वानिरा गिरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(बानिरा गिरी बाट पठाईएको)
Jump to navigation Jump to search
वानिरा गिरी
वानीरा गिरी
जन्मवानिरा गिरी
(१९४६-०४-११) अप्रिल ११, १९४६ (उमेर ७३)
खर्साङ्ग, दार्जिलिङ्ग
वासस्थानमीनभवन, काठमाडौं, काठमाडौं महानगरपालिका, नेपाल
राष्ट्रियतानेपालनेपाली
नागरिकतानेपाली
शिक्षाएम.ए., एम.एड., विद्यावारिधि (नेपाली साहित्य)
पेशाशिक्षण, लेखन
चिनारीको कारणकविता, उपन्यास
प्रशिद्ध कार्यकारागार, विर्बन्ध, जीवन थामहरु, एउटा जिउँदो जङ्गबहादुर, मेरो आविष्कार
गृहनगरकाठमाडौं
जिवनसाथीशङ्कर गिरी
सन्तानअपूर्ण गिरी, अपराजिता गिरी
मातापिताइन्द्रराज गिरी, जानकीदेवी
पुरस्काररत्नश्री स्वर्ण पदक
गोरखा दक्षिण बाहु चौथा
लोकप्रिया देवी पुरस्कार-२०४८
साझा पुरस्कार - २०५६
महाकवि देवकोटा पुरस्कार - २०७३

वानिरा गिरी (अङ्ग्रेजी: Banira Giri) को जन्म सन् १९४६, अप्रिल ११ विक्रम सम्बत्: २००३ बैशाख २२ गते शनिबार भएको हो ।[१][२] उनी नेपाली भाषासाहित्यकी समकालीन पुस्ताकी सशक्त प्रतिनिधि स्रष्टा हुन् ।[३] उनी नेपाली साहित्यमा पीएच्.डी. गर्ने प्रथम नारी स्रष्टा पनि हुन् ।[४][५][६]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

पिता इन्द्रराज गिरी र माता जानकीदेवीका ६ जना सन्तानमध्ये सबैभन्दा कान्छी छोरीका रूपमा वानिरा गिरीको जन्म भएको थियो । उनको जन्म दार्जिलिङको खरसाङमा संवत् २००३ वैशाख २२ गते शनिबार भएको थियो । वानिरा गिरीको नाउँ सानामा सत्यदेवी थियो । उनी अक्षय तृतीयाका दिन जन्मेकीले उनलाई सत्यदेवी भनिएको थियो । वानिरा गिरी सात वर्षकी हुँदा उनकी आमा स्वर्गीय भइन् । त्यसपछि उनका बुबाले छोरीलाई बोकीबोकी हिँडे । छोरीको पढाइ लेखाइबाट इन्द्रराज गिरी धेरै सन्तुष्ट थिए त्यसैले उनी छोरीको भविष्य लगेर डाक्टरमा जोड्न पुग्थे । सोहीअनुरूप वानीराले पनि आई.एस्सी.पढिन् । आई.एस्सीको अन्तिम परीक्षा आउनु केही दिन अघि उनका बुबाको पनि स्वर्गारोहण भयो ।[३]

मिति ९ मङ्सिर, २०६४ मा राष्ट्रिय नाचघर जमल काठमाडौंमा साझा प्रकाशनले आयोजना गरेको वृहत् पुस्तक प्रदर्शनीमा कवि दिनेश अधिकारीका साथमा वानिरा गिरी

शिक्षा तथा कार्य जीवन[सम्पादन गर्ने]

वानिरा गिरी चार वर्ष हुँदा देखि नै नेपाली वर्णमाला पढ्न थालिन् । त्यति बेला उनी आफ्नै गाउँको स्कट मिसन स्कुलमा भर्ना भएकी थिइन् । त्यस स्कुलमा उनले छैटौँ कक्षा उत्तीर्ण गरिन् । उनी कक्षा एकदेखि छ सम्म पढाइमा प्रथम भइरहिन् । त्यसपछि उनलाई त्यहीँको सेन्ट जोसेफ स्कुलमा स्थानान्तरण गरियो । त्यहाँ पनि उनी कहिले कक्षामा प्रथम र कहिले द्वितीय हुन्थिन् । साथै त्यही स्कुलबाट उनले २०१६ सालमा एस.एल.सी. पास गरिन् । उनले स्नातक गरेपछि एम.ए. पढ्न २०२२ सालमा काठमाडौं आइन् र एम.ए.मा भर्ना लिइन् । भारतीय विद्यार्थीलाई नेपाली पढ्ने श्री ५ महेन्द्र छात्रवृत्ति अन्तर्गत नै उनले भर्ना पाएकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नै एम.एड्. पनि गरिन् । पढाइमा उनको हौसला अझै चुलिँदै गयो । त्यसपछि उनले विद्यावारिधि पनि गरिन् र आफूलाई मन पर्ने कविलाई पीएच्.डी.को विषय बनाइन् ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद ।’ यसै विषयमा वानिराले पीएच्.डी. गरिन् र नेपाली साहित्यमा पीएच्.डी. गर्ने उनी प्रथम नारी भइन् ।[३][६]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

काठमाडौं टेकेपछि वानिरा गिरीको शङ्कर गिरीसँग परिचय भयो र अन्तत: २०२३ सालमा इन्जिनियर गिरीसँग उनको वैवाहिक जीवन पनि स्थापित भयो । यिनका एक छोरा अपूर्ण तथा एक छोरी अपराजिता छन् ।[३]

साहित्यिक यात्रा[सम्पादन गर्ने]

वानिरा गिरी सानैदेखि कवितालेखनमा रुचि राख्थिन् । एघार वर्षकै उमेरमा उनी कवितालेखनमा पुरस्कृत भइसकेकी थिइन् । उनका विषयमा ईश्वरवल्लभले भनेका थिए “बहिनी वानीरा एउटी सशक्त कवयित्री थिइन् । उनको भविष्यको काव्य भूमिको राप मैले त्यतिबेलै देखेको थिएँ । त्यसैले अगमसिंह गिरीले आयोजना गरेको कवि गोष्ठीमा मैले उनलाई पुरस्कार स्वरूप केही कृति दिएको थिएँ ।” उनी जसरी कथा, कविता लेख्थिन् त्यसै गरी स्कुलमा आयोजित सांस्कृतिक कार्यक्रममा सहजतापूर्वक भाग लिने गर्थिन् । तेस्रो कक्षामा उनले सर्वप्रथम कलाकारको भूमिका पनि निर्वाह गरेकी थिइन् । चौथो कक्षामा पनि यिनले नाटकमा आफ्नो भूमिका देखाएकी थिइन् । चाहे वक्तृत्वकलामा होस्, चाहे गायनमा होस्, चाहे नृत्यमा होस् र चाहे नाटकमा होस् जुनसुकै विषयमा भाग लिए पनि उनी प्रतियोगितामा प्रथम हुन्थिन् र कहीँ कतै द्वितीय पनि हुन्थिन् । कविता प्रतियोगितामा पनि उनको स्तर अग्रपङ्क्तिमा नै हुन्थ्यो । यिनी आफू मात्र कविता लेख्तिनथिन् अरूहरूलाई पनि प्रोत्साहन दिन्थिन् । उदाहरणका लागि भन्ने हो भने त्यस बेला यिनले ‘मुटु’ नाउँको भित्तेपत्रिका पनि निकालिन् । एघार वर्षको उमेरमा उनी भित्तेपत्रिका सम्पादन र प्रकाशन पनि गर्थिन् । वानिरा गिरीले बाल्यकालदेखि नै आफूलाई साहित्यतर्फ लगाए तापनि पहिलोपल्ट उनको औपचारिक कविता २०२० सालमा छापिएको थियो । डी.के. खालिङको सम्पादनमा दार्जिलिङ्गबाट प्रकाशित ‘दियो’ मा ‘मेरो साथी भन्छ’ शीर्षक कविता छापिएपछि उनी जनसमक्ष प्रस्तुत भएकी हुन् । त्यसपछि उनी कविता लेखनमा क्रमश: चम्कँदै गइन् । दार्जिलिङका विभिन्न पत्रपत्रिकाका अतिरिक्त काठमाडौंका पनि अनगिन्ती पत्रपत्रिकामा उनका रचनाहरू प्रकाशित भइरहे । कृतिकारका रूपमा चाहिँ उनी २०३१ सालमा देखापरिन् । त्यति बेला उनको ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ नामक कवितासङ्ग्रह प्रकाशित भयो । त्यसपछि २०३४ सालमा यिनको अर्को कविता सङ्ग्रह प्रकाशित भयो ‘जीवन: थायमरू’ अनि २०३५ सालमा उनको ‘कारागार’ नामक उपन्यास प्रकाशनमा आयो । ‘मेरो आविष्कार’ नामक उनको आत्मकाव्य पनि २०३४ सालमा प्रकाशित भयो । त्यसै गरी २०४४ सालमा उनले ‘निर्बन्ध’ नामक उपन्यास प्रकाशनमा ल्याइन् भने २०५६ मा उनको अर्को उपन्यास ‘शब्दातीत शान्तनु’ प्रकाशित भयो । उनको ‘शब्दातीत शान्तनु’ नेपाली साहित्यमा निकै चर्चित बन्यो । त्यही कृतिले संवत् २०५६ को साझा पुरस्कार पनि प्राप्त गर्‍यो । उनले पाएका पुरस्कारको लेखा जोखा गर्ने हो भने उनी दार्जिलिङबाट काठमाडौं आएकै वर्ष नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा द्वितीय भएकी थिइन् । उनी प्रबल गोरखा दक्षिण बाहुबाट पनि विभूषित भइन् । यिनी २०३३ सालमा अफ्रो एसियाली लेखक सम्मेलनमा भाग लिन सोभियत रुस गएकी थिइन् ।[३]

लेखनशैली[सम्पादन गर्ने]

डा. वानिरा गिरीका कवितामा गहनता ढाकिएका हुन्छन्, वास्तविकता ओगटिएका हुन्छन् र यथार्थता भरिएका हुन्छन् । उनी कवितामा जीवन लेख्छिन् र जीवनै कवितामा लेख्छिन् । गिरीका भावभावमा अर्थको साङ्ले पुल जोडिएको हुन्छ । त्यसैले उनी कवितामय धर्तीको गीत लेख्छिन् । उनका कवितामा एकातिर दर्शनले साँध लगाएको हुन्छ भने अर्कातिर उनका काव्यात्मक विम्बमा लालुपाते फुलेको हुन्छ । उनी जीवन र जगत्का प्रसङ्गलाई अलङ्कारमय बनाउँछिन् ।[३]

लेखन एवम मुख्य कृतिहरू[सम्पादन गर्ने]

कविता सङ्ग्रह[सम्पादन गर्ने]

  • एउटा जिउँदो जङ्गबहादुर
  • जीवन: थामहरू - २०३४
  • शब्दातीत शान्तनु - २०५६

उपन्यास[सम्पादन गर्ने]

  • कारागार - २०३५[७]
  • निर्बन्ध - २०४४

आत्मकथा[सम्पादन गर्ने]

  • मेरो आविष्कार - २०४१

पुरस्कार/मान-सम्मान/पदक[सम्पादन गर्ने]

  • रत्नश्री स्वर्ण पदक
  • गोरखा दक्षिणबाहु चौथा
  • लोकप्रिया देवी पुरस्कार-२०४८
  • साझा पुरस्कार - २०५६
  • नेपाली साहित्यका विश्व नारी रत्न - [८][९][१०]
  • महाकवि देवकोटा पुरस्कार - २०७३[११][१२][१३][१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Banira Giri - Nepali poet: The South Asian Literary Recordings Project (Library of Congress New Delhi Office)", Loc.gov, जनवरी ११, २०१६, अन्तिम पहुँच २०१८-०४-१५ 
  2. "वानिरा गिरी : नेपाली लेखकहरुको वैयक्तिक विवरण पुस्तकालय", srrasta.blogspot.in, Saturday, फेब्रुअरी २, २००८, अन्तिम पहुँच २०१८-०४-१५ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ LAMICHHANE, RABINS (MARCH २८, २०१०), "नारीचुली – देवी शर्मा – प्रेमा शाह – वानीरा गिरी – मीरा प्रधान रेम – भुवन ढुङ्गाना – माया ठकुरी – कुन्ता शर्मा – शान्ति छेत्री – बेन्जु शर्मा – तोया गुरmङ – पद्मावती सिंह – उषा ठाकुर–", rabinsxp.com, अन्तिम पहुँच २०१८-०४-१५ 
  4. "Banira Giri: Nepal", Poetry International Web, अन्तिम पहुँच २०१८-०४८-१५ 
  5. "जसले पहिलो बनेर इतिहास रचे ! नेपालका ४४ महिलाको सूची", arthadainik.com, मंगलवार, आषाढ २८, २०७३ साल, अन्तिम पहुँच २०१८-०४-१५ 
  6. ६.० ६.१ "Banira Giri (b. 1946)", Himalayan Voices, १९९१, अन्तिम पहुँच २०१८-०४-१५ 
  7. "कारागार", madanpuraskar.org, अन्तिम पहुँच २०१८-०४-१५ 
  8. "" डा गिरीलाई रु पाँच लाख पुरस्कार : विश्व नारी साहित्य सम्मेलन जेठमा हुने"", khabar.jp, अप्रिल ८, २०१४, अन्तिम पहुँच २०१८-०४-१५ 
  9. ""पाँच लाखको पुरस्कार वानिरा गिरीलाई "", nagariknews.com, नागरिक, मङ्गलबार २५ चैत्र, २०७०, अन्तिम पहुँच २०१८-०४-१५ 
  10. "विश्व नारी साहित्य सम्मेलन जेठमा, वानीरा गिरीलाई पाँच लाखको पुरस्कार", news.sahityasansar.com, अन्तिम पहुँच २०१८-०४-१६ 
  11. "देवकोटा पुरस्कारका लागि पाँच स्रष्टा छनोट", nigarani.com, निगरानी, २०१६-१२-१४, अन्तिम पहुँच २०१८-०४-१५ 
  12. "एक लाख रुपैयाँको देवकोटा पुरस्कार पाउने पाँच स्रष्टा छानिए", nepalkhabar.com, नेपालखबर, २९ मंसिर २०७३, बुधबार, अन्तिम पहुँच २०१८-०४-१५ 
  13. "प्रेस विज्ञप्ति - महाकवि देवकोटा पुरस्कार - वि.सं. २०७३", tourism.gov.np, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, २०७३।८।२७, अन्तिम पहुँच २०१८-०४-१५ 
  14. "यी हुन् यस वर्षको महाकवि देवकोटा पुरस्कार पाउनेहरु", onlinekhabar.com, २०७३ मंसिर २९ गते, अन्तिम पहुँच २०१८-०४-१५ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]