वसन्त पञ्चमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वसन्त पंचमीबाट अनुप्रेषित)

वसन्त पञ्चमी
वैकल्पिक नामऋषि पञ्चमी,श्री पञ्चमी
मितिमाघ शुक्ल पञ्चमी
बसन्त पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ।[१] यो पूजा पूर्वी भारतनेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमी कै दिन तथा लौकिक पञ्चाङ्ग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ माग २७ गते तदनुसार सन् २०१९ फेब्रुअरी १० तारिकका दिन परेको छ । प्राचीन भारतवर्षमा प्रसिद्ध वेदाङ्ग ज्योतिष अनुसार एकयुगमा ५ संवत्सर, एक संवत्सरमा २ अयन, एक अयनमा ३ ऋतु, एक ऋतुमा २ महिना, एक महिनामा २ पक्ष र एकमा १५ दिन हुने र एक दिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ । वर्षमा ऋतुबद्ध ६ महिना हुन्छन् । वसन्त सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ॠतु हो । जब फूलहरूमा बहार हो, जौगहूँका बालीहरू लहलहाउँछ । आँप आदीका रुखहरूबाट नयाँ पालुवा पलाउँछ । पुष्पबाट सुगन्ध फैलिन्छन् र चारैतिर रंग-बिरंगी पुतलीहरू उड्नथाल्छन । कोकिल कुहु कुहु गर्दछन् । यो बेलामा पहिला राज्यमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्थ्यो । शुक्ल यजुर्वेद शतपथ- २॥१॥३॥४ मा "ब्राह्मणो वसन्ते अग्नी आदधीत)" भनेर वसन्तमा ब्रह्मवेत्ता ऋषिहरूले अग्निध्यान गरे भनिएको छ । माघ महिनाको निरयण चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन तथा वेदाङ्ग ज्योतिषको वैदिक तिथिपत्र अनुसार मधु(सायन चैत्र) महिनाको पञ्चमी तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा विष्णुर कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थहरूमा पनि अलग-अलग ढङ्गले यसको चित्रण पाइन्छ ।

आरम्भ

सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञा अनुसार ब्रह्माले जीवहरूको, विशेष गरी मनुष्य योनिको रचना गरे । आफ्नो सृष्टिसँग उनी खुशी थिएनन् । उनलाई केही कमि भएको भान हुन्थ्यो । जसको कारण चारेैतिर मौनता छाएको थियो । विष्णुसँग अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कम्पन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुजी सुन्दर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसँग वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । पुराणहरू अनुसार श्रीकृष्णले सरस्वती सँग खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भारत र नेपाल का धेरै भागहरूमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ । यस सम्बन्धमा मिथक पुराणहरूमा यस्तो भेटिन्छ- एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन् । यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ आठ दिन वसन्तलाई समर्पण गरेछन् । यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोक जीवनलाई आनन्दमय बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ । यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले चिनिने मान्यता छ । हातको अघिल्लो भागमा लक्ष्मी, मध्य भागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।

पौराणिक महत्त्व

यसका साथै यो पर्वले हामीलाई अतीतका अनेक प्रेरक घटनाहरूको स्मरण गराउँछ । सर्वप्रथम त यसले त्रेता युगमा रावणद्वारा सीता हरणपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढेका थिए । यसमा जुन स्थानहरूमा उनी गए, तिनमा दण्डकरण्य पनि थियो । यही शवरी नामक तपस्विनी रहन्थिन् । जब राम उनको कुटीमा पुगे, उनले सुध-बुध हराई र चाखेर मीठा बयर फल रामलाई खुवाउन लागिन् । प्रेममा जुठा बयरहरू खुवाइएको यस घटनालाई रामकथाका सबै गायकहरूले आ-आफ्नो ढंगमा प्रस्तुत गरेकाछन् । दण्डकरण्यको त्यो क्षेत्र अचेल गुजरात र मध्य प्रदेशमा फैलिएकोछ । गुजरातको डांग जिल्लामा त्यो स्थान छ जहाँ शबरी माताको आश्रम थियो । वसन्त पञ्चमीको दिन नैं राम त्यहाँ पुगेका थिए । त्यस क्षेत्रका वनवासी आज पनि एक शिलालाई पूज्दछन्, जसको बारेमा उनीहरूको विश्वास छ कि श्रीराम आएर त्यहीं बसेका थिए । त्यहाँ शबरी माताको मन्दिर पनि छ ।

वाणिकी देवी

संसारका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन्। राजहंस वाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन्। सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन्। भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको 'सरस्वती कवच' को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरे। आवश्यकता अनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन्।[२]

संगीत र विद्याकी देवी

विद्याकी देवीमानिने सरस्वती

स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन्। बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् भने बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्। वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्ने देखि अन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन। विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन्। धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कित फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन्। उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन्। सबैभन्दा उत्तम धन भनेको विद्या नै हो जसका धेरै प्रकार छन्। जसमध्ये चार वेद, चार उपवेद, सयौँ वेदाङ्गहरू, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष, मीमांसा, न्याय, धर्मशास्त्र, अठार पुराण, अठार उपपुराण, पञ्चमवेद, महाभारत, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद, स्थापत्यवेद (वास्तुशास्त्र) र अर्थशास्त्र प्रमुख छन्। विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ। भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ। विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ। नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन्।

नेपालमा सरस्वती पूजा

सरस्वतीका प्रसिद्ध पीठहरू मध्ये काठमाडौँ उपत्यकामा जय वागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुर जिल्लाको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ।[३] श्रीपञ्चमीका दिन कामदेवरतीको पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्त राग गाउने पनि चलन रहेको छ। प्राचीन कालमा नेपालमा वेदाङ्ग ज्योतिषका आधारमा काल गणना गरिन्थ्यो । लसायन मकर संक्रान्तिको नजिक पर्ने शुक्ल पक्ष प्रतिपदाबाट वेदोक्त तपोमास(आर्तव माघमास) मानिन्थ्यो | प्रत्यक्ष सौर उत्तरायण आरम्भ हुने दिनबाट सौरवर्ष आरम्भ मानिन्थ्यो | यसो हुँदा पनि उत्सवहरू चान्द्रवर्षका आधारमा मानिन्थ्यो। पछि निरयणवादको अवधारणा विकशित भयो। वैदिक ज्योतिष गणितबाट सिद्ध जो दृक्सिद्ध सायनवादलाई पाखा लगाउने काम भयो | यही सायन र निरयणको तालमेल मिलाउन न सक्दा आज माघै महिना मै वसन्त पञ्चमी पर्व आउने भयो वैदिक काल गणनाका आधारमा चान्द्र वर्ष मान्दा आज पनि वसन्त ऋतु मै वसन्तपञ्चमी आउने गर्दछ। चान्द्रऋतु क्रममा दोस्रो ऋतु वसन्त आगमनको पाँचौं दिनलाई उत्सवको रूप दिन तथा शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ। लगभग २००० वर्ष यताको काल गणनाको विग्रँदो स्थिति अँझै न सुधार्ने हो भने पछि गएर दुई ऋतुको फरक पारी वसन्तोत्सव मनाउने दिन न आउला भन्न सकिदैन। वर्तमान सरकारी पञ्चाङ्ग निर्णायक समितिद्वारा निर्णित तिथि मिति करीव एक महिना जति फरक परेको वास्तविकता त नेपाल सरकारले पर्वसुधार आयोग गठन गरी पर्व सुधार गरेर क्यालेणडर निर्माण गरी प्रचार प्रसार गरेको कुराबाट पनि बुझ्न सकिन्छ | अब यस तर्फ सबैको घ्यान जानु जरुरी छ| काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्त राग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी वा वसन्तपञ्चमीलाई मानिन्छ ।

चीत्रदिर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू