जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जंगबहादुर राणाबाट अनुप्रेषित)
श्री ३ महाराज
जङ्गबहादुर कुँवर
राना
प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणा
नेपालको प्रधानमन्त्री
कार्यकाल
वि.सं. १९०३ असोज २ – वि.सं. १९१३ साउन १७ गते
पूर्वाधिकारीफत्तेजङ्ग शाह
उतराधिकारीबमबहादुर राणा
नेपालको प्रधानमन्त्री
कार्यकाल
वि.सं. १९१४ जेष्ठ ११ – वि.सं. १९३३
पूर्वाधिकारीबमबहादुर राणा
उतराधिकारीरणोद्दिप सिंह बहादुर राणा
नेपालको प्रधान सेनापति
पूर्वाधिकारीगगन सिंह भण्डारी
उतराधिकारीकृष्णबहादुर राणा
व्यक्तिगत विवरण
जन्म
वि.सं. १८७४ असार 5
मथुरा बेशी, अर्घाखाँची, नेपाल[१]
मृत्युवि.सं. १९३३
पत्थरघट्टा, रौतहट जिल्ला, नेपाल
नागरिकतानेपाली
जीवन साथीमहारानी हिरण्यगर्भा देवी
नातादाजु जङ्गबहादुर राणा
सन्तान(हरू)जगतजङ्ग राणा, जीतजङ्ग राणा, पद्मजङ्ग राणा
अभिभावकs
आफन्तहरूहेर्नु होस कुँवर परिवार; हेर्नु होस थापा वंश; हेर्नु होस राणा वंश
पेशाप्रधानमन्त्री
सैन्य सेवा
लडाई/युद्धहरूतेश्रो नेपाल-भोट युद्ध

महाराजा जङ्गबहादुर कुँवर राणाजी, जिसिबी, जिसिएसआई (जन्म बीर नरसिंह कुँवर, वि.सं. १८७४ असार ४; जङ्गबहादुर राणाको रूपमा लोकप्रिय) नेपालको ८औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। वि.सं. १९०३ सालमा भएको कोतपर्व[२]भण्डारखाल पर्वपछि जङ्गबहादुर नेपालको राजनीति र शासन व्यवस्थामा एक्कासी शक्तिशाली हुन सफल भएका थिए। नेपालको शासनव्यवस्थामा राजा राजेन्द्र शक्तिशाली भएर पदासिन रहेको समयमा जङ्गबहादुरले राजदरबार भित्र आन्तरिक विद्रोह गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराइ दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडेमाथवरसिंह थापाको नीति सकारेर आफूलाई अत्यधिक शक्तिशाली बनाएका थिए।[३][४][५]

वि.सं. १९१३ साउन १८ मा जङ्गबहादुरले मुख्तियार पदबाट राजिनामा दिएर श्रावन २४ गते राजा सुरेन्द्रबाट कास्कीलमजुङको श्री ३ महाराज पद प्राप्त गरेका थिए। महाराज पद प्राप्त गरिसकेपछि नै उनलाई श्री ३ जङ्गबहादुर कुँवर राणाजी भन्न थालिएको हो।[६][७] श्री ३ महाराजको लागि श्रीपेच बनाउन लगाई जनताको छोराद्वारा श्रीपेच लगाउने जङ्गबहादुर पहिलो व्यक्ति थिए।[८]

नेपालले अङ्ग्रेजसँगको युद्धमा गुमाएको भूभागमध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकालीसम्मको भूभाग जसमा वर्तमानको तराईमा पर्ने बाँके, बर्दिया, कैलाली तथा कञ्चनपुर पुनः नेपालमा गाभ्न सफल भएका थिए।[९] वर्तमान समयमा यस भूभागलाई नयाँ मुलुकको नामले समेत चिनिन्छ।[१०] नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारिवरिक शासनशैलीको आरम्भ गर्ने व्यक्ति यिनै हुन्। बेलायती शासकहरूका प्रिय रहेका[११] जङ्गबहादुरले आफ्नो शासनकालको समयमा दरबारिया कट्टर विरोधीहरूलाई तह लगाएर एकतन्त्री शासन चलाएका थिए। बेलायतफ्रान्सको भ्रमणबाट फर्केपछि उनले नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभावको छाप छोडेका थिए।[१२]

प्रारम्भिक जीवन तथा परिवार[सम्पादन गर्नुहोस्]

जन्म[सम्पादन गर्नुहोस्]

जङ्गबहादुर राणाको जन्म वि.सं. १८७४ असार ७ गते अर्घाखाँची वाङ्ला मथुराबेशिमा भएको थियो। उनको बुवा काजी बालनरसिंह कुँवर थिए भने आमा गणेशकुमारी थिइन्। उनको जन्मको नाम बीरनरसिंह कुँवर थियो।[१३] काजीको छोरा भएको कारणले उनको बाल्यकाल सम्पन्न तरिकाले नै बितेको थियो। उनको बुवा तत्कालीन राजा रणबहादुर शाहको अङ्गरक्षक थिए। उनको परिवार तत्कालीन नेपालको प्रधानमन्त्री भीमसेन थापाको नातेदार पर्थ्यो। उनकी आमा माथवरसिंह थापाकी सहोदर बहिनी र महारानी ललितत्रिपुरासुन्दरीकी दिदी थिइन्।

पूर्वज[सम्पादन गर्नुहोस्]

उनको बुबा काजी बालनरसिंह कुँवर दरबारमा रहिरहदा तत्कालीन राजा रणबहादुर शाहको उनको आफ्नै सौतेनी भाइ शेरबहादुर शाहले हत्या गरेका थिए जसको प्रतिउत्तरको क्रममा बाल नरसिंहले शेरबहादुर शाहलाई घटनास्थलमै मारेका थिए। यस साहसिक कार्यका लागि उनलाई 'काजी' पद शीर्षकबाट पुरस्कृत गरियो, जसपछि यो प्रशासनिक पद उनको परिवारमा परम्पराको रूपमा कायम भयो। उनी दरबारमा हतियार लिएर जाने एकमात्र व्यक्ति थिए। उनी काजी रणजीत कुँवरका[१४] नाति र सरदार रामकृष्ण कुँवरका पनाति हुनुका साथै राजा पृथ्वीनारायण शाहको समयमा एक प्रभावशाली सैन्य अधिकारी थिए।[note १] जङ्गबहादुरकी आमा गणेशकुमारी मार्फत उनी थापा वंशका मुख्तियार भीमसेन थापासँग सम्बन्धित थिए, जसले उनलाई सानै उमेरमा शाही दरबारमा प्रवेश गर्न मद्दत गर्‍यो। आफ्नो मावली हजुरआमा मार्फत उनी प्रतापी पाँडे वंशसँग सम्बन्धित थिए किनकि वहाँको बुवापट्टिकी हजुरआमा राना कुमारी एक प्रभावशाली शाही दरबारी 'काजी' रणजीत पाँडेकी छोरी थिइन्।[१५][१६]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

जङ्गबहादुर ११ वर्ष छँदा काजी प्रसादसिंह बस्न्यातकी भित्रिनी पट्टिकी छोरी प्रसादकुमारीसँग कुमारग्रह उतारी विवाह भएको थियो।[१७] नेपाल दरबारमा भीमसेन थापाको पतन भएपछि बालनरसिंहको जागिर खोसिएको थियो। परिवारको बिचल्ली भएसँगै सो कठिन समयमा जङ्बहादुरको जुवाको लतले गर्दा भएभरका पारिवारिक धनसम्पति नाश भएको थियो। अन्त्यमा उनको बुवा काशी जान वाध्य भएका र दुःख गरेर कमाएको सम्पति लिएर वि. सं. १८९६ मा काठमाडौँ फर्कदा उनकी पत्नी मरिन् र वि. सं. १८९९ मा बालनरसिंह कुँवर पनि चिन्तैचिन्ताले मरेका थिए।

जङ्गबहादुर सेवामुक्त भएर हिँडिरहेको बेला वि.सं. १८९७ को माघ महिनामा हात्ती खेदामा आफ्नो बहादुरी देखाउँदा तत्कालीन राजा राजेन्द्र शाहबाट उनलाई तोपखानाको कप्तान दिएपछि उनी पुनः जागिरे हुन पुगेका थिए। जागिरे भएपछि उनले राजपरिवारको आँखामा पर्नको लागि अनेकौं वीरता देखाए, जसमा वि.सं. १९९८ मा दहचोक जङ्गलमा चितुवा काट्ने, मातेको हात्तीलाई नियन्त्रण गर्ने, त्रिशूली देवीघाटको झगडा मिलाउने, तत्कालीन युवराज सुरेन्द्रको आठपहरिया छँदा त्रिशुली बजार भ्रमणका सिलसिलामा त्रिशूलीमा हामफाल्ने, वि.सं. १८९९ वैशाखमा बाह्रवर्षे इनारमा हामफाल्ने लगायतका काम गरेका थिए।

आफ्नो प्रारम्भिक दिनमा जङ्गबहादुर लफङ्गा, जुवाडे रहेको भएता पनि आफ्नो साहस, वीरता र चतुरपनका कारण नेपालको इतिहासमा एक सफल नायकका रूपमा चिनिने गर्छन्।

वृत्ति[सम्पादन गर्नुहोस्]

युवराज सुरेन्द्रको अङ्गरक्षक[सम्पादन गर्नुहोस्]

नेपालका तत्कालीन युवराज सुरेन्द्रको स्वभाव रोमाञ्चकारी र सनकपूर्ण थियो। उनको अङ्गरक्षक रूपमा कार्य गर्दा जङ्गबहादुरले युवराजद्वारा दिइएको जोखिमपूर्ण, साहसिक र खतरनाक आदेशहरू पालना गर्नुपरेको थियो। जसमा त्रिशुली नदीमा घोडासहित हाम फाल्ने, धरहराबाट हाम फाल्ने, बाह्र वर्षे इनारमा हामफाल्ने जस्ता आदेश रहेको थियो।

यस्तै वीरतापूर्वक कार्यको सराहना गर्दै उनलाई तत्कालीन राजा राजेन्द्रको आठपहरियामा नियुक्त गरिएको थियो। त्यहाँ काम गरेर अनुभव बटुलेपछि उनलाई तत्कालीन राजा राजेन्द्रले कुमारी चोकको काजी नियुक्त गरेका थिए जहाँ काम गर्दा उनले देशको आर्थिक स्थितिको ज्ञान पाएका थिए।

माथवरसिंहको हत्या[सम्पादन गर्नुहोस्]

मुख्य लेख : माथवरसिंह थापा

वि. सं. १९०१ मा माथवरसिंह थापा काठमाडौ फर्केपछि देशमा शान्ति व्यवस्थाको आगमन हुने अड्कलबाजी गरिएको थियो।

जङ्गबहादुर कुँवरकाका काकाका छोरा देवीबहादुर कुँवर एउटा राजनीतिक अपराधमा फसेका थिए। यिनलाई प्राणदण्द दिइने निश्चितप्रायः थियो। यिनलाई बचाइन आवश्यक सहयोग गर्न जङ्गबहादुरले आफ्ना मामा माथवरसिंह थापा संग आग्रह पनि गरेका थिए। चाहेका भए मुख्तियार माथवरसिंह थापाले कप्तान देवीबहादुर कुँवरलाई प्राणदण्डको सजायबाट बचाउन पनि सक्थे। तर चाहेनन्। फलस्वरूप उनलाई प्राणदण्ड मिलेको थियो। यस घटना बाट जङ्गबहादुर कुँवर आफ्ना मामा मुख्तियार माथवरसिंह थापा संग क्रुद्ध थिए।[१८]

मामा माथवरसिंहको सहानुभूति पाएर राजदरबारसँग नजिक भएका जङ्गबहादुर, आफ्नो मामाको आगमनपछि उनीहरूको सम्बन्धमा कटुता आएको थियो। सोही कटुताको परिणामस्वरूप जङ्गबहादुरले आफ्नै मामा माथवरसिंहको वि. सं. १९०२ जेठ २ गतेका राति राजदरबारमा गोली हानेर हत्या गरेका थिए। माथवर सिंहको हत्या गरेपछि जङ्गबहादुरसँग उनकी आमाले नबोल्ने अठोट गरेकी थिइन्।[१९]

राजनीतिक अस्थिरताका बीच फत्तेजङ शाहको नेतृत्वमा मन्त्रिमण्डल विस्तार गरिएको थियो। उनले प्रधानसेनापति गगनसिंहलाई ७ रेजिमेन्टको अधिकारी, अभिमानसिंह रानामगरलाई ३ रेजिमेन्टको अधिकारी र जङ्गबहादुरलाई ३ रेजिमेन्टको अधिकारी बनाएका थिए।

मामाको हत्या गरेपछि दरबारको शासन व्यवस्थामा आफ्नो कद बढ्ने सोचेका थिए तर उनी चौथो श्रेणीको भारदारमा परेका थिए। आफ्नो महत्त्वाकांक्षाको कारणले गर्दा जङ्गबहादुरले राजा र रानीलाई खुसी पार्न विभिन्न प्रयत्न गरेका थिए।[२०]

आफ्नो मामाको हत्या गरेपछि उनकी आमा गणेशकुमारीले जङ्गबहादुरसँग नबोल्ने प्रतिज्ञा गरेकी थिइन्।

गगनसिंहसँगको सम्बन्ध[सम्पादन गर्नुहोस्]

गगनसिंह भण्डारी तत्कालीन राजाको एकदमै नजिक रहेका थिए। तत्कालीन रानी राज्यलक्ष्मीको विश्वास पात्रको रूपमा रहेको गगनसिंह र रानीबीच प्रेम रहेको हल्ला समेत दरबारमा सुनिएको थियो। गगन सिंह र तत्कालीन रानीको सम्बन्धलाई तत्कालीन राजा राजेन्द्र तथा तत्कालीन युवराज सुरेन्द्रले मन पराएका थिएन्न्। जङ्गबहादुर र युवराजबीच गहिरो सम्बन्ध रहेको थियो। यसै कारणले गर्दा गगन सिंह र जङ्गबहादुर बीच राम्रो सम्बन्ध रहेको थिएन। डायमनसम्शेर राणाले आफ्नो उपन्यास 'सेतो बाघ'मा गगन सिंहको हत्या राजा राजेन्द्र र युवराज सुरेन्द्रको आदेशमा जङ्गबहादुरले गरेको उल्लेख गरेका छन्। यस हत्याकाण्डको कारणले रानी आवेशमा आएर उनको हत्यारा खोज्ने निहुँमा आयोजना गरेको सभामै विध्वंशकारी कोत पर्व मच्चिन गएको थियो जसको परिणामस्वरूप नेपालको तत्कालीन राजनीतिमा जङ्गबहादुर शक्तिशाली भएर निस्केका थिए। यी विषयहरूलाई अध्ययन गर्दा जङ्गबहादुर तथा गगन सिंह बीच एक प्रतिसपर्धीको सम्बन्ध रहेको अड्कल गर्न सकिन्छ।[२१]

कोत पर्व[सम्पादन गर्नुहोस्]

तत्कालीन रानी राज्यलक्ष्मी देवीको विश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउनको लागि कोतमा वि.सं. १९०३ भदौ महिनाको ३१ गते राति भारदारहरूहरूलाई बोलाइएको थियो। सोही सभामा भारदारहरूबीच विवाद हुँदा मच्चिएको यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो।[२२]

गगनसिंहको हत्यारा पत्ता लगाउनको लागि सबैभन्दा पहिले अभिमान सिंह राना मगरलाई मारेपछि त्यहाँको स्थिति चर्किदै हात हालाहाल र गोली हानाहान हुँदा त्यस समय नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, काजी दलभञ्जन पाँडे, कर्पदार काजी वीरकेशर पाँडे लगायतका ३१ जनाको हत्या भएको थियो। यस घटनामा कुल ११ चौतारिया, ६ पाँडे, ३ थापा र ११ अन्य क्षेत्रीय भारादारको हत्या भएको थियो। यस घटनापछि रानी राज्यलक्ष्मी देवीको मौखिक हुकुमले जङ्गबहादुरलाई प्रधानमन्त्री र प्रधानसेनापति बनाइएको थियो। वि.सं. १९०३ असोज २ गते तत्कालीन राजा राजेन्द्रबाट लालमोहर पाएपछि जङ्गबहादुर नेपालको आधिकारिक मुख्तियार बन्न पुगेका थिए।[२३]

प्रधानमन्त्री[सम्पादन गर्नुहोस्]

भण्डारखाल पर्व[सम्पादन गर्नुहोस्]

कोत पर्वपछि रानी लक्ष्मीदेवीको मन जितेर प्रधानसेनापति बन्न सफल भएका जङ्गबहादुरले माथवरसिंह थापाको हत्या गरे जस्तै युवराज सुरेन्द्रको हत्या गरि रणेन्द्रलाई गद्दीमा राख्न आवश्यक प्रबन्ध गर्न दबाब दिएकी थिइन्। रानीले जङ्गबहादुरबाट आफ्नो उद्देश्य पुरा हुने विश्वास गरेता पनि जङ्गबहादुरले मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लङ्घन गरेका थिए।

यसैको निहुँमा रानीले वि.सं. १९०३ कात्तिक १२ गते हनुमानढोकाको भण्डारखाल बगैँचामा भोजको आयोजना गरेकी थिइन्। सोही भोजमा जङ्गबहादुर र उनका भाइहरूलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाएको कुरा पण्डित विजयराजले पोल खोले पछि जङ्गबहादुरले आफ्ना विरोधीहरूको संहार गरेका थिए। यस घटनापछि यो षड्यन्त्रमा सामेल रहेका बिरध्वज बस्नेत लगायतलाई हत्या तथा कैद गरिएको थियो भने रानीको सम्पूर्ण अधिकार खोसेर देश निकाला गरिएको थियो।[२४]

अलौ पर्व[सम्पादन गर्नुहोस्]

भण्डारखाल पर्व भएपछि तत्कालीन राजा राजेन्द्र विक्रम शाह आफ्नो रानीसँगै केही समयका लागि काशी गएका थिए।[२५] तत्कालीन राजा र उनका भारदारहरू काशीमा षड्यन्त्र बनाउनमा व्यस्त रहेकाले प्रधानमन्त्री जङ्गबहादुरले वि. सं. १९०४ मा राजालाई पदच्युत गरि युवराज सुरेन्द्रलाई गद्दीमा राखेका थिए। जङ्गबहादुरले राजासँगै पठाएका आफ्ना गुप्तचरहरूद्वारा काशीमा भएका सबै षड्यन्त्र एवम् योजनाको बारम्बार जानकारीकै आधारमा राजाका सैनिक टोलीहरूलाई वीरगञ्जनजिकै अलौ भन्ने ठाउँमा बाटो ढुकी सबैको हत्या गरेका थिए र राजा राजेन्द्र शाहलाई गिरफ्तार गरेर नजरबन्दमा राखिएको थियो। यो पर्वलाई नेपालको इतिहासमा 'अलौ पर्व' भनेर उल्लेख गरिएको छ।[२६][२७]

राणाजी[सम्पादन गर्नुहोस्]

वि. सं. १९०५ वैशाख महिनाको १३ गते तत्कालीन राजा सुरेन्द्रबाट तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर लगायत उनका सबै वंशजहरू भारतको चित्तौडगढबाट राजपूत राणाजीका सन्तानहरू रहे भएका र कास्की आएर गोरखाबाट देशको सेवा गरेको कुरा मान्यता गराएर 'राणाजी' भन्न पाउने गराएकोले सो उपरान्त जङ्गबहादुर र उनका सबै वंशजहरूलाई राणाजी भन्न थालिएको थियो।[२८]

युरोप भ्रमण[सम्पादन गर्नुहोस्]

जङ्गबहादुरले युरोप भ्रमणका बेला वि.सं. १९०७ भदौ १० गते फ्रान्सको सर्टरी मैदानमा सैनिक परेड हेर्न घोडा चढेर अघि बढ्दा घोडालाई नियन्त्रणमा ल्याई पछाडि फर्केको क्षणलाई स्मरण गराउन यो सालिकको निर्माण गरिएको थियो। यो सालिकको अनावरण वि.सं १९३८ मा गरिएको थियो भने सालिकको उद्घाटन वि.सं. १९४२ असारमा श्री ३ रणोद्दिप सिंहले तत्कालीन राजा पृथ्वी वीर बिक्रम शाहको उपस्थितिमा गरेका थिए। वि.सं. २०१७ मा सडक विस्तार गर्ने क्रममा यो सालिक स्थानान्तरण गरिँदा जङ्गबहादुरको सालिकको हातमा रहेको तरबार भाँचिएको थियो।
टुँडिखेल, सुन्धाराबाट त्रिपुरेश्वर जाने मोडमा रहेको जङ्ग बहादुरको शालिक

शाही राजदूतको रूपमा वि. सं. १९०६ साल माघमा युरोप भ्रमण जान लागेका जङ्गबहादुरले नेपालको राजनीतिक व्यवस्थालाई सामान्य बनाइ राख्न भाइ बमबहादुरलाई कार्यवाहक प्रधानमन्त्री र बद्रीनरसिंहलाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए।[२९] उनको भ्रमण दलमा २ जना कर्णेलहरू जगत शमशेर, धीर शमशेर, १ जना कप्तान राम मेहर अधिकारी, ३ जना काजी करवीर खत्री, हेमदल थापा, डिल्लीसिंह बस्न्यात, ३ जना लप्टन लाल सिंह खत्री, करवीर खत्री, भीमसेन राना, ३ जना सुब्बा सिद्धिमान, सोम नरसिंह, सुबेदार दलमर्दन थापा गरि एक वैद्य चक्रपाणी, एक कलाकार भाजुमान चित्रकार, ४ जना भान्से, १२ जना नोकर र १० जना सहयोगी रहेका थिए।[३०][३१]

ठूलो दलबल सहित नेपालबाट प्रस्थान गरेका यिनीहरू बिहारको पटनामा १९ तोपको सलामी दिएर स्वागत गरिएको थियो। पटनाबाट कलकत्ता पुगेपछि समेत उनीहरूलाई सोही प्रकारको सलामी दिइएको थियो। कलकत्तामा उनले शाही कार्यक्रममा भाग लिनुका साथै लर्ड र लेडी डालहाउजीसँग भेट गरेका थिए। कलकत्ताबाट पानी जहाजमा सामुद्रिक मार्ग प्रयोग गर्दै मद्रास, श्रीलङ्का र इडेन हुँदै स्वेज नहर पुगेका थिए। इजिप्टमा कायरो र एलेक्जेन्ड्रिया भ्रमण गरेपछि जङ्गबहादुर र उनको टोलीले अब्बास प्रथमसँग भेट गरेका थिए। अन्तत जङ्गबहादुरको टोली वि. सं. १९०७ साल जेठमा बेलायतको साउथ ह्याम्पटन पुगेको थियो।

बेलायत भ्रमणको क्रममा राजकीय भेटघाट लगायतका काम गर्दै जङ्गबहादुर र उनका दलले बेलयातको शासन प्रणाली, सैन्य संरचना, कारागार लगायतका महत्वपूर्ण विषयको अध्ययन गरेको थियो। बेलायत पछि फ्रान्स पुगेका जङ्गबहादुरले त्यहाँ समेत शक्ति सम्बन्धी ज्ञान लिएका थिए।[३२]

युरोपका दुई शक्तिशाली राष्ट्रहरूको भ्रमण र निरीक्षण गरेपछि जङ्गबहादुरले ब्रिटिससँग मेलमिलाप र सहकार्य गेरेर अगाडि बढ्ने नीति सकार गरेका थिए।[३३]

मुलुकी ऐन १९१०[सम्पादन गर्नुहोस्]

मुख्य लेख : मुलुकी ऐन

मुलुकी ऐनलाई नेपालको पहिलो लिखित[३४] र संहिताबद्द राष्ट्रिय कानुनको दर्जा प्राप्त छ। यसलाई वि.स. १९१० पुस ७ गते जारी गारिएको थियो।[३५][३६] जङ्गबहादुरले बेलायातको यात्राबाट फर्केपछि युरोपको कानुनी अभ्यासको प्रेरणाले यो ऐन बनाएका थिए। यो नितान्त मौलिक कानुन र हिन्दू दर्शनमा आधारित रहेको छ। यो कानुनको मुख्य उद्देश्य जातिको आधारमा अपराधीहरूलाई सजायको व्यवस्था गर्नु रहेको थियो। [३७]

नेपाल तिब्बत युद्ध / थापाथली सन्धि[सम्पादन गर्नुहोस्]

मुख्य लेख : तेश्रो नेपाल तिब्बत युद्ध

बेत्रावती सन्धी अनुसार सन् १८४७ मा नेपालको प्रतिनिधित्व गर्दै सौरथसिंह पन्तको नेतृत्वमा नेपाली सैनिक मिसन चीन गएको थियो। वि.सं. १९०९ मा गएको पेकिङ प्रतिनिधि मण्डल मध्ये १९११ बैशाख मा लेफ्टिनेन्ट भीमसेन कुँवर मात्र फर्के। अरूलाई भोटेहरूले लुट्दा र खानबस्न नदिँदा सबै बाटैमा मरे। नेपालबाट गएको उक्त १३औँ मिसनका ४० देखि ४५ सदस्यहरूमध्ये भीमसेन राना मात्र सन् १८५२ मा स्वदेश फर्कन सफल भएका थिए। दलको मुख्य सैनिक मध्येका काजी गम्भीरसिंह अधिकारी, उपनेता सरदार शमशेर थापासहितले चीन र तिब्बतमा पाएको हैरानीका कारण मृत्युवरण गरेका थिए।[३८] [३९] भीमसेन रानाले जङ्गबहादुरको अगाडि तिब्बती भोटेहरूको अपमान र दुर्व्यवाहारको वर्णन गरेपछि जङ्गबहादुरले तिब्बत/भोटमाथि आक्रमण गरेर ठीक पार्ने निर्णय गरेका थिए।

सुगौली सन्धिको कारणले आफ्नो अभिन्न भूभाग गुमाउन परेकोले भोटलाई जितेर राजा र प्रजालाई खुसी पार्ने दाउमा जङ्गबहादुर कम्मर कसेका थिए।[४०] नेपाल –तिब्बत /चीन युद्धको अन्त्य गर्न भएको बेत्रावती सन्धी पूर्ण रूपमा चिनियाँहरूको पक्षमा थियो। एक वर्षसम्म चलेको अन्तिम नेपाल तिब्बत युद्धको अन्त्य थापाथली सन्धि भएपछि सकिएको थियो। युद्धको परिणामस्वरूप भएको सन्धिको कारण तिब्बतले नेपाललाई प्रत्येक वर्ष १०,००० रकम तिर्नुपर्ने रहेको थियो।

श्री ३ महाराज लालमोहर[सम्पादन गर्नुहोस्]

तत्कालीन राजा सुरेन्द्रबाट वि.सं. १९१३ साउन २२ का दिन जङ्गबहादुरलाई कास्कीलमजुङको महाराज घोषित गरिएको थियो। उक्त घोषणाको आधारमा जङ्गबहादुर र उनको परिवारमा त्यहाँको महाराजको उपाधि, दुई जिल्लाहरू लगायत देशको पश्चिममा रहेको काली र पूर्वमा मेचीसम्मको राज्य सञ्चालनको सम्पूर्ण अधिकार प्रयोग गर्न सम्पत्तिको भोग चलन हस्तान्तरण हुने भनिएको थियो। यस बाहेक उनलाई जीवन र मृत्युको अधिकार, सरकारका सबै तहका कर्मचारीहरूलाई नियुक्त र बर्खास्त गर्नसक्ने अधिकार, कुनै पनि विदेशी राष्ट्रसँग सन्धिपत्रमा हस्ताक्षर गर्ने अधिकार, युद्धको घोषणा र शान्ति सम्झौता गर्नसक्ने अधिकार, दोषीमाथि दण्ड सजाय तोक्न सक्ने अधिकार, नयाँ कानुनको निर्माण र पुरानो कानुन (देवानी, फौजदारी र सैनिक अधिकार) खारेज गर्नसक्ने अधिकार दिइएको थियो।

माथि उल्लेख गरिएका सम्पूर्ण अधिकार जङ्गबहादुरको मृत्यु पश्चात उनका भाइ र उनका छोराहरूमा हस्तान्तरण हुँदै जाने पनि घोषणापत्रमा राखिएको थियो। यससँगै राजाबाट समेत राज्य सञ्चालन गर्दा हुनसक्ने आन्तरिक वा बाह्य मामिलामा गल्ती वा अपराधलाई निसर्ग गर्ने अधिकार समेत जङ्गबहादुरलाई दिइएको थियो।[४१]


१९२४ माघ २२ मा जङ्गबहादुरले आफ्नो नाउँमा तल लेखिएको लालमोहर गराए-

श्री ५ महाराजधिराज सुरेन्द्र,श्री ५ महारजधिराज राजेन्द्र, श्री ५ महारजधिराज वलीअहद त्रैलोक्यबाट
श्री ३ महारज जङ्गबहादुर राणाजीके...
कंपू पल्टन कम्पनी भारादार जंगी मुलुकी निजामती गैर्हका नाउमा तिमीहरूले जो उर्दि देउला, सो उर्दि बजाउनु, हामीबाट अर्को कमान उर्दि बक्स्या पनि कबुल नगर्नु, तिम्रा उर्दि कमानमा नरहन्यालाई जातअनुसारको सजाय गर्न्याछन्. ...
इति संवत् १९२४ साल माघसुदि १० रोज २ शुभम्

यो लालमोहर पछि शाह वंश नाम मात्रको राजा र श्री ३ नै नेपालको सर्वेसर्वा हुने भयो। श्री ५ को आदेशलाई श्री ३ ले खारेज गर्न सक्ने भए।

भारतीय सिपाही बिद्रोह, सन् १८५७[सम्पादन गर्नुहोस्]

भारतमा अंग्रेज शासनप्रति असन्तोषको भावना सन् १८५० ताका प्रारम्भ भएको थियो। यसैबीच 'सिपाही विद्रोह'का नामले स्वतन्त्रता संग्राम सुरु भयो। यो विद्रोह दमन गर्न इस्ट इन्डिया कम्पनी सरकारको अनुरोधमा नेपालले २ जुलाई १८५७ मा ६ रेजिमेन्ट गोर्खाली फौज अंग्रेजको सहायतार्थ भारततर्फ पठायो। यसका साथै लर्ड केनिङको अनुरोध अनुसार, जङ्गबहादुर आफैं तीन पल्टन सेना लिएर १० डिसेम्बर १८५७ मा लखनऊतर्फ प्रस्थान गरे।

तिनले गोरखपुरदेखि लखनऊसम्मका विभिन्न स्थान नियन्त्रणमा लिई विद्रोही जत्थालाई १० मार्च १८५८ सम्ममा पूर्णरूपले लखनऊबाट हटाई अंग्रेजी प्रभुत्व कायम गरे। गोर्खाली फौज नेपाल फर्कदा 'लखनऊ लुट' गरी आए भन्ने पनि इतिहासमा चर्चा गरिएको छ।

यस बारे बि.सं. १९३२ बैशाख ९ गते मंगलबार स्थापित गरिएको कालमोचन घाटको शिलापत्रमा जङ्गबहादुरले यसरी बर्णन गरेका छन्।

श्रीनेपाल मुलुकका माहाजन रयेत ...

... आउन्या हिन्दुस् थान् मा रह्याका बृटिस् सर्कारका फौज औ जगाजगाका राजारजौताहरू उठी बृटिस् सर्कारसंग हंगमा गरि जगाजगामा रह्याका मिम् बाबा: बाबिहरूलाई मार्दा अस्त्रिहत्या बालहत्या गर्याको हेरिरहन मुनासिब छैन भनि आफ्नु ४१ वर्षको उमेर हुदा बृटिस् सर्कारका मद्दतनिमित्त आफ्ना फौज पठाइ हंगमा गर्न्या रेबिलहरूसंग लडाञी गरि फेरि भारि फौज लि आफै गै लडाञी गरि गोरषपुर फत्त्ये गरि बृटिस् सर्कारका कम्यांडर इन चिफसंग सामेल भै लषनौ लडाञी गरि लषनौ फत्त्ये गरि यस्तै रितले रेबिल्हरूसंग २५ लडाञी गरि आफ्ना अकल् र ज्मामर्दिले बृटिस् सर्कारसंग दोस्ति बढाउदा ७२ सालमा बृटिस् सर्कारतर्फ गयाको नेपालका पश्र्वीम् तर्फको मुलुक् बृटिस् सर्कारबाट श्री नेपालसर्कारमा सपुर्त गराई बेलायत्का कुईन् बादसाहबात वजिरका नाउमा: जि:सि:बी भंन्या इलाकाप र तक्मा षलिता ...

इति सम्वत् १९३१ साल मिति चैतशुदि १५ रोज ३ शुभम्

नयाँ मुलुक फिर्ता[सम्पादन गर्नुहोस्]

१८६० ई० मा नेपालले गुमेको पश्चिमी तराई फिर्ता पाए पछि "नयाँ मुलुक" भनेर चिनियो

जङ्गबहादुरको गुणको बदला नेपाललाई के गरेर चुकाउने भन्ने कुरो भारतका बृटिस शासकहरूमा धेरै सर-सल्लाह भयो। अन्त्यमा सुगौली सन्धिद्वारा हरण गरिएको राप्तीदेखि कालीनदीसम्मको मैदानी भाग नेपाललाई फिर्ता गर्ने निधो भयो। त्यसबेला नयाँ मुलुकका रूपमा चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको सीमारेखा २७८ किलोमिटर रहेको छ भने यसको क्षेत्रफल ९ हजार २ सय ७ वर्गकिलोमिटर छ।

महत्त्वपूर्ण कुरा के रहेको छ भने जङ्गबहादुरले नयाँ मुलुकरूपी भूमिको नापनक्सा नगरी फिर्ता लिन मानेनन्। यसैकारण ब्रिटिस कमिस्नरद्वारा त्यस क्षेत्रको सर्भेक्षण गरिँदै ७ फिट अग्लो र १० फिट गोलाइ भएको २ सय ५२ जङ्गेखम्बा (जङ्गेपिलर) खडा गरियो। दुई वर्ष लगाएर जङ्गेखम्बाका साथै दसगजा क्षेत्र कायम गरिएपछि मात्रै दुई देशबीच १५ नोभेम्बर १८६० मा सीमा सन्धि भयो। सुगौली सन्धिमा नेपालले गुमाएको यो भाग ४४ वर्षपछि नेपालले फिर्ता पायो। यस सन्धिमा भारतका भाइसराय गभर्नर जनरल अर्ल केनिङका तर्फबाट लेफ्टिनेन्ट जनरल जर्ज र्‍यामसे र नेपालका महाराजाधिराज सुरेन्द्रविक्रम शाहका तर्फबाट जङ्गबहादुर राणाले १ नोभेम्बर १८६० मा काठमाडौँमा संयुक्त हस्ताक्षर गरेका थिए। यसलाई गभर्नर जनरलले कलकत्तामा १५ नोभेम्बर १८६० मा अनुमोदन गरे। सन्धिको प्रारम्भिक अनुच्छेदमा 'यो भू-भाग नेपाल दरबारबाट खटाइएको कमिस्नरको उपस्थितिमा ब्रिटिस सरकारबाट नियुक्त कमिस्नरले दुई देशबीचको सीमारेखामा सीमांकन गरी पक्की स्तम्भहरू ठड्याई सो सीमाक्षेत्र विधिवत् नेपाली अधिकारीलाई सदाका लागि हस्तारण गरियो। यो सीमाक्षेत्र शान्तमय तरिकाले पुनःस्थापना गरी सदैव नेपालको अधीनमा रहने सुनिश्चितताका लागि दुई राष्ट्रबीच यो सन्धि गरिएको छ' भन्ने विवरण उल्लेख गरिएको छ।

जङ्गबहादुरलाई सीमा संरक्षणका दृष्टिकोणमा र नेपालको गुमेको पश्चिमी तराई भाग अंग्रेजबाट फिर्ता लिन उनले गरेको कार्यको सराहना गर्नुपर्छ।[४२]

गोरखाको बुङ्कोट विद्रोह[सम्पादन गर्नुहोस्]

१९३३ सालमा लखन थापाले गोरखाको बुङ्कोटमा विद्रोह गर्दा त्यहाँ लखनका साथै उनका ६ जना सहयोगीको पनि जंगबहादुरले ज्यान लिए।[४३]

जङ्गबहादुरको हत्या प्रयासहरू[सम्पादन गर्नुहोस्]

  1. १९०३ को भण्डारखाल पर्व
    रानी लक्ष्मीदेवीले जङ्गबहादुर र उनका भाइहरूलाई भण्डारखालको बगैंचामा भोजको आयोजना गरि जङ्गबहादुरलाई बीष मिसाइएको खाना खान दिई हत्या गर्ने योजना बनाएकी थिइन्। पण्डित विजयराजले सो षड्यन्त्रको पोल खोलेपछि उनले रानीलाई देशनिकाला गराए।
  2. १९०५ बैशाखमा जङबहादुर बागमती नुहाउन जाँदा मकैबारीमा दुई जना लुकेका मानिस पक्रिए। ती पक्रिएपछी बुझ्दा चौतारिया गुरुप्रसाद शाहले हतियार र पत्र सहित पठाएका हत्यारा रहेछन्।[४४]
  3. वि.सं. १९०७ फागुन ६ गते बेलायत भ्रमण गरी फर्केपछि जङ्गबहादुरको हत्या गर्ने षड्यन्त्र बनेको थियो। सो षड्यन्त्रमा बमबहादुर, बद्री नरसिंह, जयबहादुर, करवीर खत्री, माहिला साहेबज्यू उपेन्द्रविक्रम सहभागी थिए। बमबहादुरले सो षड्यन्त्रको भण्डाफोर गरे। त्यो कुरा प्रमाणित भएकोले भारत इलाहावादको जेल-चलान गरी तीन जनालाई सजाय गरियो।[४५]
  4. वि.सं. १९०८ पुषमा भोटुसिंह बस्न्यातले जङ्गबहादुर र उनका भाइहरूलाई एकै चिहान पार्ने षड्यन्त्र बनाएका थिए। सो षड्यन्त्रको पोल खुल्दा बस्न्यात सहित तीन जनालाई औलो क्षेत्र चितौनमा पठाई खेती गराए।[४६]
  5. १९३३ मा लखन थापाले गोरखामा जङ्गबहादुर विरुद्ध सैन्य संगठन गरेका थिए। उनले जङ्गबहादुर गोरखामा आएका बेलामा हत्या गरि अधिराजकुमार उपेन्द्रलाई राजा बनाई शासन सत्ता हत्याउने षड्यन्त्र गरेका थिए।

सन्तानहरू[सम्पादन गर्नुहोस्]

ज्वाइँ गजराजसिंह थापा र छोरी बदनकुमारी

उनका १३ छोराहरू र २० छोरीहरू थिए; [४७]

  1. भीम प्रताप जङ्ग राणा
  2. जगतजङ्ग राणा
  3. जीतजङ्ग राणा
  4. पद्म जङ्ग राणा
  5. बबर जङ्ग राणा
  6. रणवीर जङ्ग राणा

त्यस्तै जेठी छोरी बदन कुमारीको विवाह कर्णेल गजराज सिंह थापासँग भएको थियो। ३ छोरीहरूको विवाह युवराज त्रैलोक्य विक्रम शाहसँग भएको थियो। केहीको बझाङी राजा विक्रम बहादुर सिंह र युवराज धीरेन्द्र र नरेन्द्रसँग भएको थियो।

भारतीय सेनाका कमाण्डिङ कर्णेल रणयोद्धा जङ्ग राणा, जङ्गबहादुरका वंशज

उत्तराधिकारीको रोलक्रम[सम्पादन गर्नुहोस्]

१९२४ माघ सुदि १० रोज २ मा जङ्गबहादुरले श्री ३ महाराज र प्रधानमन्त्रीको उत्तराधिकारीको रोलक्रम बनाए। उनले आफू पछि आफ्ना भाइहरूलाई राखे तर आफ्ना छोराहरू पछि भतिजाहरूलाई नराखी नातीलाई राखे। नातिपछी को रोलक्रममा भतिजाहरूलाई राखे। उनको यो अबैज्ञानिक रोलक्रमको नियमले राणा खलकमा जंग खलक र शमशेर खलक बीच वैमनस्यता सुरु भयो। यसैको नतिजास्वरुप ४२ सालको पर्व घट्यो जसमा शमशेर खलकले जङ्गबहादुरका छोरा जगतजंग, नाति युद्धप्रतापजंगको हत्या गरे। बाँकी जंग खलकहरूलाई काठमाडौँबाट निर्वासित गरियो।[४८]

रङमन्च[सम्पादन गर्नुहोस्]

चलचित्र बसन्ती

चलचित्र सेतो बाघ

मृत्यु[सम्पादन गर्नुहोस्]

वि.सं. १९३३ मा श्री ३ जङ्गबहादुरलाई Prince of Wales सँग नेपाल आएका Dr. Fayrer ले मुटुनजिक बोसो जमेको हुँदा त्यो क्रम बढ्दै गए छिटै मृत्यु हुन सक्ने भविष्यवाणी गरेका थिए।[४९]

१९३३ सालमा जङ्गबहादुर सिकारको लागि तराई जाने भए। हनुमानढोका दरबारमा सुरेन्द्र विक्रम शाह महाराजधिराजसित मदेश शिकारमा जान बिदा हुने बेलामा "यस पाला त म निकै गले, शिकारबाट यहाँ फर्केर सरकारको दर्शन गर्न आउन पाउँदिन कि क्या, त्यसैले सरकारसित एउटा विन्ती गर्छु" भनेर जङ्गबहादुरले भन्दा राजा सुरेन्द्र विक्रमले ," के कुरा सम्धी , भन न।" अनि जङ्गबहादुरले भने - "उहिलेको जस्तै गरि सरकारलाई आफ्नो बुइमा चढाएर तल चोकसम्म सवारी चलाउने इच्छा छ।" अनि बोकेर नासल चोकमा पुर्याई त्यतैबाट बिदा भएर उनी मधेश तिर लागे।

फागुन १३ गते रगत बान्ता र झाडा भएर आधा रातमा जेलाई पनि सेतो देख्ने भइ पत्थरघट्टा बागमती नदि तटमा श्री ३ जङ्गबहादुरले प्राण विसर्जन गरे। उनीसँग उनका तीन रानी हिरण्यगर्भकुमारी, पुतलीनानी र मिश्री महारानी सति गए। हिरण्यकुमारीले टोपी, पुतलीनानीले लबेदा र मिश्री महारानीले जुत्तासँग बेग्लाबेग्लै चितामा जलेर जङ्गबहादुरका नाममा सति गए।

दागबत्ती दिने काममा पद्मजङ राणाले गरेका थिए।[५०] फागुन १६ गते दाहसंस्कार भयो।[५१]

श्राद्ध[सम्पादन गर्नुहोस्]

हरेक वर्ष फागुन शुक्लद्वादशी र सोह्रश्राद्धमा समेतगरी दुई पटक जङ्गबहादुरको श्राद्ध गरिन्छ। जङ्गको श्राद्ध त्रिपुरेश्वरको कालमोचन घाटस्थित ‘जङ्ग हिरण्य हेम नारायण मन्दिर’ हाताभित्र जङ्गबहादुर राणाको शालिकको आड सरकारी खर्चमा गरिन्छ। सरकारी खर्चमा देशमा एकजना जङ्गबहादुरको मात्र श्राद्ध हुने गरेको गुठी संस्थानले गर्छ।

शुरुमा उनको श्राद्ध कौसीतोषखाना नामको सरकारी अड्डाले गर्दथ्यो। २०२० सालपछि भने यो श्राद्ध गुठी संस्थानले गर्न थालेको हो।

सुधारहरू[सम्पादन गर्नुहोस्]

प्रशासनिक सुधार[सम्पादन गर्नुहोस्]

  • वि.सं. १९०८ फागुन १ मा जङ्गबहादुरले हनुमानढोका दरबार भित्रको भण्डारखाल नेर संसद् भवनको (Parliament House) को निर्माण गरे। त्यस ठाउँमा उनले भारदारी कचहरी पनि आयोजना गर्दथे।[५२]
  • कौसल अड्डा (भारदारी सभा) र जङ्गी तथा निजामती जागिरदारहरूको नाम, थर र दर्जाको अभिलेख राख्न ‘किताबखाना’ अड्डा स्थापना[५३]
  • घूस खाने र खुवाउनेहरू दुवैको छानबिन गरी सजायका निम्ति धर्मकचहरीको स्थापना[५४]राणाकालमा जङ्गबहादुरले भारदारी कौशल र धर्म कचहरी नामक अदालत स्थापना गरेका थिए। उनले १९१० सालमा मुलुकी ऐन जारी गरेका थिए।
  • मालमोत उठाउन मुखिया ‘चौधरीहरू’ को बन्दोबस्त। आफ्नो क्षेत्रको जग्गा जमीनको मालपोत चौधरीले नउठाए त्यस वापतको पोत उसैले भर्नुपर्ने नियम बसालियो। मालपोत उठाउने काम वापत चौधरीलाई गाउँघरका सानातिना मुद्दामामिलाको छिनोफानो गर्न पाउने अधिकार दिइएको थियो।[५५][५६]
  • वि.सं १९२४ मा जङ्गबहादुरले बेलायतको नक्कल गरी आफ्ना रानी र भाइहरूका नारीहरू जम्मा पारी लेडिज कोर्टको स्थापना गरे। त्यहाँ सबैले पालैपालो बोल्ने मौका पाउँथे। तर त्यसै साल अनिकाल परेकोले त्यो लेडिज कोर्टको त्यति महत्त्व नेपालीले बुझेनन्।[५७]
  • १९२४ को अनिकाल, विपत्ति आइपरेका समयमा उपयोग गर्ने गरी कौशीअड्डामा आफ्नो तर्फबाट जङ्गबहादुरले ११ करोड रुपियाँ जम्मा गरी प्रत्येक जिल्लामा "धर्मभकारी" खडा गर्ने उर्दी पिटाए।[५०]
    वि.स. १९२५ मा जङ्गबहादुरले भाइ, छोरा, भतिजा, भारदार जङ्गी, निजामती, गुरु, पुरोहित, सन्त, महन्त, साहस–महाजन, भलाद्मी, रैती, दुनियाँ सकललाई जम्मा गराउनका लागि ठाउँ ठाउँमा सूचना टाँस गरे, इस्तिहार जारी गरे, ढ्याङ्ग्रो पिटाए र टुँडिखेलको ऐतिहासिक खरीको रुखको चौतारामुनि ठूलो भेला गराए। उक्त जनभेलालाई सम्बोधन गर्दै जङ्गबहादुरले भनेका थिए, ‘देशमा संकटकालीन अवस्था आई परेमा, दैवी प्रकोप परेमा मात्र राष्ट्रको ढुकुटी (कौसी तोखाखाना)को प्रयोग गर्नु अन्यथा नगर्नू, बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानू। मैले आजका मितिमा यो ढुकुटीमा जम्मा ११ करोड रूपैयाँ राखिदिएको छु भन्दै सार्वजनिक घोषणा गरे।

कानुनी सुधार[सम्पादन गर्नुहोस्]

  • मुलुकी ऐन जारी
    यद्यपि त्यो ऐनमा एउटै खालको अपराधमा पनि जातका आधारमा मृत्युदण्ड र फरक कैद सजायको व्यवस्था थियो।
  • अङ्ग भङ्ग गर्ने कानुन अन्त्य
  • ‘बोक्सी’ को आरोप लगाउने रुढिवादी पक्षधरहरूलाई दण्ड सजायको व्यवस्था

सामाजिक-आर्थिक सुधार[सम्पादन गर्नुहोस्]

इलाममा राखिएको बोर्ड
  • गिद्धेप्रेसको स्थापना; यसै प्रेसबाट मुलुकी ऐन छापिएको थियो।
  • जनगणना जसमा ५२ लाखको आँकडा निस्किएको थियो। [५८] [५९]
  • अविवाहित महिलाले अंश पाउने व्यवस्था
  • पहाड, मधेश र दुर्गम भेगमा हुलाकको बन्दोबस्त
  • वैद्यखानाको विस्तार[६०]
  • बिफर जस्तो घातक रोग विरुद्ध लड्न खोप लगाउने प्रणाली
    नेपाल आएका बेलायती चिकित्सक ओल्डफिल्डका अनुसार जङ्गबहादुर राणाले पहिलोपटक आफ्ना जेठा छोरालाई सन् १८५० मा बिफरविरुद्धको खोप लगाउन अनुमति दिएबमोजिम उनै ओल्डफिल्डले लगाइदिए । जङ्गबहादुरले १९०६ मा नै बिफर विरुद्ध खोप लगाउने योजना गरे। राज्यभरि नै खोप लगाउने योजनासहित सबैतिर कर्मचारी पठाए। त्यति वेला यो रोग देवीदेउता रिसाएर लागेको भनिन्थ्यो। त्यही रुढिवादी विश्वासका कारण पहाडतिरका जनताले खोप कार्यक्रमको घोर विरोध गरे। तर, श्री ३ जङ्गले कार्यक्रम सफल नै गराए। धेरै प्रयासपछि नेपालबाट सन् १९७७ (२०३२ साल) मा उन्मूलन भयो। [६१]
  • १९२३ सालमा ठाउँठाउँमा धर्मभकारी खडा गराएर अन्न जम्मा गर्ने प्रचलन, रशद गोदाम अड्डा (हालको नेपाल खाद्य संस्थान)को स्थापना[६२]। वि.सं. १९२६ मा काठमाडौँमा भयंकर अनिकाल पर्दा सरकारले तराईबाट तुरुन्तै चामल झिकाई रु.१ को चार पाथीको दरले बिक्री गर्‍यो। धर्मभकारीका लागि अन्न जोहो गर्न मालपोत लिंदा आधा नगद र आधा जिन्सी लिने गरिएको थियो। यो काम गर्न तराईमा जमीनदार चौधरी र पटवारीलाई, पहाडतर्फ थरी, मुखिया, जिम्मावाललाई तोकिन्थ्यो।
  • वन संरक्षणका लागि ‘काठमाल’ अड्डा खोली रूख काट्नेहरूलाई सजाय दिने व्यवस्था
  • इलाम चिया खेतिको सुरुवात[६३][६४]

रक्षा क्षेत्र सुधार[सम्पादन गर्नुहोस्]

  • रसुवागढीकोदारीगढीको निर्माण गरे।
  • जङ्गी अड्डाको स्थापना[६५]
  • देशको अन्तर्राष्ट्रिय सीमा छुट्याउन जङ्गबहादुरले सन् १८६० को अक्टोबरदेखि एक–एक माइलमा सीमास्तम्भ राख्ने कार्यारम्भ गरे, जसलाई जङ्गे पिलरका रूपमा पनि चिनिन्छ।
  • नेपाल राज्यको नापी गराई नक्शा सम्पन्न
  • पहिलोपटक नेपालमै तोप कारखाना स्थापित

नेपालको शैक्षिक विकासमा जङ्गबहादुर[सम्पादन गर्नुहोस्]

दरबार हाई स्कुल

नेपालमा परम्परागत संस्कृत र बौद्ध शिक्षाको प्रचलन रही रहेको बेला वि.सं. १९१० मा दरबार स्कुलको स्थापनासँगै नेपालमा अङ्ग्रेजी शिक्षा प्रणालीको सुरुआत भएको थियो।[६६] राणाकालको १०४ वर्ष नै यस्तो रहृयो जब कुनै न कुनै रूपमा नेपालले उच्च शिक्षा मात्र होइन पाश्चात्य शिक्षाको पनि जग हाल्न सक्यो। राणा शासनका संस्थापक एवं प्रथम राणा प्रधानमन्त्री र कास्की तथा लमजुङका श्री ३ महाराज जङ्गबहादुर कुँवर राणाजी नै यस्ता थिए जसले नेपालमा पाश्चात्य शिक्षाको जग बसाले। ई.१८५० मा एसियाकै पहिलो प्रधानमन्त्रीका रूपमा विट्रेनको भ्रमणमा पुगेका जङ्गबहादुरले वि्रटिश साम्राज्यले गर्न सकेको विश्व विजय र प्रगतिको पछाडि उसको शैक्षिक जागरण नै कारक रहेको हृदयङ्गम गरी आफ्ना छोराहरूमा पनि त्यस्तो शिक्षा दिन सकियोस् भन्ने हेतुले नै नेपालमा पाश्चात्य शिक्षाको जग बसालेका थिए।

जङ्गबहादुरको तस्वीर

प्रारम्भमा जङ्गबहादुरकै गोल बैठकमा यो पाश्चात्य शिक्षाको श्री गणेश भएको कारण पछिबाट नेपालको पाश्चात्य ढर्राको माध्यमिक शिक्षण संस्थाको प्रथम नाम नै 'दरबार हाइस्कूल' पर्न गयो। तीनताका राणा प्रधानमन्त्री जङ्गबहादुरको निवास थापाथलीमा थियो र 'थापाथली दरवार' कहिन्थ्यो। सोही दरबारमा रहेको उनको भव्य गोलबैठकमा अङ्ग्रेजी शिक्षक मास्टर क्यानिंङले उनका छोराहरूलाई पाश्चात्य शिक्षा दिन थालेपछि विधिवत नेपालमा अङ्ग्रेजी शिक्षाको जग बस्यो। यो वि.सं. १९९१ सालको कुरा थियो। शुरुका जङ्गबहादुरका छोराहरूले मात्र पढ्ने यस गोलबैठक शिक्षामा क्रमशः उनका भाइ, भतिजाहरू पनि संलग्न हुन थाले। त्यसैगरी क्रमशः दरबारिया भाइ भारदारका छोराहरूले पनि यसमा पढ्ने छुट पाउँदै गए। अन्ततः द्वितीय राणा प्रधानमन्त्री रणोद्विपसिंह का पालामा वि.सं. १९४८ मा उक्त गोल बैठकमा हुने पाश्चात्य पढाइ कार्यका लागि रानी पोखरीको पश्चिमतर्फ एक पृथक भवन बनाई उक्त पठनपाठन कार्य त्यही स्थानान्तरण गरेपछि नै नेपालमा औपचारिक ढङ्गले माध्यमिक स्तरको पाश्चात्य शिक्षाको प्रादुर्भाव हुन सकेको हो।

नीति[सम्पादन गर्नुहोस्]

परराष्ट्र नीति[सम्पादन गर्नुहोस्]

जङ्गबहादुर कुंंवर एकछत्र शासन गर्ने सर्वेसर्वा प्राइमिनिष्टर भएर चम्किए पछि नेपालको परराष्ट्र नीति पनि बदलियो। युरोप भ्रमण पछि जङ्गबहादुरले "अंग्रेजसँग जुध्ने पनि होइन, निहुरिने पनि होइन" भन्ने द्वैध नीति लिए।

श्री ३ जङ्ग अङ्ग्रेजका समर्थक थिए। तर काठमाडौँ उपत्यकाभित्र रहेका रेसिडेन्ट ( आवासीय दूत)लाई स्वेच्छापूर्वक घुम्न र नेपालीहरूलाई रेसिडेन्टभित्र प्रवेश गर्न सरकारी अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था जङ्गबहादुरले गरेका थिए। बि.सं. १९२१ असारमा जङ्गबहादुरले अंग्रेज राजदूत र निजका सबै मानिसको निको चाल नदेख्ता स्वेच्छाले आफ्नो आज्ञा विना घुम्न प्रतिबन्ध लगाए। राणा शासन भरी यो नीति कायम रहिरह्यो।

अवधकी बेगम हजरत महल नेपालमा शरण मिलेको थियो।[६७][६८]

भोटलाई लडाइँमा पराजित गरी थापाथली सन्धि गरे।

अर्थ नीति[सम्पादन गर्नुहोस्]

जङ्गबहादुरले नेपालको धन विदेशमा लान वा विदेशी बैङ्कमा राख्न सक्त मनाही गरेका थिए । जहिले पनि धनबल, जनबल विदेशिनबाट रोकिराख्नु पर्छ । वास्तवमा आफ्नो जनशक्ति, आर्थिक शत्ति विदेशियो भने देश कमजोर हुने उनको बुझाइ थियो । आफूलाई केही पर्दा असहाय होइन्छ भन्ने अर्को दृढ विश्वास थियो । सरकारले धनसम्पत्ति विदेशी बैङ्कमा राख्नु हुँदैन, धनीमानी जनहरूले पनि विदेशमा पैसा लानु, राख्नु हुँदैन भन्थे । अघि राजा रणबहादुर शाहले धर्म गरेर गुठी जग्गा राखेका रहेछन्, त्यो गुठी जग्गा हिनामिना भएछ । नेपाल सरकारले ब्रिटिस सरकारसँग अर्दाश गरेछ । ब्रिटिस सरकारले तिम्रो देशको जग्गाजमिन तिम्रो खुस हुन्छ, हाम्रो देशको जमिनको हाम्रो खुस हुन्छ भनेपछि नेपाल सरकार नाजवाफ भएछ । धर्मकर्म गर्नुपरे, गुठी राख्नुपरे आफ्नै देशमा गर्नु, आफ्नै देशमा राख्नु भनेर जङ्गबहादुरले त ऐननै बनाएका थिए ।

जङ्गबहादुरले देशलाई बलियो समृद्ध बनाउने जनतालाई सुखी बनाउने भनेर नेपाली जनताहरूलाई ब्रिटिस रेजिमेन्टमा भर्ना हुन रोके, नेपालको र नेपालीको नगद धन विदेश लान दिएनन् । धर्म गर्न विदेशमा किन ? त्यसका लागि धन विदेशमा लानुपर्‍यो ? आफ्नै देशमा धर्मकर्म गर्नू, गुठी राख्नू, सदावर्त चलाउनू, देशमा गरेको धर्मकीर्ति दिगो हुन्छ, सन्तान–दरसन्तानसम्म चल्छ भनेर ऐन बनाए । परन्तु उनका यी ऐन–नियम उनका पालाभरि मात्र चले, रहे । [६९]

मन्दिर[सम्पादन गर्नुहोस्]

कालमोचन मन्दिरमा रहेको श्री ३ जङ्गको शालिक

श्री ३ जङ्गले मन्दिर र गुम्बाहरूको मर्मत र आवश्यक परेको ठाउँमा जीर्णोद्धार पनि गराए। पशुपति मृगस्थलीमा विश्वरूपको विशाल मूर्तिको साथै मन्दिर स्थापना गराए। वागमती नदीको तीरमा कालमोचनदेखि पंचायनसम्म घाट समेत बनाउन लगाए।

  • कालमोचन मन्दिर
कालमोचन मन्दिर

गोत्र हत्या र अन्य नरसंहारको पापमोचन गर्न जङ्गबहादुरले काठमाडौँको थापाथलीमा कालमोचन मन्दिर र घाट निर्माण गर्न लगाएका थिए।

कालमोचन परिसरमै लक्ष्मी– नारायणको मन्दिर बनाए। कालमोचन घाट परिसरमा दुईतले मन्दिर छ। लक्ष्मी–नारायणको मन्दिर भए पनि यसको खास नाम ‘जङ्ग–हिरण्य–हेम मन्दिर हो। तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गबहादुरले १ सय ४५ वर्षअघि आफू, आफ्नी रानी र छोराको नाममा यो मन्दिर बनाएका थिए। जङ्गबहादुरले आफ्नो जीवनको अन्तिम क्षणतिर यही मन्दिरमा आएर धार्मिक अनुष्ठान गरेका इतिहास थिए। [७०] वरिपरि चारवटा नारायणको मठ राखेर अगाडिपट्टि अग्लो स्तम्भमा आफ्नै शालिक खडा गरे। जङ्गबहादुरको स्तम्भमा विसं १९३१ सालमा खोपिएको शिलालेख देख्न सकिन्छ। ढुंगाको कछुवामाथि रहेको ढुंगाकै १५ फिट अग्लो स्तम्भमाथि जङ्गबहादुरको पूर्णकदको शालिक छ। कालमोचनमा दशनामी सन्यासी अखडा बैरागी अखडा उदासी अखडा गरी तीन अखडा छन्। ती अखडामा छुट्टाछुट्टै सम्प्रदायका बाबाहरू र छुट्टै संस्कार हुन्छ। विभिन्न ठाउँबाट आएका साधुसन्तका लागि लक्षित गरी राणाले निर्माण गरेका थिए।

  • जङ्ग–हिरण्य–हेमेश्वर मन्दिर (नरबेश्वर )
  • जङ्ग–हिरण्य–हेमनारायण मन्दिर
  • गोपाल मन्दिर
  • नाथ अखडा
  • पान्चायन
  • जङ्ग नन्देश्वर शिव मन्दिर
  • तीन शिवालय (दीप मुक्तेश्वर, नन्द मुक्तेश्वर, जगन्नन मुक्तेश्वर) [७१]

चित्र:Kalmochanghat.jpg

कालमोचन मन्दिर

पद टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपालको प्रधानमन्त्रीको रूपमा जङ्गबहादुर कुँवरको नियुक्ति पत्रले उनी बालनरसिंह कुँवरका छोरा र रणजित कुँवरका नाति थिए भनेर पुष्टि गर्दछ।[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Rana, Purushottam S.J.B. (१९९८), Jung Bahadur Rana: the story of his rise and glory, Book Faith India, पृ: 150, आइएसबिएन 81-7303-087-1 
  2. "यी हुन् नेपालमा सत्ता परिवर्तन गराउने प्रमुख हत्याकाण्ड", बिबिसी न्युज नेपाली (नेपालीमा), २०१९-०६-०२, अन्तिम पहुँच २०२०-११-१२ 
  3. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २३५
  4. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २३५, आइएसबिएन 99933-2-406-X 
  5. "कुँवरबाट कसरी राणा बने जङ्गबहादुर?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१२ 
  6. "“नेपालको इतिहासमा जङ्गबहादुर” एक चर्चा", अनलाइन मजदुर (नेपालीमा), २०२०-११-०८, अन्तिम पहुँच २०२०-११-१२ 
  7. पन्त, प्रा दिनेशराज, "रसिक जङ्गबहादुर", सम्पूर्ण साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१२  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१२ मिति
  8. "जङ्गबहादुर राणाका अक्षर", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१२ 
  9. "एकीकरणका अर्का नायक जङ्गबहादुर राणा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-१४ 
  10. "जङ्गबहादुरः जस्ले नेपालको नक्शा बदले", रिपोर्टर्स नेपाल (नेपालीमा), २०१९-०८-१०, अन्तिम पहुँच २०२०-११-१३ 
  11. "यी हुन् जङ्गबहादुर राणाका १० चर्चिकला", नयाँ पेज (नेपालीमा), २०१८-०४-१७, अन्तिम पहुँच २०२०-१२-१४ 
  12. "काे हुन् जङ्गबहादुर राणा?", शुभदिन (नेपालीमा), २०१७-०७-१८, अन्तिम पहुँच २०२०-१२-१४ 
  13. "जङ्गबहादुरः सुन्दरीहरूका भोगी नेता", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-१४ 
  14. १४.० १४.१ Acharya 1971, पृष्ठ 25.
  15. JBR, PurushottamShamsher (१९९०), Shree Teen Haruko Tathya Britanta (Nepaliमा), Bhotahity, Kathmandu: Vidarthi Pustak Bhandar, आइएसबिएन 99933-39-91-1 
  16. "जङ्गबहादुर राणाको कहाली लाग्दो इतिहास", कान्तिपथ (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१३ मिति
  17. नेपालको तथ्य इतिहास:राजाराम सुवेदी पृष्ठ २३७
  18. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १४४, आइएसबिएन 978-9937-665-40-7 
  19. प्राचीन नेपाल २५-०१ (नेपाल देशको इतिहास)
  20. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २२६-२२७, आइएसबिएन 99933-2-406-X 
  21. "इतिहासको सम्रक्षण गरियोस", बिशाल नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-१८ मिति
  22. मानन्धर, त्रिरत्न (२०७३ असोज १), "कोतपर्वको १७० वर्ष : इतिहासको त्यो पाठ", कान्तिपुर दैनिक 
  23. गौतम, युवराज (२०७५ माघ २५), "महाराजकी जय !", नागरिक न्युज 
  24. "६४ साल पर्व", हिमाल खबर, २०७४ भदौ २४। 
  25. "नेपालमा पनि यी राजाले गद्दीत्याग गरेका थिए", बिबिसी नेपाली सेवा, २०१९ मे २। 
  26. कार्की, अञ्जु (२०७६ साउन २८), "गौरवपूर्ण इतिहास र धिक्कार योग्य वर्तमान" 
  27. जोशी, हरिराम (२०७६ साउन २४), "शाह राजाका सत्तापलट", नेपाल पत्रिका 
  28. पुरूषोत्तमशमशेर जबरा, श्री ३ हरूको तथ्यवृतान्त
  29. दिक्पाल, राजकुमार (२०७७ असोज २४), "जङ्गबहादुर राणाको स्त्री–मोह", हिमाल खबर 
  30. नेपाल, ज्ञानमणी (२०७६ भदौ २), "जङ्गबहादुर राणाको त्यो बेलायत यात्रा", अनलाइन खबर 
  31. अधिकारी, मदन कुमार (२०१९ जुन १२), "प्रधानमन्त्री ओलीको ‘जङ्गबहादुरको झल्को दिने’ युरोप भ्रमण", नागरिक न्युज  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-१७ मिति
  32. अधिकारी, ध्रुबहरी (२०७४ पुस १५), "जङ्गबहादुरको युरोप भ्रमण : लण्डनमा सडक बढार्ने नेपालीसँग भेट, फ्रान्समा राष्ट्रपतिलाई चोटिलो जवाफ", लोकान्तर 
  33. जङ्गबहादुरको द्वैधनीति
  34. मुलुकी ऐन नेपाल कानुन आयोग
  35. मुलुकी ऐन
  36. मुलुकी ऐन १९१०
  37. पुस्तकको नाम, पृष्ठ, प्रकाशक, ISBN
  38. "पुर्खाले झेलेको चीन", नयाँ पत्रिका, अन्तिम पहुँच २०२०-०६-२३ 
  39. पुर्खाले झेलेको चीन
  40. Pramode S. J. B. Rana (Pramode Shamshere J. B. Rana), 1932- ([२००४]), Rāṇāśāsanako vr̥ttānta, Kāṭhamāḍauṃ: Ramā Rāṇā, पृ: 31, 32, 44, आइएसबिएन 99946-30-72-5, ओसिएलसी 60391882 
  41. जङ्गबहादुरको जीवन यात्रा लेखक: पद्मजङ्ग राणा अनुवादक :रामबहादुर पहाडी
  42. बुद्धिनारायण श्रेष्ठ
  43. दिक्पाल, राजकुमार (फागुन ११, २०७८), "भीमसेन थापा क्रूर कि जंगबहादुर?", हिमालखबर 
  44. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २३८
  45. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २३८-२३९, आइएसबिएन 99933-2-406-X 
  46. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २३९, आइएसबिएन 99933-2-406-X 
  47. http://www.royalark.net/Nepal/lamb3.htm
  48. पूर्णिमा ८७ पूर्णाङ्क २२ वर्ष ३ अङ्क सम्पादक महेशराज पन्त, दिनेशराज पन्त।
  49. दिक्पाल, राजकुमार (२७ वैशाख २०७९), "जङ्गबहादुरको मृत्यु स्वाभाविक कि हत्या?", हिमालखबर, हिमालमिडिया प्रा.लि, अन्तिम पहुँच १४ जेष्ठ २०७९ 
  50. ५०.० ५०.१ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २४१
  51. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४२, आइएसबिएन 99933-2-406-X 
  52. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २३९, आइएसबिएन 99933-2-406-X 
  53. वेब्याक मेसिन [https://web.archive.org/web/20210130080327/https://www.pis.gov.np/pages/details/about अभिलेखिकरण २०२१-०१-३० मिति राष्ट्रिय किताबखाना संक्षिप्त परिचय]]
  54. नेपालको न्यायिक विकासक्रमबारे वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-०५ मिति
  55. जङ्गबहादुरको उज्याला पाटा
  56. जङ्गबहादुरले के गरे, ‘यी’ नेता के गर्दै छन् ?
  57. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २४१
  58. "जङ्गबहादुर जुगको जनगणना", कान्तिपुर दैनिक; कोसेली, कान्तिपुर, भदौ २३, २०७५, अन्तिम पहुँच भदौ २३, २०७५ 
  59. "ठूले लामा, जङ्ग–जनगणना अनि १२२ वर्षअघिको पाइखाना अड्डा", अन्नपूर्ण, अन्नपूर्ण, २८ मङि्सर २०७६, अन्तिम पहुँच २८ मङि्सर २०७६ 
  60. [https://www.nepjol.info/index.php/JMMIHS/article/view/19182/15689 History of Pharmaceutical Development in Nepal Dharma Prasad Khanal M Pharm PhD]
  61. "बिफरको महामारी: देवी खुशी पार्न चक्कुले घाउ पारिन्थ्यो:", हिमालखबर, हिमालखबर, चैत २४, २०७६, अन्तिम पहुँच चैत २४, २०७६ 
  62. नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड ऐतिहासिक पृष्ठभुमि वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-३० मिति
  63. नेपालमा चिया खेतीको इतिहास यस्तो छ
  64. चिया खेती म्यानुअल वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-३१ मिति
  65. Military and Democracy in Nepal page 103
  66. नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपालमा शिक्षा विकासका केही तथ्यहरू ऐतिहासिक पृष्ठभूमि वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-०७ मिति
  67. Hibbert (1980); pp. 386–387
  68. Krishna, Sharmila (११ जुन २००२), "Far from the madding crowd she lies, forlorn & forgotten", The Indian Express - LUCKNOW, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१३ 
  69. नेपाल, ज्ञानमणि, "अनि जनबल र धनबल विदेशियो", कान्तिपुर 
  70. [१]
  71. कालमोचनघाट र आसपासका मठ, मन्दिर एवं सत्तलहरू

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]