सामग्रीमा जानुहोस्

कुमार षष्ठी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिठीबाट अनुप्रेषित)
कुमार षष्ठी
मितिजेष्ठ शुक्ल पक्ष षष्ठी तिथि

कुमार षष्टि अथवा सिठी हिन्दू धर्मावलम्बीहरूको एक विशेष पर्व हो । भगवान शिवजीका पुत्र कुमार अथवा कार्तिकेयको जन्मोत्सव का अवसरमा मनाइने यो पर्व ज्येष्ठ शुक्ल षष्ठी तिथिका दिनमा पर्दछ । हिन्दूहरू यस पर्वलाई कुमार षष्टि पर्वको रूपमा मनाउछन् भने नेपाल भाषामा यस पर्वलाई सिठी भनिन्छ ।

पौराणिक महत्त्व

[सम्पादन गर्नुहोस्]

यस पर्वका सम्बन्धमा विभिन्न किंवदन्ती छन् । यहाँ स्वस्थानी व्रतकथा तथा ब्रह्मवैवर्त पुराणलाई मात्र आधार बनाएर हेर्ने हो भन्ने पनि गंगाका पुत्रको रूपमा जन्मेका कुमारको पालन पोषण ६ वटी कृतिकाहरूले गरेको उल्लेख छ । कुमारषष्ठी पर्व कहिलेदेखि सुरू भयो र यसको विशेषताका सम्बन्धमा केही ग्रन्थमा यसरी उल्लेख गरेको पाइन्छ- मार्कण्डेय शिव पुराण अनुसार ६ वटा शिरसहितका कर्तिकेय कुमारको ज्येष्ठ महिनाको शुक्ल पक्षको षष्ठीका दिन श्री शङ्कर भगवान शिवजीका ज्येष्ठ पुत्र श्री कार्तिकेय कुमारको जन्म भएको हुँदा त्यस दिनलाई कुमारषष्ठी भन्न थालिएको हो । यो चाड मातृदेवीभन्दा पीतृ देव अर्थात पुरुषदेवको पर्व हो । कुमार वा कार्तिकेयलाई अमरकोशको प्रथमकाण्डम्, स्वर्गवर्गमा १७ विभिन्न नामले सम्बोधन गरिएको छ जस्तो स्कन्द, महासेना, कार्तिकेय, विशाख, गुह, शिखिवाह, षन्मुख, षडानन, अग्निसुत, गङ्गासुत, पार्वतीसुत, शक्तिधर, क्रौञ्चधर, सेनापति, बालस्वामी, षान्मातुर तथा सुमित्र आदि । यी कुमारको स्वरुप छवटा मुख, चारबाहु, शिरमा मुकुट लाएको, रक्ताम्बरधारी, मयूरवाहन, सर्वभूषण रहेको छ । यस्तै यिनको दायाँ बाँया बाहुमा कुक्कट र घण्टा दायाँ बाहुमा वैजयन्ती र शक्ति रहेको छ । यहाँ जेष्ठ शुक्ल षष्ठी हुनु, ६ वटा कृतिका उल्लेख हुनु, ६ वटा टाउको भएको कुमार हुनु, ६ थरीका दालहरूले बनेको वो (बारा) खाने चलन पछाडि ६ अङ्कको ठूलो सम्बन्ध छ । उनै अङ्क ६ अर्थात् षष्ठीको अप्रभंषपछि सिठी भएको समेत मानिन्छ । यही ६ अङ्ककै प्रभावले हरेक नेवारले आफ्नो घरको मूलढोका अगाडि ६ पत्र कमलको आकृति भएको पिखालखु राख्ने चलन छ जस मा सिठि को दिन वो (बारा) चटामारी (चामलको पिठोको रोटी) सहित विशेष पुजा गर्ने चलन छ । तिनै कार्तिकेय कुमारलाई नै नेवारहरू सिठी देवताको नामले पूजा गर्ने र सो दिनलाई सिठी नखः चाडका रूपमा भव्यताका साथ मनाउछन् ।

मनाउने परम्परा

[सम्पादन गर्नुहोस्]

छ टाउका भएका कुमार कार्तिकेयलाई मास, मुँग र सानो केराउको बाराका साथै चताँमह्री, चौमह्री र सातु गरी छ प्रकारका रोटी चढाई विशेष पूजा गर्ने चलन छ । वर्षा ऋतुको आगमनपूर्व मनाइने यस चाडमा उपत्यकाका नेवारहरू आ-आफ्ना टोल, इलाकामा रहेका इनार, कुवा, ढुंगेधारा, ढल आदिको सरसफाइ गरी पानी र वातावरणलाई स्वच्छ राख्ने परम्परा छ । अक्षय तृतीयादेखि उपत्यकामा सुरू भएको देवाली (कुल देवताको पूजा)को अन्तिम दिन पनि यही चाड भएकाले यो अवधिभित्र कारणवस देवाली मनाउन नसकेकाहरूले यस दिन देवाली मनाउने गर्छन । कुमार स्कन्द, विशाखा, षडानन्द, षष्ठीमातृय आदि नामले पनि पुकारिने तारकासुर दैत्यको वध गर्ने कुमार कार्तिकेयलाई देव सेनानायक वा युद्धका देवताको रूपमा पनि संस्मरण गरिन्छ ।त्यसैले सैन्य कोटहरू पनि यहिदिन भित्र सरसफा र मर्मत गरी सक्नु पर्ने परम्परा रहेको थियो । सैन्य तथा सामरिक दृष्टिकोणले सिठी पर्व महत्त्वपूर्ण छ भन्ने प्रमाणका रूपमा भक्तपुरको दरबार क्षेत्रको यक्ष मल्लको नेपाल संवत् ५७३को शिलापत्र दरिलो श्रोत हो । शिलापत्र पूर्व कालमा भक्तपुर दरबार क्षेत्रमा नभई भक्तपुरभित्र अन्यत्र स्थापित शिलापत्र हो । वि.सं. १९९० सालको भू-कम्पपछि मात्र यहाँ राख्न लगाइएको हो । यो शिलापत्रले सिठी पर्व र त्यस दिन गर्नुपर्ने थुप्रै विधिविधान, दण्ड र जरिवानाबारे उल्लेख छ । यक्ष मल्लको पालासम्म नेपाल मण्डलको राजधानी भक्तपुर भएको हुँदा भक्तपुर राजधानीलाई लक्षित गरी यो शिलापत्र राख्न लगाएको प्रस्ट हुन्छ । पर्खाल वा ढोकासँगै कोट गढ तथा खाइसमेत भएको देखियो । जहाँ हरहमेसा हातहतियारले सुसज्जित सैन्यहरूले पहरा दिन्थे । भक्तपुर नगरको वरिपरिको पर्खाल, ढोका, गढ, कोट, खाइको वर्षको एकपटक मर्मत सम्भार यही सिठीसम्म गरिसक्नुपर्ने महत्त्वपूर्ण नियम शिलालेखमा उल्लेख छ । खाइ र पर्खालहरू दुरुस्त बलिया बनाउने, गढ, कोट र ढोकाको छाना मर्मत गर्ने काम सिठीसम्ममा सकिसक्नुपर्ने प्रावधान रहेको छ । यो पर्व बौद्ध समुदायमा पनि उत्तिकई श्रद्दा का साथ मनाईन्छ । हिन्दू पाञ्चायन देवमण्डलमा कुमारलाई त्यति महत्त्वपूर्ण स्थान नमिले पनि नेपालमा भने प्राचीनकालदेखि नै यिनको मान्यता अलग छ । हिन्दूहरूले आआफ्नो मूल ढोकामा कुमार लेख्ने परम्परा छ भने बौद्धमार्गीहरूले पनि ढोकामा क्षेत्रपालको रूपमा लेख्ने गरेको पाइन्छ । त्यस्तै कार्तिक पूर्णिमा भोलिपल्ट परेवाका दिन पशुपतिमा कार्तिकेय कुमारको दर्शन गर्न जान्छन् । अर्को प्रचलनमा यहाँ घर मन्दिरहरको निर्माण गर्दा दुष्टात्माहरूको प्रवेश हुन नपाओस् भन्नका लागि छानामा मयूराकृति कुँपा राख्ने चलन मध्यकालदेखि आजसम्म पनि रहेको छ । अहिले पनि प्रताप मल्लद्वारा निर्मित काठमाडौँको हनुमानढोकाका तीनतले मन्दिरमा ती कुँपा अझै देख्न सकिन्छ । यहाँ कुमार कार्तिकेयको अलग्गै मन्दिर नभेटिए पनि हाल यसको मूर्ति कुनै देवालय तथा सार्वजनिक धारा निकट थुप्रै देख्न सकिन्छ । लिच्छविकालीन नेपालमा बनेका दरबारमा कुमारषष्ठी देवताको मन्दिर रहेको कुरा हाँडीगाउँको अंशुवर्माको अभिलेखबाट स्पष्ट हुन्छ । यसबाट थाहा हुन्छ लिच्छविकालदेखि नै नेपालमा सिठी देवताको पूजा गर्ने चलन रहेको छ । यहाँ पाइने कुमार सिठी देवताको मूर्ति गरुडपरीनारायण झैँ मयूरमाथि टुक्रुक्क बसेको मूर्ति भक्तपुरको तिलमाधव मन्दिरमा पाइन्छ । त्यस्तै काठमाडौँको नगरपालिका भवन अगाडि मयूरमाथि बसेको कुमारको मूर्ति पाइएको छ । साँखुमा पनि एक मूर्तिमा कार्तिकेय कुमारको मूर्ति रहेको उल्लेख छ । विशेषतः जात्रा नै चलाउने सिठी देवता कुमारको मूर्ति काठमाडौ को जैसीदेवलस्थित न्हूद्यः भन्ने स्थानमा छ । सो काठको कुमार मूर्तिलाई जात्राका लागि तयार गरिन्छ । सर्वप्रथम ज्येष्ठ शुक्ल तृतीयाका दिन न्हूघःस्थित डबलीमा राखिन्छ । अनि यसलाई टेकुबाट ल्याइएको पवित्र जल तामाको घडाबाट स्नान गराइन्छ । यसपछि पाटनबाट आएका नेमकूल अर्थात् नेकूबाट लँपुछाय्गु भनी रङरोगन लगाइन्छ । अनि षष्ठीका दिन विशेष पूजाआजा गरी विशेष विधि पुर्‍याउने गरिन्छ । भोलिपल्ट सप्तमीका दिन कुमार सिठी देवतालाई खटमा राखी जात्रा चलाउन सहर परिक्रमा गराइन्छ । स्थानीय बासिन्दा यसदिन विशेषतः गेडागुडीको बारा वः चढाउँछन् । साथै यहाँका बासिन्दाले आफन्तहरू बोलाएर रमाइलो गरी भोज गर्ने चलन छ । जात्राका दिन बलम्बुका मानिसहरू बाजा बजाउन आउने गर्छन् । किंवदन्ती र स्थानीय लोककथन अनुसार परापूर्वकालमा सिठी नखःकै दिनमा जोशीदेवलको दोबाटोमा एक बालक रोइरहेका देखेपछि बालबच्चा कोही नभएका हालका पूजारीका पूर्खाले आफ्नो घरमा ल्याई पहिलो तलाको कोठामा राखी बुइगलमा मास, मुंगको बारा रोटी लिन गई तल आउँदा ती बालक सिद्ध भई कुमार भइसकेका थिए । त्यसै बेलादेखि कुमारको पूजा र जात्रा हुन थालेको हो ।वास्तवमा ती बालकरूपी कुमार बलम्बुबाट आएका रहेछ र तिनकी आमा बलम्बुकी महालक्ष्मी रहिछन् । अहिले पनि जेष्ठ शुक्ल तृतीयाको साँझ कुमारको महास्नान (न्हवं) र अन्य कर्मकाण्ड क्रिया गराउन बलम्बुबाट नेमकुलहरू नै आउने गरेका छन् । २५/३० वर्ष अघिसम्म कुमारको मूर्तिलाई खटमा राखी बाजागाजाका साथ नगर परिक्रमा गराउने चलन थियो तर पछि खट बोक्ने मानिस नपाएपछि त्यो चलन हराएको हो । कुमार मूर्तिलाई अरू बेला पूजारीकै घरको पहिलो तलाको एउटा सानो अँध्यारो कोठामा राखिएको हुन्छ । सिठी चाडको अवसरमा महास्नानका लागि र भोलिपल्ट सर्वसाधारणलाई पूजा गर्न मात्र बाहिर ल्याउने गरिन्छ । काठमाडौँ उपत्यकामा सिठीपर्वको मूल विशेषता भनेको नै यस पवित्र दिनमा घरघरमा बिहान सबेरै भुइँमा गोबरले लिपी सरसफाइ गरी छवटा कमलको फूलको पातमा ॐ लेखी कुमार सिठी देवताको आराधना गरी पूजा गरिन्छ । यसदिन विशेषतः विशेष छथरीका गेडागुडी मास, मुंगी केराउ अन्य गेडागुडीबाट बनाइएका रोटी बारा वः चढाउने गरिन्छ । परिवारका सदस्यहरू भेला भई यस दिन विशेष प्रसादस्वरूप बारा वः, चतामरी, समयबजि -मासु, भटमास, अदुवा, च्युरा) मीठो गरी खाइन्छ ।

आधुनिक महत्त्व

[सम्पादन गर्नुहोस्]

भनिन्छ यस पर्वमा समय अनुसारको खाना खानाले किसानलाई लगत्तै आउन लागेको धान रोपाइँका लागि शक्ति प्राप्त हुन्छ । यस्तै यो समयमा गर्मी सुरू भई जताततै ढलहरू जाम भई फोहोर हुने, ढुङ्गेधारा, इनारहरू सुक्ने हुन्छ । त्यसैले यस दिन इनारहरू सफा गर्न गुठीको पनि व्यवस्था गरिएको हुन्छ । यस्तै मन्दिर, विहारहरूको जीर्णोद्धार, बाटोघाटो खन्ने जस्ता काम पनि गरिन्छ । यसका लागि खासगरी सिठीगुठीको नामले नै गुठीको स्थापना गरिएको हुन्छ । वर्षात सुरू भएपछि निर्माणका काम र मर्मत कार्य गर्न नसकिने हुँदा यसैबेला सिध्याउने गरिन्छ । अचेल इनार, ढुङ्गेधारा सबै लोप हुन गएकाले यस्ता गुठी पनि मासिँदै गइसकेका छन् । काठमाडौँ सहरका इनार सबै पुरिइसके । त्यस्तै एैतिहासिक पवित्र ढुङ्गेधारा, इनार नजीकै ठूलठूला भवन निर्माण गरिएकाले ढुङ्गेधाराबाट पानी आउन छाड्यो, इनार सुक्न थाले । त्यसैले अहिले सिठीपर्व जस्ता चाडपर्वको निकै आवश्यकता भएको छ । भनिन्छ, सिठी देवतालाई पूजा नगरेमा अर्को जुनीमा सुँगुर हुनुपर्ने कुरा मार्कण्डेय पुराणमा लेखिएको छ । यस्ता चाडपर्वको लोपले नै आज विभिन्न समस्या झेल्नुपरेको छ । सिठीको अर्को एउटा महत्त्वपूर्ण विशेषता यो दिनबाट सिन्हाज्या रागमा गीत गाउने हो । सिठी अगाडिसम्म कौला रागमा गीत गाउनेमा सिठीबाट सिन्हाज्या राग सुरू हुन्छ । यसबाट एउटा सङ्केत के मिल्छ भने सिठीबाट वर्षको रोपाईं भयो । परापूर्व कालमा सिठीबाट नै भःकायगू भनी गथामुगसम्म अश्लील गीत गाइन्थ्यो ।बूढापाकाहरूमा यसरी भःकायगू गर्दा यसको आवाजले भ्यागुताहरू पनि संगसंगै कराउँछन् भन्ने धारणा छ । भ्यागुता कराएपछि वर्षा हुन्छ भन्ने मान्यता छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]