गोमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोमा
गोमा
चित्र:गोमा.jpg
जन्मवि.सं.१९८२ जेष्ठ १५, ((१९२५-०५-२९)मे २९, १९२५)
राम्जामणि चौर, पर्वत, नेपाल
मृत्युवि.सं. २०५९ साउन १४ (३० जुलाई २००२(2002-07-30) (उमेर ७७))
राष्ट्रियतानेपालनेपाली
नागरिकतानेपाली
शिक्षाबी.ए.
पेशाशिक्षण, लेखन
कार्यकाल१९९४ सालदेखि
चिनारीको कारणकविता, निबन्ध, समालोचना
उल्लेखनीय कार्य
जलन (कवितासङ्ग्रह), साहित्यिक फूलबारीका फूलहरु (समालोचना), बाँच्ने रहर (कवितासङ्ग्रह), कार्यशील महिलाको भूमिका (निबन्धसङ्ग्रह)
धर्महिन्दु
सन्तानछोरी- गार्गी
मातापितालक्ष्मीकान्त उपाध्याय-बुवा र नन्दकुमारी उपाध्याय-आमा
आफन्तध्रुवलाल (पितामह), पार्वती (मातामह)
पुरस्काररत्नश्री स्वर्ण पदक-२०२४, दीर्घ सेवा पदक-२०३६

गोमाको जन्म संवत् १९८२ साल जेठ १५ गते पर्वतको राम्जामणि चौरमा भएको थियो । लक्ष्मीकान्त उपाध्याय र नन्दकुमारी उपाध्यायकी उनी प्रथम सन्तान थिइन् ।[१] एउटा सिङ्गो इतिहास बोकेकी शारदाकालीन कवयित्री दुःख, आँशु, व्यथा र जलनकी कवयित्री भएर पनि समाजलाई दिशा-निर्देशन प्रदान गर्ने एक सशक्त नारी हस्ताक्षरको रूपमा सुप्रसिद्ध र प्रतिष्ठित बहुमुखी प्रतिभाकी धनी गोमा नेपाली साहित्यको इतिहासकी कहिले नमेटिने पाना हुन् ।[२]

जीवनी[सम्पादन गर्नुहोस्]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

जन्मिएको तीन महिनामा नै मातृत्वविहीन भएकी गोमा हजुरबुबाको लालनपालतमा हुर्किइन् ।[३] गोमा सानै हुँदा यिनकी आमा दिवङ्गत भएकाले जीवन र जगतको कारुणिक खेल यिनले आफ्नो जीवनभर देखिरहिन् । गोमा सानैदेखि तीक्ष्ण थिइन् । त्यसैले उनका असी वर्षिय हजुरबुबाले उनलाई बाल्यकालमै भानुभक्तको रामायण, महाभारत, दुर्गाकवच कण्ठ गराएका थिए । गोमालाई आठ वर्षै उमेरदेखि अमरकोश घोकाउन सुरु गरिएको थियो ।

 "जलन"

जब यो भवमा जन्म लिएथें, दुःखले छायो जीवन भर
मैले रत्तिभर गर्न सकिन, सुखमय यो संसार
कसरी छाडूँ मेरो प्राण, चीर निद्रामा सुताई
माफ राख भगवान् तिमी, दीन-दुखीको दुःखदायी
राक्षस हूँ म राक्षस हूँ, जगकी एउटी पापी हूँ
महा अनन्त कालकी, एउटी दुःखी अबला हूँ
कुन ईश्वरले जन्म दियो हा, यो सुखमय संसारमा
कुन निर्दयले दुःख दियो हा, मेरो कोमल जीवनमा
यस शून्य मन-मन्दिर मेरो, गर है भगवान् आदर
दृष्टि राख्न यस पापी उपर, नगरन फेरि अनादर !

पं. बदरीनाथद्वारा सम्पादित पुस्तक 'पद्यसङ्ग्रह'बाट साभार

शिक्षा[सम्पादन गर्नुहोस्]

गोमाले २०१७ सालमा आफ्नी छोरी गार्गीसँग एस.एल.सी. दिइन् । त्यतिखेर छोरी दोस्रो श्रेणीमा र आमा तेस्रो श्रेणीमा एसएलसी पास भएका थिए ।[१]

कार्य जीवन[सम्पादन गर्नुहोस्]

काठमाडौँ दरबारमा पसेर जागिर खाएकी ठूली हजुरआमासँग उनी आफ्नो पहाडी पहाडी घर छाडी काठमाडौँमा आईन् । त्यहाँ स्वअध्ययन गर्दै अघि बढ्ने, सानोतिनो जागिर गर्ने र १९९१ देखि प्रकाशित “शारदा“ साहित्यिक जस्ता पत्रिकामा आफ्ना मनका जलन र पीरहरु कविताको माध्यमले पोख्ने गर्न थालिन् । कविवर सिद्धिचरण श्रेष्ठदेखि लक्ष्मीप्रसाद देवकोटासम्मले उनको लेखनलाई हौसला दिए र “शारदा“ उनका रचना प्रकाशित गरी उनलाई एउटा नयाँ क्षितिज प्रदान गरियो ।[४] काव्य सिर्जनाप्रति सिद्धिचरणको प्रोत्साहन र प्रेरणा तथा प्रकाशनार्थको प्रेमराजको सक्रियताले गोमालाई नेपाली सिहत्यले एउटा सफल कवयित्रीका रूपमा पाउन सकेको प्रतीत हुन्छ ।[३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

बाल्यावस्थामै सातआठ वर्ष सौतेनी आमाका गाली कुटाइ र यातनामा बिताएकी गोमा दश वर्ष टेक्तानटेक्तै बिहेको बन्धनमा परिन् । कालु उपाध्यायले तीन पत्नीपछाडि गोमालाई आफ्ना घरमा भित्र्याएका थिए । बिहेपछि गोमा दिनचर्या अझ कष्टकर बनेको थियो । जीवनदेखि थाकेर उनले आत्महत्याको प्रयाससमेत गरेकी थिइन् ।[१]

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

उनको लेखनको प्रारम्भ कविताबाटै भएको हो, पछि आएर उनले सरल र परिष्कृत गद्य पनि लेखिन् ।[५] नेपाली साहित्यको आधुनिक कालको प्रारम्भसँगै वि.सं. १९९४ सालमा ‘जलन’ कविताबाट आफ्नो काव्यक यात्रा शुरु गरेकी गोमा जीवनका आखिरी समयसम्म सक्रियतापूर्वक साहित्य-साधनामा समर्पित भई जीवनमुखी साहित्य-सिर्जना गरिराखिन् र साहित्य सेवाको क्षेत्रमा अत्यन्त उल्लेखनीय योगदान प्रदान गरिराखिन् । वि.सं. २०३७ मा उनको ‘जलन’ शीर्षक एउटा कविता सङ्ग्रह नै प्रकाशित भएको देखिन्छ । यस सङ्ग्रहका यी जनलहरु कवयित्रीका हृदयका जलन् हुन् जुन सम्पूर्ण नेपालीहरुका हृदयका जनल र तापको रूपमा प्रस्फुटित भएका छन् । ‘शारदा’ पत्रिकामा ‘जलन’ प्रकाशित भएपछि उनका अन्य कविताहरु प्रकाशित हुन थाले । यसप्रकार ‘शारदा’ ले नै उनका काव्य यात्रालाई गतिशीलता र उन्नति प्रदान गर्योि । तत्पश्चात ‘उद्योग’, ‘साहित्य-स्रोत’हरू पत्रिकामा उनका केही कविताहरु प्रकाशित हुन थाल्यो । ‘रत्श्री’ पत्रिकाले उनका काव्य यात्रामा उच्चता प्रदान गर्दै अत्यधिक अग्रसरता प्रदान गर्योल र उनलाई उत्थानतर्फ उन्मुख गरायो । त्यस्तै ‘गोरखापत्र’, ‘माधुरी’, ‘कविता’, ‘मधुपर्क’ आदि पत्रिकाहरूले र ‘रेडियो नेपाल’का साहित्यक कार्यक्रमहरूले उनलाई धेरै प्रोत्साहित गर्योप । त्यसपछि गद्य र पद्य दुवै विधामा उनको कलम सुचारुरपमा चल्न थाल्यो । उल्लेखनीय कुरो यो छ कि उनले एस.एल.सी. परीक्षा दिनु अघि नै उनको कविता प्रवीणता प्रमाणपत्र तहको पाठ्यक्रममा समावेश भएको थियो ।[२][६]

लेखन शैली[सम्पादन गर्नुहोस्]

गोमाबारे राष्ट्रकवि माधव घिमिरे भन्छन् “गोमाका संवेदनाका तीन धाराहरु विरह, वेदना र करुणा र भक्तिभावना । किशोर र यौवन कालमा उनले रुमानी शैलीका फुटकर कविताद्वारा विरह वेदना प्रवाहित गरिन् र कविहरुबीच चर्चित रहिन् । प्रौढवयमा उनले दुःखित, उपेक्षित नारी विषयक खण्डकाव्यद्वारा करुणा प्रवाहित गरिन् । उत्तरवयमा उनले भजन गीत र महाकाव्य (गीति रामायण)“ द्वारा भक्ति भावना प्रवाहित गरिन् ।[५]

गोमाका गद्य लेखन क्रमिकरूपले तर एक्कासि स्वतस्फूर्त ढङ्गबाट सशक्त रूपमा विकसित हुँदै गएको पाइन्छ । उनका समीक्षात्मक/आलोचनात्मक लेखन बाहेक स्वतस्फूर्त अध्ययनका आधारमा उनले लेखेका जीवनीपरक ढङ्गले तयार गरेका रचनाहरु अझ बढी सन्तुलित, प्रवाहमय, अभिव्यक्तिशील, सुस्पष्ट र अर्थपूर्ण लाग्छन् ।[४] गोमाका कविताहरु सरल छन् । तर तिनमा विचार छ । भाव छ । र नजानिँदो रूपमा नारीमाथि हुने गरेका सामाजिक, आर्थिक एवं सांस्कृतिक अन्यायका स्वरहरु मुखरित भएका छन् । यस अर्थमा उनका कविताहरु जहाँ छोयो त्यही आगो बल्ने, ताप पैदा गर्ने होइन कि अनन्तसम्म मन्दमन्द प्रभावित पार्ने सागर हो । खहरे होइन । यो नै उनको काव्यशिल्प हो ।[३]

उनका कविताहरु सरल भएर पनि मार्मिक हुन्छन् । उनका रचनामा नारी सुलभ कोमलता, करूणा, प्रणयभावश, सौन्दर्य चेतनाका साथै सुधार र जागृतिका स्वरहरु अत्यन्त प्रभावोत्पादक रूपमा मुखरित भएको पाइन्छ । कतिपय रचनामा असन्तुष्टी र विद्रोहका भावहरु पनि प्रतिध्वनित भएको पाइन्छ । उनका सिर्जनामा पाइने नैराश्य र क्रन्दनका ध्वनिहरु पनि जीवनप्रतिको मोह र आस्थाको भावनाबाट अभिप्रेरित भएको देखिन्छ । सरल एवं सहज अभिव्यक्तिका साथ पाठकहरूको मनमा तत्काल प्रभाव पार्ने कोमल शैली नै गोमाजीको वैशिष्ट्य हो ।[७]

मृत्यु[सम्पादन गर्नुहोस्]

अनेकौ पुरस्कार र सम्मानद्वारा सम्मानित नेपाली वाङ्मयकी अग्रणी साहित्यकार गोमाको हृदयाघातबाट आक्रान्त भई मिति २०५९ साल साउन १४ मा स्वर्गारोहण भएको हो ।[२][३][८]

लेखन एवम मुख्य कृतिहरू[सम्पादन गर्नुहोस्]

काव्य[सम्पादन गर्नुहोस्]

कवितासङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • जलन (२०३७)
  • बाँच्ने रहर (२०३९)
  • मातृ-व्यथा (२०४१)
  • मानव धर्म र आस्था (२०५०)

खण्डकाव्य[सम्पादन गर्नुहोस्]

  • इन्दु (२०४२ )
  • तिरस्कृत आत्मा (२०४३)
  • अञ्जु (सामाजिक खण्डकाव्य २०४६)

निबन्धसङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • कार्यशील महिलाको भूमिका (२०३९)
  • नेपाल भारतका केही नारी प्रतिभा (२०४४)
  • पौराणिक नारी परिचय (२०४६)

समालोचना[सम्पादन गर्नुहोस्]

  • साहित्यिक फूलबारीका फूलहरु (२०३७)
  • चार नारी हस्ताक्षर (२०४१)
  • कवि म.वी.वी. शाहका काव्य प्रवृत्तिहरु (२०४२)
  • चाँदनी शाहको काव्यसंसार (२०५१)

अन्य[सम्पादन गर्नुहोस्]

  • नेपाल-भारतका केही नारी प्रतिभा (नारी परिचय-२०४४)
  • केही अनुसन्धनात्मक अभिव्यक्ति (सह-लेखन-२०४६)
  • पौराणिक नारी परिचय(नारी परिचय-२०४८)

केही प्रकाशोन्मुख कृतिहरु[सम्पादन गर्नुहोस्]

  • नेपाली गीति रामायण (महाकाव्य)
  • प्रज्ज्वला (खण्डकाव्य)
  • मोतीलाल (खण्डकाव्य)
  • केही संस्मरणहरु
  • भजन सङ्ग्रह
  • पौराणिक नारी परिचय, दोस्रो भाग
  • पौराणिक पुरुष परिचय
  • कथा सङ्ग्रह

पुरस्कार/मान-सम्मान/पदक[सम्पादन गर्नुहोस्]

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

  • लोकप्रिया पुरस्कार - २०४९
  • मैना पुरस्कार - २०५०
  • सिपाही २०५० को द्वीतीय पुरस्कार
  • प्रहरी २०५४ र २०५५ मा प्रथम पुरस्कार
  • गोपाल पाण्डे असिम पुरस्कार - २०५४
  • सरस्वती सम्मान - २०५६
  • युगकवि सिद्धिचरण पुरस्कार - २०५८
  • वडाकाजी पुष्पराज सम्मान - २०५८
  • प्रतिभा समूह सम्मान - २०५५
  • नारी स्वावलम्वी समाज बृद्धवर्ष सम्मान - २०५६

पदक[सम्पादन गर्नुहोस्]

  • रत्नश्री स्वर्ण पदक - २०२४
  • दीर्घ सेवा पदक – २०३६

साहित्यक संलग्नता[सम्पादन गर्नुहोस्]

  • नेपाल महिला साहित्यकार सङ्घ - अध्यक्ष
  • नारी साहित्य सेवा केन्द्र – संस्थापक तथा आजीवन अध्यक्ष
  • नेपाली साहित्य मन्दिर – संस्थापक तथा आजीवन अध्यक्ष
  • बुद्ध गान्धी प्रतिष्ठान – कार्यकारी सदस्य
  • डिल्लीरमण कल्याणी अन्रर्राष्ट्रिय ट्रष्ट – कार्यकारी सदस्य
  • खिल शर्मा राजीवलोचन जोशी प्रतिषठान - सदस्य
  • युगकवि सिद्धिचरण प्रतिष्ठान - सदस्य
  • बालकृष्ण सम फाउण्डेसन - सदस्य
  • श्री लूनकरण दास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर - सल्लाहकार

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ प्रसाई, नरेन्द्र, "गोमा", nai.com.np, नई प्रकाशन, अन्तिम पहुँच २०१९-०३-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१२ मिति
  2. २.० २.१ २.२ ठाकुर, उषा (२०६०), "नेपाली साहित्यको सेवामा समर्पित व्यक्तित्व - गोमाISBN=9993389021", in हिरण्यकुमारी पाठक, गोमाः सङ्घर्षशील जीवनका पाटाहरु, नारी स्वावलम्वी समाज, काठमाडौँ, पृ: १७। 
  3. ३.० ३.१ ३.२ ३.३ घिमिरे, कपिल (२०६०), "अनुसन्धान तथा मूल्याङ्कनको खाँचो ISBN=9993389021", in हिरण्यकुमारी पाठक, गोमाः सङ्घर्षशील जीवनका पाटाहरु, नारी स्वावलम्वी समाज, काठमाडौँ, पृ: ३०–३२। 
  4. ४.० ४.१ भट्ट, आनन्ददेव (२०६०।८।१२), "स्वर्गीय कवयित्री गोमाज्यू : एक प्रभाव ISBN=9993389021", in हिरण्यकुमारी पाठक, गोमाः सङ्घर्षशील जीवनका पाटाहरु, नारी स्वावलम्वी समाज, काठमाडौँ, पृ: ६–११। 
  5. ५.० ५.१ घिमिरे, माधव (२०६०।८।१२), "उनले नियतिलाई पुरुषार्थ बनाइन् ISBN=9993389021", in हिरण्यकुमारी पाठक, गोमाः सङ्घर्षशील जीवनका पाटाहरु, नारी स्वावलम्वी समाज, काठमाडौँ। 
  6. बस्न्यात, ओमवीर सिंह (२०६०), "सम्झनामा कवयित्री गोमाजी ISBN=9993389021", in हिरण्यकुमारी पाठक, गोमाः सङ्घर्षशील जीवनका पाटाहरु, नारी स्वावलम्वी समाज, काठमाडौँ, पृ: २७। 
  7. रिजाल, कालीप्रसाद (२०६०), "गोमाजी प्रति श्रद्धाञ्जलि ISBN=9993389021", in हिरण्यकुमारी पाठक, गोमाः सङ्घर्षशील जीवनका पाटाहरु, नारी स्वावलम्वी समाज, काठमाडौँ, पृ: ३३–३४। 
  8. प्रसाई, इन्दिरा (२०६०), "अनमोलमणि ISBN=9993389021", in हिरण्यकुमारी पाठक, गोमाः सङ्घर्षशील जीवनका पाटाहरु, नारी स्वावलम्वी समाज, काठमाडौँ, पृ: १४। 

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]