँस, कुखुरा र परेवाहरू पोखरीमा चढाउँछन् । त्यहाँबाट ल्याएर पालेका हाँस, कुखुरा र परेवाहरू अत्यन्तै पैलन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैले भोजपुरलाई चिनाउने प्रतीकमध्ये साल्पा पोखरी पनि एक हो।

व्यापारिक महत्त्वका स्थानहरू

[सम्पादन गर्नुहोस्]

भोजपुर बजार, दिङ्ला बजार, घोरेटार, दाँवा बजार, कुलुङ बजार, च्याङ्ग्रे बजार,तिवारीभञ्ज्याङ्ग, चौकीडाँडा बजार, बालुवानी बेसी,फेदी, मानेडाँडा, चम्पे बजार, पाल्पाले बजार (जरायोटार), प्याउलीबजार, चरम्बीबजार, बिहीबारे बजार (बोया), झ्याउँपोखरी बजार यसका साथै वर्ष दिनको पर्वमा लाग्ने शिवरात्री बजार हेलौछा, पखुवा बजार ( बोया भीरथाप्ला), फागू पूर्णिमा बजार स्वरेङ्ग र याङ्ग्वा खोलाको दोभान, बालाचतुर्दशी बजार –दिङ्गला ।

भोजपुरे खुकुरी

खुकुरी: देशको शान, भोजपुरको नाम

[सम्पादन गर्नुहोस्]

खुकुरी, फलाम वा इस्पातबाट बनाइने यो अङ्ग्रेजीको अर्धचन्द्राकार आकारको धारिलो हतियार हो जुन नेपालमा मात्रै र भोजपुरे खुकुरी भोजपुर जिल्लामा मात्रै बनाइन्थ्यो। हुनत आजकाज अन्य जिल्ला र देशहरूमा पनि यसको निर्माण गर्ने गरिन्छ जुन आर्थिक द्रिष्टीकोणले प्रभावमा परेर गर्न थालिएको हो। अर्को प्रमुख प्रकारको खुकुरीलाई सिरूपाते खुकुरी भनिन्छ, जुन भोजपुरे खुकुरीको तुलनामा अलिक लाम्चो देखिन्छ।

भोजपुरमै कसरी 'खुकुरी'ले जन्म लियो त त्यसको पछाडी केही तादात्म्यता पनि छ। बिसं १८७२मा नेपाल सरकारले नेपालभरिलाई चाहिने धातुको पैसा काट्ने टक्सार भोजपुरको टक्सार भन्ने ठाउँमा खोल्यो। त्यहाँ पैसा काट्ने काम मात्रै नभएर स्थानीय किराँत खासगरी सुनुवार जातिको पुज्य हतियार खुकुरी पनि ब्यवसायीक रूपमा निर्माण गर्न थालियो। पछि यो हतियार यति प्रशिद्ध हुन पुग्यो कि त्यसले देशको सेनाको अति आवश्यकिय युद्द हतियारको स्थान ग्रहण गर्न पुग्यो। आजको बिश्वसामु नेपाललाई खुकुरीले पनि चिनाउछ। खुकुरी आज नेपालीत्वको प्रतिक बनेको छ। खुकुरीले हाम्रो पुर्खाको बीरत्वलाई सम्झना गराउछ। खुकुरीको नाम लिंदा यसले हामी नेपालीहरूलाई एकताको भावनात्मक सुत्रमा बाँध्छ।

रुद्राक्षको खेती र यसको ब्यवसायीकरण

[सम्पादन गर्नुहोस्]

रुद्राक्ष, के हो पहिले यो बिषयमा अलिकति बर्णन गर्ने प्रयास गरौं। किम्बदन्तीमा भनिए अनुसार, आदिकालमा पृथ्वीमा 'त्रिपुर' नामको एक दैत्य उत्पन्न हुँदा उसको राक्षसीय शक्तिलाई कसैले परास्त गर्न नसकेपछि केही उपाय लाग्छ कि भनी ब्रह्मा, विष्णुइन्द्र मिलेर भगवान शिवजीकहाँ शरण पर्न गए उसबाट लोकलाई बचाउनको लागि। भगवान शिवजीले आफ्नो 'अघोर' अस्त्रले त्यो राक्षसलाई खत्तम गर्ने हेतुले आँखा बन्द गरी अस्त्रध्यान गर्न थाले। लामो समयसम्मको चिन्तनको क्रममा शिवजीको आँखाबाट केही पानीका थोपाजस्ता बुँद जमीनमा खसे। ती बुँदबाट अजंगको रुद्राक्षको वृक्ष उत्पन्न भयो। फेरि उनै शिव भगवानको आज्ञाले त्यो वृक्षमा फल फल्ने शक्ति प्राप्त भयो। त्यहि फललाई 'रुद्राक्ष'भनेर हामी आजकल पुकार्छौ। पौराणिक र बैदिक बर्णनमा जे-जस्तो लेखिएको भएतापनि यो स्वास्थोपयोगी फलको बोटलाई नेपालमा अझ भोजपुर जिल्लामा प्रबेश गराउने श्रेय भने दिंलामा रहेर बसेर जन-शिक्षामा काम गर्ने आवाल ब्रम्हचारी षडानन्द अधिकारीमा जान्छ। भनिन्छ, उनै षडानन्द अधिकारीले यो 'रुद्राक्ष'को बोट बाराणसीबाट नेपाल फर्की आउदा पहिकोपटक दिंलामा रोपेका थिए। अहिले दिंला त के भोजपुरका उत्तरी मुलपानी, केउरेनिपानी, तुङगेछा, चौकीडाँडा, कुलुङ्, दोभाने, साङपाङ्, खाटम्मा, नेपालेडाँडा लगायतका गाबिसका जंगलमात्रै हैन खेत पनि रुद्राक्षका बोटले भरिन थालेका छन्। खासगरी छिमेकी भारत लगायत इन्डोनेसीया तथा चीनका धनीमानी ब्यापारीले बढि मुख भएका 'मुखदार रुद्राक्ष'को खोजी गर्न थालेपछि यसको ब्यवसाय ह्वात्तै बढेको छ। तीन वर्ष अघि केउरेनिपानीका राजन कार्कीको बारीमा फलेको २१ मुखे रुद्राक्षलाई संखुवासभामाको सदरमुकाम खाँदवारीमा १५ लाखमा बेच्दा उनीवाट संखुवासभामा जिल्ला विकास समितिले ३० हजार त करै लिएको कुरा अझै पनि चर्चामा छ। मुखदार रुद्राक्ष फलाउने कर्ममा लाग्नाले खेतियोग्य उर्वर जमीन चाही मास्न नहुने कृ्षिबिद्हरूको भनाई छ र ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]